मोन्लम अर्थात् बौद्धहरुकाे विश्व शान्ति पूजा किन भारत सारियो ?

नेत्र आचार्य/इन्द्र काफ्ले

गत वर्ष यतिखेर लुम्बिनी पहेँलपुर थियो। बुद्धको जन्मथलोमा १३ देशका करिब १० हजार लामा र भिक्षुहरू मोन्लम पूजाका लागि भेला भएका थिए। विश्व शान्ति पूजा भनेर विख्यात मोन्लम विगत २५ वर्षदेखि संसारभरका बौद्ध धर्मावलम्बीका लागि पवित्र महोत्सव बनेको थियो। तर, यसपालि लुम्बिनीमा त्यो रौनक हुने छैन। यसपालि लुम्बिनीमा आयोजना गरिँदै आएको साक्य मोन्लम भारतको बोधगयामा आयोजना गरिने भएको छ।

यो आलेख विश्व शान्तिको मुहान लुम्बिनीमा बर्सेनि हुँदै आएको मोन्लम पूजाको इतिहास, सामाजिक एवं आध्यात्मिक महत्व, मोन्लम भारतको बोधगयामा सारिनुका कारण र नेपालले आफ्नो भूमिमा विकसित हुँदै आएका संस्कृति बचाउन नसकेको प्रसंगका बारेमा केन्द्रित छ।

मोन्लम अर्थात् विश्व शान्ति पूजा

भगवान् बुद्धको धर्म दुई मुख्य धारमा विकसित हुँदै आएको छ। थेरवादी धार र महायानी धार। महायानी धारमा हिमाली बौद्ध परम्परा र नेवारी बौद्ध परम्परा चलेका छन्। हिमाली बौद्ध परम्पराअन्तर्गत सयौं पर्व, संस्कृति र रीतिथिति विकसित भएका छन्। ती सबैले बुद्धले दिएका शिक्षालाई प्रतीकात्मक रूपमा बुझ्न र दैनिक जीवनमा अभ्यास गर्न सुझाउँछन्। मोन्लम अर्थात् विश्वशान्ति पूजा हिमाली भूभागमा प्रचलित परम्परा हो। नेपालको लुम्बिनीलाई बुद्ध जन्मभूमिको रूपमा महत्व दिएर मोन्लमको परम्परा आरम्भ गर्ने श्रेय भने नेपालको हिमाली भूभाग र तिब्बतमा स्थापित साक्या सम्प्रदायलाई जान्छ। मोन्लमका बेला हजारौं लामा, भिक्षु, भिक्षुणी, उपासक एवं उपासिकाहरूले एकै ठाउँमा भेला भई मन्त्रोच्चारण र पाठ गर्दा समस्त लुम्बिनी गुञ्जायमान हुने गर्थ्यो। वातावरणमा एक प्रकारको आध्यात्मिक तरंग पैदा हुन्थ्यो।

बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म यसैगरी पाठ सुचारु हुन्थ्यो। भोजन र वि श्रामपछि फेरि दिउँसो २ बजेदेखि मन्त्रोच्चारण र पाठ जारी हुन्थ्यो। बुद्धका शिक्षाको सार गलत काम नगर्ने, कुशल कामहरू गरिरहने र पुण्य सञ्चय गर्ने हो। आफूले सञ्चय गरेको पुण्य बाँड्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यसले अरूलाई पनि कुशल कर्म गर्न प्रेरणा दिन्छ। मोन्लम पाठ गर्नु पुण्य वितरण गर्नु पनि हो। मोन्लम पाठ गर्दा सबै प्राणीहरूको कल्याण होस् भन्ने मैत्री कामना गर्दा आफन्त र छिमेकीको अशान्त मनसमेत शान्त हुन्छ। क्रमशः यस अभियानले विश्व शान्तिमै टेवा पुर्‍याउन सक्छ। यस प्रकार सहभागीहरू बुद्धको मूल शिक्षासम्म पुग्न सक्छन्। विश्व शान्ति र सौहाद्र्रताका लागि शान्ति पाठ गर्नुको सार्थकता बुद्धको शिक्षामा पाइन्छ।

