बुद्धजयन्ती, बुद्धधर्म र बुद्धधर्मका सम्प्रदायहरु !

गुमान सिंग गुरुङ

बुद्धधर्म ऐतिहासिक, सत्य र तथ्यमा आधारित धर्म हो । निम्न ऐतिहासिक घटनाबाट यसको पुष्टि हुन्छ । बुद्धको जन्म नेपालको लुम्बिनीमा ई.पु. ६२३ मा भएको थियो । उनको बालककालको नाम सिद्धार्थ थियो । उनको बाबुको नाम सुद्धोधन र आमाको नाम मायादेवी थियो । उनले २९ वर्षको उमेरमा गृहत्याग गरी ६ वर्षको कठोर तपस्या पश्चात ३५ वर्षको उमेरमा ई.पु. ५८८ मा भारतको बोधगयामा बोधीज्ञान प्राप्त गरेका थिए ।

उनले प्राप्त गरेको बोधीज्ञान निम्नानुसार छ:
१) पुब्बानु सति ञाण (पूर्वजन्मको सम्पुर्ण कुरा जान्ने ज्ञान)
२) दिव्य चकक्षु ञाण (देवताहरुले जस्तो देख्न सक्ने ज्ञान)
३) आसव खमा ञाण (सम्पुर्ण मनको विकृति नष्ट गर्न सक्ने ज्ञान)

ज्ञान प्राप्त पश्चात उनलाई बुद्ध भनियो र ४५ वर्ष सम्म बुद्ध धर्मको प्रचार–प्रसार गरी ८० वर्षको उमेरमा भारतको कुशीनगरमा ई.पु. ५४३ मा बुद्धको महापरिनिर्वाण (देहावसान) भएको थियो ।

उपरोक्त तिनै घटना जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण मिती अलग–अलग भएता पनि तिथि भने एउटै थियो । त्यो हो बैशाख पुर्णिमा । जसलाई आजकल हामी बुद्धजयन्ती भनी मनाउदछौं । यो मितीलाई बुद्धको परिनिर्वाण मिती सम्झनु पर्दछ । अहिले २०७३ सालको २५६० औं बुद्धजयन्ती बुद्धको परिनिर्वाण मिती ई.पु. ५४३ बाट गणना गरिएको छ ।

यो वर्ष हामीले मानिरहेको २५६० औं निर्वाण दिवश हुनु पर्नेमा जयन्ती भनिएको ऐतिहासिक भुललाई सुधार गर्न सन् १९८८ को लुम्बिनीमा भएको विश्व बौद्ध शिखर सम्मेलनले बुद्धको परिनिर्वाण मितीमा उनको जिवनकाल ८० वर्ष जोडेर सो दिवशलाई लुम्बिनी संवत भनी मान्ने निर्णय गरे अनुसार अहिले २०७३ को २५६०औं बुद्धजयन्ती तथा २६४० औं लुम्बिनी दिवश मानिरहेका छौं भन्ने बुझ्नु पर्दछ ।

बुद्ध धर्ममा तीन सम्प्रदाय पर्दछन् । पहिलो हो थेरवाद । यो बुद्धको ज्ञान प्राप्तीबाटै चली आएको सम्प्रदाय हो । दोस्रो महायान सम्प्रदाय हो । यो सन २०० तिर (बुद्धको परिनिर्वाणको ७०० वर्ष पछि) नरम पन्थी बौद्धहरुले चलाएको सम्प्रदाय हो । लामा बौद्धधर्म पनि महायान सम्प्रदायमा पर्दछ । तेस्रो बज्रयानी सम्प्रदाय हो । बज्रयानी सम्प्रदाय हामीले काठमाण्डौंमा देख्न सक्दछौं । थेरवाद पाली भाषामा लेखिएको छ भने महायान र बज्रयानको भाषा संस्कृति छ । थेरवादले बुद्धलाई महामानवको रुपमा मान्दछन् । महायान र बज्रयानले बुद्धलाई अलौकिक देवताको रुपमा मान्दछन् साथै उनीहरुले आदिबुद्ध र विभिन्न देवी देवताहरुलाई पनी मान्दछन् ।

