उद्देश्य चैत्य

भिक्षु सुदर्शन (चैत्य–पूजा — ५)

उद्देश्य चैत्यलाई निमित्त चैत्य पनि भनिन्छ । यो चौथो प्रकारको चैत्य माथिका तीनै प्रकारका चैत्यहरुभन्दा बाहिर परेका सबै प्रकारका स्मारक वा चैत्यमा पर्ने प्रकारको चैत्य हो । फेरि उद्देश्य चैत्य शायद चारै प्रकारका चैत्यहरुमा सबैभन्दा पछि अस्तित्वमा आयो । किन भने शारीरिक, परिभोग र धर्म चैत्यहरुमा जति चाँडै जनश्रद्धा आउने बाटो छ, यसमा त्यति छैन । बुद्धलाई पहिले तीन प्रकारका चैत्य बनाएर श्रद्धा चढाइसकेपछि मात्र बुद्धको स्मरणको उद्देश्य वा निमित्त मात्रमा केही बनाइयो । तर यति स्पष्ट स्वयं बुद्धले प्रातिहार्यमय बुद्ध निर्माण गरेको उल्लेखका अतिरिक्त बुद्धले आफ्नो जीवनकालमा उहाँलाई प्रतिमा वा चित्रमा कसैले प्रतिमूर्ति बनाएर प्रतिलिपिबद्ध गरेन । अहिलेसम्म प्राप्त बुद्ध प्रतिमाहरुमा सबैभन्दा “बुद्ध पटिमा उट्टिस्सक चेतियं” भन्ने उल्लेखले प्रत्येक बुद्ध मूर्ति नै चैत्य भन्ने जनाउँछ । प्रमाणिक प्रतिमाले वा इतिहासले भन्छ, बुद्धको सुनिएको लक्षण वा व्यंजनको आधारमा नै सबैभन्दा पहिले बुद्ध मूर्ति बनाउँछ । फेरि यस्तो सबैभन्दा पहिले बुद्ध–मूर्ति बनाउने काम कनिष्कको समयमा भयो । यसपछिदेखि शान्तिनायक तथागतका शान्तिमूर्ति यति असंख्य भयो, जति असंख्य कुनै पनि अन्य धर्मप्रवक्ताका मूर्ति विश्वमा बनेनन् ।

 
काठमाडौं उपत्यकामा प्राचीन चैत्य
“…भूचैत्य भट्टा…” लेखिएको गोकर्णमा रहेको अंशुवर्माको अभिलेखले चैत्यको पुरातात्विक प्राचीनता झल्काउँछ । “राजा विश्वदेव तेनकृत सीनगु विहार चैत्य भट्टारिक प्रतिष्ठापित सम्पूर्ण कृतं” भनेर गोपाल वंशावलीमा उल्लेख भएबाट राजा विश्वदेव (वृषदेव) स्वयम्भू चैत्यमा केही प्रतिष्ठा कार्य गरेको कुरा प्रमाणित गर्दछ । त्यसपछि गुं विहारमा तपस्या गरिसकेपछि श्री मानदेवले महाचैत्य प्रतिष्ठा गरेको गोपाल वंशावल्ीमा नै उल्लेख भएको छ । “धर्म चैत्य स्थापना गरी आफैले स्तोत्र स्तुति गर्या । खासा चैत्य भनी प्रख्यात भै गया” भन्ने भाषा वंशावलीको कुरा पनि चैत्यको पूजा लिच्छवि कालमा निक्कै भएको तथ्यतिर संकेत गर्दछ ।

 
गण महाविहारमा र उत्तम बहाननिमा रहेको सानो प्रस्तर अशोक चैत्यको शैलीमा (चीबहालमा) पूर्वी लिच्छवि लिपि अभिलेख उत्कीर्ण भएको छ । त्यस्तै नै त्यौड हेणाकर महाविहारमा चैत्यको उत्तर लिच्छवि लिपिमा अभिलेख कुँदिएको छ । यी चैत्यहरु चिच्छवि कालमा नै ससाना उद्देश्य चैत्यहरु धेरै निर्माण भइसके भन्ने प्रमाणित गर्दछ । किनभने यस्ता मूर्ति नभएका तर मूर्तिं राख्ने स्थान रिक्त भएका र ढोकाको बुट्टा भएका चैत्य काठमाडौं उपत्यकाभित्र धेरै छन् । यस्ता चैत्यहरुलाई अशोक चैत्य भनने चलन छ ।

 
चैत्यको शैली र मूर्ति राख्ने रिक्त स्थानमा द्वारका बुट्टामा अजन्ताका शैलीले पुराना चैत्य भनेर देखाइने चैत्यहरु पनि प्रशस्त छन् । यस्ता सुन्दर प्राचीन कलात्मक शैलीका कलात्मक बुट्टाले भरिपूर्ण चैत्यहरु मध्ये चाबहिलमा रहेको एक चैत्य र पचलिका सँगै रहेको श्मसानमा रहेको एक चैत्य विशेष उल्लेखनीय छ ।

 
विभिन्न बोधिसत्व र बुद्धहरु भएका चैत्यहरु
चारवटा निमित्त दृष्य भएका चैत्यहरुभन्दा पछि विभिन्न बुद्ध बोधिसत्वहरु भएको चैत्यको विकास भयो । अजन्ताका गुफामा भएका चैत्यहरुमा विभिन्न मुद्रामा बुद्ध बस्नुभएको चैत्य छ । यसमा उभिरहनुभएका बुद्धहरुका मूर्ति राखिएका छन् । यसपछि बुद्ध बोधिसत्वहरु भएको चैत्यको उल्लेख गर्ने क्रममा ध्वाखाबहाःका प्रसिद्ध लिच्छवि चैत्यहरुको नाम आउँछ ।

 
लेखकको नेपालभाषामा लेखिएको पुस्तक चैत्यपूजा (विसं २०३७)बाट राजेन मानन्धरद्वारा अनुदित ।

3 years ago/Saturday, December 9th, 2017/