महामानव गौतम बुद्ध : एक जानकारी

हेमराज भट्टराई

संसारमा सबै मानिस मर्छन् । जन्मेपछि मर्नु प्रकृतिको नियम हो । तर, यसको अपवाद केही थोरै व्यक्ति त्यस्ता हुन्छन्, जसले मृत्युलाई जितेका हुन्छन् र अमर रहन्छन् । त्यस्तै महान् अमर व्यक्ति हुन् ः ‘महामानव गौतम बुद्ध’ ।

नेपालको इतिहास हेर्दा लगभग ई.पू. ५६३–४८३ गौतम बुद्धको कार्यकाल मानिन्छ । लुम्बिनी अञ्चलको रूपन्देही जिल्लाअन्तर्गत कपिलवस्तुका शाक्यवंशीय राजा शुद्धोधन र उनकी जेठी पत्नी मायादेवीका ज्येष्ठ सुपुत्रका रूपमा ई.पू. ५६३ वैशाख शुक्लपूर्णिमा शुक्रबारका दिन जन्मेका बुद्धले ई.पू. ४८३ वैशाख शुक्ल पूर्णिमाकै दिन ८० वर्षको उमेरमा समाधिद्वारा महापरिनिर्वाण (देहत्याग) गरेको ऐतिहासिक प्रमाण भेटिन्छ ।

गर्भावस्थामा मायादेवीले सपनामा सेतो हात्ती आफ्नो गर्भमा प्रवेश गरेर विलय भएकोे देखेकी थिइन् । मायादेवी देवदह माइत जाँदै गर्दा लुम्बिनी भन्ने ठाउँमा उनी प्रसव पीडाले सताएपछि एउटा रूखको फेदमा गएर आराम गर्न थालिन्, त्यहीँ गौतमको जन्म भएको थियो । अलौकिक कुरा के भने उनी जन्मिनेबित्तिकै बोलेका र सात पाइला हिँडेका थिए भन्ने किंवदन्ती छ । जन्मेको पाँचौं दिनमा सिद्धार्थ गौतम भनी नामकरण गरिएको थियो । सातौं दिनमा उनकी आमाको देहावसान भएकाले उनी सानी आमा महाप्रजापति गौतमीको पालनपोषणमा हुर्किएका थिए । एकजना असित नामका तपस्वीले भनेका थिए, ‘महाराज, यी बालकले ठूलो काम गर्नेछन्, सांसारिक व्यवहार तथा घरपरिवार त्यागी यिनी तपस्या गर्न जानेछन् र ज्ञानको खोजी गरी बुद्ध बनी संसारमै कहलाउनेछन् ।’ बाबु शुद्धोधनचाहिँ उनलाई आफूजस्तै योद्धा र कुशल शासक बनाउन चाहन्थे । तर, यो भविष्यवाणी सुनेर उनी दुःखी भए । राज्य छोडेर जाला भनी दरबारभित्रै उनलाई शिक्षा, खेलकुद आदिको व्यवस्था गरिएको थियो ।

 
एकदिन गौतम रथारोहण गरी राज्य घुम्न निस्किएका थिए । उनले क्रमशः कुप्री परेको बूढो मान्छे, रोगी तथा अशक्त र लास देखे अनि सारथीलाई सोधे । सारथीले वास्तविकता बताइदिएपछि उनी बूढो हुनुपर्ने, रोगी हुनुपर्ने र एकदिन मर्नैपर्ने यो कस्तो विडम्बना होला भनी मनमनै सोच्न थाले । यसको कारण के होला ? निवारण कसरी गर्न सकिएला ? भनी उनी रातदिन सोच्न लागे । यो कुरा थाहा पाएर राजाले छोरालाई यसबारे कसैले जानकारी नगराउनू र त्यस्ता अवस्थाका मानिस देख्ने अवस्था पनि नदिनू भनी आदेश दिए । फेरि एक दिन उनले शान्तचित्त भएका एकजना भिक्षु देखे, जसले उनलाई शान्त स्वभाव र आनन्द प्राप्त गर्न पे्ररित ग-यो ।

 

 

