बौद्ध अर्थतन्त्र

हिमेशरत्न वज्राचार्य

परिचय
गौत्तम बुद्धको जन्म इसापूर्व ६२३ मा कपिलवस्तुमा भएको थियो । कपिलवस्तु आधुनिक नेपालको लुम्बिनीमा पर्छ । उनले ३६ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए । त्यसयता उनले ४५ वर्षसम्म लगातार धर्मको प्रचार गरे । उनले अहिलेको आधुनिक उत्तरी भारत र नेपाल आप्mना अनुयायीलाई उपदेश दिएका थिए । बुद्धले धेरै र फरक विषयमा पनि उपदेश दिए ।१ यी उपदेश अनुयायीको प्रकृति, स्वभाव, पेसा र पृष्ठभूमिअनुसार पनि फरक फरक हुनु स्वभाविक छ ।

 

त्यो अनुयायीको मागमा पनि भर पथ्र्यो । जस्तो बुद्धका उपदेश राजा र शासक वर्गका लागि हुन्थ्यो भने त्यो राज्य कसरी ठीक ढंगले चलाउने भन्ने नीतिमा केन्द्रित हुन्थ्यो । व्यवसायीका लागि भने बुद्धले आप्mना व्यवसाय कसरी नैतिक रूपमा कसरी ठीक ढंगले चलाउने भनेर उपदेश दिए । यस्तै सर्वसाधारणका लागि बुद्धले आप्mनो जीवन कसरी चलाउने भनेर पनि उपदेश दिए । यी उपदेश आर्थिक दृष्टिकोणबाट दैनिक जीवन यापन कसरी गर्ने भन्नेमा पनि केन्द्रित हुन्थ्यो ।

 

यसरी बुद्धले धेरै विषयमा उपदेश दिएको मान्न सकिन्छ । बौद्ध धर्मको तात्कालीन इतिहास र उपदेश समेतिएका पुस्तकलाई बौद्ध साहित्य पनि भनिन्छ । बौद्ध साहित्यको अध्ययन गर्ने हो भने धेरै व्यवसायी बुद्धका अनुयायी भएको पाइन्छ । यी व्यवसायी त्यस बेला धेरै प्रकारका बौद्ध गतिविधिमा पनि सहभागी हुनु गर्थे । उनीहरूलाई त्यति बेला सेठ भनिन्थ्यो र उनीहरूले बुद्धयुगीन समाजलाई आर्थिक दृष्टिकोणबाट व्यवस्थित रूपमा अगाडि बढाउन धेरै ठूलो भूमिका खेलेको पाइन्छ ।

 

हामीले बौद्ध साहित्यको अध्ययनबाट यसबारे पर्याप्त जानकारी थाहा पाउन सकिन्छ । तात्कालीन समाजमा उनीहरूको प्रभाव पनि उत्तिकै धेरै रहेको पाइन्छ, किनभने केही सेठ त्यति बेलाका राजा भन्दा पनि बढी धनी थिए । उनीहरू राज्यलाई नै सहयोग गर्थे हैसियत बोक्थे । यसरी बुद्धले यी सेठका लागि मात्र नभएर सर्वसाधारणका लागि पनि अर्थशास्त्रीय दृष्टिकोणबाट उपदेश दिएको मान्न सकिन्छ ।२ आधुनिक समयमा यस बौद्ध शिक्षालाई आर्थिक दृष्टिकोणबाट अध्ययन र अनुसन्धान गर्ने क्रम बढ्दो रहेको छ र यो क्रम पछिल्लो समय अझ बढी सान्दर्भिक देखिएको छ ।

 

अर्थशास्त्रलाई धनको विज्ञान मानिन्छ । यसले धनको उत्पादन र प्रयोगबारे अध्ययन गर्छ । सन् १७७६ मा एडम स्मिथले आधुनिक अर्थशास्त्रको कोशेढुंगा पुस्तकका रूपमा ‘एन इन्क्वारी इनटु द नेचर एन्ड कजेज अफ वेल्थ अफ नेसन्स’ प्रकासित गरे । उनलाई अर्थ शास्त्रको पिता पनि मानिन्छ । यही पुस्तकस“गै आधुनिक अर्थशास्त्रको विकास भएको मानिन्छ । त्यसैले स्मिथलाई अर्थशास्त्रका पिता पनि मानिन्छ । यसरी आधुनिक अर्थशास्त्रको विकास सन् अठारौं शताब्दीमा मात्र भएको मान्न सकिन्छ ।३

