भ्रम छैन गौतम बुद्ध र बुद्धस्थलमा

डा. उद्धव पुरी

नेपालमा अवस्थित गौतम बुद्धको जन्मस्थल लुम्बिनी, उनको पिता राजा शुद्धोधनको राज्य कपिलवस्तु, दरबार तिलौराकोट, उनको मामाघर देवदह र उनको परिनिर्वाणपछि अस्तुधातु राखी बनाइएको स्तुपा रामग्राम क्षेत्रहरू उनको जन्म र परिनिर्वाणपछिसम्म पनि जोडिएका स्थलहरू हुन् । जसका बारेमा बौद्ध ग्रन्थहरू, पुरातत्विक एवं ऐतिहासिक प्रमाणहरू र सांस्कृतिक आधार र धरोहरहरूले पुष्टि गर्छन् । यिनलाई अन्यत्र भएको तर्कका पछाडि लाग्नु आफैँ भ्रमित हुनु हो ।

विशेषत तत्कालीन कपिलवस्तु राज्यको राजदरबार रहेको तिलौराकोटमा सिद्धार्थ गौतमले शाक्य राजकुमारको रूपमा बुद्धत्व प्राप्त गर्नु अघि करिब २९ वर्ष बिताएका थिए । जसको बारेमा बुद्धकाल अघि र पछिका धेरै पुरातत्विक सामग्रीहरू अहिले पनि उत्खनन्का क्रममा भेटिइरहेका छन् । कपिलवस्तु क्षेत्रमा तीर्थयात्रीहरू, बौद्ध ग्रन्थहरू र इतिहासमा उल्लेख भएको भागीरथी नदी वा वाणगङ्गा अहिले पनि निरन्तर बगिरहेको छ । त्यसैको किनारामा बुद्धको पिता र माताको समाधी पनि रहेका छन् । तिलौराकोट दरबार र त्यसको वरपर ऐतिहासिक प्रमाणका रूपमा सम्राट अशोकले लुम्बिनीमा जस्तै स्थापना गरेको अशोक स्तम्भहरू, मायादेवीको बुद्धजन्म स्वरूपको मूर्ति रहेको स्थान, बुद्धत्वप्राप्तअघि र पछि देवदत्त र सिद्धार्थबीच हाँसका विषयमा भएको झगडास्थल अनि उनी कपिलवस्तु आउँदा आफ्ना पिता शुद्धोधनलाई प्रथम पटक भेटेको र प्रजापति, यशोधरा र राहुललगायत धेरै आफन्त अनि स्थानीयलाई बौद्धसङ्घमा सामेल गराएको स्थल, शाक्यहरूको नास गरिएको स्थान, बुद्धले राजदरबार त्याग गरेर जाँदा प्रयोग गरेको घोडा कन्थक जो पछि बुद्धले छोडेपछि फर्केर तिलौराकोट आउँदा बुद्धकै सम्झनामा रहँदा निधन भएको स्थल, बुद्ध र देवदत्तले शक्तिको प्रदर्शन गर्दा हानेको वाण लागी पानी निस्केको स्थानहरू तिलौराकोट वरपर नै रहेका छन् । सोही समयमा स्थापित स्तुपा, पोखरी, नहर र तिलौराकोटको सहरी परिवेश झल्काउने अनगिन्ती भग्नावशेषहरू अहिले पनि यत्रतत्र पाइन्छन् । गौतम बुद्ध र उनको दर्शनहरूमा जोडिएका स्थानहरूको पहिचान यिनै क्षेत्रमा भइसकेका छन् । हालै नेपाल सरकारको सम्बन्धित निकाय र पुरातात्विक क्षेत्रमा ख्यातिप्राप्त विदेशी विश्वविद्यालय र पुरातत्वविद्हरूका समूहले तिलौराकोट दरबार क्षेत्रमा गर्दै गरेको उत्खनन् परिणामले यी सबै कुराहरूलाई पुष्टि गरिरहेकै छ ।

