लुम्बिनी, गौतम बुद्ध र विश्वशान्ति

बालकृष्ण चापागाईं 

 

पछिल्लो समयमा नेपालमा बौद्ध धर्म—दर्शनको महत्व झनै बढ्दै गएको महसुस गरिएको छ । राजनीतिक क्षेत्रका साथै समाजका विभिन्न अंगहरुमा पनि यसको प्रभाव बढ्दो छ । मानव जीवनको सुख, शान्तिका लागि गौतम बुद्धको शान्ति मार्ग महत्वपूर्ण र प्रेरणादायी छ भन्ने महसुस सर्वत्र हुँदै गइरहेको छ ।

 

बुद्धले दिएको शान्ति, अहिंसा, परोपकार, सदाचार, अपरिग्रह, निर्मोहजस्ता सद्गुणहरु मानव जीवनका लागि ठूलो देन हो । बुद्धसँग सम्बन्धित एक सय २७ स्थल भएको कपिलवस्तुस्थित तिलौराकोटलाई बौद्ध धर्मावलम्बीहरुको तीर्थस्थलका रुपमा विकास गर्न सकिने प्रसस्त आधारहरु छन् । दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा बुद्धमार्गीको ठूलो बसोबास छ । विश्वकै बौद्धमार्गीहरु बुद्धको जन्मथलो लुम्बिनीलाई विशेष श्रद्धा र प्रेम गर्छन् । त्यसैले ऐतिहासिक स्थल लुम्बिनी क्षेत्रप्रति बुद्ध धर्म र दर्शनमा आस्था राख्नेहरु मात्र होइन, विश्वकै शान्तिकामी जनताको आकर्णष छ । त्यसैले पनि बुद्धको जन्मथलो लुम्बिनीको कपिलवस्तुस्थित तिलौराकोटलाई बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर एवं पवित्र तीर्थस्थल बनाउन जरुरी भएको हो ।

 

बुद्धको जन्मस्थलबारे विगतमा कतिपय सञ्चार माध्यमले मित्रराष्ट्र भारत र अन्तर्राष्ट्रियस्तरमा भएका नकारात्मक टीकाटिप्पणीहरुले निश्चित रुपमा लुम्बिनीवासीलाई मात्र होइन, आम नेपाली जनतालाई नै दुःखी तुल्याएको हो । शाक्यमुनि बुद्धको जन्म लुम्बिनीमा भएको र उनले बाबु राजा शुद्धोधनको राजदरबार रहेको तिलौराकोटमा २९ वर्सम्म आफ्नो प्रारम्भिक जीवन व्यतीत गरेर राजपाठ त्यागेको प्रमाणिक इतिहास हामीसँग छ ।

यस्तो अवस्थामा बौद्ध धर्मदर्शनको विश्वव्यापीकरणमा पहल गर्ने हो भने नेपाललाई मात्र होइन, भारतलाई पनि ठूलो फाइदा पुग्नेछ । यसले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रुपमा विकास गर्ने नेपालीको चाहनाले मूर्तरुप पाउनेछ । त्यसबाट दुवै देशलाई लाभ हुनेछ ।

बुद्धको स्मरण गर्ने तर उनका उपदेशविपरीत अन्याय र अत्याचारको मार्ग नछोड्ने हो भने हामी गन्तव्य भुलेको यात्रीजस्तै हुनेछौं । नेपाल शान्तिको देश भनेर विश्वमा चिनाउने अवसर हामीसंग सुरक्षित छ । विश्वको जनसंख्याको करिब एकतिहाइ मानिस बुद्ध धर्म मान्नेहरु छन् ।

सम्राट् अशोक स्वयं २४९ ई.पू. मा लुम्बिनी र निग्लिहवामा आएर अशोकस्तम्भ खडा गरी गएको कुरा इतिहासले पुष्टि गर्दछ । त्यस्तै चिनियाँ यात्री फाह्यान सन् ४०३ र हुयेन सांग सन् ६३६ मा लुम्बिनीमा आएका थिए र उनीहरुले त्यतिबेलाको बौद्ध दर्शनको अध्ययनको लागि प्रमुख स्थान नालन्दा विश्वविद्यालय विहारमा गएर अध्ययन गरेका थिए । यो उनीहरुको यात्रावर्णनबाट जान्न सकिन्छ । तत्पश्चात् पनि पश्चिम नेपालको जुम्लाबाट राजा रिपु मल्ल सन् १३१२ मा तिलौराकोट, निग्लिहवा र लुम्बिनी आएका थिए् ।

