बुद्धशिक्षा “विभज्जवादी”

चित्र शाक्य
हामी फेरी दर्शन के हो? कै निरन्तरतामा जाऔं। अरू धर्मसम्प्रदायले गरिने व्याख्यामा नभेटिने महत्वपूर्ण गुण जुन बुद्धशिक्षामा छ, त्यो हो विश्लेषणात्मक व्याख्या। अरू सबै धर्मसम्प्रदायहरूले संश्लेषणात्मक व्याख्या गर्छ। अँग्रेजीमा संश्लेषणात्मकलाई Synthetic method भन्छ भने विश्लेषणात्मकलाई Analytic method भनिन्छ।

१) संश्लेषणात्मक विधिमा सबैलाई दहिच्यूरा मुछे जस्तो गरेर एक मेसमा पारेर व्याख्या गरिन्छ। त्यसैले अध्याताले कहिले कहिले त छेउ टुप्पो छुट्टयाउन नसक्ने हुन्छ। व्याख्या गर्दै जाँदा जाँदा पहिले भनेको कुरालाई पछिको कुराले काट्ने पनि हुन्छ। त्यसैले यथार्थ केहो बुझ्न नसकेर रनभुल्लमा पर्ने हुन्छ। यदाकदा हामी गीता पढेर बहुलाएको मानिसको बारे पनि सुन्छौं। यसको मूल कारण नै संश्लेषणात्मक विधिले व्याख्या गरिएकोले हो।

ईश्वरीय शक्तिको व्याख्या गर्दै जाँदा ईश्वरलाई सर्वोपरी बनाउन सर्वशक्तिमान भन्न पुगेको हुन्छ भने त्यसतो सर्वशक्तिमान ईश्वरको भक्ति गर्नेले पनि धेरै सास्ति यातना भोग्नु पर्ने कुरा पनि देखाएको हुन्छ।यसलाई सम्बन्धित सन्तहरूले सुधार्दै लगेको पनि देखिन्छ। कृपालुजी महाराजले आफ्नो प्रवचनमा यसतो भन्नु भएको सुनेको छु, ईश्वरले मानिसको श्रृष्टि आफ्नो खुशीमा, आफ्नै लहडमा होइन उसले जस्तो कर्म गरेर आएको छ त्यहि अनुसार श्रृष्टि गर्छ। त्यसैले मानिसले जिवनमा आफ्नो पूर्वकर्म अनुसारको सुखदु:ख भोग गर्छ। यस अर्थमा हामीले कृपालुजी महाराजमा कृतज्ञता प्रकट गर्नु पर्छ। किनभने यसले मानिसलाई ईश्वरको कोरा भक्ति गर्ने र ईश्वरकै भर पर्ने गर्नुको सट्टा कुशल कर्म गर्नमा प्रयत्नशील बनाउँछ।अन्यथा अरू सन्तहरूले यस्तो भनेको पनि सुनेको छु, जे जस्तो कर्म गर, तर ईश्वरमा मन लगाउ, बस् तिम्रो कल्याण हुन्छ। तिमी अरू कुनै चिन्ता लिनु पर्दैन, ईश्वरले सबै मिलाई दिन्छ।
तर यो कसरी हुन्छ? महाभारतमा युधिष्ठिरलाई कृष्णले द्रोणको मृत्यु सम्भव बनाउन उनका छोरा अश्वत्थामा मर्‍यो भन्न लगाउँदा झूठ बोल्न नमानेकोले अश्वत्थामा नामको हात्ती मारेर “नरो वा कुञ्जरो वा अश्वत्थामा हत हत:।” भनेर अप्रत्यक्ष झूठो बोल्न लगाउँदा पनि नरक देख्नु पर्‍यो। कर्मको फल त भोग्नै पर्छ, कसैले टारेर टर्दैन। महाभारतका रचनाकार व्यासजीलाई पनि साधुवाद दिनै पर्छ, यस्तो सत्यलाई लेख्न् नछुटाउनु भएकोमा।

