श्रीघः चैत्यको रोचक इतिहास

buddhism_shreeghaa_kathe

रजनी शाक्य
चैत्य परिचय
नेपाल चैत्यहरुले भरिएको देश हो । विशेष गरी नेपालमण्डल भित्र रहेका अनगिन्ति कलात्मक चैत्यहरुले विश्वमा नेपालको मौलिक पहिचान दिन सकेको देखिन्छ । चैत्य प्रतिस्थापन परम्परा आजभन्दा २६०० सय वर्ष अघि नै जनमानसमा राम्रोसंग प्रचलित भइसकेको कुरा पालि त्रिपिटकबाट थाहा हुन्छ ।
पालि भाषामा चैत्यलाई चेतिय भनिन्छ । दीघनिकायको महापरिनिब्बान सुत्तमा उदेन चेतिय, गोतमक चेतिय, सत्तम्ब चेतिय, बहुपुत्त चेतिय, चापाल चेतिय आदि रमणीय चेतिय भएको कुरा उल्लेख छ । त्यस्तै गरी बज्जीहरुले नगर भित्र र बाहिरका चैत्यस्थानहरु मान सत्कार गरी गौरवपूर्वक पुजा गर्ने कुरा पनि सोही सुत्तमा उल्लेख गरिएको छ । कुशल चित्त उत्पाद तथा कुशल चित्त एकाग्रताको आधारका रुपमा चैत्यलाई लिईन्छ । कुशल चित्त उत्पादका लागि संवेग उत्पन्न गराउने निमित्तका आधारमा चैत्य चार प्रकारका छन् ः–
१. शारीरिक चैत्य ः– तथागतको केश, नङ्, दन्त, अस्थि धातु निधान गरी निर्माण गरिने चैत्यलाई शारीरिक चैत्य भनिन्छ । सम्रात अशोकले बुद्धको अस्थिधातु राखेर ८४,००० स्तूपहरु बनाउन लगाएको कुरा उल्लेख छ । बुद्धको अस्थिधातु राखेर बनाइएको चैत्य नेपालको रामग्राममा पनि छ ।
२. परिभोग चैत्य ः– तथागतले प्रयोग गर्नुभएका पिण्डपात्र आदि परिष्कार राखी निर्माण गरिने चैत्यलाई परिभोग चैत्य भनिन्छ ।
३. धर्म चैत्य ः– बुद्ध वचन त्रिपिटक, ८४ हजार धर्मस्कन्धको गौरव राख्ने श्रद्धामा निर्माण गरिने चैत्यलाई धर्म चैत्य भनिन्छ ।
४. उद्देश्य चैत्य ः– बुद्धको स्मरणको उद्देश्य वा निमित्त मात्रका लागि निर्माण गरिने चैत्यलाई उद्देश्य चैत्य भनिन्छ । वर्तमान समयसम्ममा थुप्रै शैलीका उद्देश्यिक चैत्यहरुको विकास भइसकेको देखिन्छ ।

 
वास्तवमा यी सबै प्रकारका चैत्यले बुद्ध, धर्म र संघको अनन्त गुणलाई स्मरण गरी चित्तलाई कुशलतातिर एकाग्र गर्दे विमोक्ष प्राप्त गर्ने लक्ष्यतिर निर्देश गरेको देखिन्छ । स्वयम्भू पुराण अनुसार स्वयम्भू महाचैत्य सबैभन्दा प्राचीन चैत्य हुन् । जलमग्न कालीह्रद उपत्यकामा विपस्सी तथागतले कमलको बीज रोपेपछि हजार पत्ता भएको कमलको फूलमाथि ज्योतिरुप उत्पन्न भएको थियो । यसरी स्वयम् उत्पन्न ज्योति रुप दर्शनार्थ अनेक बुद्ध र बोधिसत्वहरु आउने क्रममा पञ्चशीर्ष पर्वतबाट आएका मञ्जुश्री बोधिसत्वले क्वदुवाल न्हुछेकापमा चन्द्रहास खड्गले प्रहार गरी कालीह्रदको पानी बाहिर निकाली उपत्यका बस्ती योग्य बनाएका थिए । पछि स्वयम्भू दर्शनार्थ आएका शान्तिकराचार्यले ज्योतिरुपलाई छोपेर चैत्याकार रुपमा परिणत गरेको कुरा स्वयम्भू महाचैत्य पुस्तकमा उल्लेख गरिएको छ । हाल नेपालमा जति पनि ठूला साना चैत्यहरु निर्माण भएका छन् ती सबै स्वयम्भू महाचैत्यकै उपज भन्न सकिन्छ ।