त्यसपछिका पाँच सय वर्ष कपिलवस्तु र लुम्बिनी ओझेलमा परेर वन–जंगल र खण्डहरमा परिणत भएको थियो । सन् १८९५ मा लगभग ५८३ वर्षपछि डा.फुहररले तिलौराकोट, निग्लिहवा र गोटिहवालाई पुरातात्विक स्थान हुन् भनेर पत्ता लगाएका थिए । सन् १८९६ मा लुम्बिनीमा खड्गशमशेर जबरा शिकार खेल्न लुम्बिनी आँउदा अशोकस्तम्भ भेटाएका थिए । सन् १८९९ मा मायादेवीको मन्दिर पत्ता लाग्यो । सर्वप्रथम भारतीय पुरातत्वविद् पी.सी. मुखर्जीले सन् १८९९ मा तिलौराकोटको उत्खनन गरेर तिलौराकोट राजदरबारको पूर्वी द्वार पत्ता लगाएका थिए ।

त्यसपछि सन् १९६२ मा देवला मित्रा, सन् १९६९–१९७७ सम्म दिशो विश्वविद्यालय जापान र पुरातत्व विभाग नेपाल, कपिलवस्तु पुरातत्व विशेष परियोजना अन्तर्गत तारानन्द मिश्र, बालकृष्ण नेपाल र लुम्बिनी विकास कोषले उत्खनन र अन्वेषण गरेका हुन् । देवला मित्रालगायत सबै उत्खननकर्ता र पुरातत्वविद्हरुका अनुसार प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट नै भएको कुरामा एकमत छन् ।

सन् १९३३ मा केशरशमशेर पनि लुम्बिनीमा पुगेका थिए तर लुम्बिनीको कुनै विकास हुन सकेको थिएन । यो पुण्यभूमि धेरै लामो समयसम्म उपेक्षित रहे पनि सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्त गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्न आएका थिए ।

त्यसपछि ती सबै कारणहरुले गर्दा बुद्धले प्रथम पाइला टेकेको स्थानमात्रै होइन, प्राचीन कपिवस्तुसमेत बौद्धहरुको पावन तीर्थ भएको छ । ऊ थान्त लुम्बिनीको दर्शन गर्न आउनुभन्दा पहिले यहा“ एउटा चौतारो थियो । चौतारोमा मायादेवीको मन्दिर पनि थियो र मन्दिरको छेउँमा एउटा पिपलको रुख थियो । त्यही नै बुद्धको जन्मस्थल भएकाले त्यो मन्दिर भएको ठाउ“मा उत्खनन गरी नया“ मन्दिर निर्माण गरिएको छ । मन्दिरभन्दा केही पर एउटा खम्बा खडा छ र यो नै अशोकस्तम्भ हो । त्यसनजिकै त्यहा“ एउटा हाई स्कूल र प्रहरी थाना पनि थिए ।
त्यसबाहेक मायादेवी मन्दिरका वरिपरि दर्जनौं अशिक्षित गाउँहरु थिए । तत्कालिन संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्त लुम्बिनीको दर्शन र भ्रमण गरेर फर्केपछि लुम्बिनी विकासको लागि गुरुयोजना बनाउने निर्णय भयो ।

गुरुयोजना तयार पार्न जापानी नागरिक प्रो.श्री केञ्जो टाङ्गे नियुक्त भए । केञ्जो टाङ्गेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर लुम्बिनी विकासको काम दुई चरणमा पन्ध्र वर्षभित्र पूरा गर्ने गरी गुरुयोजना तयार पारे । प्रथम चरणको काम सन् १९८५ मा पूरा गर्ने र दोस्रो चरणको काम सन् १९९५ मा पूरा गर्ने गरी लुम्बिनीमा कामको प्रारम्भ भयो तर विकासको काम १५ वर्षभित्र पूरा गर्ने भनिए पनि आजसम्म पनि पूरा हुन सकेको छैन ।

कपिलवस्तुमा प्राचीन कपिलवस्तु गणसंघकोे राजदरबार तिलौराकोटका अतिरिक्त सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुभन्दा धेरै पहिले बुद्धत्व प्राप्त गरेका कक्रुच्छन्द बुद्ध जन्मेको गोटिहवा र कनकमुनि बुद्ध जन्मेको निग्लिहवाजस्ता स्थान पनि रहेका छन् । साथै सगरहवा, गोटिहवा, अरौराकोट, धरमपनियाँ, सरकूप अर्थात् कुँवा सिसहनियाँकोट र कुदानलगायत बुद्धसित सम्बन्धित सयभन्दा धेरै कोटहरु छन् । त्यसैले कपिलवस्तुलाई खुला संग्रहालय भनिएको हो ।