अहिले बुद्धका मुलभुत र अति आवश्यक दर्शनलाई छोटकरीमा वर्णन गर्ने प्रयास गरिएको छ । बुद्धले प्रतिपादन गरेको धर्मदर्शन मुख्य चार आर्य सत्य र अष्टागिंक मार्गको सेरोफेरोमा घुम्दछ ।

चार आर्य सत्य:
१) दुःख सत्य (संसारमा दुःख छ)
२) दुःख समुदाय सत्य (दुःखको कारण छ)
३) दुःख निरोध सत्य (दुःखलाई नाश गर्न सकिन्छ)
४) दुःख निरोध गामिनी सत्य (दुःख नाश गर्ने मार्ग छन्)

अष्टाङ्गिक मार्ग दुख नाशगर्ने बाटो
१) सम्यक वचनस्( सही र मिठो वचन (गाली, चुक्ली, असत्य वचन नबोल्ने)
२) सम्यक कर्मान्त स्( शुद्ध र पवित्र कर्म (पंञ्चशील)
३) सम्यक आजिविका स्( सही आजिविका (कसैलाई नोक्सान नपुग्ने आजिविका)
४) सम्यक व्यायाम स्( ठिक र दृढ प्रयत्न (दश पार्मिता)
५) सम्यक समाधी स्( चिन्तन मनन र एकाग्रता
६) सम्यक स्मृती स्( सतर्क र जागरुकता
७) सम्यक दृष्टि स्( जुन चीज जस्तो छ त्यस्तै जान्नु बुझ्नु
८) सम्यक संकल्प स्( पवित्र चिन्तन (काम, क्रोध, क्रुरकर्म बाट मुक्त)

उपरोक्त अष्टमार्गलाई तीन भागमा विभाजित गरिएको छ । शील, समाधि र प्रज्ञा ।

१. शीलः–
शील भनेको सदाचार हो । व्यवहार हो । यो पञ्चशील र अष्टशीलमा विभाजित गरिएको छ । अष्टशील भिक्षु, लामा र विशेष दिनमा उपासक उपासिकाले पालना गर्ने शील हो । पञ्चशील प्रत्येक सर्वसाधारणले पालना गर्ने शील हो जो निम्न अनुसार छ ।
क) प्राणी हिंसा नगर्नु ।
ख) झुटो र कटु वचन नबोल्नु ।
ग) नशालु पदार्थ सेवन नगर्नु ।
घ) व्याभिचारी नहुनु ।
ङ) चोरी नगर्नु ।

२. समाधीः–
समाधी भनेको चिन्तन मनन गरी आफैलाई बसमा राख्नु र सधै सर्तक हुनु हो ।

३. प्रज्ञाः–
यथार्त दृष्टि, यथार्त दर्शन, ठिक विचार गरी उचित संकल्प गर्नु, चार आर्य सत्यलाई बुझ्नु, हरेक प्राणीमा मित्रभाव र करुणा राख्नु हो । चार आर्य सत्य र अष्टमार्गको चिन्तन मनन अनि अभ्यासबाट पुर्वजन्म र यो जन्मको जरा गाडेर बसेको अकुशल बानी व्यहोराको जरा उखेल्दै जानु र मंगल सोच र करुणा स्थापित गर्नु हो । बुद्धले ज्ञान पनि यसै चिन्तन मनन र अभ्यासबाट प्राप्त गरेका थिए । उनले प्रतिपादन गरेको बुद्धधर्मलाई मध्यमार्गी धर्म भनिन्छ ।