उनको यशोधरा नामकी राजकुमारीसँग विवाह भयो । पछि यशोधराबाट राहुलको जन्म भयो । संसारमा मानिस कसरी र किन जन्मिन्छ ? जरा (बूढो) अवस्था किन र कसरी हुन्छ ? रोगले मानिसलाई किन सताउँछ ? मानिस कोही धनी त कोही गरिब किन हुन्छन् ? संसारमा सबैलाई कसरी सुखी बनाउन सकिन्छ या संसारमा शान्ति स्थापना कसरी गर्न सकिन्छ ? आदि कुराले गौतमलाई मनमा शान्ति दिएन । राज्यभोग उनका लागि तुच्छ थियो । राज्यभोगले काम, क्रोध, लोभ, मोह, मद, अहंकारजस्ता दुर्गुण वा दुर्विचार बढाउँछ भन्ने एक तपस्वीबाट उनले सामान्य ज्ञान प्राप्त गरिसकेका थिए । तसर्थ उनी राज्यभोग त्यागी तपस्या गर्न चाहन्थे । राजसी सुखसयलमा हुर्किएका उनी राजा बनेर राज्यभोग गर्न सक्थे, तर उनलाई सत्तालिप्सा वा सत्तामोह मात्र होइन, परिवारप्रतिको मोहसमेत थिएन किनकि महापुरुषहरूका लागि विश्व नै घर हुन्छ र सम्पूर्ण प्राणीवर्ग नै परिवारका सदस्य हुन्छन् । उनीहरूमा विश्वबन्धुत्वको भावना हुन्छ । त्यसैले उनले २९ वर्षको उमेरमा गृहत्याग गरी भारतको बोधगया गई लगभग छ वर्षसम्म कष्टदायक तपस्या गरे र बुद्धत्व प्राप्त गरे । परिवार छाड्नुको उद्देश्य विश्वमै कसरी शान्ति प्राप्त गर्न सकिन्छ भन्ने थियो । आधुनिक फोस्रा सभ्यशिक्षित परिवारप्रतिको दायित्वबाट पन्छिएको भनी उनलाई अपवाद लगाउने गर्छन् । तर, उनका लागि परिवारप्रतिको दायित्वभन्दा ठूलो दायित्व विश्वको थियो ।

 

 

मानिसहरू रोग, शोक र भोकले पीडित बनिरहेका हुन्छन् । तिनलाई कसरी धैर्य गर्ने र शान्त बन्ने भन्ने चेतना भर्न सकिन्छ भन्ने उनको सपना थियो । त्यही सपना साकार पार्न उनी प्रकृतिको शरणमा गएका हुन् । बुद्धत्व प्राप्त गरिसकेपछि ३५ वर्षको उमेरमा उनले हिन्दू धर्मावलम्बीहरूको मुख्य तीर्थस्थल भारतको उत्तरप्रदेशअन्तर्गत वाराणसीनजिक सारनाथ गई पीपलको फेदमा बसेर पहिलोपल्ट आफ्ना शिष्यहरूलाई उपदेश दिएका थिए । उनले आफूले दिएको उपदेश र शिक्षालाई ‘त्रिपिटक’ मा संकलन गरेका छन्, जसमा आफ्ना ८२,००० र आफ्ना मुख्यमुख्य शिष्यका २,००० हजार गरी जम्मा ८४,००० उपदेशमूलक सूत्र छन् । यो ग्रन्थ अद्यापि उपलब्ध छ । हिंसा नगर्नू, असत्य नबोल्नू, कसैको सम्पत्ति चोरी नगर्नू, प्राणीमा दयामाया देखाउनू, ब्रह्मचर्यको पालना गर्नू, आत्मादेखि नै सहयोगको भावना राख्नू, आवश्यकताभन्दा बढी धन सञ्चय नगर्नूजस्ता उनका महावाणी अहिले पनि विश्वमै उपयोगी बनेका छन् । हिन्दूहरूको वेद, इस्लामहरूको कुरान, क्रिश्चियनहरूको बाइबलजत्तिकै महत्वपूर्ण मानिने त्रिपिटक विश्वशान्तिका लागि पठनीय र चिन्तनीय रहेको छ । उनी दुःख र त्यसबाट मुक्तिस“ग सरोकार नराख्ने दार्शनिक प्रश्नलाई महŒव दि“दैनथे ।

 

 

