शील, समाधि र प्रज्ञा

चित्र शाक्य

आज मात्र मसंग मित्रता कायम भएका एकजना मित्रको यो वाक्यमा मेरो ध्यानाकर्षण भयो “जब सम्म ब्यक्तिले जीबन ब्यबहारमा धर्म-चर्यालाई उतार्न सक्दैन यस बिषयमा पुस्तकका शब्दहरू,अक्षर र भाॅषणको मुल्य लगभग शुन्य हुन्छ।” यो निश्चय पनि ठीक कुरा हो। धर्म चर्चा गर्नेले आफूमा केहि न केहि धर्मचर्चामा भए अनुसारको आफूमा रहेको देखाउन सकेन भने उसले गरेको धर्मचर्चा मुल्यहीन हुन्छ। गरिए जlत धर्मचर्चा सत्य नभएर ऊहापोह मात्र हुन जान्छ। धर्मचर्चालाई कथा वा कहानी बनाउन हुँदैन। व्यवहारमा पटक्कै नआएको सबै धर्मचर्चा कहानी मात्र हुन जान्छ।

 


शील, समाधि र प्रज्ञा यी ३ वटा धर्मका माध्यम हुन्। कुनै व्यक्तिको गतिविधि धर्मानुसार छ कि छैन भनेर हेर्न शीललाई हेरेर भन्‍न सजिलो छ। जस्तो कि बुद्धले वताउनु भएकोमा कम से कम पञ्चशीलको पालन कुनै व्यक्तिले गरेको छ कि छैन भनेर थाहा पाउन सकिन्छ। उसले प्राणीहिंसा गर्छ गर्दैन,चोरी गर्छ गर्दैन, व्यभिचार गर्छ गर्दैन, दोषी वचन (झूठो, कडावचन, निन्दा र बकम्फूसे कुरा) गर्छ गर्दैन र लागुपदार्थ ( रक्सी, गाँजा,चरेस, ब्राउनसुगर आदि) प्रयोग गर्छ गर्दैन आदि प्रत्यक्ष थाहा पाउन सकिने कुरा हुन्। त्यस्तै अरूलाई हानी पुर्-याएर आफूले लाभ लिने आदि अनैतिक कार्य गर्छ गर्दैन आदि पनि स्पष्ट थाहा हुने कुरा हो। पञ्चशील एउटा मानिसमा गनिन अनिर्वार्य आचार हुन्।

 


कसैले झूठो नबोल्ने साधारण परिस्थितिमा मात्र गर्छ कि जुनसुकै बेला पनि गर्छ? लोभ लालचमा परेर झूठो बोली हाल्छ कि भन्‍ने कुरा उसको मन कति संयमित छ भन्‍नेमा भर पर्छ। यो मनको विचलनबाट हुन्छ। मन विचलित नबनाउने समाधिले हो। समाधिको अभ्यास गरेर मन समतामा राख्न सकिन्छ। कसैको मन नियन्त्रणमा वा समतामा छ छैन त्यो पनि व्यवहारबाट थाहा हुन्छ। बुद्धि विवेक पुर्‍याएर गर्ने काम वा ठीक judgement को काम प्रज्ञाको क्षेत्रमा पर्छ। यो सामान्य सामाजिक व्यवहारको कुरा भयो। सामाजिक कार्य गर्ने, राजनिति गर्नेले यस्तो परिस्थति झेले कै हुन्छ।

 


अब जन्म-मरणबाट छुट्कारा पाउने निर्वाणको कुरा उच्चस्तरको विधा हो। यो उच्चस्तरको क्षेत्रलाई हामी जस्ता गृहस्थहरुले जान्‍न सकिने कुरा होइन भन्यौ भने पनि हामीले गल्ती गरेका हुन्छौं। हामीले जान्‍न नसकिने एउटा झल्को पनि पाउन नसकिने खालको बुद्धको उपदेश नै छैन। निर्वाणको झल्कोसम्म पनि हामीले पाउन सक्दैनौ भन्‍नुअतिमा गएको हो। निर्वाण नै पाउन पो यो चालाले हुँदैन त, झल्को त पाउन सक्छौं नि। हो झल्को मात्र पाउन पनि हाम्रो मन एकाग्र र जाग्रत अवस्थामा हुनुपर्छ। निर्वाण कस्तो अवस्थाको हुन्छ भन्दा रागरहित, द्वेषरहित र मोहरहित हुनुपर्छ। अब हामीले पहिला राग भनेको के हो?, द्वेष के हो? र मोह के हो? थाहा पाउनु पर्‍यो र जिवनमा हामीले राग नभएको, द्वेष नभएको, मोह नभएको क्षणको अनुभव गरका छौं कि छैनौं, त्यसको निरीक्षण गर्नु पर्‍यो।

 

कुनै बेला कसैले घोर अपशब्दले गाली गर्दा पनि चित्त दु:ख्यो कि दु:खेन, रीस उठ्यो कि उठेन, रीस उठेर होस गुमाएर जथाभावी प्रतिक्रिया गर्‍यौं कि गरेनौं त्यो सम्झनु पर्‍यो। यदि चित्त दु:खेन, रीस पनि उठेन र रीसले होस गुमाएर जथाभावी प्रतिक्रिया गरेर उल्टो आफू अरूको नजरमा दोषी ठहरिने काम गरेको छैन भने हामीलाई त्यति दु:ख हुँदैन, सबैले हाम्रो संयमको प्रशंसा गर्छन्। युक्तियुक्त तरिकाले त्यो गाली गर्ने व्यक्तिलाई गल्ती महसूस गराउन सक्यौं भने झनै सबैले हाम्रो कामको सराहना गर्छ। हामीलाई त्यो व्यक्तिले गाली गरेकोमा दु:खको सट्टा सबैको सराहना पाएर सुख अनुभव हुन्छ र शान्तिको पनि अनुभव हुन्छ। यो अवस्था निर्वाण सदृश अवस्था हो। अब हामीले यसतो स्थितिलाई अझ राम्रोसंग बनाउँदै जान सक्यौं भने हाम्रो जिवन शान्तिपूर्ण हुन्छ।

 


बैज्ञानिकहरू अहिलेसम्म सूर्यसम्म पुगेको छैन। तर उनीहरूले सूर्यको आयतन, वजन, पृथ्वीबाट त्यसको दूरी आदि पत्ता लगाई सकेको छ। यो कसरी भयो? दशकक्षाका बिज्ञानका विद्यार्थिलाई पनि थाहा छ। सगरमाथा चढ्नु अगाडी नै त्यसको उचाई पत्ता लगाई सकेको थियो। यो कसरी सम्भव भयो भन्‍ने कुरा Trignometry मा Hieght & distance को हिसाब गर्ने ९,१० कक्षाका Opt. Math को विद्यार्थिहरूलाई पनि थाहा छ। त्यसैले हामी अतिमा गएर सत्य तथ्यलाई ऊहापोह बनाउनु हुँदैन। किनभने त्यसले सत्य तथ्यप्रति वितृष्णा जगाउँछ। हामी अभ्यासमा लागी पर्न सक्दैनौं। अनुभव सानो देखि गर्दै जानु पर्छ। मैले विषयवस्तुलाई छलफलको लागी राख्ने गरेको कारण नै यहि हो। भवतु सब्‍ब मङ्गलं।