 
श्रीघः चैत्य
नेपालका अरु चैत्यहरुलाई छोडेर स्वयम्भू महाचैत्य जस्तै झल्को दिने काठमाडौंमा अर्को एउटा चैत्य छ जसलाई श्रीघः चैत्य, काश्यप चैत्य, काशी चैत्य, शान्तिघट बज्रधातु चैत्य आदि नामले चिन्ने गरिन्छ । आकारमा स्वयम्भू महाचैत्यभन्दा सानो भएपनि धार्मिक ऐतिहासिक दृष्टिकोणले बडो महत्वपूर्ण चैत्यको रुपमा रहेको छ । काठमाडौंको वडा नं २८ शान्तिघट महाविहारमा रहेको श्रीघः चैत्य स्थापना सम्बन्धमा रोचक इतिहास रहेको छः–
राजा नरेन्द्रदेवको समयमा काठमाडौंको क्वाःबहाः मैत्रीपुर महाविहार थँहितिमा वाक्वज्र (वाग्वज्र) वज्राचार्य नामको एक तान्त्रिक आचार्य थियो । उनको मुखबाट निस्कने शब्दहरुमा सिद्धि हुने भएकोले उनलाई वाक्वज्र भनिएको हो । उनका दुई श्रीमती र दुई छोराहरु मञ्जुपाल र महीन्द्रपाल हुन् । करुणामयलाई कामारुकाक्षबाट नेपालमा ल्याउने प्रसिद्ध आचार्य बन्धुदत्त उनको गुरु थियो । धार्मिक स्वभावका तान्त्रिज्ञ वाक्वज्र दिनहुँ बनारसको मणिकर्निकाघाटमा गएर नुहाउने, मामकी देवीको आरधना गरेर घर फर्की पुजा पाठ गरी एक छाक भोजन मात्र गर्ने रहेछ ।

