महामञ्जु श्रीस्थानको सम्पदा बचाऔं

– भिक्षु विपस्सी 

महामण्दप, थाकलमाठ, सुडाल गाविस ६ मा अवस्थित महामञ्जुश्री स्थानमा केहीलाई आफूले सोचेजस्तो हंसवाहिनी सरस्वतीको मूर्तिको सट्टा खड्ग उठाइरहेको महामञ्जुश्री बोधिसत्त्वको पूर्ति पाउँदा निराश भएको खबर पढेँ। यसमा अरुले केही पनि गर्नसक्ने अवस्था छैन। यस्तो अवस्था अन्यत्र पनि छ। श्रीपञ्चमीको दिनमा राजधानीको श्रद्धालुहरु सरस्वती पूजा भनी स्वयम्भू डाँडाको पछाडि रहेको थुम्कोमा पूजा गर्न पुग्दछन्। वस्तुतः त्यहाँ महामञ्जुश्रीकै मूर्तिमा श्रद्धापूर्वक पूजा अर्चना गरेर भक्तजनहरु सन्तोष मान्दछन्। यही दिनमा भक्तपुरको महामञ्जुश्री स्थानमा पनि मेला हुन्छ। अझै चैत मसान्तमा तथा वैशाख १ गतेका दिन विशेषतः ललितपुरवासी बुद्धमार्गीहरुको मेला लाग्दछ। यसलाई महामञ्जुश्री मेला भनिन्छ, त्यस्तै ल्हासापाको सःस्यूद्यो (विद्या तथा शिल्पको देेवता) स्थानमा पनि मेला लाग्दछ।

 
वस्तुतः यस मन्दिरमा अतीत कालदेखि नै श्रीमहामञ्जुश्री बोधिसत्त्वकै पूजा भईआएको छ र हुन्छ। यसमा आश्चर्य मान्नुपर्ने वा आक्रोशित हुनुपर्ने कुनै कारण छैन।

 
ललितपुर दरबार क्षेत्रमा रहेको सुनौलो झ्यालको बीचमा रहेको देवताको नाम के हो भनी बटुवाहरुसँग सोधिदा विष्णुको मूर्ति हो भनि जवाफ आयो। बुद्धमार्गी आचार्यहरुले सो मूर्तिलाई अवलोकितेश्वर वा करुणामयको मूर्ति हो भनी बताए। इतिहास तथा मूर्ति विज्ञानको जानकारहरुले पनि सो मूर्ति अवलोकितेश्वर वा करुणामयको नै भएको बताए।

 
कुरो उठ्छ कि कसैको बोलीचालीमा चलेको शब्द शास्त्रीय भएन भने शास्त्र फेर्ने कि जनतामाझ शास्त्रीय कुरा प्रचार गर्ने?
अतीतमा विभिन्न कारणले नेपालमा बौद्ध शास्त्रहरुको प्रचार–प्रसार जनतामा घट्दै गएको कारणले महामञ्जुश्री बोधिसत्त्वलाई सःस्यूद्यो भनेकोलाई सरसस्वती भनी बुझ्न थाले। शास्त्रीय परम्पराले महामञ्जुश्री। नै रहेको तथ्य स्वयम्भू पुराण आदि शास्त्रबाट प्रमाणित हुन्छ। तसर्थ नयाँ सरस्वती मूर्ति स्थापना गरेर शास्त्र इतिहासको विरुद्ध हुने काम नगर्नु जाती हुन्छ। बुद्ध भगवानको जन्म भएको पवित्र लुम्बिनीमा रहेको प्राचीन बुद्धजन्म मूर्तिलाई रुम्मिनदेवी भन्ने देवी वा भगवती मानेर नानाथरीका पशुपंक्षीहरु बलि चढाउने गरेकोलाई देशमा शिक्षा तथा बौद्धशास्त्रको ज्ञान बढेपछि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले सो बलि प्रथालाई कानुनी रुपले नै रोक लगाएको एक शताब्दी हुन लाग्यो। अहिले संयुक्त राष्ट्रसङ्घको अगुवाइमा लुम्बिनीको विकास भइरहेको अवस्थामा बुद्ध जन्ममूर्ति झिकेर भगवतीदेवीको मूर्ति स्थापना गर्नुपर्ने हो कि?

 
भक्तपुर नगरमा वर्षको २ पटक जात्रा मनाइने ५ जना दीपंकर बुद्धको मूर्तिलाई महाभारतको पञ्चपाण्डव भन्नेहरु धेरै छन्। के त सबैले यसैलाई मान्नुपर्छ र? बुद्धिको घैंटोमा घाम लागेकाहरुले त दीपंकर बुद्ध भनेर नै व्यवहार गर्दछन्। यहाँ पनि दीपंकर बुद्धका मूर्ति हटाएर नयाँ पञ्चपाण्डवको मूर्ति बनाएर जात्रा मनाउनुपर्ने वा गर्नुपर्ने भयो कि?

 
बुद्ध भगवानको जन्म भएको देशमा निरन्तर रहि आएका बौद्ध संस्कृति र परम्परालाई मर्यादा पूर्वक आदर सबै नेपालीहरुले गर्नुपर्दछ। महामञ्जुश्री स्थानमा रहेका चैत्य, पञ्चबुद्धका मूर्तिहरु महामञ्जुश्री मूर्ति आदि सम्पदाहरुको समेत ससम्मान संरक्षण हुनुपर्दछ। यसैमा हामी सबैको कल्याण छ।

मुनि विहार भक्तपुर –६