भारतीय बौद्धहहरुको मुक्तभूमि भनेर चिनिने दीक्षाभूमि

प्रस्तुती : राजेन मानन्धर

 

भारतकै भूमिमा ज्ञान प्राप्त गरेका भगवान बुद्धको अनुयायी भारतमा आजभोलि त्यहाँको जनसंख्याको अनुपातमा धेरै छैन । आज भन्दा करिब ५० वर्ष अगाडिसम्म लोप जस्तै भइसकेको बुद्धधर्मले त्यहाँ नयाँ जागरण पाएको छ । यसको श्रेय त्यहाँको नागपुरस्थित दीक्षाभूमिलाई जान्छ ।

 

 

भारतका प्रमुख बौद्ध तीर्थस्थल मध्ये दीक्षाभूमि पनि एक हो । विभिन्न कारणले विभिन्न समयमा लोप जस्तै भएसकेको भारतीय बुद्ध धर्मको पुनरूत्थान यहीँबाट भएको थियो । त्यसकारण पनि भारतका बौद्धहरुले यस ठाउँको नाम श्रद्धापूर्वक लिने गर्दछ ।

 

 

महाराष्ट्र राज्यको उपराजधानी भनेर चिनिने नागपुर शहरमा स्थित यस पवित्र स्थानलाई विश्वभरीका बौद्धहरुको आदरको केन्द्र बनाउने श्रेय त्यहाँका संविधान निर्माता तथा दलित अभियन्ता डा. भीमराव अम्बेडकरलाई जान्छ । उहाँले १४ अक्टूबर १९५६ को चन्द्रमणी महास्थविरबाट बौद्ध धम्मको दीक्षा लिनुभयो । यसैबेला भारतका बुद्धधर्मको छवि बदल्ने प्रण पनि गर्नुभयो ।

 
यस पछि उहाँले आफ्ना ५ लाख भन्दा बढी अनुयायीहरुलाईको बौद्ध धर्मको दीक्षा दिनुभयाे । यस प्रकार लुप्त जस्तै भइसकेको भारतको बुद्धधर्मका अबलम्बीहरु एकैदिनमा लाखौंका संख्यामा पुग्यो । उहाँले हिन्दु समाजले दलित भनेर हेप्ने सबै सामाजिक बहिष्करणमा परेकाहरुलाई त्रिशरण गमन गराएर, पंचशील लिन लगाएर तथा आफ्नो २२ प्रतिज्ञा दिलाएर धर्मपरिवर्तन गरिदिनुभयो । बुद्धधर्ममा जातभात र उँचनीचको भेदभाव नहुने भएकोले ती सबै दलितहरुले त्यहाँदेखि उप्रान्त सम्मानको जीवन बाँच्न पाए ।
यसको भोलिपल्ट फेरि १५ अक्टोबरका दिन ३ लाख मानिसहरुलाई उहाँले त्यही प्रकारले बुद्ध धर्मको दीक्षा दिनुभयो र उनीहरुलाई पनि भारतको बौद्ध धर्माबलम्बीहरुको समुदायमा प्रवेश गराउनुभयो । भारतमै बुद्धधर्मको प्रचारप्रसार गरेर भगवान बुद्धले जीवन त्याग्नुभयो तर पछिका कालखण्डहरुमा हिन्दू तथा मुस्लिम अतिवादीहरुको कारणले गर्दा त्यहाँ बुद्धधर्म लुप्त जस्तै भइसकेको थियो । तर यस घटनाले भारतमा दुइदिनमै आठलाख बौद्ध धर्माबलम्बीहरु थपे । त्यसैले यहाँको मुख्य स्तुपको नाम नै अम्बेडकर स्तूप राखिएको छ ।

 

नेपाल तथा भारतकै पनि अन्य बौद्धहरु भन्दा अम्बेडकरद्वारा दीक्षित बौद्धहरु फरक हुने गर्दछन् । उनीहरुले २२ प्रतिज्ञा लिने गरेकोले उनीहरु हिन्दूधर्मको प्रभावमा परेका अन्य बौद्धहरु भन्दा भिन्न छन् । ती २२ प्रतिज्ञामा उनीहरुले अन्य बाहेक यी प्रतिज्ञा लिुपर्दछ ः म ब्रह्मा, विष्णु तथा महेशमा विश्वास गर्दिन र पूजा पनि गर्दिन, म राम र कृष्णमा कुनै आस्था राख्दिन र पूजा गर्दिन, म गौरी, गणपति तथा हिन्दु हरुका अन्य देउतामा आस्था राख्दिन र पूजा पनि गर्दिन । भारतमा हिन्दु उच्च जातिहरुको दबदबा भएको र उनीहरुले बुद्धधर्मलाई हिन्दू धर्मकै एक शाखाको रुपमा लिन लगाउने सम्भावना भएकोले यस्तो प्रतिज्ञा गर्न लगाएको भनिन्छ ।

 
डा. अम्बेडरकरको यो गुणलाई सम्झेर भारतका दलितहरुले उनलाई बोधिसत्वको उपाधि दिएका छन् र उनलाई भारतका सम्पूण बौद्धहरुको गुरुको रुपमा समेत लिन्दछन् ।

 
यस ऐतिहासिक र धार्मिक स्थल दीक्षा भूमिमा हरेक वर्ष देश तथा विदेशबाट हरेक वर्ष २५ लाख भन्दा बढी आंबेडकरवादी तथा और बौद्ध अनुयायीहरु आउँछन् । हरेक वर्ष १४ अक्टोबरका दिन मात्रै यहाँ हजारोंको संख्यामा आएर मानिसहरु बौद्ध धर्ममा परावर्तित हुने गर्दछन् । यहाँ १४ अक्टोबर २०१५मा मात्रै ५०,००० दीक्षीत भएका थिए । त्यस्तै १४ अक्टोबर २०१६मा २०,००० तथा २५ अक्टूबर २०१६ को मनुस्मृति दहन दिवसको उपलक्ष्यमा फेरि अरु ५,००० अन्य पिछडिएका समुदायका मानिसहरुले बौद्ध धर्मको दीक्षा लिए ।

 
यस बाहेक अक्टुबर महिना भरी नै देश विदेशबाट यहाँ बौद्धहरु धार्मिक तीर्थ यात्राका लागि गइरहन्छ ।

 

धार्मिक महत्वका अलावा यसको पर्यटकीय दृष्टिकोणले पनि यसको महत्व छ । त्यसैले महाराष्ट्र सरकारले दीक्षाभूमि लाकइ क वर्गको पर्यटन क्षेत्र मानेको छ । नागपुर शहरका धार्मिक व पर्यटन क्षेत्रहरुमा क वर्गको उपाधि पाउने स्मारक यही भएको बुझिन्छ ।