लुम्बिनीको परिचय

कमल भण्डारी
लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । २५६२ वर्ष पहिला सुन्दर र पवित्र बगैंचामा माता मायादेवीको कोखबाट शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो । उनले जन्मने बित्तिकै सातपाइला हिड्ने मनुष्य जातिका लागि यसै ठाउँबाट उद्गार प्रकट गरेका पाइन्छ ।

यस भुमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तिर्थालु पर्यटकहरु तथा अध्ययनकर्ताहरु लुम्बिनीको भ्रमण गर्छन् ।

धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमिः

विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरुले शताब्दिऔंदेखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजार गर्दछन् । प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले “हिद बुधे जाते शाक्यमुनीति” (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो)भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे ।सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारिका शिला र जन्मेपछि उहाँलाई शुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिक ठाउँ हरुको भ्रमण समेत गरे ।

प्राप्त ऐतिहासिक तथ्यहरुका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरुमा चिनिया यात्रीहरु त्सेङ साई,पायिहयान र हुयेन साङ थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पाचौ शताब्दीमा र हुयेन साड्डले सातौं शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी यात्रीहरुमा हुयेन साड्डको यात्रा विवरणहरुले लुम्बिनीको बारेमा बिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् । सन् १३१२ मा नेपाल कर्णाली क्षेत्रकाराजा रिपु मल्लले लुीम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा रिपुमल्ल ” चिर जयतु” भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी विस्मृतिमा रहन पुग्यो ।

पछि सन् १८९६ मा गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका पुरातात्विक अनुसन्धान एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरी चासो र सरोकारको विषय बन्यो । सन् १९९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरु बाहिर देखाए । फेरि सन् १९३० को दशकमा केशर शम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे । भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन् ।

सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्र संघका साथै विभिन्न राष्ट्रिय अत्नर्राष्ट्रिय संघसंस्थाहरुको समेत सहयोग र सहकार्यमा नेपाल सरकारले विशेष महत्वका साथ विभिन्न निकायहरु निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण र सम्वर्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएको थियो । १९८५ देखि स्वायत निकायका रुपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन्,संरक्षण र प्रवद्र्धनको काम कोषले नै गर्दै आएको छ । सन् १९९२ देखि १९९६ सम्मा कोष, नेपाल सरकार पुरातत्व विभाग र जापान बौद्ध महासंघले संयुक्त रुपमा मायादेवी मन्दिर परिसरमा उत्खनन् कार्य गरेका थिए । हाल लुम्बिनी विश्वभरका लाखौं मानिसहरुको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेको र सुन्दर,शान्त रुपमा विकसित हुँदै गइरहेको छ ।

भगवान गौतम बुद्ध तथागतको महापरिनिर्वाण लगत्तै पछि लुम्बिनी एक महत्वपूर्ण आध्यात्मिक स्थलको रुपमा परिवर्तन भयो । लुम्बिनीको सबैभन्दा पवित्र जन्म विन्दुले श्रद्धालु भक्तजनहरुको ध्यान आकर्षित भयो फलस्वरुप भगवानप्रति श्रद्धाञ्जलिका लागि विभिन्न स्तुपहरु निर्माण भए ।यी निर्माणहरु धार्मिक प्रवृत्तिका थिए।

मायादेवी मन्दिरः

यस पवित्र स्थलमा रहेका सम्पूर्ण धरोहरहरुमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रविन्दु हो । विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहहरुले यसको महत्व तथा प्राचीनता माथि प्रकाश पार्दछ । भगवान बुद्धकोजन्म दृश्य सहितको प्राचीन मायादेवी मूर्ति यस मन्दिरभित्र अवस्थित छ । मन्दिरभित्रका भग्नावशेषहरु ई.पू. तेश्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका छन्।

जन्मस्मारक शिलाः

जन्मस्मारक शिला एक गहिरो कोठामा रहेको छ । जसले भगवान बुद्धको जन्म विन्दुलाई स्पष्ट देखाउँछ । मायादेवी मन्दिर परिसरको सघन उत्खनन् पश्चात् यो शिला सन् १९९६ मा पत्ता लागेको हो ।

मायादेवी मूर्तिः

मायादेवीको मूर्तिलाई जन्म मूर्ति पनि भनिन्छ । चौथो शताब्दीमा निर्मित यस मुर्तिले बुद्ध भगवानको जन्म दृश्यलाई देखाएको छ ।मायादेवीले सहाराको लागि दाहिने हातले रुखको हाँगा समात्नु भएको छ । देब्रेपट्टि छेउमा उहाँकी बहिनी प्रजापति उभिइरहनु भएको छ भने दुई देवगणहरु भगवानलाई लिनका लागि तयारी अवस्थामा देखिन्छन् र नवजात बुद्धको मूर्ति बीचमा देखिन्छ ।