बुद्धको प्रयोगात्मक शिक्षालाई शील, समाधि र प्रज्ञा भनी तीन चरणमा विभाजन गरिएको पाइन्छ । शील भन्नाले पञ्चशील भन्ने बुझिन्छ, जसअन्तर्गत हिंसा नगर्नू, चोरी नगर्नू, झुट्टो नबोल्नू, जाँडरक्सीजस्ता मादक पदार्थ सेवन नगर्नू, व्यभिचार नगर्नू जस्ता बौद्धमार्गी गृहस्थी उपासकले गर्नुपर्ने नियम पर्दछन् । बुद्धका अनुसार शील, समाधि र प्रज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्ण रूपले बुझ्दै जान सकिन्छ । ती चार आर्य सत्य यसप्रकार छन् ः
– दुःख सत्य ः दुःख छ भन्ने र यसको अवस्थाको बोध,
– दुःखको कारण सत्य ः दुःखको कारण आसक्ति र अन्ततः अविद्या हो भन्ने बोध,
– दुःखको निवारण सत्य ः दुःखको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार,
– दुःखको निवारणको मार्ग सत्य ः दुःखको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना,

उनका अष्टांगिक मार्गहरू :

– सम्यकदृष्टि ः सही रूपमा जान्नू, यथार्थ देख्नू वा सही किसिमको हेराइ,
– सम्यक संकल्प ः जति पनि नराम्रा विचार छन्, ती सबै त्यागेर सुखशान्तिको मार्गतिर लाग्नू,
– सम्यक वचन ः नराम्रो बोलीबाट अलग्गिनू र राम्रो एवं सत्य वचन बोल्नू,
– सम्यक कर्मान्त ः आफ्नो शरीरबाट अरूको शरीरमा दुःखकष्ट तथा पीडा नपु-याउनू,
– सम्यक आजीविका ः उद्योगी, मिहिनेती बनी जीवन बिताउनू,
– सम्यक व्यायाम ः नराम्रो र आफैंलाई पतन गराउने पापकर्म टाढा राख्ने व्यायाम वा अभ्यास गर्नू,
– सम्यक स्मृति ः खराब तथा पापकर्मलाई दमन गरेर सतर्क वा जागरुक जीवन बिताउने कुराको स्मरण गर्नू,
– सम्यक समाधि ः आफ्नो ध्यानलाई कही“कतै जान नदिई एकाग्र गर्नू या नियन्त्रण गर्नू ।

 
बुद्धधर्मका प्रवर्तक महामानव गौतम बुद्धको ८० वर्षको उमेरमा महापरिनिर्वाण भएपछि उनका शिष्य आनन्द र सारिपुत्र लगायत अन्यले बुद्धधर्मको प्रचारमा विशेष योगदान दिएको पाइन्छ । पछि लगभग ५ सय वर्षपछि भारतीय शासक अशोक सम्राट्ले यस धर्मको व्यापक प्रचार गरे । त्यसपछि यो धर्म नेपाल, भारत, जापान, चीन, थाइल्यान्ड, म्यानमार, मंगोलिया आदि देशमा फैलिएको पाइन्छ र ती राष्ट्रहरूमा बुद्धधर्म मान्ने बुद्धमार्गीहरूको संख्या अत्यधिक रहेको पाइन्छ ।

 
गौतम बुद्धले नेपालको गौरव बढाएका छन् । आज जहाँजहाा बुद्धधर्मावलम्बी छन्, त्यहाँ नेपाल छ र नेपालप्रतिको सद्भाव पनि छ । शान्ति चाहने मानव मात्रका लागि होइन सम्पूर्ण प्राणीको हित र रक्षाका लागि पनि लुम्बिनी स्वर्गीय आनन्द प्रदान गर्ने स्थल बनेको छ । गौतम बुद्धले भनेका थिए, ‘संसारका सबै वस्तु नाशवान् छन्, ती वस्तुप्रति मोह राख्नु दुःखको कारण हो । हृदयदेखि पवित्र भावले सेवाकार्यमा लागे दुःखबाट छुटकारा पाउन सकिन्छ र अन्त्यमा मुक्ति मिल्छ ।’

 
अद्भूत तथा अलौकिक व्यक्तित्व गौतमले घोर तपस्याद्वारा बुद्धत्व प्राप्त गरेका कारण उनको नाम नै गौतम बुद्ध रहन गएको हो र उनले भगवान्को स्थान पाएका हुन् । उनी एसियाका तारा तथा विश्वशान्तिका अग्रदूत मानिन्छन् । उनी अद्वितीय शान्तिका पर्याय वा प्रतीक हुन् । यस्ता महान् व्यक्तित्व गौतमबुद्धको नाम, काम र उनको दर्शनले सामाजिक तथा राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसंगतिको अन्त्य होस्, राजनीतिक अहंकारमा पूर्णविराम लागोस् ।

साभार राजधानी दैनिक