 

त्यसयता अर्थशास्त्रबारे धेरै अध्ययन सुरु भयो र यसबारे धेरै पुस्तक पनि प्रकाशित भए । आधुनिक अर्थशास्त्रको विकास धेरै पछाडि भएपनि अर्थशास्त्रको अस्तित्व मानवीय इतिहासको सुरुआतसँगै कुनै न कुनै रूपमा जोडिदैं आएको भने मान्न सकिन्छ । मानवीय विकासस“ग अर्थ कुनै न कुनै रूपमा सुरुदेखि जोडिनु स्वभाविक पनि छ । त्यति मात्र होइन, प्राचीन समयमै पनि धनको आर्जन र खर्च लगातार चलिरहेको प्रक्रियाका रूपमा रहेको हुँदा अर्थशास्त्रको स्वरूप र सिद्धान्त कुनै न कुनै रूपमा त्यति बेला पनि रहेको मान्न सकिन्छ ।
बौद्ध अर्थतन्त्रबारे अध्ययन
ईएफ सुमेकर (१९११–१९७७) नाम चलेका पश्चिमेली विद्वान अर्थशास्त्री हुन् । उनी दुई दशक भन्दा लामो समय बेलायती नेसनल कोल बोर्डको आर्थिक सल्लाहकार पनि रहे । सन सत्तरीको दशकमा उनको आर्थिक सोचले इङलिस बोल्ने समुदायमा ठूलो प्रभाव पारेको देखिन्छ । उनको जन्म भने सन् १९११ मा जर्मनीका बनमा भएको थियो । अर्थशास्त्रको अध्ययन गरेका सुमेकरले पत्रकारका रूपमा पनि काम गरेका सिए । सन् १९७३ मा उनको प्रख्यात पुस्तक ‘स्मल इज ब्युटिफुलः ए स्टडि अफ इकोनोमिक्स एज इफ पिपुल म्याटर्ड’ प्रकासित भएको हो ।४

 

दोस्रो विश्व युद्धपछि प्रकाशितमध्ये सबैभन्दा प्रभावशाली सय पुस्तकको सूचीमा यसलाई पनि राखिएको छ र यसले तात्कालीन समाजलाई धेरै अर्थमा प्रभावित पार्न सफल रहेको थियो । धेरै भाषामा अनुवाद गरिएको यस पुस्तकले ईएफ समेकरलाई ठूलो ख्याति दिलाएको थियो । यस पुस्तकमा अर्थशास्त्रीय दृष्टिकोण उत्पादनमा भन्दा मानिसमा केन्द्रित रहेको छ । यस पुस्तकमा सुमेकरले मानिस धनको दास नभएर धनलाई आप्mनो दास बनाउनु पर्नेमा जोड दिइएका छन् । यस पुस्तकको एउटा मुख्य परिच्छेद बौद्ध अर्थतन्त्र रहेको छ ।

 

बौद्ध अर्थतन्त्रबारे आधुनिक समयमा पहिलो गम्भीर अध्ययन यसै पुस्तकबाट सुरुआत भएको मानिन्छ । सुमेकरले बौद्ध अर्थतन्त्रलाई कसरी ठीक तरीकाले जीवनयापन गर्ने हो भन्नेमा जोडेका छन् । उनले धार्मिक मूल्य मान्यता र आर्थिक विकासलाई अलग नराखेर यी दुईबीच समन्वय गर्नु पर्ने मानेका छन् र यसलाई लिएर आप्mना तर्क प्रस्तुत गरेका छन् । यी दुईको ठीक समन्वयले नै विश्वका धेरै समस्याको समाधान हुने सुमेकरको जिकिर थियो । सुमेकरले आर्थिक दृष्टिकोणबाट बौद्ध धर्मलाई हेर्ने नया“ आयामको सुरुआत गरेको श्रेय दिइन्छ ।

 

