चैत्यराजः नमोबुद्ध (धर्मधातु) को महिमा

तेजरत्न शाक्य 

पृष्ठभूमि 

गौतम बुद्धको जन्मभूमि लुम्बिनी प्राग ऐतिहासिक कालदेखि नै पुण्यभूमि बुद्ध बोधिसत्वको कर्मभूमि, तपोभूमि एवम् प्रातः स्मरणीय स्थल हो। स्वयम्भू धर्मधातु वागीश्वर चैत्य पनि यही नै उत्पति भएको र काठमाडौं उपत्यकाको नेवार जनसमुदायमा बुद्ध धर्म, बौद्ध धर्म, संस्कृति र परम्पराले निरन्तरता पाएको छ। सोको गहिरो एवम् सकारात्मक अध्यात्मिकतास्वरुप यहाँ करिब ५०० को सङ्ख्यामा बौद्ध विहार, वही स्थापना भई  बुद्धोपदेशअनुरुपको शील, सदाचार र बुद्ध शिक्षा अध्ययन र अनुसरण गरी विधि व्यवहार अवलोकनले पयर्टन आकर्षण थपेको छ।
विहार एक संस्कृत शब्द हो, पालिभाषामा यसको अर्थ आराम गर्ने स्थल हो। बौद्ध भिक्षु भिक्षुणी बस्ने, पूजा पाठ गर्ने, ध्यान गर्ने, बौद्ध शिक्षा आदानप्रदान गर्ने तथा धर्माभ्यास गर्ने स्थानलाई नै विहारको संज्ञा दिइएको हो।

काभ्रेको नमोबुद्ध चैत्यस्थित विहारको गरिमा बौद्ध साहित्यको पुरानो ग्रन्थ ‘सुवर्ण प्रभास सूत्रम्’ मा वर्णित व्याघ्री जातक र बोधिसत्व अवदान मालामा रहेको महासत्व राजकुमार अवदानमा उल्लेख भएको स्थान र शीर्षक मिलेको छ। जनविश्वासमा पनि उत्तिकै श्रद्धा भएको नमोबुद्धबारे शाक्यमुनि स्वयं भिक्षुगणसहितको परिचारिका (भ्रमण) मा पुग्नुभएको थियो। त्यहाँ केही समय शान्त, शीतल स्थानमा विश्राम गर्नुभई धर्म देशना गर्ने क्रममा नमोबुद्ध चैत्य विषय सविस्तार व्याख्या गर्नुभएको संस्मरण छ। यसैको निरन्तरतास्वरुप नेवाः बौद्ध समाजका कुनै परिवारको सदस्य मृत्यु भएमा दाहसंस्कारको क्रममा अस्थि लिएर मृतकको ६ महिनाको श्राद्धको भोलिपल्ट नमोबुद्ध पुगी वज्रयान बौद्ध परम्पराअनुसारको धार्मिक विधि पुर्‍याएर अस्थी विसर्जन गर्ने परम्परा छ
यसरी यो ठाउँको प्रचार बुद्धले यसभन्दा अगाडिको जन्ममा महासत्व राजकुमार हुँदा प्रसवपछिको भोकाएका बघिनी र तिनका बच्चाका सुरक्षार्थ आफ्नै जिउबाट मासु काटी खुवाएको परमत्थ दानपारमिता पूरा गरेको हो त्यसपछिको जन्ममा सम्यक सम्बोधि ज्ञान भई बुद्ध हुने प्रेरणा मिलेको हो। उही महासत्व राजकुमारको देहावसानपछि बाँकी रहेको हाड सबै एकै ठाउँमा जम्मा गरी चैत्य स्थापना भएकोलाई नै बुद्ध स्वयं बन्दना गर्नुभएकोले आजसम्म नमोबुद्ध सम्बोधनका साथ पूजाभाव भइरहेको हो।
लक्ष्य चैत्यको प्रवाधान एवं विधि हिमाली बौद्ध परम्परामा पनि समान भएको तथ्य