ती सबै स्थान परातात्विक, ऐतिहासिक र धार्मिक दृष्टिले धेरै महत्वपूर्ण छन् । तिलौराकोट, निग्लिहवा, कुदान र गोटिहवाको उत्खनन भएर असली पहिचान भेटिए पनि सगरहवा, अरौराकोट, धरमपनियाँ सरकूप अर्थात् कुवा सिसहनियाँकोटजस्ता महत्वपूर्ण स्थानहरुको आजसम्म पनि उत्खनन भएको छैन ।

त्यस कारण ऐतिहासिक पहिचानको समस्या देखिएको छ । सगरहवालाई आजसम्म धेरै मान्छेले हजारौं शाक्यहरुको सामूहिक बध भएको थलोका रुपमा मान्दै आएका छन् । शाक्यहरुको सभ्य, सुन्दर र शक्तिशाली राज्यको रुपमा रहेको कपिलवस्तु, शाक्य शासनको पतनसंगै लगभग दुई हजार वर्षभन्दा लामो समयसम्म खण्डहर, घनाजंगल, जग्गाहरु खेतीका लागि आवाद हुने क्रममा जमिन्दारहरुका बिर्ता भएका थिए । ती ठाउँहरुमा गाउँहरु पनि बस्न थाले । यसरी प्राचीन कपिलवस्तुका कोटहरु व्यक्तिगत सम्पत्तिमा परिणत भए ।

१९औं शताब्दीको उत्तराद्र्धतिरबाट ती स्थानहरुको खोजी र उत्खनन हुन थाल्यो । कतिपय स्थानहरुलाई नेपालको पुरातत्व विभागले आफ्नो नियन्त्रणमा लिए पनि धेरै ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका स्थानहरु अझै पनि व्यक्तिका निजी सम्पत्तिका रुपमा रहेका छन् । पुरातत्व विभागले आफ्नो नियन्त्रणमा लिएका तिलौराकोट, सगरहवा, निग्लिहवा, अरौराकोट, सिसहनियाँकोट, गोटिहवा र कुदानमा पनि पुरातात्विक क्षेत्र अतिक्रमित भएका छन् । गोटिहवाको पूरा गाउँ नै पुरातत्वक्षेत्रमा पर्ने देखिन्छ । कपिलवस्तु जिल्लामा बुद्धकालीन ऐतिहासिक स्थानहरुका अतिरिक्त अन्य धेरै धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थानहरु पनि छन् ।

जसमा राजा दशरथको पुत्रेष्टि यज्ञ गराउने श्रृ·ी ऋषिको जन्म कपिलवस्तु जिल्लाको पुर्वोत्तरमा पर्ने वाणगंगा नदीको किनारकोे नन्दवनमा भएको भनिन्छ । श्रृ·ी ऋषिको जन्म यो स्थानमा भएका कारणले वाणगंगा नदीको त्यो घाटलाई श्रृ·ीघाट पनि भनिन्छ । चुरे पहाडको घेंचमा रहेको यो स्थान पर्यटनका दृष्टिले धेरै महत्वपूर्ण छ । यहाँदेखि लगभग २५ कि.मि. उत्तर अर्घाखाँची जिल्लामा पाणिनि तपोभूमि छ । यो स्थानलाई हिजोआज पणेना भन्ने गरिन्छ ।