गौतम बुद्धको महापरिनिर्वाणपछि बौद्ध भिक्षुहरू तीर्थ यात्राका लागि बुद्ध जन्मेको पवित्र भूमि लुम्बिनी आउन थालेको तथ्य बौद्ध ग्रन्थहरूमा पाइन्छ। ईशापूर्व २४९ मा सम्राट् अशोक लुम्बिनी आउँदा यो स्थल बौद्ध तीर्थका रूपमा ख्याति प्राप्त भइसकेको थियो। लुम्बिनीमा भेला भएका टाढाटाढाका बौद्ध भिक्षुहरू यहाँ केही दिन बसी श्रद्धापूर्वक बुद्धको बन्दना गर्दै बुद्धका शिक्षा अर्थात् त्रिपिटकका सूत्र पाठ गरेर बस्थे। केही भिक्षु ध्यानको अभ्यास गरेर बस्थे। बुद्धले आफ्ना शिष्यहरूलाई सामूहिक रूपमा प्रार्थना या ध्यान गर्नुको विशेष महत्व हुने यथार्थ सम्झाउनु भएको थियो। यही प्रचलन अन्ततः मोन्लमको रूपमा विकसित भएको हो। नेपाल र भारतमा आततायीहरूको अतिक्रमण एवं राजनीतिक असहजताका कारण बौद्ध परम्पराहरू जीवित रहन सकेनन्। यद्यपि यहाँका संस्कृति र परम्पराहरू हिमाली भेक या भोट तिब्बतमा पुगेर शुद्ध सिद्ध रूपमा सुरक्षित रहेका छन्।

मोन्लमको महत्व

भगवान् बुद्धको विशिष्टता के हो भने उहाँले विभिन्न प्रकारका मानिसको प्रवृत्ति र क्षमता बुझेर उनीहरूलाई तद्नुसार कल्याणको मार्ग देखाउनुहुन्थ्यो। यस गुणलाई बौद्ध साहित्यमा बुद्धको उपाय कौशल्य भनेर बुझिन्छ। सद्धर्मपुण्डरिक सूत्रमा उपाय कौशल्यका अनेक प्रसंग पढ्न पाइन्छ। एक पटक कुनै धनी व्यक्ति हाटबजार गएर घर फर्कंदै थियो। घर नजिक आइपुग्दा उसले आफ्नो घरमा आगलागी भएको देख्यो। उसले आफ्ना बाबुनानीहरूलाई घरभित्रै खेल्नु, बाहिर ननिस्कनु भनेको थियो। झट्ट उसलाई बाबुनानीहरू भित्रै खेलिरहेका होलान् भन्ने हेक्का भयो र दौडँदै घरभित्र पुग्यो। आठ, दसजना नानीहरू भित्र खेलिरहेका थिए। उसले एकैपटक सबैलाई बोकेर बाहिर लग्न सक्दैनथ्यो। अतः उसले बाबुनानीहरूलाई घरमा आगो लाग्यो, तत्काल सबै बाहिर निस्कनु भन्दै ठूलो स्वरमा भन्यो। तर बुबाले भनेको कुरा कसैले वास्ता गरेनन्। घर जल्नु भनेको के हो, घर जलेमा के हुन्छ उनीहरूले बुझेनन्। उक्त व्यक्तिको मनमा एउटा उपाय सुझ्यो। उसले भन्यो, बाहिर गाडामा तिमीहरू सबैका लागि खेलौना ल्याएको छु, सबै बाहिर निस्केर आफ्नो आफ्नो खेलौना लिनु। यो सुनेर सबै बालबालिका हुरुरु घर बाहिर निस्किए। बाहिर आँगनमा पुगेपछि बल्ल उनीहरूले देखे घर जलिरहेको थियो र एकैछिन भित्र बसेको भए आगोभित्रै पुगेर पोल्न सक्थ्यो।

मोन्लम यस्तै उपाय कौशल थियो। बुद्धो भवेयं जगतो हिताय अर्थात् सम्पूर्ण जगतको हितका लागि बुद्ध होऊँ भन्ने संकल्प लिएका बौद्ध अनुयायीहरू बृहत् संख्यामा एक ठाउँमा भेला भएर विश्व शान्तिको कामना गर्दा त्यसले वातावरणमा पैदा गर्ने तरंग, त्यसले समाजमा सञ्चार गर्ने सन्देश अत्यन्त प्रभावी हुन्थ्यो।

भगवान् बुद्धले मानिस समूहमा बाँच्ने स्वभाव भएको प्राणी हो र सामूहिक अभ्यासबाट छिट्टै प्रभावित हुन सक्छ भन्ने देख्नु भएको थियो। अतः उहाँले बुद्ध र धर्म सँगसँगै संघलाई पनि बन्दनीय स्थान दिनु भयो। बुद्ध, धर्म र संघलाई त्रिरत्न भनिन्छ। त्रिरत्न बन्दना गर्नु हरेक शान्तिकामी बौद्ध अनुयायीको साधनाको प्रस्थान बिन्दु हो।

