बुद्धको प्रथम सन्देश — एक दृष्टि

भिक्षु अश्वघोष

बुद्ध पहिले राजकुमार सिद्धार्थ गौतमको नामबाट चिनिनुहुन्थ्यो । विवाह गरेर एउटा छोरा पनि जन्मेको थियो । पछि राजपरिवारको विलासी जीवन र साधारण गरीबका जनताको बीच धेरै विषमता (फरक) देखेर विरक्तिनुभयो । यी दुई थरीका जीवन बीचमा अर्को मध्यम मार्ग अर्थात् शान्तिको बाटो छ कि छैन भन्ने खोज्नु राम्रो होला भनी २९ वर्षको उमेर मा सिद्धार्थले राजदरवार छोडेर संघर्षमय (दुःखमय) जीवन बिताउन थाल्नुभयो ।

ठुलठुला नामी आचार्य कहलिएका विद्वानहरुको संगत गर्नुभयो । तर आफूले चिताएको मध्यम मार्ग अर्थात दुःखबाट मुक्त हुने बाटोको अभाव पाउनु भयो । ६ वर्षसम्म कष्टमय जीवन बिताउनु भयो । बुद्ध जीवनी अनुसार खाना नखाइकन ६ वर्ष तपस्या गर्नु भएको कुरा अतिरंजीत हो । सिद्धार्थ गौतमसँग कट्टर अन्धविश्वासी पाँच जना ब्राम्हणहरु पनि तपस्या गरिरहेका थिए । पछि सिद्धार्थ कुमारले खाना नखाएर आफू तपस्यारुपी गलत बाटोमा हिँडिरहेको महसूस गरी तपस्या छोडेको देखेर उनीहरु अन्तै गए । अनि सिद्धार्थ एक्लै बुद्धगयाको बोधिवृक्ष (पिपलको बोट) मुनि बसी स्वतन्त्र चिन्तले (हिन्दु मस्तिष्कले होइन) ध्यान मग्न भई बस्नुभयो । बैशाख पूर्णिमाको दिन संसारको वास्तविकता र संघर्षमा (दुःखमय) जीवनको यथार्थको ज्ञान बोध गर्नुभयो अर्थात् चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्गको बोध भयो । संसारमा दुःख व्याप्त छ (संघर्ष छ) । दुःखको कारण तृष्णा–शोषण र जति भए पनि नपुग्ने अतृप्ति रहेछ दुःखको अन्त पनि हुन सक्छ र दुःखको नाशको बाटो पनि छ । त्यो हो अष्टाङ्गिक मार्ग (उत्तम आठ वटा बाटो) ।

दुःख अन्त हुने मार्ग यी हुन् — १) सम्यक् दृष्टि ः ठीक समझदारी मतलब यथार्थ देख्नु र बुझ्नु ।
२) सम्यक् संकल्प ः ठीक सोचाइ, विचार र उद्देश्य । मतलब नियत राम्रो हुनु ।
३) सम्यक् वचन ः ठीक कुरा गर्नु मतबल बताई र गराइमा फरक नहुनु ।
४) सम्यक् कर्मान्त ः गलत तरिकाबाट काम नगर्नु अर्थात् आफूलाई पनि अरुलाई पनि हानी हुने कार्यमा संलग्न नहुनु
५) सम्यक् आजीविका ः जीवनोपाइ निर्दोष र स्वच्छ हुनु । मतलब निष्कलंक पूर्वक जीवन यापन गर्नु । बेइज्जत हुने गरी जीविका नचलाउनु
६) सम्यक् व्यायाम ः ठीक प्रयत्न अर्थात् अति परिश्रमी पनि होइन, अल्छि जीवन पनि होइन ।
७) सम्यक. स्मृति ः ठीक होसमा हुनु सतर्क र सचेत भइ रहनु ।
८) सम्यक् समाधि चित्त एकाग्र हुनु, चञ्चल नहुनु । मतलब आफूले गरिरहेको राम्रो काममा चित्त दृढ रहनु ।

सिद्धार्थ गौतमलाई उपर्युक्त ज्ञानको राम्रो बोध भयो अर्थात् बुद्धत्व लाभ भयो । बुद्धको अर्थ नै बोध भएको व्यक्ति हो । सम्यक् सम्बुद्ध भइसकेपछि वहाँलाई अपूर्व शान्ति र आनन्दको अनुभव भएको प्रीतिवाक्य व्यक्त गर्नुभएको पालि बौद्ध साहित्यमा उल्लेख भएको पाइन्छ ।

सिद्धार्थ कुमारले राजदरवार छोडी सन्यासी जीवन अपनाएको मात्र व्यक्तिगत सुख र मुक्तिको लागि होइन । अपार अज्ञानी र दुःखीहरुको उद्धारको लागि नै राजदरवार त्याग्नु भएको हो । गजबको कुरो के छ भने बुद्धत्व प्राप्त गर्नु भएपछि वहाँको मनमा निराशपन आउनुथाल्यो । धेरै दुःखकष्ट सहेर आफूले प्राप्त गरेका ज्ञान धेरै गम्भीर छ र त्यस बाटो हिँड्नु अति कठीन छ । साधारण मानिसहरुको हृदय साह्रै सांगुरो छ, स्वार्थ भावनाले पूर्ण छ । लोभ लालच, द्वेष भाव र मोह, ईष्र्या अहंकार आदि कुभावनाले दूषित छ । सबै आआफ्ना दैनिक समस्याले ग्रसित छ । सुख, सुविधा र विलासितामा लागिरहेका एक थरी छन् भने अर्को थरी जीवन निर्वाह गर्न नसकी आर्थिक चिन्ताले पीडित भइरहेका छन् । उनीहरुलाई माध्यम मार्गमा ज्ञान प्रचार गर्नु व्यर्थ प्रयास गर्नु मात्रै हुने छ भनने बुद्धको मनमा आयो ।

पुरानो संस्कार र अन्ध विश्वासलाई नत्यागेसम्म हृदया परिवर्तन नभएसम्म मैले गरेको मध्यम मार्गको ज्ञान बुझ्न एवं त्यस मार्गमा लाग्न असम्भव नभए पनि गाह्रो अवश्य छ । त्यसकारण म धर्म प्रचार गर्दिन, बरु एक्लै जंगलमा बसी आनन्दपूर्वक बस्छु ।

बुद्धमा तुरन्तै होश आयो — बहुजन हितार्थ राज्य छोडेको कुरा कसरी बिर्सेको ? एक्लै आनन्दसँग बस्नलाई बुद्धत्व प्राप्त गरेको होइन । आफुमा कसरी व्यक्तिगत स्वार्थको भावना आएको ? कसरी निराशपन र पलायनवाद आएको ? सबै मानिसहरु मुर्ख र स्वार्थी छैनन् । सबै मानी संकुचित विचारका छैनन् । उदार हृदय र बुझ्न सक्ने खालका विद्वानहरु पनि छन् । यसरी आफुले आफुलाई अर्ती दिएर आफुसँग तपस्या गरिरहेका कपिलवस्तुका पाँचजना ब्राम्ह(ाहरुलाई पहिले धर्मोपदेश दिउँ । उनीहरु बोध भएपछि अरु पनि बोध हुनेछन् भन्ने सोचे ।
(क्रमशः)
साभार ः बौद्ध–ज्ञान, प्रकाशक, संघनायक भिक्षु अश्वघोष, २०६८ ।