मध्यम मार्ग बारे भ्रम

चित्र शाक्य
बुद्ध एक सामान्य साधु मात्र हो भन्नेे धारणा अब गैर बौद्धहरूमा पनि अपेक्षाकृत रुपमा धेरै घटेर गएको छ।बौद्ध भन्दा अगाडि पर्ने गैरबौद्ध पनि धेरै देखा परेका छन्। तर पनि बौद्ध र गैर बौद्ध दुबैमा एक ठूलो भ्रम रहेको पाएको छु, जसले यथार्थमा बुद्धले देखाएको मार्ग बुझ्न कठीन बनाएको छ। सबैले धर्मलाई केहि बुझेको छ र बुझेको कुरामा शुद्धता र यथार्थताको अभावले अन्धविश्वास श्रृजना हुन गएको छ।मैले भन्न खोजेको यथार्थ के हो भने हामी मध्य धेरै ठूलो संख्या देवदत्तको कुरामा समर्थन गर्नेहरू छौं।

 


भिक्षुहरूको संख्या धेरै भएपछि उनीहरूको क्रियाकलापमा एकरूपता आओस भन्नाको खातिर भिक्षु विनय निर्माण गर्न आवश्यक हुन गयो र बुद्धले भिक्षुहरूले पालन गर्नु पर्ने विनय धर्म सुनाई दिए।त्यही बेला देवदत्तले ५ वटा नियमहरू अनिवार्य गर्नु पर्ने प्रस्ताव राखे।बुद्धले ती नियमहरू अव्यवहारिक भएकोले सक्नेले गरे हुन्छ तर अनिवार्य छैन भन्नु् भयो। देवदत्तले अनिवार्य नै गराउनु पर्छ भनेर अडान राखे।बुद्धले दिएको नियम भन्दा देवदत्तले राखेको नियम राम्रो छ भन्नेेहरू पनि भए।देवदत्तले अनिवार्य गर्नु पर्छ भनेका नियमहरू निम्‍नानुसार छन्।

 


१) भिक्षुहरू जिवनभर जङ्गलमा बस्नु पर्छ।
२) भिक्षा मागेर मात्र जिविका गर्नु पर्छ।अरूले वासस्थानमा वा घरमा बोलाएर दिएको ग्रहण गर्नु हुँदैन।
३) पांशुकुलिक वस्त्र यसको अर्थ हो अरूले काम नलाग्ने भएर फ्याँकेको वस्त्र मात्र लगाउनु पर्छ।
४) रूखमुनी मात्र वास गर्नु पर्छ।
५) माछामासु खान हुँदैन।

 


तीन पटकसम्म ती नियमहरू अनिवार्य गर्न आग्रह गर्दा पनि बुद्धले अनिवार्य छैन भने पछि देवदत्तसंग ५०० भिक्षुहरूले भिक्षुसंघ परित्याग गरेर गए।

 


अहिले पनि हाम्रा वरिपरी ती भिक्षुहरूको जस्तै धारणा राख्ने साथिहरू धेरै छन्।देवदत्तहरू कट्टर र अरू बुद्धसंगै मध्यम मार्ग अपनाउने हुन्।

 


झट्ट हेर्दा देवदत्तको नियम बुद्धकोभन्दा राम्रो देखिन्छ। बुद्धलाई छोडेर देवदत्तसंग लागेर जाने भिक्षुहरूले पनि त्यसै भनेर देवदत्तसंग लागेका थिए। अब बुद्धको भन्दा कडा नियम पालना गर्ने व्यक्ति बुद्ध भन्दा राम्रो हुनुपर्थ्यो। तर त्यसो भएन। देवदत्तले धर्मानुशासन धान्न सकेन। एक एक गर्दै भिक्षुहरू बुद्ध कहाँ फर्के। देवदत्त एक्लो भए पछि अपमानित भएको महसूस गर्‍यो। बुद्धको लोकप्रियता देखेर डाह भयो।बुद्धलाई मार्ने चेष्टा गरे। बुद्ध आईरहेको बाटोमा माथिबाट ढुङ्गो खसाली दिए।

 

एउटा ढुङ्गा फुटेर चोईटाले खुट्टाको औंलामा लागेर घाउ भयो र रक्तपात भयो। त्यसैको फलस्वरूप उस्ले एक कल्पसम्म मार्गफल प्राप्त गर्न नसक्ने भयो।निर्वाणबाट टाढा रहनु पर्‍यो। गलत बाटोमा हिंड्नेले गलत तरिका नै अपनाउँछ। मध्यम मार्ग छोडी कट्टर हुनेलाई आफ्नो कुरा नसुनिंदिंदा रीस उठ्छ र अपशब्द बोल्छ। यस सम्बन्धि एउटा पोष्टमा हालै विवाद परेको सबैलाई यादै होला। पाँच प्रकारले हिंसा दोष रहित मासु खान हुन्छ भन्नेले पेश गरेको तर्क र खान हुँदैन भन्नेको तर्क पढ्दा कुन पक्षको भनाई आवेश, घृणायुक्त छ र कुन पक्षको सन्तुलित छ, स्पष्ट देखिन्छ।

 


अरू चार कुरामा पनि यस्तै हुन्छन्।मध्यम मार्गमा चल्न् सिकौं। भवतु सब्ब मङ्गलं।