पवित्र पोखरीः

अशोकस्तम्भको दक्षिणमा पवित्र पुष्करिणी अवस्थित छ । मायादेवीले बुद्ध भगवानलाई जन्म दिएपछी यहाँ नुहाउनु भएको थियो साथै भगवानलाई पनि यहाँ प्रथम स्नान गराई शुद्ध बनाइएको थियो भन्ने विश्वास रहेको छ ।

अशोक स्तम्भः

अशोक स्तम्भमा कुँदिएका शिलालेखले भगवान गौतम बुद्धको जन्मस्थलको बारेमा ऐतिहासिक प्रमाण दिन्छ । भगवान बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा यो स्तम्भमा भएको शिलालेख नै सबैभन्दा महत्वपूर्णआधिकारिक तथा ऐतिहासिक अभिलेख हो ।

लुम्बिनी परियोजना वाट लुम्बिनी विकास

सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्तको लुम्बिनी भ्रमण नै आधुनिक लुम्बिनीको विकासको सम्बन्धमा कोसेढुड्डा भण्डार सावित भयो ।लुम्बिनीको महत्व तथा पवित्रताबाट अति प्रभावित भएर उनले स्वर्गीय श्री ५ महेन्द्रसँग छलफल गर्नुका साथै नेपाल सरकारसँग लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थल तथा पर्यटन केन्द्रको रुपमा विकास गर्न सल्लाह दिए । सन् १९७० मा उनले संयुक्त राष्ट्र संघको सहभागितामा लुम्बिनीको विकास गर्न १५ सदस्य राष्ट्र भएको ‘लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति’ गठन गर्न सहयोग गरे । लुम्बिनीको योजनाबद्ध विकासको लागि सन् १९७२ मा जापानी नागरिक प्रा. केन्जो टांगेलाई लुम्बिनी गुरुयोजना तयार गर्ने गहन ज़िम्मेवारी दाइयों ।

लुम्बिनी गुरुयोजनाः

प्रा. केन्जो टांगेद्धारा तयार पारिएको लुम्बिनी गुरुयोजना नेपाल सरकार तथा संयुक्त राष्ट्र संघबाट सन् १९७८ मा पारितभयो । त्यस अगाडि नै नेपाली सरकारले लुम्बिनीको विकासका लागि लुम्बिनी विकास समितिको गठन गरिसकेको थियो । उक्त समितिले स्थानीय वासिन्दाहरुको जग्गा अधिग्रहण गरी विकासका पूर्वाधारहरुको निर्माण र वृक्षारोपणजस्ता कार्यहरु गरिएको थियो अहिले पनि लुम्बिनी विकास कोष उक्त गुरुयोजना अनुरुप संरचनाहरु निर्माण गर्न क्रियाशीलभइरहेको छ ।।

गुरुयोजना क्षेत्रले ३ वर्गमाइल क्षेत्रफल ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक १ वर्ग माइलका ३ क्षेत्रहरुमा विभाजित गरी पैदल बाटो र केन्द्रीय नहरुले जोडिएको छ । ३ क्षेत्रहरुः

क) पवित्र उद्यान ख) विहार क्षेत्र ग) लुम्बिनी ग्राम हुन् ।

प्रा.केन्जो टांगेको डिजाइनको प्रमुख आकर्षण नै दक्षिणी भागमा अवस्थित पवित्र उद्यान हो ।यस क्षेत्रको डिजाइनको प्रमुख उद्देश्य आध्यात्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसाको वातावरण सृजना गर्नुका साथै संसारका लागि भगवानबुद्धको समयानुकूल सन्देश प्रतिविम्बित गर्नु हो ।पवित्र उद्यानमा पुरातात्विक तथा ऐतिहासिक धरोहर अवस्थित छन् भने बगैंचा र सुन्दर पोखरीहरुले यस क्षेत्रलाई अत्यन्त मनमोहन बनाएका छन् ।पवित्र उद्यानदेखि उत्तरपट्टि मध्यभागमा जंगलभित्र अवस्थित विहार क्षेत्रलाई केन्द्रीय नहरले विभाजित गरेको छ । पश्चिम विहार क्षेत्रमा २९ वटा प्लटहरु महायानी बौद्धमार्गीहरुका लागि र पूर्वी विहार क्षेत्रमा १३ वटा प्लटहरु थेरवादीहरुका लागि छुट्याइएका छन् ।

सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सभागृह र संग्राहलय अवस्थित छन् जसबाट बौद्धधर्मसम्बन्धी अध्ययन तथा अनुसन्धानकर्ताहरुलाई सुविधा पुग्दछ ।