त्यसयता बौद्ध अर्थतन्त्रमा केन्द्रित रहेर धेरै अध्ययन भएका छन् र यसबारे धेरै पुस्तक पनि प्रकासित भएका छन् । नेपालमा पनि यस विषयमा केही महŒवपूर्ण पुस्तक प्रकासित भएका छन् । अश्वघोष महास्थविरको ‘बौद्ध अर्थनीति’, हरिवंह झाको ‘बुद्धिस्ट इकोनोमिक्स एन्ड द मोर्डन वल्र्ड’, प्रभा त्रिपाठीको ‘प्राचीन पूर्वोत्तर भारत’, पीए पयुटको ‘ए मिडल वे फर मार्केट प्लेस’, सिन्सी इनोको ‘पुटिङ बुद्धिजमको वर्क’ र वीर्य खनु प्रभावनको ‘बुडिस्ट इकानोमिक्स’ बौद्ध अर्थतन्त्रमा केन्द्रित रहेर प्रकासित अन्य प्रमुख पुस्तक रहेका छन् । यी पुस्तकले पनि ठूलो प्रभाव छाड्न सकेको पाइन्छ ।

बौद्ध अर्थतन्त्रको आधार
गौत्तम बुद्धको आधारभूत शिक्षामध्ये सबैभन्दा महङ्खवपूर्ण चार आर्य सत्य हो । बुद्धले बुद्धत्व प्राप्त गरेयता प्रदान गरेको पहिलो उपदेशमा यो पनि पर्छ र यसलाई बौद्ध धर्मको आधार पनि मानिन्छ । यसमा दुःखको कारण के हो र दुःख हटाउने उपाधि के छ भनेर ब्याख्या गरिएको छ ।५ बुद्धत्व प्राप्ति भएको वैशाख पूर्णिमाका दिन उनले यी चार आर्यसत्यको ज्ञान प्राप्त गरेका हुन् । बुद्धले चार आर्य सत्यबारे सबैभन्दा पहिले आप्mना अनुयायीलाई बताएका थिए । यी चार आर्य सत्य यस प्रकार छन्,
१. दुःख छ ।
२. दुःखको कारण छ ।
३. दुःखबाट छुटकारा पाउन सकिन्छ ।
४. दुःख निरोधको बाटो छ ।

 

दुःख निरोधको बाटोलाई अष्टाङगिक मार्ग भनिन्छ । यसमा आठ अङ्ग रहेका छन् । ती हुन्, सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि । त्यसमध्ये सम्यक आजीविकाको अर्थ ठीक तरिकाले जीवन जिउनु भन्ने हुन्छ । अर्थात जीवन निर्वाहका लागि ठीक तरिका अवलम्बन गर्नु नै सम्यक आजीविका हो । यसका लागि कुनै न कुनै प्रकारले आर्थिक गतिविधि त गर्नु पर्ने नै हुन्छ ।

 

यसरी सम्यक आजीविका नै बौद्ध अर्थतन्त्रको आधार रहेको मानिन्छ । बौद्ध शिक्षाले अर्थतन्त्रलाई कसरी प्रभाव पार्छ भन्ने प्रश्न महत्वपूर्ण छ । बौद्ध धर्मलाई एक थरीले जीवन जिउने अभ्यास पनि मानेका छन् । त्यसै अनुसार सम्यक आजीविका पनि पर्छ । सुमेकरले आप्mनो पुस्तकमा भनेका छन्, ‘व्यवसाय त्यस्तो हुनु पर्छ, जसले व्यापारी र उपभोक्ता दुवैलाई लाभ होस् । शान्ति र सम्पति काल्पनिक हुन्, यो कति चाहिन्छ भनेर ठोकुवा गर्न मिल्दैन ।’६

सम्यक आजीविका
‘स्मल इज ब्युटिफुलः ए स्टडि अफ इकोनोमिक्स एज इफ पिपुल म्याटर्ड’ मा सुमेकरले लेखेका छन्, ‘बौद्ध अर्थतन्त्रको अर्थ विकासका लागि ठीक मार्ग रोज्नु हो । यो भौतिक आशक्ति र परम्परागत मान्यताबीचको मध्यमार्ग रोज्नु हो । छोटकरीमा ठीक जीवन यापन खोज्नु । अर्थात सम्यक आजीविका । आधुनिक अर्थशास्त्रले वास्तविक अभ्यासमा ग्रामिण अर्थतन्त्रलाई ध्वस्त गरेको छ । यसले बेरोजगारीलाई बढाएको छ ।’ बुद्धले सम्यक आजीविकाबारे ब्याख्ना गर्नु नै बौद्ध अर्थतन्त्रको आधार भएको उनको विश्वास छ ।

 