लोटस रिसर्च सेन्टर ललितपुरद्वारा प्रकाशित अङ्ग्रेजी भाषाका ग्रन्थ ‘बुद्धिष्ट हेरिजेट अफ नार्थन नेपाल आन इन्ट्रोडक्सनमा परम्परागत बौद्ध कला जुन सुदूर हिमाली बौद्ध राज्य कायम भएको लद्दाख र तिब्बत सयौं वर्षदेखि प्रचलनमा ल्याएकोमा ख्यतष्खभ तबदभितक लक्ष चैत्यको साँचो र बुद्धको ब्लक मन्दिरमा सुरक्षित रहेको फेला पारिएको छ। तिनमा तिब्बती पवित्र सामान जस्तो ध्यानमा उपासना गरिने देवीदेवतामा प्रतिमूर्ति रहेको पाइएको छ। त्यस्ता कला सृजना हुनेमा लक्ष चैत्यको साँचो बिम्ब र स्टुपहरू पुण्यसञ्चय गर्न अभ्यासमा ल्याइने पर्दछन्। लक्ष चैत्य सङ्ख्या भने लाखसम्म पुर्‍याउने गरेकै बुझियो। लक्ष्य चैत्यका साँचो मूर्ति स्टुपा थान्का (बुद्धका देवीदेवता) हुनेगर्दछ। अनुपम कलाकृतिबाट बुद्ध धर्म प्रचारप्रसार कार्यमा सघाउ पुग्दछ। कलाकारले ती पवित्र आस्थाका सामान सृजना गर्नुमा एउटा कारण अरुको भलाइको कामनाले अरुलाई ध्यान भावना अभ्यास गर्न प्रेरणा हुने गर्दछ। बौद्ध धर्मको कलाको अध्ययन पश्चिम राष्ट्रका मानिसका लागि बिलकुलै नौलो हुने र त्यसमध्ये एउटा यसको प्राथमिक मिसन हो। लक्ष चैत्य जुन बौद्ध संस्कृतिप्रति चेतना जागृत गर्ने प्रमुख स्वर भन्नु नै यसको परम्परागत कलात्मक अभिव्यक्ति हो। यसकारण पश्चिमा यस्ता पवित्र आस्थाको प्रत्याभूति भन्नु नै लक्षचैत्य  महत्त्वपूर्ण तत्त्व हो, जुन बुद्ध धर्मको अभ्यास र एसिया महाद्वीपभन्दा बाहिरका मानिसका लागि बढ्दो अभिरुचिको छाप प्रतिबिम्बित भएको पाइन्छ। वास्तवमा लक्ष चैत्यजस्तो पवित्र आस्थाका वस्तु बुद्ध धर्मका साना साना बिम्ब हुन्। माटोमा ढालेर देवी देवताको मूर्ति, स्टुपा पवित्र आस्थाका बिम्ब हुन्छन्। तिनीहरू पुण्यसञ्चयको अभ्यासमा प्रयोग हुने गर्दछ। जस्तो कि लक्ष चैत्य स्टुपाभित्र घुमाउने मणि, पवित्र गुफा, गुम्बा अथवा पवित्र पर्वत शिखर पवित्र ताल (दह) अरु पवित्र स्थलमा भेटिन्छन्।  लक्ष चैत्य एउटा बौद्ध गुम्बामा बस्ने भिक्षुले अनिवार्य रुपमा लक्ष चैत्य ढाल्ने कुशलता हुनु अनिवार्य मानिन्छ। त्यही मेसोमा मेरो घरमा बुबा ज्ञानकाजीले लक्ष्य चैत्य सवा लाख पुर्‍याउने इच्छा पूजा गर्नुभएको थियो। यसै विषयको सम्झनामा ३, ४ वर्ष अगाडि लुम्बिनी बौद्ध विश्वविद्यालयका भी.सी.डा. नरेशमान वज्राचार्यले साकुलां भक्तपुरमा नामसंगिति वाचनको धर्म देशनाको क्रममा उहाँ अमेरिका छँदा भक्तपुर श्रृङ्गभेरी नेकु धलंसँगै लक्ष चैत्य व्रतको आयोजना गर्दा लक्ष चैत्यको धांका समेत प्रदर्शित भएको सुनाउनुभएको थियो।
वर्तमान परिवेशमा यस्तो परम्पराले निरन्तरता पाउन कठिनाइ भइरहेको छ। जुन गुँला धर्म पूजाविधिविधान ग्रन्थ २०६३ मा उल्लेख भएअनुसार सकुलां टोल भ.न.पा वडा नं. ३ का मानन्धर समुदाय, गोल्मढी भ.न.पा. वडा नं. ७ शिवरात्री गुठी मानन्धर खल, लोकेश्वर तापालाछी र तेखाडोलका मानन्धरले २०६१ देखि २०६३ सम्म एकताबद्ध भई श्रृङ्गभेरी नेकुधलंसहित लक्ष चैत्य व्रतमासको सफलता पाएको इतिहास अङ्कित थियो। सोभन्दा अगाडि २०२८ देखि २०४३ सम्मको इतिहास बनेको थियो।
वर्तमान परिवेशमा सो बौद्ध संस्कृति परम्पराले निरन्तरता पाउन नसक्नुमा निम्नलिखित कारण रहेको यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु।
१) मानन्धर समुदायमा पुर्खाको पालामा जस्तै ठूलो घर लक्ष चैत्य प्रतिष्ठा पूजा गर्न पुग्ने ठाउँ/कोठा/बैठक नहुनुमा परिवारमा दाजुभाइबीच हुने अंशवण्डाले घर विखण्डित भई कोठा वारि छुट्याउँदा ठाउँ साँघुरो हुने गर्दछ।
२) पुर्खाको समयमा झैं भक्तजन खेती किसानीमा मात्र नअल्झी वा खेती कमाइ न्यून हुने हुँदा बाध्यताले अरु रोजगारी, व्यवसायतर्फ लाग्नुपर्दा वा कुनै कुनै वर्ष धानको रोपाइँ कार्य समयमै नसक्नुले समय दिन नसक्ने हुन्छ।
३) बढ्दो बजारभाउ आफू परिवारको खानपिनमा नै खर्च गर्न धौ धौ पर्ने हुँदा गुँला धर्म पूजाको लागि खर्च गर्न नसकिने हुन्छ।
४) समय परिस्थितिअनुसार श्रृङ्गभेरी वाद्यवादनको लागि बेला–बेलामा सिकाई दुरुस्त तयारमा राखिराख्नुपर्नेमा सो गर्न नसकिने, जान्ने व्यक्ति कमशः घट्दै गएको, रुचिमा पनि र्‍हास भएर पनि गुलाँ वाद्यवादनमा सिद्धहस्त कलाकारको अभाव हुने गर्दछ।
५) समय परिस्थितिअनुसार गुलाँ वाद्यवादन समूहजस्तो तेखाचो र तापालाछिमा पछि छुट्टाछुट्टै श्रृङ्गभेरी नेकु धलं बाजा टोली रहेकोमा कामको सिलसिलाले भक्तपुरबाट नारायणघाट र हेटौडासम्मको स्थानमा सम्बद्ध व्यक्तिहरू बसाइसराइ भइगएकाले पनि समस्या भएको हो।