लामा बौद्धधर्मः–
लामा बौद्धधर्म शुरु गर्ने श्रेय तिब्बतका राजा स्रोङचन गम्बो (सन् ६४०) लाई जान्छ । उनले नेपालका राजा अंशुवर्माको छोरी भृकुटी र चीनकी राजकुमारी कोङजोलाई विवाह गरेका थिए । उनीहरु दुबै रानी बौद्धमार्गी हुनाले उनीहरुले दाईजोमा लगेको सुनको बुद्धमुर्ती र उनीहरुको प्रभावले राजाले तिब्बतमा बुद्धधर्म फैलाउन भारत नालन्दा महाबौद्ध विहारबाट बौद्धभिक्षु बोलाउन लगाए । तत्कालीन तिब्बतमा लिपी थिएन । लिपीको बिकास गर्न सम्भोटा भन्ने विद्धानलाई नालन्दा पठाए र लिपीको विकास गरे । आजकल लामाहरुले पढ्ने ग्रन्थ (छयोई) को लिपी उनै विद्वानको नामबाट सम्भोटा लिपी रहन गएको छ । तात्कालीन तिब्बतमा बोनधर्मको वर्चश्व थियो । बुद्ध र बोनमार्गीको संघर्ष चल्दै ग¥यो । धेरै भिक्षुहरु भारतबाट गए । अन्ततः यो प्रयासको फलस्वरुप २०० वर्ष पछि सन् ८०० मा (आजभन्दा १३०० वर्ष पहिला) तात्कालीन तिब्बतका राजा ठिस्रोङ देवचनको पालामा भारतबाट गएका बौद्ध गुरु पद्मसंभवले तिब्बतका बोनमार्गीलाई विजय गरी लामा बौद्धधर्म (बुद्ध, बोन, हिन्दुधर्मको मिश्रण) स्थापना गरेका थिए ।

गुरु पद्मसंभवको विषयमा भन्नु पर्दा उनी उत्तर पश्चिम क्षेत्र (अहिले पाकिस्तानमा पर्दछ) का राजाका धर्मपुत्र थिए । उनले केही समय नालन्दा महाबौद्ध बिहारमा बौद्धधर्म र तन्त्रविद्याको अध्ययन गरेका थिए । पछि त्यहि अध्यापन पनि गरेका थिए । उनले तिब्बत जानु अघि काठमाण्डौंको दक्षिणतर्फ फर्पिङ भन्ने ठाउँका तान्त्रिक हुकारव्रज नामका गुरु सित पनि तन्त्र विद्याको अध्ययन गरेका थिए । तिब्बतका राजा ठिस्रोङ देवचनका दुतले फर्पिङ मै उनलाई भेटी तिब्बत जान निमन्त्रणा दिएका थिए ।

तिब्बत आगमन पछि उनको ठुलो सहयोगी हिसेछोग्याल भइन जो राजा ठिस्रोङ देवचनको सबैभन्दा कान्छि रानी थिइन । पछि पद्मसंभवको सबैभन्दा निकटको शिष्य र श्रीमती पनी भइन, जसले गुरु पद्मसंभवका सम्पुर्ण उपदेशका साथै उहाँको जीवनीको बारे इतिहास (पेमाकाथाङ) नै तयार पारिन् । पद्मसंभव बारे जे जति अतिशयोक्तिहरु छन् ती सबै हिसेछोग्याल र ङिङमापाद्वारा रचित हुन् भन्ने विद्धानहरुको भनाइ छ ।

लामा बुद्ध धर्ममा पनी चार पन्थ (मत) र यिनका धेरै शाखाहरु पाइन्छन् । यहाँ मुख्य चार पन्थको मात्र छोटकरीमा वर्णन गर्ने प्रयास गरिएको छ । पन्थहरुको आ–आफ्नो आध्यात्मिक गुरु (हिदाम) र कुलगुरु (ग्युवा) हुन्छन् । पहिलो पन्थ ङिङमापा हो । यो पन्थको हिदाम आदिबुद्ध अमिताभ (होमापे) हुन भने ग्युवा पद्मसंभव (गुरु रिम्पोछे) हुन । नेपालमा यो पन्थको अनुयायीहरु धेरै पाईन्छन् । अर्काे पन्थ हो शाक्यपा (फुस्रो माटो भएको ठाउँबाट फैलिएको मतलाई शाक्यपा भनिएको हो) यो मतको हिदाम दोर्जेफुर्वा हुन भने ग्युवा पद्मसंभवलाई नै मान्दछन् । तेस्रो पन्थ काग्युपा हो । बुद्धको पारम्परिक वचनका अनुयायी भनी यिनीहरु आफ्नो परिचय दिन्छन् । यस मतका हिदाम वज्रधारा (दोर्जेसाङ) हुन भने ग्युवा कर्मापा शेर्मापा हुन् । कर्मापा शेर्मापाको चलन सन् १२८२ बाट चलिआएको हो । भुटानमा यस मतले वर्चस्व कायम गरेको छ । चौथो पन्थ हो गेलुकपा । यो पन्थले वज्रभैरवलाई हिदाम मान्दछन् । दलाई लामा र पन्चेन लामा (महापण्डित) यिनका ग्युवाहरु हुन् । दलाई लामाको परम्परा सन् १४५७ मा मंगोलियाका शासकले तिब्बतका लामा सोनाम ग्यलगेनलाई दलाई लामाको उपाधी प्रदान गरे पश्चात यो परम्परा चल्दै आएको हो । वर्तमान चौधौं दलाई लामा भारतमा निर्वासित जीवन बिताई रहेका छन् । लामा बौद्ध धर्ममा पढिने ग्रन्थ (छयोई) दोमाङ ग्रन्थ ग्रहशान्ति शुत्रहो । ह्युम ग्रन्थ दश पार्मिता हो । यसको १६ ठेली हुन्छ । काङग्यूर ग्रन्थ त्रिपिटक हो । यसमा शुत्रपिटक, बिनयपिटक र अभिधम्मपिटक हुन्छ । यसको १०८ ठेली हुन्छ । त्येङ्ग्युर ग्रन्थ धम्मपद हो । यसमा २२५ ठेली हुन्छ । उपरोक्त ग्रन्थहरु माहायान, बौद्ध दर्शनमा पर्दछ भने लामाहरुले गर्ने बिभिन्न कर्म काण्ड बज्रयानमा पर्दछ ।