श्रीलंकाली अर्थशास्त्री एचएनएस करुनातिलकेले पनि बौद्ध अर्थतन्त्रबारे ब्याख्या गर्ने प्रयास गरेका छन् । करुनातिलकेको अनुसार, ‘बौद्ध अर्थतन्त्रको जग सामुहिक जीवनयापनमा सहकार्य र मेलमिलापपूर्ण अभ्यासको विकास नै हो । स्वार्थीपन र संग्रहवादी सोच मानिस स्वंयले हटाउन जरुरी छ ।’६ बौद्ध अर्थतन्त्रले मानव जातिलाई मात्र नभएर सम्पूर्ण प्राणीको दुःख हटाउन भन्छ । आधुनिक अर्थशास्त्रमा पाइने स्वार्थीपन बौद्ध अर्थशास्त्रमा हुन्न र यो बौद्ध अर्थतन्त्रको एउटा ठूलो विशेषताका रूपमा रहेको छ ।

 

बौद्ध अर्थशास्त्रले अरुलाई हानी गर्ने वस्तुको उत्पादन र विक्री गर्नु हुन्न भन्छ । बौद्ध अर्थतन्त्रले बजारलाई नैतिक आधारमा हेर्छ र लोककल्याणकारी राज्यमा जोड दिन्छ । पयुटले ‘ए मिडल वे फर मार्केट प्लेस’ मा आधुनिक अर्थशास्त्रको आलोचना गर्दै यसमा नैतिकताको कमी भएको मानेका छन् । आधुनिक अर्थशास्त्रले मानवीय भावनालाई छुने नसकको उनको दाबी रहेको छ । त्यसै कारणले आधुनिक विश्वमा असन्तुष्टि बढेको पयुट मान्छन् । बौद्ध अर्थतन्त्रले भने नैतिकतामा बढी जोड दिन्छ र यसले मानवीय भावना छुने सक्ने बढी आधार तयार हुन्छ ।

बौद्ध अर्थतन्त्रमा आधारित देश
सन् २०१२ तिर संयुक्त राष्ट्र संघमा भुटानको अर्थनीति ब्यापक छलफल भएको थियो । भुटानले अंगालेको अर्थनीति ग्रस नेसनल ह्यापिनेस (जीएनएच) पछिल्लो समय खुबै बहसको विषय रहेको छ र यसबारे अहिले पनि विश्व मञ्चमा ठूलो बहस र चर्चा चल्ने गर्छ । भुटानले विश्वलाई बसहका लागि दिएको गम्भीर आर्थिक मुद्धाको विषय हो, जीएनएच । यो भुटानको आध्यात्मिक मूल्यमा आधारित थियो, जसको आधार बौद्ध धर्मका सिद्धान्त छन् । यसले पश्चिमेली विकास सूचक मानिएको ग्रस डोमेस्टिक प्रोडोक्ट (जीडीपी) लाई चुनौती दिएको थियो ।

 