 
त्यसबेला काशीकी महारानीको एक बौद्ध स्तूप स्थापना गर्ने इच्छा भएकोले काशी नरेशले विभिन्न देश विदेशबाट कलाकारहरु निमन्त्रणा गरी चैत्य बनाउन लगाए । तर चैत्य प्रतिस्थापनका लागि काशीमा कुनै योग्य आचार्य पाएको थिएन । पछि नेपालबाट प्रतिदिन काशीको मणिकर्णिका घाटमा स्नान गर्ने श्री वाक्वज्र वज्राचार्यलाई बोलाएर प्रतिस्थापन गर्न लगाए ।
श्रीघः चैत्य
आचार्य वाक्रवज्रले मणिकर्णिका घाटमा आफुले साधना गरी स्थापना गरेको मामकी देवीको पूर्णकलशमा जल भरेर १०८ पटक मन्त्र जप गरी काशी चैत्यमाथि जल अर्पण गरे । त्यसपछि आखेजाकी (पाँच चामल) पाँचपटक फुकेर पुजा गरे र राजालाई चैत्य प्रतिस्था भएको सूचना दिए । तर चैत्य प्रतिस्थाका लागि राजाले जोरजाम गरेका ध्वजा, छत्र, पताका चढाएर पुजा नगरी, होम नगरी चैत्य प्रतिस्था गरेको कुरामा राजा सहित प्रजागणले उनलाई मूर्खको संज्ञा दिए । यस कुराले उनी दुःखी भए तापनि उनले आफ्नो मनलाई वज्रसमान दृढ बनाइ राखे र चाँडोभन्दा चाँडो आफ्नो निर्दोषताको बोध राजालाई कसरी गराउने भन्ने सोचमा लागिरहे ।
एकदिन चैत्य स्थापना गरेको स्थानमा प्रेतात्माहरु भएको र चैत्यलाई अन्यत्र सार्नुपर्ने कुरा राजालाई बताए । कुरा सत्य नै भए पनि प्रतिस्था गरिसकेको चैत्यलाई फेरि निकालेर अर्को ठाउँमा सार्न राजा मानेन । राजा नमानेपछि आचार्य वाक्वज्रले धर्मशास्त्र अनुसार घोडा हात्तीलाई तान्न लगाउँदा कुनै दोष नहुने कुरा बताएपछि त्यस्तै गरे । तर चैत्यलाई हात्ती घोडाले अलिकति पनि हल्लाउन सकेन । तब वाक्वज्रले राजासँग आफुले चैत्यलाई अन्यत्र सार्ने अनुमति मागे । राजाले पनि उनको परीक्षा गर्न यस चैत्यलाई तानेर जहाँ लान चाहेको हो लगेर पवित्र स्थानमा स्थापना गर्न सक्छौ भनेपछि आचार्यले चैत्यलाई मन्त्र सिद्ध भएको पसूका (पाँच रंगको धागो) ले बाँधेर उचाली आकाशमार्गबाट उडाएर नेपालमण्डलको शान्तिघट भन्ने स्थानमा पलिस्था गरे । यो देखेर राजा तथा प्रजागण सबैजना आश्चार्य चकित भए । त्यसपछि राजाले उनलाई साधारण मनुष्य नभई देवशक्ति भएका हुन् भनी उनलाई समन्तभद्र नामले सम्बोधन गरे ।

 
शान्तिघटमा आकाशमार्गबाट चैत्य ल्याउँदा उनको उमेर ५० वर्षको थियो र ने.सं.पु. ३३० मा उनले काशी चैत्यको स्थापना गरेको अनुमान गरिएको छ । काशी चैत्य स्थापना गरेपछि नित्यपुजा गर्न उनले श्रीघःमा नै आश्विन शुक्ल चतुर्दशीका दिन शान्तिघट महाविहारको स्थापना गरेका थिए । पछि क्वाथबहालको क्वापाद्यो (शाक्यमुनि बुद्ध) को दाहिने ध्यानागारमा प्रवेश गरेर त्यहीँ अन्तध्र्यान भएको कुरा उल्लेख छ ।

 
काशी नरेशको आज्ञा पवित्र स्थानमा चैत्य सार्नु थियो । आचार्य वाक्वज्रले शान्तिघट पवित्र स्थान भएको हुँदा त्यहीँ चैत्यको स्थापना गरे । शान्तिघटलाई श्रीघट र शिलाको घैंटो, घडा भएकोले शिलाघट पनि भन्ने गरिन्छ । शिलाघट यम्पु प्रदेश, सुवर्णप्रणाली काठमाडौं महानगर नःघः टोलको श्रीघः चैत्यको पश्चिमतिर अवस्थित शान्तिपुरमा पलिस्था गरिएको हुँदा शान्तिघट नाम प्रसिद्ध रहेको देखिन्छ । शान्तिपुरमा ठूला साना गरी जम्मा छ वटा शिलाका घडाहरु रहेका छन् । घटको मुन्तिरको शिलालेखबाट शािन्तघट श्रीघः चैत्यभन्दा पूर्व लिच्छविकालीन राजा अंशुवर्माको समयमा नै पलिस्था भइसकेको कुरा बुझिन्छ । शिलालेख टुटफट भएको हुँदा राजाको नाम, संवत् प्रष्ट नभए पनि अभिलेखमा उल्लेख भएका शब्दहरुबाट सो शिलालेख करीब १६०० वर्ष पुरानो हुनसक्ने अनुमान इतिहासकार धनवज्र वज्राचार्यजुको रहेको छ ।

