दर्शन के हो? (दोश्रो)

चित्र शाक्य

हामीले यसैले बुद्धशिक्षाको बारे कुरा गर्दा र लेख्दा अरू धर्मसम्प्रदायले लेख्ने गरे जस्तो गरी दार्शनिक शैलीमा लेख्नु हुँदैन। किनकि त्यस्तो लेखाईले बुद्धशिक्षाको स्तर र यथार्थतामा ठीक जँच्नन सक्दैन। यदि हामीले बुद्धसम्बन्धि धर्म ग्रन्थ र अरू धर्म सम्प्रदायका धर्म ग्रन्थलाई भिडाएर हेर्‍यो भने सत्यलाई अभिव्यक्त गर्ने शैलीमा सूर्य उदाएको सत्यलाई व्यक्त गर्दा दुई थरी अभिव्यक्तिमा तात्विक फरक परे जस्तै पर्न जान्छ।

 

माथिको सूर्य उदाएको सत्य व्यक्त गर्ने दुईवटा शैलीमा पहिलोले कथित सत्य देखाउँछ भने दोश्रोले यथार्थ सत्य देखाउँछ।
अस्ति पनि सूर्य साँझमा अस्ताएर भोलीपल्ट विहान उदाएको थियो, हिजो पनि त्यसरी नै उदायो, आज पनि विहान त्यसरी नै उदाएकोले भोली पनि सूर्य उदाउँछ भन्ने कथनमा प्रत्येक दिन विहान सूर्य उदाउने प्रक्रियाको बारेमा केहि पनि जानकारी दिईएको हुँदैन।त्यसैले भोली पनि सूर्य उदाउँछ भन्ने विश्वास गर्नु बाहेक अरू केही छैन।त्यसमा विश्वास गर्नेले भोली सूर्य उदाउने कारणको खोजी पनि गर्दैन।त्यसै मानिदिन्छ, जसको प्रभाव स्वरूप परिणाम आफ्नो बाउले श्राद्ध गर्दा बिरालो बाँधेको सम्झेर आफूले पनि बाउको श्राद्ध गर्दा बिरालो बाँध्न सिक्छ।परम्परालाई अन्ध भएर पछ्याउँदा त्यसतो विसंगति आईपर्दछ।

 

हाम्रा कैयन् सांस्कृतिक कामकाजहरू किन गरिएको हो भनेर प्रश्न गर्दा “यो हाम्रो परम्परा देखि चल्दै आएको हो” भन्ने जवाफ आउँछ।अब त्यो परम्परागत संस्कृतिले समाजलाई के फाईदा दिन्छ? कसरि फाईदा लिने? भन्ने कुरा नै लुप्त भए पछि बेकार नै सिद्ध हुन जान्छ। कुनै पनि सांस्कृतिक रिति रिवाजले समाजलाई केही सिकाई रहेको हुन्छ, समाजमा सकारात्मक प्रभाव परोस भनेर ती रिवाजहरू चलाएको हुन्छ, तर किन चलाईराखेको भन्ने, नै पत्तो नभए पछि त्यसको केहि महत्व रहँदैन। यसरी समाज पछौटे भएर जान्छ।

 

आज विश्वमा एशिया र अफ्रिकाका केही विकसित देशहरू बाहेक अरू सबै यूरोप र अमेरिकामा किन निर्भर गर्नु परेको छ? उनीहरू गतिशिल छन् हामी स्थिर छौं त्यसैले।उनीहरू उज्ज्वल भविष्यको यात्रामा कता कता टाढा पुगी सक्दा हामी उहीं रहेका हुन्छौं र तिनीहरू र हाम्रो दूरी बढ्दै जाँदा हामी पछाडि सर्दै गएको अनुभव पनि हुन्छ।हामी कतिसम्म यूरोपियनहरूमा निर्भर रहेछौं भनेर हेर्न अरू हेर्नु पर्दैन, हामीले बोल्ने, राज्यको कामकाजी भाषा नेपाली भाषाको व्याकरण समेत एक यूरोपियन माक्समूलरले लेखेको छ, यहाँसम्मको हाम्रो लाचारी, मजबूरीलाई के भनौं अब।

 

हामी समयसंग साथ साथ हिंड्ने हो भने हामीले हाम्रो सोचाई, कामकारबाही यथार्थ परक बनाउनै पर्छ। कम से कम बुद्धशिक्षा बारे हामी यथार्थपरक नहुने हो भने बुद्धशिक्षाले हामीलाई लेश मात्र पनि छुने छैन।दार्शनिक शैलीमा बुद्धशिक्षाको चर्चा गर्नै हुँदैन। आनन्दभूमी बौद्ध मासिक पत्रिकामा एउटा लेखमा लेखिएको एक वाक्य माथि विचार गरौं।

 

” बुद्धदर्शनले संसारलाई लोकचक्रको अनन्त दु:खको अन्योन्याश्रित श्रृङ्खलाको रूपमा लिईएकोले आकाशको, लोकको, निर्वाणको अन्त छैन भनी वताएको छ।”

 

अब यसमा लेखाईको शैलीले यो अर्थ लाग्न जान्छ कि “लोकचक्रको अनन्त दु:खको अन्योन्याश्रित श्रृङ्खला सत्य नभईकन मानेर लिईएको हो। त्यसतो मान्यताले गर्दा आकाशको, लोकको, निर्वाणको अन्त नभएको भन्ने हुन गयो।यहाँ सत्य कुरा त मान्यतामा रहन गयो। तर बुद्धशिक्षा मान्यतामा आधारित होइन। यहि कुरालाई बुद्धशिक्षा अनुरूप लेख्‍न यसरी लेख्नु पर्थ्यो।

 

” बन्दै बिग्रँदै जाने (उदय-व्यय) प्रक्रियाले लोक अनित्य, अनात्म र दु:खकर छ। यस लोकको अन्त छैन। आकाश र निर्वाणको पनि अन्त छैन।”

 

यहाँ बन्दै बिग्रँदै जाने प्रक्रिया सत्य हो, यसले लोक अनित्य भयो, अनि अनात्म भयो र दु:खकर भयो।यहाँ यसरी लिने उसरि लिने भन्ने छैन।सत्य हो। जस्तो छ उस्तै लिने हो, यो रूपमा उ रूपमा लिने भन्ने हुँदैन।

 

बुद्धले मरेको छोरो लिएर बुद्धकहाँ यो मेरो छोरोलाइ बचाई देउ भन्न आएको कृषा गौत्तमीलाई “कहिल्यै कोहि पनि नमरेको घरबाट ‍एक मुठी तोरी लिएर आउ” भनेर घरघरै चहार्न लगाएको, आफ्नो प्रेयषीको रूपमा आशक्त भएका नन्द कुमारलाई रौं सबै खुईलेकी बुढी बाँदर्नी देखाएको सबै साक्षात्कारमा आधारित शिक्षा हुन्।