तर्क थियो, जीडीपीले मात्र कुन देश कस्तो छ भनेर कसरी भन्न सक्छ ? भुटानले सन् सत्तरीको अन्त्यतिर तिर निकालेको यो सोच बा“की विश्वका लागि अहिले पनि उत्तिकै सोचको विषय हुने गरेको छ । संयुक्त राष्ट्र संघ चलेका धेरै बहसपछि जीएनएच अहिले धेरै परिमार्जित रूपबाट गुज्रिसकेको छ र यसले लगभग अहिले ठोस स्वरूप लिएको छ । संयुक्त राष्ट्रसंघले यसबारे पूरा विश्वमा विभिन्न कार्यक्रम आयोजना गरेर अहिलेसम्म बहस चलाउने गर्छ । जीडीपी कुनै देश कहा“ छ भनेर नाप्ने आर्थिक औजार हो ।
यस्तै कुनै देश कति खुसी छ भनेर नाप्न सकिन्छ कि सकिंदैन ? जीएनएचले भने यस्तो दाबी गर्छ र आप्mना देशका जनता विश्वकै सबैभन्दा खुसीमध्येका एक हुन् भनेर मान्छ । जीएनएचले खुसी नाप्ने मापनबारे आप्mनै केही सूचाकं बनाएको छ । जस्तो, अर्थ, वातारण र शारीरिक रूपमा प्राप्त हुने खुसी । यस्तै मानसिक स्वस्थता, काम गर्ने ठाउ“मा शान्ति, सामाजिक चैन, अनि स्वच्छ राजनीतिक वातावरण ।७ थाइल्यान्डले पनि लगभग यस्तै आप्mनो आर्थिक ढाँचा विकास गरेको छ । थाइल्यान्ड पनि बौद्ध धर्म अनुयायी देशका रूपमा विश्वमा प्रख्यात छ ।
त्यो हो, सफिसियन्ट इकोनोमी । यसलाई सुरुआत गर्ने थाइ राजा भुमिबोल हुन् । एक दशक अगाडि थाइल्यान्ड गम्भीर आर्थिक संकटबाट गुज्रेको थियो र त्यति बेला देशको स्थिति निकै नाजुक तथा दयनीय बनेको थियो । त्यति बेला राति सुत्दा करोडपति रहेका व्यक्ति त्यसको अर्को विहान उठ्दा गरिब माग्नेको स्थितिमा पुग्ने गम्भीर समस्याको स्थिति उत्पन्न भएको थियो । यसले स्वभाविक रूपमा तात्कालीन थाइ समाजमा नकारत्मक असर पनि पारेको थियो । थाइ अर्थतन्त्र नै ‘ध्वस्त’ हुने स्थितिमा पुगेको थियो । पूरा विश्व अर्थतन्त्रलाई नै प्रभाव पारेको यस स्थितिलाई ‘तोम याङ कुङ क्राइसेस’ भनिन्छ ।
सफिसियन्ट इकोनोमीले सोचेको समाज हो, ‘मोडरेट सोसाइटी’ । छोटकरीमा ‘मोसो’ । अहिले थाइ सरकारको आर्थिक नीति लगभग यसकै वरीपरी घुम्ने गर्छ र यसैमा आधारित रहेर अर्थनीति तय गर्ने गरिन्छ । मोसो पनि बौद्ध धर्मकै सिद्धान्तमा आधारित छ । गौत्तम बुद्धले प्रतिवाद गरेको सिद्धान्त हो, मध्यमार्ग । न अति, न कम । बीचको बाटो राज्ने सिद्धान्त हो, यो । बौद्ध धर्मले दुई अतिवादलाई त्यागेर बीचको बाटो रोज्न सिकाउ“छ ।८ दिवंगत थाइ राजा भुमिबोल ठूला बौद्ध धर्मका अनुयायी हुन् र उनैले मोसोलाई अगाडि बढाएका हुन् ।
श्रीलंकामा पनि सुनामीले त्यहाँको अर्थतन्त्रमा ठूलो धक्का दिएपछि अहिले बौद्ध अर्थतन्त्रमै आधारित रहेर सामुदायिक कृषि, स्वास्थ्य र आवासको व्यवस्था सुरु भएको छ ।९ दोस्रो विश्व युद्धले जापानलाई आर्थिक र सामाजिक रूपमा कमजोर बनाएपछि त्यहा“ पनि बौद्ध अर्थतन्त्रकै केन्द्रित रहेर ‘सोका गाकी’ सुरु भएको थियो । त्यति बेला जापानको ग्रामिण क्षेत्रमा बुद्ध धर्मको जग बलियो थियो । बौद्ध धर्मको आधारमा समाजमा सुधारको कार्यक्रम लागू गर्न सजिलो थियो ।१०
त्यसै कारण केही भिक्षुहरूले आर्थिक दुष्टिकोणबाट सामाजिक रूपान्तरणका लागि सोका गाकी कार्यक्रम अगाडि बढाएका थिए । सोका गाकीले जापानी माझ शिक्षामा पनि उत्तिकै जोड दिने गर्छ । यसले सामाजिक रूपमा मिलेर काम गर्न जोड दिन्छ र यसले सामाजिक मूल्य तथा मान्यता बढ्ने मान्छ । जीएनएच र सफिसियन्ट इकोनोमीबाट प्रभावित भएर धेरै देशले आप्mनै शैलीका आर्थिक ढाँचा विकास गरिरहेका छन् । त्यसमा क्यानाडादेखि लिएर युरोपका केही देश छन् ।
सन् २०१५ सम्मका लागि संयुक्त राष्ट्र संघले मिलेनियम डेभलपमेन्ट गोल्ड (एमडीजीएस) तयार पारेको थियो । अहिले सस्टेनेबल डेभलपमेन्ट गोल्ड (एसडीजीएस) को पालो हो । अर्थात दिगो विकास । संयुक्त राष्ट्र संघले यसलाई सन् २०३० सम्म चलाउने नीति लिएको छ । यसका १७ बुंदा छन् । ती गरिबी, भोक, स्वास्थ्य, शिक्षा, लैगिक समानता, पानी, उर्जा र आर्थिक विकासदेखि मौसम परिवर्तन, शान्ति र न्यायसम्म केन्द्रित छन् ।११ दिगो विकास लक्ष्यले पनि बौद्ध धर्मकै सिद्धान्तलाई कुनै न कुनै रूपमा छुने प्रयास गरेको छ ।
निचोड
संयुक्त राष्ट्रसंघले दिगो विकासबारे चलाउने बहसमा भिक्षु सुगन्ध लगातार भाग लिइरहन्छन् । उनी थाइल्यान्डलाई आधार बनाएर काम गरिरहेका भिक्षु हुन् । उनी नियमित रूपमा न्युयोर्क पुगेर यसबारे छलफल गर्छन् । उनलाई ती छलफलमा विशेषज्ञका रूपमा सहभागिता गर्न लगाइने गरेको छ र उनी नीति तयार पार्न सहयोग पनि गर्छन् । उनले भुटानको जीएनएचबारे चलेका बहसमा पनि भाग लिएका थिए । पुराना थाइ राजा भुमिबोलका सबैभन्दा नजिकका सल्लाहाकारमा पर्छन, थाइ बौद्ध भिक्षुहरूका प्रमुख संघराजा सोमदेज फ्रा ञाणसंवर । भिक्षु सुगन्ध उनकै निजी सहयोगी हुन् ।