 
यसरी काशीबाट ल्याइएको चैत्य हुँदा ‘काशी चैत्य’ पनि भन्ने गरेको छ भने अर्को जनश्रुति अनुसार मैत्रीपुर महाविहार (क्वाः बहाः) नजिक क्वाःपुखु भएको र सोही क्वाःपुखुसँगै रहेको विहार भएर क्वाःवहाः भनिएको हो । आचार्य वाक्वज्र सो क्वाःपुखुमा दिनहुँ नुहाउने र सोही पोखरीको जलले नित्य पुजा कर्म गर्ने गथ्र्यो । पोखरी नजिकै एक भव्य मणि र्चत्य रहेको र सो आचार्य वाक्वज्रले स्थापना गरको हुनुपर्छ । मणिकर्निका घाटमा स्थापना गर्न नसकि आकाशमार्गबाट नेपालमा ल्याएर स्थापना गरेको हुँदा ‘मणि चैत्य’ भन्ने नाम भएको कुरा पनि छ ।

 
फेरि श्रीघः चैत्यलाई काश्यप स्वयम्भू पनि भनिन्छ । इतिहासकार धनवज्र वज्राचार्यजुको लिच्छविकालीन अभिलेख संख्या ३८० मा काठे सिम्भू नाम उल्लेख भएबाट जंगलमा स्वयम्भू जस्तै चैत्य रहेको हुँदा काठे सिम्भू भनिएकोलाई पछि काश्यप स्वयम्भू भन्न थालिएको हो कि भन्ने भान पनि हुन्छ ।

 
शान्तिघट
श्रीघः चैत्यको शान्तिपुर भित्र स्थापना गरिएको घट (घैंटो, घडा) भएर शान्तिघट भन्ने नाम रहेको हो । घःलाई स्थानिय नेपालभाषामा क्वंचाः भनिने हुँदा क्वंचा भएको स्थान क्वःबहाः र त्यहाँ स्थापना गरिराखेको घटलाई क्वंचाघः भनिन्छ भने क्वःबहालाई कुम्भविहार पनि भनिन्छ ।
शान्तिपुर
शान्तिघटलाई सिल घः (शील घट) पनि भनिन्छ । सिल घःको अर्थ नियमपूर्ण घैंटो, घडा हो । नेपालभाषामा पखाल्नुलाई सिलेगु भन्ने गरिन्छ । कुनै पनि चीज सफा शुद्ध बनाउन पखाल्नु पर्दछ । घडामा पानी राखिन्छ । अतः घडाको पानीले शुद्ध सफा गर्ने अर्थमा सिल घः भन्ने गरेको हुनसक्छ । किनकी त्यहाँ कुनै पनि पुजापाठ शान्ति – स्वस्ति गर्ने बेला शान्तिघटको पानी चाहिन्छ र क्वाथबहाका वज्राचार्यहरु ‘पिंवा वने’ भनेर शान्तिपुरमा प्रवेश गरी शान्तिघटको पानी ल्याएर महाबली पुजा गर्ने गरिन्छ तर हाल उक्त घटमा पानी नभएर सुख्खा भइसकेको सुन्नमा आउँछ । अर्को कुरा बुद्ध धर्ममा शीलको स्थान उच्च रहेको छ । शील चित्त शुद्ध गर्ने महत्वपूर्ण आधारशिला हो । शीललाई नियम तथा अनुशासन पनि भनिन्छ । पालि साहित्यमा पाँच शील, आठ उपोसथ शील, दश शीलका कुराहरु छन् । शुभ कार्यमा जलले शरीर शुद्ध गरिन्छ भने शीलले चित्त शुद्ध गरिन्छ । सिल घःले यही शुद्धता र पवित्रताको पनि संकेत गरेको देखिन्छ ।

 
शान्तिघटलाई नेपालको स्थानिय भाषामा सिगः भन्ने गरिएको छ । पहिला सो स्थान बाक्लो सिमा (रुख) भएको जङ्गल थियो । यसरी सिमा भएको स्थान हुनाले सिमागःबाट सिगः हुनगयो । सिगःमा रहेको धर्मकीर्ति विहार निर्माण गर्न जग्गा खरिद गर्दा त्यहाँ ककीचा स्वांमा (एक प्रकारको रुखहरु) भएको कुरा उल्लेख छ ।