संघे शक्ति कलौ युगे अर्थात् वर्तमान युगमा संघ नै शक्तिको स्रोत हो। यो युग ऋषिमुनिहरूले जस्तो जंगल, गुफा वा हिमालयमा गएर तपस्या गर्ने युग होइन। यो युगमा त हामीलाई ग्रन्थ ज्ञान सहज उपलब्ध छ। गुरुहरू सहज उपलब्ध छन्। धार्मिक, आध्यात्मिक अभ्यासहरू भइरहेका देख्न पाइन्छ। यस्तो पृष्ठभूमिमा कुनै आध्यात्मिक अभ्यासको भव्यताले मन छोयो भने सामान्य बुद्धिको मानिस पनि अन्तरमनको यात्रामा उत्सुक हुन सक्छ। मोन्लम यस्तै विशिष्ट अभ्यास थियो, जसको भव्यताले प्रभावित नहुने कोही हुँदैनथ्यो। उस्तै राता, पहेँला चिवर लगाएका हजारौं लामाहरू पंक्तिबद्ध भई एकसाथ मन्त्रोच्चारण गरेको दृश्य साँच्चै नै मनमोहक हुने गथ्र्यो, हृदयस्पर्शी हुने गथ्र्यो। उनीहरूले पाठ गर्ने त्रिरत्न बन्दनाको मर्म उस्तै गहन हुन्थ्यो, उनीहरूले उच्चारण गर्ने समन्तभद्रप्रणिधान स्तोत्र उस्तै प्रेरणादायी हुन्थ्यो। कसरी बुद्धले सम्पूर्ण प्राणीलाई दुःखबाट मुक्त गर्ने उपाय फेला पार्न जीवन अर्पित गर्नुभयो, कसरी समन्तभद्र बोधिसत्वले मानिसलाई सुख, शान्ति र कल्याण हासिल नभएसम्म साधनामा तल्लीन हुन्छु भनी दसवटा प्रण लिनुभयो भन्ने कथानुस्मृतिले हरेक बौद्ध अनुयायीहरूलाई भित्रैदेखि ‘मुभ’ गर्छ, उद्वेलित गर्छ। मोन्लमको अवसरमा यी प्रभावहरू दुगुना, चौगुना हुन्थे। तर अबदेखि लुम्बिनीले मोन्लम गुमाएको छ, लुम्बिनीको एउटा महत्वपूर्ण आकर्षण गुमेको छ। यससँगै बौद्ध आस्था भएका संसारभरका यात्रुहरूलाई निम्त्याउने विपुल सम्भावना ओझेलमा परेको छ।

प्रार्थनाका विविध रूपहरू

विश्व शान्तिको कामना गर्दै सामूहिक प्रार्थना गर्ने प्रचलन अन्य धर्म परम्पराहरूमा पनि पाइन्छन्। क्रिश्चियनहरूले हरेक आइतबार चर्चमा भेला भएर लोककल्याणको लागि सामूहिक प्रार्थना गर्छन्। मुस्लिमहरूले मस्जिदमा भेला भएर लामो प्रार्थना गर्छन्। हिन्दुहरूले हरेक शुभकार्यमा द्यौः शान्ति अन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिरापः शान्ति अर्थात् पृथ्वी शान्त होस्, आकाश शान्त होस्, अन्तरिक्ष शान्त होस्, आगो र पानी शान्त होऊन्, सबै प्राणीहरूमा शान्ति छाओस् भनी प्रार्थना गर्ने चलन छ। नेवारी बौद्ध परम्परामा वर्षको एक पटक संघ भेला गरेर संगायन गर्ने प्रचलन छ। यस्तो संगायनमा आर्यमञ्जु श्रीनामसंगीति र प्रणिधान स्तोत्रहरू पाठ गरिन्छ। बौद्ध परम्परामा प्रार्थनाको केही विशिष्ट प्रयोग भएको देखिन्छ। बौद्ध परम्परामा शान्तिको कामना गर्दा कुनै अलौकिक या काल्पनिक शक्तिलाई पुकारिँदैन। यसमा महामानव बुद्धका गुणहरूको अनुस्मृति गरेर शान्तिको कामना गरिन्छ। जगतको कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्रणहरूको अनुस्मृति गरेर शान्तिको कामना गरिन्छ। अतः बौद्ध प्रार्थनाहरू धर्मभीरुहरूलाई मात्र होइन, हरेक बुद्धिमान, विवेकी र विचारशील मानिसलाई स्पर्श गर्ने स्तरका हुन्छन्।