 

यस्तोमा राजा भुमिबोलको सफिसियन्ट इकोनोमी ढाँचा तयार पार्न भिक्षु सुगन्धको कुनै न कुनै योगदान छ । भिक्षु सुगन्ध अर्थात अनिल शाक्य अहिले थाल्यान्डको प्रसिद्ध महामकुट बौद्ध विश्वविद्यालयको विदेश विभागका डेपुटी रेक्टर पनि हुन् । उनी विश्वका जति पनि बौद्ध विश्वविद्यालय छन्, ती सबैको संयोजनको काम पनि गर्छन् । उनी काठमाडौंमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भाग लिन पछिल्लो पटक नेपाल आएका थिए । त्यसै क्रममा उनले नेपालमै बौद्ध अर्थतन्त्रबारे बहस सुरु गर्ने प्रयास गरेका थिए ।

 

उनले नेपालमा रहँदा बहसको मुद्धा बनाउन खोजेका थिए, हाम्रो पनि किन आप्mनै आर्थिक विकासको ढाँचा हुन सक्दैन ? भुटानको जीएनएच र थाइल्यान्डको सफिसियन्ट इकोनोमी जस्तै नेपालको पनि आप्mनै मौलिक केही सिद्धान्त हुन सक्छ कि सक्दैन ? बुद्ध नेपालमा जन्मेको हो भनेर प्रचार गर्न धेरै समय खर्चने काम भएको छ । उनको प्रश्न छ, ‘बुद्धले प्रतिपावद गरेका सिद्धान्त र त्यसको प्रयोगबारे चर्चा र योजना भने कहा“ छन् त ? कतै नेपाल यसैमा चुकिरहेको त छैन ?’१२

पाद टिप्पणि

१. पीवी बापट, बौद्ध धर्मके २५०० वर्ष, पृष्ठ ११०
२. ….., इम्प्लिमेन्टेसन अफ बुडिस्ट इकोनोमिक भेरटस इन नेसनल डेभलपमेन्ट, पृष्ठ ३५
३. उही पृष्ठ ३५
४. उही पृष्ठ ४
५. प्रकाश वज्राचार्य, बौद्ध दर्पण, पृष्ठ ४०
६. …., (पूर्ववत पाटिनं २) पृष्ठ ४
७. उही पृष्ठ ८
८. उही पृष्ठ ११
९. उही पृष्ठ १६
१०. उही पृष्ठ १८
११. https;|/en.wikipedia.org/wikif|Sustainable_Development_Goals
१२. अन्तर्वार्ता

सन्दर्भ ग्रन्थ
१. वीपी बापट, बौद्ध धर्मके २५०० वर्ष, नयाँ दिल्ली, १९९७, प्रकाशन विभाग
२. २. ….., इम्प्लिमेन्टेसन अफ बुडिस्ट इकोनोमिक भेरटस इन नेसनल डेभलपमेन्ट, २०१३, काठमाडांैं सिनास
३. प्रकाश वज्राचार्य, बौद्ध दर्पण, २०६७, काठमाडौं, धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

साभार : धर्मकीर्ति बौद्ध मासिक, वर्ष ३५, अंक ३, असार २०७४