परिभोग चैत्य

भिक्षु सुदर्शन (चैत्य–पूजा — ४)
बुद्धले प्रयोग गर्नुभएको पात्र आदि वस्तु राखेर बनाइएको स्मारकलाई परिभोग चैत्य भनिन्छ । तर यसको ऐतिहासिक विवेचन खोज्दा यस्तो कुनै विश्वस्त तथ्य देखिँदैन । बुद्धको पुरानो चीवर संस्मृतिको निमित्त भनेर कुनै भिक्षुले साँचेर राखेन । त्यस्तै पात्र पनि कुनै खिइएर वा प्वालपरेर वा साटेर लिँदा पुरानो बचाएर राखेको उल्लेख पनि छैन । यसको अतिरिक्त साँच्चै भन्नुपर्दा बास्तवमा बुद्धसँग अरु कुनै पदार्थ छँदै थिएन ।

 

परिभोग चैत्यको रुपमा बोधिवृक्षप्रति भने बौद्ध जगतले धेरै श्रद्धा राख्ने गरेको छ । फेरि बोधिवृक्षको अर्थ पिपलको रुख सबैलाई बुझाउँदैन । स्वयं बुद्धले जुन रुखको मुनि बसेर बोधिज्ञान प्राप्त गर्नुभयो त्यसलाई नै बोधिवृक्ष भनिन्छ । त्यसको वंशजः वृक्षलाई नै बोधिवृक्ष भनिन्छ ।

 

बोधिवृक्ष वा परिभोग चैत्यको ऐतिहासिक उल्लेखमा विश्वस्त क्रम अशोकको समयदेखि भएको देखिन्छ । हुन त बोधिवृक्षको ऐतिहासिक विवरण अगाडि राख्दा आयुष्मान आनन्दले बोधिवृक्षको हाँगा श्रावस्तीमा रोप्न ल्याएको विवरण पनि नभएको होइन । हो, बोधिवृक्षलार्य विष्मयले विभोर भएर हेर्नु वा श्रद्धा राख्ने विधि बुद्धको समयदेखि भएको पुराना पुराना वाङमयहरुले पनि बताएका छन् । बुद्धले बोधिवृक्ष आँखा झिमिक्क पनि नगरी हेरिरहनुभएको निकै प्रख्यात छ । अशोकले आफ्नी छोरी भिक्षुणी संघमित्रालाई पात्रमा राखेर श्रीलंकामा बोधिवृक्ष दिईपठाएको कुरा साहित्यहरुले मात्र होइन उत्कीर्ण गरिएका चित्रहरुले पनि बोलेका छन् । यसपछियसको धेरै पूजा र अर्चना बौद्ध जगतमा भइरह्यो । श्रीलंकाकै बोधिवृक्षको हाँगाले गर्दा नेपालमा पनि बोधिवृक्ष आइपुग्यो, जुन नारद भन्तेले नोपलमा ल्याएर आनन्दकुटीमा रोप्नुभएको थियो । तर त्यस बोधिवृक्ष बचाउनै नसकेर मर्यो । त्यसपछि यसपंक्तिकारले ल्याएको बोधिवृक्ष गणमहाविहार, सुमंगल विहार आदि स्थानमा सप्रिए ।

 
धर्म चैत्य
धर्म चैत्यको अर्थ बुद्धवचनादि त्रिपिटकसँग हो । धर्मस्कन्धमा पनि गौरव गर्ने श्रद्धामा यसको निर्माण भयो । तर धर्म चैत्य अरुअरु चैत्य जस्तो परिभाषामा समावेश गर्न कठिन छ । त्रिपिटक ग्रन्थलाई अथवा मण्डले (बर्मा)का सम्पूर्ण त्रिपिटकको शिलालेखलाई सजिलै धर्मचैत्य भन्न सकिन्छ ।
तर सारत्थदीपनी टीकाले “पटिच्च समुप्पादादि लिखित पोत्थके निधाहित्वा कतं पन धम्म चेतिय” भनेजस्तै एउटा धर्म पुस्तक अथवा आंशिक धर्म उल्लेखलाई पनि धर्म चैत्य भनिन्छ । जस्तै एउटा “धम्मपद” अथवा अशोकको धर्म परियायको शिलालेख । फेरि साँच्चै भन्ने हो भने “हे धर्मा हेतु प्रभवा” जस्ता प्रशिद्ध गाथाहरु मात्र निधान गरी राखेको चैत्यतिर हेर्ने हो भने यसको संख्या अनगिन्ती पुग्छ । यसका साथै बौद्ध दर्शनको उत्तरीय विकास क्रमले बज्रयानी, तन्त्रयानी तथा सहजयानीको दर्शन कलात्मक अभिव्यक्तिमय धर्मधातु वज्रधातु पनि त धेरै छन् । धर्मधातुको नै श्रद्धाले चैत्य वा चीभाःको भित्र ग्रन्थहरु राखेर बनाइनुलाई बुद्धलाई सुनको पात्रमा चामल भरेर माथि पैसा राखेर पिण्डपात्र दान दिनु सरह हो भनेर व्याख्या गर्न सकिन्छ । अतः धर्मधातु व्यापक अथवा परिभाषा भित्र सहजरुपमा आउँदैन ।
क्रमशः
लेखकको नेपालभाषामा लेखिएको पुस्तक चैत्यपूजा (विसं २०३७)बाट राजेन मानन्धरद्वारा अनुदित ।

3 years ago/Sunday, November 19th, 2017/