२५ वर्षदेखि निरन्तर लुम्बिनीमा हुँदै आएको विश्वशान्ति पूजा किन उता सारियो भन्ने बारेमा आयोजकले आधिकारिक रूपमा एक शब्द पनि बोलेका छैनन्। मोन्लम आयोजना गर्ने लुम्बिनीस्थित गुम्बाका मुख्य लामा टाक्ये विष्ट लामाले पंक्तिकारसँगको अनौपचारिक कुराकानीमा अधिकांश सहभागीहरू भारतको देहरादुनबाट लुम्बिनी आउने गरेको र उनीहरूलाई भारतीय सीमाबाट सहज रूपले नेपालमा प्रवेश गर्न नदिइएको हुँदा समस्या बढेको प्रसंग उठाए। सीमा क्षेत्रका नेपाली सुरक्षा अधिकारीहरूले लामाहरू अनावश्यक रूपले यात्रामा बाधा सिर्जना गरिएको थियो। भारत र नेपालबीच खुला सिमाना हुँदाहुँदै र समान संस्कृतिको अभ्यास हुँदाहुँदै पनि सामान्य प्राविधिक कारणले २५ वर्षदेखि चलिरहेको बृहत्तर महत्वको संस्कृति पलायन हुन दिनु निश्चय नै अदूरदृष्टिले पैदा गरेको दुःखद् अवस्था हो।

धार्मिक सांस्कृतिक र पर्यटकीय महत्व

मोन्लमको सर्वोपरि महत्व धार्मिक एवं सांस्कृतिक नै हो। यद्यपि आधुनिक समयमा यसको पर्यटकीय महत्व अझ विस्तारित भएको थियो। दर्जनभन्दा बढी देशका बौद्ध अनुयायीहरू लुम्बिनीमा भेला हुँदा यहाँका हरेक होटेल, रेस्टुराँ भरिभराउ हुन्थे। लुम्बिनी आइपुगेकामध्ये कतिपय पर्यटक पोखरा र नेपालका अन्य दर्शनीय स्थल हेर्न पुग्थे। उनीहरूले नेपालको अन्य बौद्ध परम्पराहरूसमेत अवलोकन गर्थे र तिनको खोज अनुसन्धान गर्थे।

लुम्बिनीमा २५ वर्षअघि मोन्लमको आयोजना गर्ने श्रेय यो शताब्दीकै ठूला आध्यात्मिक गुरु चोब्ग्ये ठिजिन रिम्पोछेलाई जान्छ। उनी नेपालको मुस्ताङलगायतका हिमाली भेग, तिब्बत र मंगोलियामा समेत फैलिएको शाक्य परम्पराका आधिकारिक एवं साझा गुरु हुन्। हाल उनका शिष्यहरू नेपाल, भारत, चीन, सिंगापुर, मलेसिया, क्यानडालगायत दर्जनौं देशमा बसोबास गर्छन्। उनीहरू मोन्लमको अवसरमा लुम्बिनी आउनु सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण हुन्थ्यो।

आध्यात्मिक र वैज्ञानिक महत्व

दीर्घ निकायको महापरिनिर्वाण सूत्रमा लुम्बिनीको तीर्थयात्रा गर्दै सम्पूर्ण प्राणीको दुःखलाई समूल रूपमा नष्ट गर्ने उच्च संकल्पका साथ बुद्ध बन्न सकुँ भन्ने श्रद्धा चित्त उत्पन्न गर्नका लागि लुम्बिनी आउन बुद्ध स्वयंले आह्वान गरेका छन्। बुद्धत्व प्राप्त गर्नेबित्तिकै दिएको पहिलो धर्मचक्र प्रवर्तनपछि निर्माण गरेको संघलाई सम्बोधन गर्दै बहुजनको हित र सुखको लागि यात्रा र प्रार्थना गर्नु भनी बुद्धले निर्देश गरेका थिए। बुद्ध स्वयम्ले धेरै गाथाहरू गाएको पाइन्छ। धम्मपद, थेरगाथा र थेरीगाथाहरू यस्तै प्रार्थना, संकल्पहरू हुन्। यी पाठ, गाथा, दोहा चर्या गीति आदि कुराहरू मनको गहिरो तहका आध्यात्मिक अनुभूतिहरूलाई अभिव्यक्त गर्ने गम्भीर तरिका हुन्।