 
वास्तवमा सिगः शुद्ध नाम भएको देखिन आउँछ । किनकी काठमाडौंमा सिगःसँग मिल्दोजुल्दो अन्य किलागः, त्यंग (तिंगः), वंगः आदि नामका स्थानहरु पनि छन् । किसि लहिगु थाय् – किलागः, तिं (बेत) विरुवाको झाङ्ग भएकोले तिंगः भयो । गःले बासस्थान जनाउँछ । किलागः हात्ती पाल्ने मानिसहरुको बासस्थान भयो । तिंगःको विषयमा पनि यस्तो जनश्रुति रहेको छ – तिं विरुवाको झाङ्गमा एक स्थानिय ज्यापुले गणेश भगवान नाचिरहेको देखेको थियो । उनले देखेपछि गणेश त्यहीँ नै सिद्ध भएर गएको थियो । पछि त्यहाँ गणेश भगवान स्थापना गरी गणेश भगवानको सेवार्थ मानिसहरु त्यहीँ बसोबास गर्न थाले । जहाँ बसोबास हुन्छ त्यहाँ पानीको आवश्यकता हुन थाल्यो । जङ्गल भएको हुँदा पानीको मुहान सजिलै पाउने भयो । धर्मसेवा गर्ने मनसाय भएकाले कुवा, इनार बनाउने जस्तै पानीको मुहान रहेको ठाउँमा शिलाका घटहरु बनाएका हुन सक्छन् । सिगःको शिलाघटमा पहिले पानी हुनु तर अहिले सुख्खा हुनु, सिगःमा बाहेक अन्य वंघः, नःघः, न्हुघः आदि स्थानमा पनि शिलाघट रहनुले यही संकेत गरेको अनुमान हुन्छ ।
हाल जनमानसमा श्रीघः नाम बढी प्रचलनमा रहेको देखिन्छ । शायद सिल घः उच्चारण गर्दागर्दै छोटकरी हुँदै श्रीघः हुन गएको हो कि जस्तो भान हुन्छ । तर श्रीघः नाम पनि सुहाउँदो नै भएको देखिन्छ । किनकी श्री शब्दले शीर्ष, उच्च, आदर, सम्मान, श्रेष्ठ भन्ने बुझाउँछ । पानी बिना संसारका कुनै पनि सजीव निर्जीवको अस्तित्व रहन्न । फेरि पृथ्वी पानीमाथि नै अवस्थित छ । अनि पृथ्वीमा हामी बाँचिरहेका छौं । अतः यस्तो जलपूर्ण घडालाई सम्मान गर्न योग्य, पुजा गर्न योग्य, शुद्ध, पवित्र, उच्च, शीर्ष भनी श्रीघः सम्बोधन गरिएको पनि एकदम उचित देखिन्छ ।

 
श्रीघः चैत्यको वर्तमान अवस्था
समयको परिवर्तनसँगै श्रीघः चैत्य पनि पटकपटकको जिर्णोद्धारपछि हालको स्वरुपमा परिवर्तन भएको देखिन्छ । चैत्य परिसर भित्र पस्ने पूर्वमा पञ्चबुद्ध स्थापित ठूलो ध्वाखा (ढोका) रहेको छ । ध्वाखाको दायाँबायाँ घरहरु रहेका छन् । मूल प्राङ्गण पुगेपछि दायाँ उत्तर दिशामा एक गुम्बा, बुद्धको ठूलो मूर्ति र धर्मकीर्ति विहार निर्माण गरिएको छ । पश्चिमतिर एक थेरवाद विहार र प्रभात स्कुल रहेको छ । दक्षिणतिर भजन गर्ने स्थान, क्वापाद्यः प्रमुख रहेको छ ।

