बुद्धधर्ममा गलत संस्कार हटाऔं

मनाङ न्यिङमा
हाम्रौ बौद्ध समाजमा देखिएको एउटा नराम्रो चलनको बारेमा भन्न गइरहेको छु । यो एउटा असाध्यै दुख लाग्ने कुरा हो कि हाम्रो बौद्ध जातीहरूले पुर्खाको पाला देखि लल्दै आएको चलन भनेर मरेको मान्छेको नाममा गरिने पूजा गेवामा यति खर्च गर्नै पर्ने भन्ने छ ।

 
यस प्रकाका चलनले मरेको मान्छे र उनीहरुको घरको परिवारलाई असर गरिरहेको हुन्छ । किनभने मृतकको नाममा जुन गेवाको मुल्य तोकिएको हुन्छ त्यसले गरिबहरूलाई सारै बोझ पर्छ । उनीहरूले आफन्तको मृत्युमा यसप्रकारको खर्च गर्नलाई पैसा जोगाइराख्न सकेका हुँदैन र समाजमा लाज हुने कारणले गर्दा घर जग्गा समेत धरौटीमा राखेर खर्च गर्छन् । मृतक व्यक्तिले यो सब देख्ने भए आफु त मर्यो मर्यो बाँकी रहेको परीवारलाई बाँच्ने आधारलाई समेत हानी पुगेको देखेर उसलाई अवश्य दुख लाग्छ । आफ्नो परीवारप्रति कसलाई माया हुदैन र ।

 

 

त्यस्तै मृतकको परिवार सदस्यहरूले भने नुन समेत खान नहुने जस्ता चलन गाँउ घरमा अहिले पनि छ । मृतकको आत्माले आफ्नो परिवारहरू यस्तो हालतमा नुन समेत नखाई बाच्ने आधार समेत बंचीत बनाई बसेको देखेर उसलाई पिडा हुन्छ । यसले उसको पछिको बाटोमा असर पार्छ । किनभने उसलाई आफ्नो परीवारलाई आँसुमा छोडेर जान मनलागेको हुँदैन । अर्कोतिर गिद्दको जस्तो आँखा बोकेका गाउँका गेवा गर्ने लामाहरू गेवामा मासु खुवाउनै पर्ने बाध्यता छ । त्यसमाथि छ्याङ् रक्सी खुवाउनु पर्ने र अझ गेवामा यति पैसा दक्षिणा दिनु पर्छ भनी नियम समेत बनाएको पाएको छ । मलाई सोध्नु मन लागेको छ, तिमीहरू भोज खान आएको कि मृतक आत्माको शान्तिको लागि पुजा गर्न आएको ?

 
यतिमात्र होइन, एउटा मृतकको घरमा गाउँ भरिका मान्छेहरू दिनभरी जस्तै बसिरहेका हुन्छन् । उनीहरु मानी र प्रार्थाना नगरी हाहु गफ मात्र गरिरहेको हुन्छन् । उदाहरणको लागि यदि तिमीलाई दुख परेको बेला गाउँका मान्छेहरू तिम्रो घरमा जम्मा भएर हाहु गर्दा तिमीलाई कस्तो लाग्छ ? मरेको आत्मालाई पनि उस्तै हुन्छ ।

 
त्यस्तै मृतकमाथि जसको हक लाग्छ उनीहरु कोही मर्नेबित्तिकै उनको सामान सम्पत्ति दाबा गर्न आउँछन् । आफ्नो सामानमा जसलाई नि माया हुन्छ । एउटा मृतकको सामान भाग लगाउने जस्ता नराम्रा क्रियाकलाप गर्नु हुदैन । जबसम्म ४९ दिन पुग्दैन तब उस्को सरसामान नचलाउनु उचीत हुन्छ । यसले गर्दा अरूले आफ्नो सामान यसरी चलाएको र लगेकोमा उसलाई आक्रोश उत्पती भई राम्रो लोकमा जन्मने निश्चित भएको पनि रिसको जस्ता नराम्रा कारणले दुर्गतीमा निम्त्याउने सम्भावना हुन्छ ।

 

 

हाम्रो धार्मिक विश्वास अनुसार यस्तो बेलामा उसको शरिर मरे पनि मन मरेका हुँदैन । त्यसकारण यस्तो बेलामा आफ्नो औकातले गेवा गर्ने हो, घरमा पैसा नभई नभई तोकिएको गेवा गर्नु भनेको धर्मको बिरोध गर्नु हो ।

 

 

अहिले समय बदलिसक्यो । यस्ता घिन लाग्दा चलनहरू हामीले हटाउनु पर्छ । धर्म बनेको कसैलाई असर नपर्ने हित हुने हिसाबले गर्नु पर्छ । गाउँलेहरूले पनि मृतकको परिवारलाई दुःखमा साथ दिने र सक्दो मानी जप गर्नु पर्छ । बुद्धधर्म भनेको यही हो ।

 

मनाङ न्यिङमा संघको फेसबुक पेजबाट साभार तथा सम्पादित