चार आर्यसत्यमा पहिलो सत्य – दु:ख

चित्र शाक्य
संसारमा दु:ख छ, यो चार आर्यसत्यमा पहिलो सत्य हो। आफूले चाहे जस्तो नहुनु, नचाहे जस्तो हुनु, मनपर्ने संग बस्न नपाउनु, मननपर्ने संग बस्नु पर्ने हुनु, यी सांसारिक दु:ख हुन्। यो दु:खलाई सुनेर थाहा पाएर मानें, संसार भनेको यस्तै हो भन्ने बुझें भनेर जुन भन्छौं, त्यो वास्तविक बोध होइन। समय परिस्थितिले ल्याएको सबै दु:खलाई स्विकार्न सजिलो छैन।

 

हामी जस्ता साधारण व्यक्तिहरूले मैले थाहा पाएँ, म अब बच्चा होइन, परिभोगेर पाको भईसकें भन्नुू केवल भ्रम मात्र हो। संसार यति कठोर र निष्ठूर छ कि चट्टान समानको छात्तीलाई पनि चूरचूर पार्न सक्ने शक्ति संसारमा छ। तपाई हामीले महाराणाप्रतापको ईतिहास सुनेकै छौं। मुसलमानको कैदमा बसेर मृत्युको जीवन जिउनु भन्दा भागेर लुकेर पनि आफ्नो स्वाभिमान बचाएर बस्नु पर्छ भनेर भागेर एक पहराको गुफामा आफ्ना बालबच्चा सहित बसेका महाराणाप्रतापलाई धुरूधुरू, छात्ती पिटिपिटी रूनु पर्ने परिस्थिति आईपर्‍यो।

 

एउटा रोटी बच्चाले खाई राखेको बिरालो आएर खोसेर लगेकोले बच्चा चिच्याई चिच्याई रोयो। महाराणाप्रतापसंग बच्चालाई दिन अर्को रोटी थिएन। बच्चाको रोदन रोकेर फुस्ल्याउने उपाय नै थिएन। बच्चालाई प्यार देखाएर चूप लगाउन गरेको प्रयास सफल भएन। आफ्ना राजपाठ सबै गुमाएर पनि धैर्य धारण गरेर बसेको महाराणा प्रताप त्यत्तिखेर आफूलाई सम्हाल्न नसकेर छाती पिटिपिटी रोयो। संसारमा विद्यमान दु:ख त्यति बलवान छ। महाराणाप्रतापको ठाउँमा त्यहाँ बुद्ध नै भए पनि बच्चालाई रूनबाट रोक्न सक्दैनथ्यो। किनकि ७ वर्ष मुनिको बच्चालाई धर्म श्रवण गराएर बोध गराउन सकिन्न भनेर बुद्धले नै ७ वर्ष मुनिका वालकलाई श्रामणेर नबनाउने नियम बसाल्नु भयो। तब बुद्ध भएको भए उहाँ के गर्नु हुन्थ्यो? यसको जवाफलाई एकैछिन थाति राखौं।

 


हामी मध्ये कतिले त्यस्तै चोटीलो दु:ख भोगीसकेका छौं। कतिले जन्म दिई पालनपोषण गरी शिक्षादिक्षा दिलाई आफूलाई भरथेग दिन सक्ने भएको जवान छोरो गुमाए । कतिले करोडौं, अरबौंको सम्पति, आगलागी भएर, भूकम्पले धरासायी बनाएर, बाढीले बगाएर, पहिरोले पुरीएर जंगल र सडकमा बास गर्नु पर्यो। त्यतिबेला कतिजना यो सबै संसारमा हुने घटना नै हो भनेर चित्त बुझाएर बस्यौं, रोएनौं? यसतो अवस्थामा बुद्ध के गर्छन्?


बुद्ध एक त शोकको मूल भएको घरवार, राजपाठ सबै छोडेका, त्यसैले शोक गर्ने रूने कारण नै मेटिसकेकोले शान्त र मौन भईहाल्छ। बुवा शुद्धोदनको अन्तिम समयमा बोलावट आएकोले बुवा सामु उपस्थित हुनु भएको थियो। कत्तिपनि शोक नमानी आफ्ना बुवालाई अन्तिम विदाई दिए।

 

महाराणाको ठाउँमा बुद्ध आफै भएको भए पनि वच्चालाई त रूनबाट रोक्न सक्दैनथ्यो, तर आफू चाहीं रूँदैनथ्यो। रूवाई अज्ञानताको परिणाम हो। आजभोलि केहि बुझेकाले आफन्तका स्वाभाविक मृत्युमा हामी रूँदैनन्। चिताउँदै नचिताएको एक्कासी आईपर्दा हामी अत्तालिएर रून्छौं। बुद्ध स्वाभाविक अस्वाभाविक जुनसुकै प्रकारको दुःख संग पनि परिचित भएकाले सबै स्वाभाविक नै हुने हुनाले आफू रूँदैनथ्यो र बच्चाको रूदनको स्वाभाविक अन्त्यको पर्खाईमा बस्थ्यो। त्यसैले हामी अहिले हाम्रो जीवनमा आईपरेका दु:खलाई सहजरूपमा लिन सक्ने हुन शील, समाधि र प्रज्ञाको साथ लिएर आर्यअष्टाङ्गिक मार्गमा चल्नु अनिवार्य छ। तब दु:ख त आउँछ तर हामी विचलित हुनु पर्दैन। पश्चाताप र आत्मग्लानीले चूरचूर हुनु पर्दैन। भवतु सब्ब मंगलं।