शान्ति प्रार्थना, पाठ, प्राणिधान र श्लोकले मनमा कसरी सकारात्मक प्रभाव पार्छन् र परिवर्तन ल्याउँछन् भन्ने सम्बन्धमा वैज्ञानिक खोज अनुसन्धान भइसकेका छन्। यस्ता अभिव्यक्तिका तरिकाहरू मौलिक बौद्ध परम्परा हुन् भन्ने तथ्य आचार्य शान्तिदेवकृत बोधिचर्यावतारको भूमिकामा आचार्य महायोगी विद्याधर श्रीधर राणा रिम्पोछेले उल्लेख गरेका छन्। प्रार्थनाहरूले अपरिष्कृत मनलाई प्रशिक्षण दिएर परिष्कृत बनाउँछन्। अल्टर्ड स्टेट अफ कन्सियसनेस अर्थात् चित्तका उच्च अनुभूतिहरू प्राप्त गर्न र समस्त प्राणीहरूप्रति स्वतःस्फूर्त करुणा जगाउने स्तरको ज्ञानोदय होस् भन्ने सदाशय यस्ता सामूहिक प्रार्थनाका अन्तर्य हुन्। सबै प्राणीको कल्याणको कामना गर्दै गरिने यस्ता सामूहिक शान्ति प्रार्थनाहरू आफूलाई दुःख दिने क्लेश र पुराना कर्महरूको संस्कारबाट मुक्त पार्ने सबैभन्दा गहकिला उपायहरू पनि हुन्। यो कुरालाई हार्वर्ड युनिभर्सिटीका मनोवैज्ञानिकहरूले पनि उठाएको पाइन्छ। प्रार्थनाहरू मनोवैज्ञानिक चिकित्सकीय महत्व बोकेका अपूर्व परम्परा हुन् भन्ने आधुनिक मनोवेत्ताहरूले समेत स्वीकार गरिसकेका छन्। यसको बारेमा विस्तृत जानकारी न्युरोसाइकियाटिक कन्सल्ट्यान्ट विश्वविख्यात मनोवैज्ञानिक रबर्ट अर्नस्टाइनको अनुसन्धानमा पाउन सकिन्छ।

अन्त्यमा,

लुम्बिनीको आध्यात्मिक पर्यावरणको मुख्य आकर्षण बनेको मोन्लम पर्वलाई व्यवस्थित गर्न राज्यको केन्द्रीय निकाय र स्थानीय सरोकारवालाहरूको सक्रिय भूमिका आवश्यक हुन्छ। विगतका दिनहरूमा राज्यको उपेक्षाकारी भूमिकाका कारण मोन्लम आयोजक समितिमा भएका विदेशी श्रद्धालुहरूलाई सहज भएन। मोन्लम आयोजक मुख्य बौद्ध गुरुहरूको लुम्बिनीको मोन्लमलाई कायम राख्ने सदाशयता छ। तर, मोन्लम समितिका विदेशीहरू एवं भारतीय पक्षको कूटनीतिक भूमिकाका कारण र सीमा क्षेत्रमा हाम्रो देशका सुरक्षा अधिकारीहरूको कडाइका कारण मोन्लम पलायन भएको हो। चिवर लगाउने हरेक लामाहरू दलाई लामाका अनुयायी र राजनीतिक कार्यकर्ता हुन् भन्ने भ्रमपूर्ण दृष्टि हाम्रो सरकारी निकायको हुनु हुँदैन। विशुद्ध आध्यात्मिक गतिविधिलाई तिनकै गरिमामा हेर्न सक्नुपर्छ। आशा गरौं, लुम्बिनी विकास कोषलगायत सरकारी निकायले मोन्लमलाई अर्को वर्ष राज्य स्तरबाटै लुम्बिनीमा पुनःस्थापित गर्न सार्थक प्रयत्नको थालनी आजैबाट गर्न सकोस्।

धर्म र संस्कृति देशका अमूल्य सम्पदा र विशिष्ट पहिचान हुन्। पहिचानै हराए देश कहाँ रहला। बुद्धको जन्मथलो लुम्बिनीलाई विश्व शान्तिको मुहान भनेर गौरव गरिरहन्थ्यौं। अब मोन्लम हराएजस्तै गरी लुम्बिनीका आकर्षण हराउँदै गए भने विश्व शान्तिको मुहान भनिरहन कसरी सकौंला ? भनिन्छ, कुनै देशलाई मार्नु छ भने पहिला त्यस देशको भाषा र संस्कृति मार्नु। मोन्लम पलायन हुनुका पछाडि यस्तै अदृश्य कारण पो छ कि ?       हरेक शान्तिप्रिय र सचेत नेपालीका लागि यो एक गम्भीर सवाल हो।

(लेखकद्वय लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत छन्।)

साभार अन्नपूर्ण पाेस्ट  पुस ८, २०७४