धर्मको विषयमा भन्नु पर्दा प्रत्येक धर्मको आफ्नो इतिहास हुन्छ । त्यस धर्मको दर्शन हुन्छ । त्यस धर्ममा गरिने यज्ञ, कर्मकाण्ड हुन्छ र त्यस धर्ममा देश र क्षेत्र अनुसार परम्परा जोडिएको हुन्छ । साथै हामीले देखेकै कुरा हो त्यसमा अन्धविश्वार पनि संगै जोडिएको हुन्छ । लामा बौद्ध धर्ममा गरिने कर्मकाण्ड व्रजयान परम्परा हो र दोमाङ ह्यूम काङग्युर तेङग्युर गन्थहरु त्रिपिटिक र धम्मपदको सम्भोटा लिपीमा उल्था गरिएको महायान दर्शन हो भनि माथि उल्लेख गरी सकिएको छ । लामा बुद्धधर्ममा बुद्धको भन्दा पद्मसंभवको र दर्शन भन्दा कर्मकाण्डमा मात्र धेरैजसो हाम्रा धर्मगुरुहरुले ध्यान दिएको पाउछौं । हाम्रा धर्मगुरुहरुले पढ्ने ग्रन्थ (छयोई) जो सम्भोटा लिपीमा लेखिएको हुन्छ त्यसबाट व्याख्या गर्ने प्रयास नगरिदिनाले स्वयं उनीहरुलाई सारांश ज्ञान नहुने र धर्मावलम्वीहरु पनि धर्मबारे अनभिज्ञ रहन परेको छ ।

२१औं शताव्दीमा प्रवेश गरेका हामी बौद्धधर्मावलम्वीहरु (लामा गुरु समेत) लाई लामा बौद्ध परम्पराको कर्मकाण्डले मात्र पुग्दैन । बुद्धको मुलभुत दर्शनको जानकारी राख्नु पनि जरुरी महसुस गरी लेखको शुरुमा संक्षिप्त बुद्ध दर्शन पस्किने प्रयास गरिएको छ । बुद्धले भनेका छन् कसैले भन्यो भन्दैमा मात्र होइन आफैले बुझेर र परिक्षण गरेर मात्र अपनाऔं । तसर्थ चिन्तन मनन गरी मित्थ्या संस्कार र अतिसयोक्तिलाई परित्याग गरी परिस्कृत धर्मको रुपमा अपनाउनको निम्ति धर्मको अध्ययन, समझ र सुधार गर्ने साहस गर्नु आजको आवश्यकता हो ।

स्रोत
१) प्राज्ञ डा. जगमान गुरुङ्ग (लामा बौद्धधर्मको विकास)
२) लामा पि.पाख्रिन (बोधीज्ञान)
३) भिक्षु पाणपुत्र (सम्यक शिक्षा)
४) उ.को.ले. (मेनुअल अफ विपश्ना मेडिटेसन)
५) डा. सद्दातिस्स (बुद्धका जिवन र दर्शन)

साभार मगरमेडिया डटकम