कपिलवस्तु जिल्ला खुला संग्रहालयको जिल्ला हुँदाहुँदै पनि तालहरुको जिल्ला पनि हो । विश्वको रामसार क्षेत्रमा पर्ने मानवनिर्मित जगदीशपुर तालका साथै जिल्लामा सयौं संख्यामा अरु तालहरु पनि छन् । यदि यो जिल्लाका तालहरुको उचित व्यवस्थापन र संरक्षण गर्न सक्ने हो भने लुम्बिनी र कपिलवस्तुमा आउने पर्यटकका लागि मनोरम साधन बन्न सक्दछन् ।
समग्रमा बुद्धको बाल्य जीवनको ऐतिहासिक भूमि कपिलवस्तु जिल्ला धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले धेरै महत्वपूर्ण भए पनि शुरुमा यो जिल्लाको महत्व बुझ्ने प्रयास नहुँदा लुम्बिनी विकास गुरुयोजनामा पर्न सकेन । जसले गर्दा लुम्बिनी विकास गुरुयोजना पनि तोकिएको समयमा पूर्ण हुन सकेन । योजना नै अपूर्ण भएपछि त्यसले लिएको लक्ष्य पूरा हुने कुरै भएन । लुम्बिनी विकाससम्बन्धी गुरुयोजनाले देवदह र रामग्रामलाई पनि समेट्न सकेको छैन । लुम्बिनी विश्वसम्पदा सूचिमा परेको छ, यो खुसीको कुरा हो ।

यसका साथै त्यससंग सम्बन्धित तिलौराकोट, सगरहवा, निग्लिहवा, अरौराकोट, सिसहनियाँकोट, गोटिहवा, कुदान र रुपन्देहीको देवदह तथा नवलपरासीको रामग्राम सूचिमा पर्नुपर्र्दथ्यो । तर, लुम्बिनी विकास गुरुयोजनाले समेट्न नसकेका कारण त्यसतर्फ जुन स्तरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय हिसाबले ध्यानाकर्षण हुनुपथ्र्यो, त्यो हुन सकेको छैन ।
यदि ती स्थानहरुको राम्रोसित उत्खनन हुने हो भने प्राचीन कपिलवस्तुका सभ्यता र संस्कृतिका धेरै महत्वपूर्ण सामग्री फेला पर्नेछन् । उत्खननबाट प्राप्त हुने सामग्रीले ती स्थानहरुलाई विश्व सम्पदा सूचिमा सूचीकृत गर्न यथेष्ट प्रमाण पुग्नेछ । धेरैपछि आएर लुम्बिनी विकास कोषले कपिलवस्तुका सात, रुपन्देहीको एक र रामग्रामका एक गरी जम्मा नौ स्थानलाई आफूभित्र समायोजन गरेको छ ।
जुनबेला लुम्बिनी विकास कोषमा पर्याप्त साधन स्रोत र क्षमता थियो, त्यतिबेला कोषले ती स्थानहरुतिर ध्यान दिन सकेन । अहिले लुम्बिनी विकास कोषले निर्धारित गरेका योजनाहरु पनि आर्थिक अभावका कारणले पूरा हुन सकिरहेका छैनन् । पछिल्लो समयमा कपिलवस्तु, रामग्राम र देवदहलगायतका क्षेत्रलाई कोषले आफूभित्र समावेश गरेर काम शुरु गर्नु राम्रो लक्षण हो । हिमवत्खण्ड, उत्तराखण्ड अथवा बुद्धको देश भनेर उत्तर हिमालयदेखि दक्षिण गंगासम्म र पूर्व व्रह्मपुत्रदेखि पश्चिम राबी–पाकिस्तानको नदीसम्म बुझिन्थ्यो ।

अंग्रेज र नेपाल सरकारबीचमा सन् १८१६ मा भएको सुगौली सन्धिपश्चात् नेपालकोे सीमा पूर्व मेचीदेखि पश्चिम महाकाली नदीसम्म सीमित भयो । गौतम बुद्धलाई संसारले जुन उचाइकासाथ चिन्यो, त्यो खुसीको कुरा हो । काशी, मथुरा, वृन्दावन, हरिद्वार, अयोध्या र नेपालको काठमाण्डौं उपत्यकालाई मन्दिरहरुका शहरहरु भनिन्छ । मक्का मदिना र भेटीकन सिटी पनि धार्मिक शहरहरु हुन् तर ती धार्मिक शहरहरुको निर्माण कुनै दाता राष्ट्रहरुको अनुदानबाट नभएर ती धर्ममा आस्था राख्ने जनताको योगदानबाट भएको छ । बुद्ध धर्म मानवीय प्रेम र करुणाको धर्म हो र प्रकृतिका नियमहरुलाई मान्ने हुँदा यो धर्म विज्ञान पनि हो ।