यसरी आइपर्ने समस्या निराकरण गर्न भक्तपुरका सबै मानन्धर समुदाय एकताबद्ध प्रयास जारी भएपछि अगाडिका वर्षहरूमा  सफलता पाएको हो।

यस वर्ष लक्ष चैत्य व्रत कार्यक्रम बुद्ध जन्मभूमि लुम्बिनीमा निमार्णाधिन नेपाल वज्रयान महाविहार (नेपाली विहार) मा प्रतिस्थापन हुने मूल (वज्र धातु चैत्य) को गर्भमा राखिने उद्देश्यले सवा लाख चैत्य (लक्ष चैत्य) सङ्ग्रह गर्ने गरी यस वर्ष साउन ३० गते साउन शुल्क प्रतिपदादेखि भदौं २७ सम्म १ महिना (साउन कृष्ण औंसीसम्म) बौद्ध धर्म समंकृत विहार कुथुवही, मिनिबस पार्क वडा न. १७ मा बौद्ध धर्म सङ्घ भक्तपुर शाखाले कार्यक्रम आयोजना गरेको थियो।
गुँला मास अवधिभरमा ललितपुर, काठमाडौं र भक्तपुरका श्रद्धावान व्रतालुहरू बिहान सबेरै उक्त लक्ष चैत्य प्रतिष्ठा आयोजना स्थान बौद्ध समंकृतले विहार कुथुवहीमा लक्ष्य प्रतिगोटा रु. ३००/– को दरले समय तालिका मिलाएर आफूले लक्ष प्रतिष्ठामा सङ्ख्या पुर्‍याउने भक्तजनको सहभागिता उत्साहप्रद देखिएको थियो। सवा लाख लक्ष चैत्य औंसीको दिनसम्म सङ्ख्या पूर्ण भई २०७२ भदौ २९ गते हनुमन्तेको त्रिवेणी सङ्गममा पुर्‍याउँदा श्रद्धालुको जनसहभागिता उल्लेख्य रहेको पाइयो।
गोल्मढी शिवरात्री गुठीका मानन्धर समुदायबाट श्रृङ्गभेरी वाद्यवादन र क्वुनेया गुँला बाजा खलः र १ महिनासम्मका लक्ष चैत्य व्रतालु नरनारी र स्थानीय भक्तजनको उल्लेख्य सङ्ख्याको भेलामा आफूसमेत सहभागी जनाउने संयोगलाई डा. नरेशमान बज्राचार्य, लुम्बिनी बौद्ध, विश्वविद्यालय उपकुलपतिले सुखद अनुभूति भएको उद्गार व्यक्त गर्नुभएको थियो।

