स्वयम्भू चैत्यको स्वरुप

भूवन लाल प्रधान

पौराणिक कथन अनुसार शान्तश्री भिक्षुले ज्योतिरश्मीका रुपमा स्वयम्भू प्रकट भएको अनुमान गरिन्छ, त्यसपछि अलौकिक सौन्दर्य भएको कमललाई बीचमा प्वाल परेको रत्नको ढुंगाले छोपे, त्यसमाथि रत्नसमानको नवकोष्ठयुक्त ढुंगाको चक्ला बनाएर बुद्धतारा स्वरुप बीचमा प्वाल पारे । त्यसमाथि रत्न उच्च हुने गरी त्रयोदशकोष्ठ बनाएर ईशानकोणमा ढुंगा हाले ।

काठमाडौंको आकर्षणको एउटा केन्द्र बनिरहेको स्वयम्भू चैत्य माहायानी चैत्य प्रकार हो । विशेष किसिमले बनेको बौद्ध स्मारकलाई चैत्य भनिन्छ । चैत्यको अर्थबारे तीन मत छन् — १। चित्तलाई सँधै जागरुक राख्ने अर्थात् चैत्यन्य दिने हुनाले, २। बुद्धको चितावशेष ९शरीरको हाड खरानी आदि चितामा बाँकी रहेका बस्तु० गर्भमा राखेर बनाइने भएकोले र ३। चित्तका उत्तम गुणजति सबै एकै ठाउँमा बटुलिए जस्तै संग्रह गरिराखिने हुनाले चैत्य भनिएको हो । यस तेस्रो विचारको साथै महायनले त चैत्यलाई सम्पूर्ण ब्रम्हाण्ड र बौद्ध दर्शनको प्रतीक मानेको बुझिन्छ ।

चैत्य विभिन्न विधि विधानद्वारा पूर्णकार बनाइन्छ । बाहिरबाट हेर्दा यो कुनै सेतो चाँदीको कचौरा घोप्ट्याइराखेको र घोप्टिएर मास्तिर परेको पीँधमा चतुष्कोणात्मक स्तम्भ माथि गोलो चुच्चो गजुर राखिएको झैं देखिन्छ । वस्तुतः चैत्यका प्रत्येक अंगको सारपूर्ण अर्थ हुन्छ । चैत्य निर्माणको लागि ठीक गरिएको जग्गा बास्तु कहिन्छ । त्यस ठाउँमा नागको आङ छल्ने विधि गरिन्छ, अनि चैत्यको जग हालिन्छ र मण्डल बनाइन्छ । त्यपछि मण्डलमा गोलार्ध उठाइन्छ । घोप्ट्याइएको कचौरा आकारको यस गोलार्धलाई गर्भ भनिन्छ । घण्टा वा कलशको आकारको मानिएको गर्भ ब्रम्हाण्डको प्रतीक हो । घण्टाको मतलब आश्यक बुद्धहरु र अरुहरुलाई आराधना गरिएको र कलशको मतलब ज्ञान निस्कने साधन वा भाँडो मानिएको छ ।

दृष्टिको माथिबाट चारै दिशातिर अर्धगोलाकार पातो पाली जस्तो गरेर राखिन्छ जसलाई तोरण भनिन्छ । तोरण जुनजुन दिशातिर रहेको हो त्यसै त्यसै दिशाका बुद्धको कुलको चिन्ह त्यसमा दर्शाइएको हुन्छ । दृष्टि माथि चारैतिरको तोरणलाई समेटिराखेको चक्रको बाटुलो गरेर तेह्र तला उठाइन्छन् । यी तला ज्ञान साधनका तेह्र तहका भुवन वा मूभिका प्रतीक मानिन्छन् ।

स्वयम्भू चैत्य पनि यसै अनुरुप निर्माण भएको छ । यसको निर्माणकाल यकीन ठम्याउन नसकिए तापनि यो महायानी दर्शनका सबै अंग पुगेको धर्मधातु चैत्य हो । यसको भर्गको फेद वरिपरि खोपा जस्ता प्रकोष्ठभित्र ध्यानी बुद्ध र तारा मूर्तिहरु राखिएका छन् । पूर्वतिरको लामो सिँढी चढेर माथि पुग्ने बित्तिकै सोझै देखिने पूर्वाभिमूूख वैरोचन बुद्ध, त्यसको संगै बायाँतिर अर्थात अलिकति उत्तरतिर अक्षोभ्य, वैरोचनको दायँतिर अलिकता आग्नेय कोणमा मामकी, अनि गर्भलाई दाहिने पार्दै प्रदक्षिणा गर्दै जाँदा क्रमशः दक्षिणाभिमुख रत्नसम्भव, पद्मपाणि तारा, पश्चिमाभिमुख अमिताभ, आर्यतारा, उत्तराभिमुखी अमोघसिद्धि, सप्तलोचनी तारा रहेका छन् । यी बुद्ध मूर्तिहरुको प्रायः सामुन्ने बाटुला मण्डप पनि भूइँमा बनाइएका छन् ।

यस बाहेक चैत्यमै र समीपै यताउति पनि अनेक विचारका प्रतीक धर्मधातु मण्डल, कैयन मूर्तिै र अरु वस्तु राखिएका छन् । गर्भमुनि स्वयम्भू ज्योति अझै छँदैछ भन्ने लोकोक्ति पनि छ । यस चैत्यको आकार पात्राकृति हो ।

साभार : मधुपर्क, २०४७ असार