जेतवन दान

भिक्षु प्राणपुत्र

संयुक्तनिकाय (११/१/८) अनुसार यस्तो मैले सुने– बुद्ध राजगृहको सीतबनमा विहार गर्नुहुन्थ्यो । त्यस समय अनाथपिण्डिक गृहपति कामले राजगृहमा आउंदा आफ्नो साला राजगृह स्रेष्ठीलाई भेट्न जांदा संघसहित बुद्धलाई भोलिको लागि भोजन तयार गर्न आफ्ना मानिसहरूलाई काम अह्राउंदै थियो । ‘पहिला म आउंदा सारा काम छाडेर मेरै स्वागत सत्कारको लागि आउंदथ्यो । तर आज वास्ता पनि नगरी नोकर दाससंग मिलेर भोजनको लागि आदेश दिई रहेछ’ भनी अचम्म मानेरअनाथपिण्डिकले ‘किन यस्तो भव्य भोजनको तयारी ? के विवाह व्रतबन्ध छ कि ? या महायज्ञ छ कि ? या भारदार कर्मचारीसहित राजा बिम्बिसार भोलिको लागि निमन्त्रित गरिएको छ कि ? भनी सोध्यो  ‘होइन, यी केही पनि होइन, मात्र भोलि बुद्धप्रमुख भिक्षुसंघलाई भोजन प्रदान गरिनेछ’ भनी सालाले जवाफ दियो ।

 
सुनेको कुरामा विश्वास नभएर ‘के बुद्ध भन्यौ ?’ भनी तीनपल्टसम्म सोध्यो । बुद्धशब्द सुनेर प्रसन्न भएर बुद्धको दर्शन गर्न जान तयार भयो । ‘यो समय बुद्धदर्शन गर्ने, समय होइन’

 
‘त्यसो भए भोलि जान्छु भनी विचार गरी सुत्यो । ‘उजालो भयो होला’ भन्दै राती नै तीनपल्ट बिउँझियो । अन्तमा ‘उज्यालो भयो’ भनी बिउँझिएर शिवथिकद्वारकहां गयो । अमनुष्यहरूले मूल प्रवेशद्वार खोलिदिएर अनाथपिण्डिको झिसमिसेमा नै भयत्राससहित सीतवनमा पुग्यो ।

 
उता बुद्धले यो कुरा थाहा पाउनुभएर स्वागतार्थ बस्नुभयो । अनाथपिण्डिकलाई देखेर ‘सुदत्त आऊ’ भनी नामले सम्बोधन गर्नुभयो । अनाथपिण्डिक पनि ‘आफ्नो नामले बोलायो’ भनी हर्षले गद्गद् भएर बुद्धलाई वन्दना गरेर ‘सुखपूर्वक सुत्नुभयो’ भनी सोध्यो । बुद्धले भन्नुभयो–
निर्वाण प्राप्त ब्राह्मण सर्वदा सुखले सुत्दछ ।
शीतल भएको दोषरहित जो काम वासनामा लिप्त हुंदैन ।।
सारा आशक्तिलाई खण्डित गरी हृदयबाट डरलाई हटाएर ।
चित्तको शान्ति प्राप्त गरी उपशान्त हुने सुखपूर्वक सुत्दछ ।।

 
पछि बुद्धले आनुपूर्वि कथा भन्नुभएपछि ‘जेजति उत्पन्न धर्म छन् ती सबै निरोध धर्म हुन’ भनी ज्ञानचक्षु उत्पन्न भएर स्रोतापन्न भयो । तब अनाथपिण्डिकले भन्यो– ‘आश्चर्य भन्ते † आश्चर्य भन्ते † जसरी घोप्ट्याएकोलाई सीधा गरी दियोस्, छोपेकोलाई उघारिदियोस्, भुलेकोलाई बाटो देखाई दियोस्, अन्धकारमा प्रदीप बालिदियोस्, जसले गर्दा आंखा हुनेले रूप देखोस्, त्यसरी नै भगवान्ले अनेकप्रकारले धर्मलाई प्रकाशित गरी दिनुभयो, म बुद्धको शरण जान्छु, धर्म र भिक्षुसंघको पनि । आजदेखि मलाई बुद्धले अञ्जलिबद्ध शरणमा आएको उपासक ग्रहण गर्नुहोस् । भगवान्ले भोलिको लागि मेरो भोजन निमन्त्रणा स्वीकार गर्नुहोस् ।’

 
भोलिपल्ट भोजन दान गरी सकेपछि एक छेउ वसेर अनाथपिण्डिकले भगवान भिक्षुसंघसहित स्रावस्तीमा वर्षावास बस्न अनुरोध गर्‍यो ।

 
बुद्धले ‘एकान्तवासमा तथागत अभिरमण गर्दछ’ भन्नुहुंदै वर्षावासको अनुरोध स्वीकार गर्नुभयो ।

 
यो थाहा पाएर अनाथपिण्डिक स्रावस्ती फर्किदा बाटोमा भेटेभेटेको लागि ‘विहार बनाऊ यो मार्ग भएर बुद्ध आउनु हुनेछ’ भन्दै हिड्यो । मानिसहरू पनि बुद्ध शब्द सुनेर विहार बनाउन लागे ।

 
‘यस्तो ठाउं जुन गाउंको नगिच पनि हुंदैन, टाढा पनि हुंदैन, चाहनेहरू आउनजानमा सुविधाजनक, मानिसहरू पुग्न योग्य, दिनमा कम भीडभाड, राती अल्पशब्द, मानिसको हावारिहत, मानिसहरूबाट टाढा, एकान्त ध्यानको लागि योग्य होस्’ भनी स्रावस्ती पुगेर एकान्तवास योग्य जमिन खोज्दा जेत राजकुमारको आम्रवन उचित देख्यो । जेत राजकुमारलाई जमिन बेच्न अनुरोध गर्‍यो तर जेतराजकुमार मानेन । तै पनि अनाथपिण्डिकले जिद्दि गरिरह्यो । अन्तमा कोटिसन्थार (सुन बिछ्याए) ले पनि जमिन विक्री योग्य छैन’ भन्यो । यो सुनेर ‘जमिन मेरो भयो, किनकि जमिनको मूल्य तोकियो’ भनी अनाथपिण्डिकले भन्यो ।

 
पछि न्यायाधीशसंग सोध्दा ‘कोटीसन्थार’ भनेकोले मूल्य तोकिएको र त्यस अनुसार सुन बिछ्याएमा विक्री गर्नुपर्ने रहस्य थाहा पायो । अनाथपिण्डिकले पनि गाढामा सुन ल्याउदै बिछ्याउन थाल्यो । यसरी आम्रवनमा असर्फिले बिछ्याउदै गरेको देखेर जेत राजकुमारले ‘यो अवश्य विशेष कामको लागि नै होला जुन सेठले सुन बिछ्याउदै छ’ भनी सुन बिछ्याउन नभ्याएको एक टुक्रा जमिन जेत राजकुमारले नै दान गर्‍यो । त्यहां भव्य विहार तयार गरियो र जेत राजकुमारको सम्मानमा त्यसविहारको नाम पनि जेतवन विहार राखियो ।

(दोस्रो वर्षावास– ३६ वर्ष – बु.स.पूर्व ४४) – सम्यक सम्बुद्ध पुूस्तकबाट । धम्म एम्पायर