बुद्ध अनुयायी भएका मौर्य सम्राट अशोक आफ्नो राज्यभिषेकको २० औँ वर्षमा लुम्बिनी र कपिलवस्तु क्षेत्रमा आएको तथ्य उनैले लुम्बिनी, निग्लिहवा र गोटिहवामा अवस्थित गराएको शिलास्तम्भहरू तथ्यका रूपमा अहिले पनि छन् । इशापूर्व तेस्रो शताब्दीतिरको यो प्रसङ्ग सम्राट अशोकले बुद्ध धर्मलाई आफैँ र आफ्ना परिवारजनलाई समेत लगाएर फैलाउँदै थिए । उनी बुद्ध अनुयायी भएकै कारण बुद्धसँग जोडिएका स्थलहरू पुग्ने र त्यहाँ शिलास्तम्भ राख्ने काम भारतका विभिन्न स्थानहरूमा पनि गरेका छन् । आफ्ना धर्मगुरुलाई साथमा लिएर आएका अशोकले बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको नगरी गोटिहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा पहिचानसहितको शब्द भएको शिलास्तम्भ ठडाएको देखिन्छ । त्यसको लामो समयपछि इस्वीको तेह्र सय वर्षको पहिलो दशकमा पश्चिम नेपालका नागराज वंशका राजा रिपुमल्ल ती स्थानहरूमा पुगेको र आफ्नो उपस्थिति ती स्तम्भहरूमा आफ्नो नाम समेत उल्लेख गरी जनाएका छन् । जुन कुरा निग्लिहवा र लुम्बिनीको स्तम्भमा अहिले पनि छ ।

गौतम बुद्ध अघि र उनको पछि उनको त्यस क्षेत्रसँगको सम्बन्धलाई नजिकबाट परिचित गराउने मुद्रा, टाँचा, मोहर, निशानलगायत कालनिर्धारणमा पुष्टि भएको माटा र धातुका पुरातत्विक वस्तुहरू उत्खनन्का क्रममा अहिले पनि प्राप्त भइरहेका छन् । हालको कपिलवस्तु क्षेत्रमा गौतम बुद्धभन्दा अगाडिका कनकमुनी र क्रकुच्छन्द बुद्धसम्बन्धित स्थानहरू र गौतम बुद्ध र उनका परिवार शुद्धोधनको राज्य कपिलवस्तु र राजदरबारसहितको राजधानी क्षेत्र तिलौराकोटलगायत उनीसँगै सम्बन्धित एक सय पचासभन्दा बढी ऐतिहासिक स्थलहरू पहिचानसहित छन् । आधुनिककालको पुरातत्विक उत्खनन्ले प्रमाणित गर्दै लगेका यस्ता कुराहरूलाई लुम्बिनी र कपिलवस्तु हुँदै हिँडेका चिनियाँ बौद्ध विद्वान र यात्रीहरूले पनि आफ्नो यात्राबृतान्त वा पुस्तकमा गौतम बुद्धसँगै जोडेर लेखेका छन् । अशोकको आगमनको झण्डै पाँच, छ सय वर्षपछि स्वीई चुङ्गले कपिलवस्तुमा राजा नभएको र केही शाक्य परिवारहरूको घर रहेको, पोखरीहरू फोहोर भएको र केही स्तुपाहरू पनि भत्केको तथा सहर शून्य रहेको बताएका छन् । उनीपछि अर्का चिनियाँ यात्री फा–स्यान आफ्ना साथीहरूसँगै लुम्बिनी र कपिलवस्तु पुगेको कुरा आफ्नो वर्णनमा लेखेका छन् । उनले यी क्षेत्रहरूलाई हालको सारवस्तीबाट १२ योजन अर्थात करिब ९६ माइल पर दक्षिण पूर्व भन्दै क्रकुच्छन्द बुद्धको जन्मस्थल पुगेको उल्लेखसमेत गर्दै शुद्धोधनको दरबारलगायतको क्षेत्र उजाड भइसकेको पनि बताएका छन् । उनले तिलौराकोटको दरबारको पूर्वी ढोका जहाँबाट बुद्ध निस्केका थिए, उनले पितासँग भेटेको स्थान र विरुढकले शाक्यहरूको बध गरेको स्थान आदिको आफूले भ्रमण अवलोकन गरेको पनि लेखेका छन् । उनले आफ्नो विवरणमा ती स्थान बुद्धको जन्मस्थल लुम्बिनी वरपरको भएको प्रस्टाएका छन् । ती स्थानहरूमा अझै सङ्घरामा र भिक्षुसमेत रहेको उल्लेख गर्दै ती क्षेत्रहरूको नाप र दिशा विवरणहरू पनि लेखेका छन् । जुन अहिलेको नापसँग मिल्दछ । त्यस्तै हुयन चू, तावोही, वाङ्ग हुएन से, से होङ्गलगायत उ कुङ्ग, फाङ्ग चिहका यात्राको विस्तृत अध्ययनले धेरै कुरालाई उजागर गर्न सक्छन् ।