बौद्ध साहित्य पालि त्रिपिटक महापरिनिर्वाण सूत्रअनुसार बुद्धको परिनिर्वाण हुनुभन्दा अगाडि उहाँको निजी सेवक भिक्षु आनन्दले बुद्धसँग भविष्यमा उनको पूजा वा स्मरण कसरी गर्नसकिन्छ भन्ने प्रश्नको उत्तरमा बुद्धले मेरो निर्वाणपछि अग्नी संस्कार गर्नु र शरीरका अवशेष अस्थि धातुलाई निधान गरी चौबाटोमा चैत्य स्टुप बनाउने आज्ञा गर्नुभयो। यही उपदेशको आधारमा बुद्ध धर्ममा चैत्यको महत्त्वपूर्ण स्थान रहेको बुझ्न सकिन्छ। यसरी नै पालि त्रिपिटकअनुसार बुद्धको चित्ताविशेष अर्थात् उहाँको शरीरको हाड र खरानी राखेर बनाइएको हुनाले चैत्य भनिएको मान्यता रहेको छ। महायानी बौद्ध दर्शनअनुसार चैत्यलाई सम्पूर्ण बह्माण्ड र बौद्ध दर्शनको प्रतीक मानिएको छ। बुद्ध धर्ममा संसार दुःखमय छ, दुःखको कारण छ र दुःख निवारण हुन्छ भन्ने मूल उपदेशलाई सर्वसाधारणलाई सुबोध तुल्याउनको लागि वास्तुकलाको उपदेयताबाट चैत्यको निर्माण भएको मानिन्छ।

चैतन्यलाई जागरण गरी पञ्च स्कन्धको चितलाई विचलित हुनबाट जोगाई यथार्थ बाटोमा निर्देशन गराउन बोधिचित जस्तो चितलाई एकाग्रताको वंशमा पहिल्याउने गरिएको शुद्ध चित्तरुपी धर्मधातु वा शुद्ध रुप नै चैत्य हो। सर्व बुद्ध जिनालय वा बुद्धको वासस्थानको पवित्र आस्था रहेको हुन्छ। चैत्य, परिभोग चैत्य तथागतको दैनिक कार्यमा प्रयोग भएका सामान राखी बनाएको बुद्धको उपदेश, दर्शनशास्त्र ग्रन्थ राखी बनाएको चैत्य र विश्वमा तथागतको दन्त राखी बनाएको दन्त चैत्य केश राखेको केश चैत्य पनि प्रख्यात छन्।

सुरु सुरुमा पञ्च बुद्ध तथा देवी देवताको मूर्ति चैत्यमा राख्ने चलन थिएन।
अन्त्यमा, भक्तपुरको भक्तपुर नगरपालिका र मध्यपुर नगरपालिकासमेत गरी समेटिएका बौद्ध धर्म संस्कृति सम्बद्ध विहार, वही र चैत्य सङ्ख्या कायम भएकोलाई संरक्षण र जीर्णाेद्धार गरी निरन्तरता दिइनुपर्ने सम्बन्धमा सरोकारवाला सबैको ध्यान जानुपर्ने देखिन्छ।
सन्दर्भ सूची 
१) श्रृङ्गभेरी बौद्ध संस्कृति अनुसन्धान प्रतिवेदन २०५४ – तेजरत्न शाक्य 
२) रेश्मा बुद्धाचार्य, लेखक – २०७१ ज्ञानमाला स्मारिका 
३) एन्जीना शाक्य, लेख २०७१ बौद्ध वक्तृत्वकला स्मारिका 
४)कुथुवही म्हसिकाया लेख २०७१ धर्मचन्द्र शाक्य 
५) गुँला धलं पूजा विधि विधान २०६३ गोल्मढी शिवरात्री गुठी, मानन्धर खल 
६) बुद्धिष्ट हेरिटेज अफ नर्थन नेपाल आन इण्ट्रोडक्सन

साभार मजदुर डटमक