यो धर्मभित्र सजिलै संसार अटाउँछ । अहिले लुम्बिनी क्षेत्रलाई विश्वशान्ति शहर बनाउने र त्यसका लागि एकीकृत लुम्बिनी क्षेत्रीय विकास गुरुयोजना निर्माण गर्ने भन्ने चर्चा चलेको र त्यसका लागि निर्देशक समिति पनि बनिसकेको छ । तीव्र गतिले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा वहस पनि चलेको छ । चारैतर्फ गरिने बहसको निष्कर्श सकारात्मक छ । यी यावत् विषयलाई ध्यान दिँदै एकीकृत लुम्बिनी विकास गुरुयोजना निर्माण गर्दा निम्न कुरालाई विशेष ध्यान दिनुपर्ने हुन्छ । गौतम बुद्धसित सम्बन्धित स्थलहरुको विकासको सन्दर्भमा काम गर्दा लुम्बिनी वरिपरिका सबै जिल्ला समेट्नु उपयुक्त हुन्छ ।

लुम्बिनीमा आउने पर्यटकहरुमा बुद्ध धर्मावलम्बीको अतिरिक्त अन्य धर्मावलम्बी पनि ठूलो संख्यामा आउँछन् । उनीहरुका लागि धार्मिक र पर्यटकीय दृष्टिले अर्घाखाँची, गुल्मी र पाल्पा ज्यादै आकर्षक बन्नेछन् । त्यसका लागि ६ जिल्लालाई समेटेर चक्रपथको निर्माण गरिनु आवश्यक छ ।

विश्वशान्ति शहरको निर्माण दुई–चार सय वर्षपछिसम्मको विकासको अवस्था र आवश्यकता अनुमान गरेर निर्माण गर्नुपर्छ । विश्वशान्ति शहरको निर्माण सम्पन्न भएपछि शहरलाई पूर्ण स्वायत्तता दिइनुपर्छ । विश्वशान्ति शहर नेपालभित्र हुँदाहुँदै पनि आफ्नै स्वतन्त्र पहिचान बोकेको सार्वभौम सत्तायुक्त शान्तिको शहर हुनेछ । त्यसकारण विश्वशान्ति शहरको निर्माण गर्दा निम्न कुरामा ध्यान पु¥याउनु पर्दछ । आवश्यक खेल मैदान,ज्येष्ठ नागरिकका लागि आश्रयस्थल, विहार, चैत्य र गुम्बाहरुको निर्माण, समाधिस्थल, सुविधायुक्त होटलहरुको निर्माण, धर्मशालाको निर्माण आदि गर्नु आवश्यक छ ।

 

 

एकीकृत लुम्बिनी क्षेत्रीय विकास गुरुयोजना र कल्पना गरिएको विश्वशान्ति शहर सफलतापूर्वक सम्पन्न हुन आर्थिक पक्ष नै निर्णायक हुन्छ । प्रकृतिका नियमलाई बुझेर धारण गर्नु नै बुद्ध धर्म हो । शील, समाधिबाट प्राप्त हुने सम्यक ज्ञान नै बुद्धत्व हो । जसले बुद्धत्व प्राप्त गर्छ त्यही नै बुद्ध हो । त्यसकारण बुद्धत्वलाई कुनै एउटा जात धर्म सम्प्रदाय वा देशको भौगोलिक सीमाभित्र कैदगर्न सकिँदैन । जुनसुकै धर्म मान्नेहरुले पनि बुद्धत्व प्राप्त गरेर बुद्ध बन्न सक्दछन् । त्यसकारण बुद्ध धर्म मानवधर्म हो ।

हत्या हिंसा र प्रतिहिंसाले आक्रान्त आजको विश्वलाई बुद्धका उपदेशलेमात्रै सही मार्ग देखाएर सुखी बनाउन सक्दछ । यस्ताो महान् मार्गका बारेमा कुरा बुझाउन सके सबैले सहयोग गर्नेछन् र दान पनि दिनेछन् । विश्व शान्ति शहरको अन्तर्राष्ट्रिय रुपमै स्वतन्त्र पहिचान रहने व्यवस्था हुने हुँदा त्यहाँको धार्मिक र व्यवस्थापकीय संरचनामा भाग लिने अधिकार सबै विश्व शान्ति शहरका निवासीले पाउने व्यवस्था गरिनुपर्दछ । विश्व शान्ति शहर बनेपछि यही बुद्धनगरीबाट संसारभरी बुद्धत्वको प्रचार प्रसार हुनेछ । यहीबाट शान्तिको सन्देश विश्वमा सञ्चार हुनेछ । जसले संसारलाई सुखी बनाउने छ ।

साभार लुम्बिनी टाइम्स डटकम

3 years ago/Wednesday, December 13th, 2017/