इस्वीको १३१२ तिर रिपुमल्लको भ्रमण र उनीहरू विभिन्न शताब्दीका भएकाले लुम्बिनी, कपिलवस्तु र बुद्धसँग जोडिएका ती स्थानको क्रमिक इतिहासलाई सप्रमाण लेख्न सकिन्छ । यो गौतम बुद्धसँग जोडाइएको भ्रम निवारणको अचुक उपाय हो तर त्यसपछि १९ औँ शताब्दीको सुरुवाततिरसम्म ती क्षेत्रमा धेरै उथलपुथल भइसकेको र बौद्धमार्गीहरू पनि बाँकी नरहेकोले पहिचानबिहीन बने । ब्रह्मी लिपि र पालीभाषाको ज्ञान पनि प्रायः शून्य बन्यो । गौतम बुद्धले ज्ञानप्राप्त गरेको बोधगया, प्रथम देशनास्थल सारनाथ र महापरिनिर्वाण स्थल कुशीनगरलगायत बुद्धत्वपछि उनीसँग जोडिएका धेरै स्थानहरू हाल भारतीय क्षेत्रमा रहेको र त्यहाँ बौद्धमार्गीहरू पनि भइरहेकाले ती क्षेत्र वरपर नै लुम्बिनी, कपिलवस्तु र तिलौराकोटको परिकल्पना भए । जुन धार्मिक, एतिहासिक र पुरातत्विक प्रमाणले सत्य सावित गर्न सक्दैन् ।

सन् १८३७ तिर जेम्स फिलिपले ब्राम्ही अक्षरको बारेमा जानकारी गराएपछि र सर अलेक्जण्डर कनिङ्घमले चिनियाँ यात्रीको विवरणअनुसार बौद्ध स्थहरूको खोजी गर्न थालेपछि नयाँ पुरातत्विक अध्यायको सुरु भयो । नेपालमा ती स्थानहरू धेरै पहिचानबिहीन अवस्थामा रहेको र विदेशीहरूका लागि प्रवेश कडा रहेको राणा शाशन भएको आदि कारणले उनीहरूको नेपाल आगमन अनुकूल बन्न सकेको देखिँदैन । अङ्ग्रेजले उपनिवेसको क्रममा सहज बनाइदिएको नेपाल र भारतको सीमा क्षेत्र वरपर नै उनीहरू घुमे । कनिङ्घमले चिनिया यात्रीको नाप विवरणलाई अनुसरण गरे पनि हाल भारतले दावी गरेको भारतीय क्षेत्र नेपालको कपिलबस्तुुको सीमासम्म भने आइपुगे । त्यो क्षेत्र प्राचीन कपिलबस्तुको क्षेत्र हो । त्यहाँ एक बिहारको भग्नावशेष बाहेक अरू कुरा भेटिएको छैन ।

१९औ शताब्दीको उत्तराद्र्धतिर बलरामपुरका मेजर जसकरणले नेपाली क्षेत्रमा अभिलेखसहितको शिलास्तम्भ देखेको बताएपछि यी क्षेत्रहरूमा अध्ययन हुनथाल्यो । यसबेला भारतमा धेरै विदेशीहरू विशेषगरी भारतमा उपनिवेश चलाइरहेका अङ्ग्रेजले इतिहास र पुरातत्वका विषयमा धेरै काम गरेका छन् । यही क्रममा सन् १८९६ दशकमा डा. फुहरलाई नेपाल सरकारले पनि खोजी र उत्खनन् कार्यमा सहयोग गरेको देखिन्छ । त्यसका लागि उनलाई पाल्पामा रहेका जनरल खड्ग शमशेरको सहयोग भयो । सन् १८९६ डिसेम्बर १ मा लुम्बिनीको शिलास्तम्भ बुद्ध जन्मस्मारक अशोक स्तम्भ हो भन्ने पहिचान भयो । जहाँ अशोकले हिद बुद्ध जाते अर्थात यहाँ बुद्ध शाक्यमुनीको जन्म भएको भनी लेखेको सार्वजनिक भयो । यही स्थानबाट चिनियाँ यात्रीहरूको विवरण, श्रीलङ्काली साहित्यिक सूत्रलगायतका बौद्ध तीर्थयात्रीको वर्णनसमेतलाई आधार मान्दै जाँदा तिलौराकोटलगायत कपिलवस्तु क्षेत्र र हालको नवलपरासीसम्मको नेपाल भूमिमा रहेका पूर्ववत सबै स्थानहरू गौतमबुद्ध र उनीसँग जोडिएका छन् । त्यसका बारेमा कुनै भ्रम छैन ।

साभार गाेरखापत्र दैनिक