 
प्राङ्गणको बीच भागमा पञ्चबुद्ध स्थापित करीब ६० फिट जति अग्लो श्रीघः चैत्य रहेको छ । चैत्यको वरिपरी स–साना विभिन्न शैलीमा निर्माण गरिएका उद्देश्यिक चैत्यहरु स्थापित छन् । स्वयम्भू महाचैत्यमा जस्तै पश्चिम उत्तर कुनामा अजिमाद्यः (हारती) को मन्दिर रहेको छ । यी बाहेक बुद्ध, लोकेश्वर, वज्रसत्व, महामञ्जुश्री, गणेश, महाँकाल, कुलेश्वर महाद्यः आदिका मूर्तिहरुले श्रीघः चैत्य परिसर शोभायमान छन् ।
वरिपरीका घरमा धार्मिक आस्थाका वस्तुहरु सजाइएका पसलहरु, खाद्य, आईसक्रिम, चिया पसलहरु र त्यहाँ हुने मानिसहरुको भीडले श्रीघः राम्रो व्यापारीक केन्द्र पनि बनेको देखिन्छ । यसरी ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यका रुपमा महत्व राख्ने श्रीघः चैत्यमा बिहानै देखि सद्धर्मप्रेमी स्वदेशी तथा विदेशीहरु त्यहाँको धार्मिक वातावरणको रसपान गर्नका लागि पुग्छन् । शान्त, मनोरम, धर्माभाष मनपराउनेहरुका लागि विशेष रुचि हुने पवित्र केन्द्रस्थल भए पनि हाल विभिन्न उद्देश्य लिएर विभिन्न प्रकारका मानिसहरु जमघट हुनेको भीडले गर्दा वातावरणीय प्रदुषण बढेको देखिन्छ । सम्पदा संरक्षण सम्बन्धी चेतना नभएकाभन्दा पनि सचेत भएरपनि अचेत जस्तै भएर हिँड्नेहरुको संख्या अत्यधिक भएका कारण श्रीघः चैत्य मात्र नभई नेपालका कयौं सम्पदाहरु लोप भइसकेका छन्, कति लोप हुने अवस्थामा छन् त कति वातावरणीय प्रदुषणले प्रदुषित छन् । प्रत्येक व्यक्तिमा स्वस्फुर्त रुपले सम्पदाको महत्व र यसको संरक्षण सम्बन्धमा चेतनामूलक उत्तरदायित्व बोध भएको खण्डमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक महत्व बोकेका यस्ता स्मारक सम्पदा स्थलबाट जीवन र जगतका लागि लाभ अवश्य मिल्नेछ भनेर भन्न सकिन्छ ।

 
सन्दर्भ ग्रन्थहरुः
१. शाक्य, हेमराज, श्री स्वयम्भू महाचैत्य, काठमाडौंः स्वयम्भू विकास मण्डल, १०६८ ।
२. वज्राचार्य, दुण्डबहादुर (अनु.), दीघनिकाय, ललितपुर ः वीरपूर्ण पुस्तकालय, ११२० ।
३. ताम्राकार, रत्नतारा, श्री शान्तिघट वज्रधातु चैत्य महाविहार श्रीघः वहाः या ताःचाः, काठमाडौं ः श्री शान्तिघट चैत्य
महाविहार, ११३४ ।
४. वज्राचार्य, प्रकाश, बौद्ध दर्पण, काठमाडौं ः धर्मकीर्ति प्रकाशन, १११६ ।
५. वज्राचार्य, रत्नकाजी, “शान्तिघट महाविहार (काश्यप स्वयम्भू) या संक्षिप्त परिचय” पलेस्वाँ, (वर्ष–१, अंक–१,
११०९)
६. वज्राचार्य, विजयराज, “नेपाल के सिद्ध वज्राचार्यों की जीवनी एवं कृतियाँ – २”, धी (अंक – १५, १९९३) पृ. ३०६–३०८
७. तुलाधर, रीना, “धर्मकीर्ति विहारभवन उहिलेदेखि अहिलेसम्म”, धर्मकीर्ति (वर्ष–३३, अंक–१, ११३५) पृ. १७

3 years ago/Friday, December 8th, 2017/