२) विश्लेषणात्मक विधिमा विषयवस्तुको गुणधर्म अनुसार छुट्याई छुट्याईकन ती प्रत्येकको अलग अलग व्याख्या गरिन्छ, जसबाट ठूलोबाट सानो, सानोबाट झन सानो गरेर मिहेनरूपमा त्यसको सत्य तथ्य प्रकाशमा ल्याईन्छ। बुद्धशिक्षा विश्लेषणात्मक रूपमा व्याख्या गरिने भएकोले यसमा यो प्रष्ट भएन, यहाँको कुरा थाहा भएन भन्ने हुँदैन। त्यसैले बुद्धशिक्षामा एकको अर्को कुरासंग बाझिने हुँदैन। बुद्धशिक्षाको एक महत्वपूर्ण विशेषता भनेको विश्लेषण (विभज्जवादि) हुनु हो।बुद्धले आफ्ना सबै शिक्षापदहरू विश्लेषणात्मक विधिमा देशना गर्नु भयो। उदाहरणको लागि आध्यात्मिक लाभको लागी चित्तलाई निरञ्जन पार्नु पर्छ भनिन्छ। चित्तलाई ध्यानद्वारा शुद्ध पार्न खोजिन्छ। चित्तलाई ध्यानले नुहाई त दिन्छ तर शिवलिङ्गमा दुध चढाएको जस्तो वा महावीरको मूर्तिमा दुध चढाएको जस्तो गरी। त्यसले मूर्तिको बाहिरी भाग मात्र सफा हुन्छ। त्यसै गरी मनको बाह्य तह मात्र सफा गरेर हुँदैन। भित्री तह पनि सफा गर्नुपर्छ। अन्यथा मनको भित्रीतहको मैल माथि आएर शुद्ध चित्तको काम हुन दिंदैन।


बुद्धले मनको तह र टुक्रा टुक्रामा विभाजन गरेर अन्त तहको समेत चित्त शुद्ध गर्न सिकाएको छ। बुद्धले चित्तको विभाजन गर्दा १२१ वटा चित्तको व्याख्या दिनु भएको छ। त्यसमा पनि समूह समूहमा विभाजन गरेर तिनीहरूको प्रक्रियाको व्याख्या गरिएको छ। चित्तको साथ साथ उत्पन्न हुने ५२ चेतसिक जसले गुण अवगुण जाहेर गर्ने काम गर्दछ, त्यसको पनि व्याख्या गरेको छ। यसरी बुद्धले वारिक वारिक वा मिहिन रूपमा व्याख्या गर्नु भएको छ। यसैले संश्लेषणात्मकमा जस्तो अघिको कुरालाई पछिको कुराले काट्ने खालको हुँदै हुँदैन। चित्तको विशुद्धि यसरी सुक्ष्मतम तहसम्म हुने हुनाले अर्हतहरू कुनै पनि वातावरणमा पनि विचलित नहुने ईन्द्रकील समान मजबूत हुन्छन्।

बिज्ञानले पनि संश्लेषणात्मक नभई विश्लेषणात्मक विधिमा नै काम गर्छ र विश्लेषणात्मक विधिलाई बैज्ञानिक विधि भनिन्छ। बिज्ञानले अणुलाई टुक्र्याएर परमाणुमा छुट्याएर हेरे। पानीको अणुलाई छुट्याएर हेर्दा हाईड्रोजनका २ र अक्सिजनको १ परमाणु फेला पारे। उनीहरूले पानीलाई बैज्ञानिक नाम H2O राखे। हाईड्रोजनका २ परमाणु र अक्सिजनको १ परमाणु मिलाएर पानी बनाएर पनि देखाए।बैज्ञानिकहरू कुनै पनि कुरालाई विश्लेषण नगरी कुनै निष्कर्षमा पुग्दैन। सत्यको निर्क्यौल विश्लेषणबाट (विभज्ज) बाट हुन्छ।

3 years ago/Friday, December 8th, 2017/