स्वयम्भुमा अवस्थित हारती अजिमाको कथा

स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर्भभित्रको रत्ननिधिहरू सुरक्षित रेखदेख गर्ने हुनाले यस मन्दिरलाई रत्नपुर पनि भनिन्छ । यिनलाई ५०० छोरा, ५०० छोरी र ५०० ज्वाईहरूको समूहद्वारा सुसज्जित अजिमा पनि भनिन्छ । यिनलाई यक्ष र राक्षसहरूमा सबैभन्दा धेरै ऋद्धि र बल भएकी र देशदेशान्तरमा आफ्नो आधिपत्य जमाएकी यक्षणीको रूपमा मानिन्छ ।

यिनका यति धेरै परिवारगण भए पनि प्रतिनिधिको रूपमा धनभाजु, धनमयजु, वासिंभाजु, वासिंमयजु, जिलंभाजु गरि पाँच जनाको नाम उल्लेख भएको पाइन्छ । हारती महायक्षणीको जहाँ सुकै मन्दिर तथा मूर्तिहरूसँग यी पाँच जना प्रतिनिधिहरू पनि सँग रहेको देखिन्छ ।

हारिति महायक्षणीलाई हारती माजु, अजिमा द्य:, मयजुदेव, हारती बज्रयोगिनी, शितला माजु, स्वयम्भु संरक्षिका धर्मपाली, धाक्वसिक्वमा मचाप्यासी आदि नामले पनि चिनिन्छ ।

स्वयम्भू पुराणअनुसार हारती महायक्षणी पाञ्चिक महायक्षको पत्नी थिइन् । उनी मानव बस्तीहरू तथा राजदरबारहरूमा गई दिनहुँ ५०० बच्चाहरूको हरण गर्दै मासभक्षण गर्दै मानिसहरूलाई दु:ख दिईरहन्थे, हाहाकार मचाई रहन्थे, आमाबुबा तथा परिवारजनहरूलाई रुवाई रहन्थे । कसैले यिनको दमन गर्ने खोजे उपद्रो र अशान्त मचाई रहन्थे । यिनको यो अत्चायार सहन नसकेर ब्रम्हालगायत देवीदेवताहरू पनि दिक्क हुन्थे र प्रार्थना गरिरहन्थे ।

एकदिन, शाक्यमुनि सिद्धार्थ बुद्धले देवी देवताहरूको प्रार्थना सुनेर, हारती महायक्षणीको प्राण प्यारी छोरी आनन्दालाई पिण्डपात्रले छोपेर लुकाई दिए । आफ्नी प्राणप्यारी छोरी आनन्दा हराएपछि हारती महायक्षणी बिरह हुँदै भौतारिन्दै यताउता खोज्दै हिँडे । समुन्द्र नै धमिलो पार्दै तिनै भुवनमा भौतारिन्दै खोज्दै हिँडे । यिनी यसरी दु:खि हुँदै भौतारिन्दै हिँडे कि आफ्नो अगाडि सुमेरु पर्वत भन्दा नि गह्रौ पिण्डपात्र उचालेर हेर्न सामर्त्थता पनि रहेन र रोइ कराई बसे । यिनको यो अवस्था हेरिरहेको बुद्धले अन्तत: पिण्ड पात्र उचालेर उनको छोरीलाई अगाडि राखी दिए । जेतवन बिहारमा भएको यस घटनाले हारती महायक्षणीको आँखा खोले र उनले हिँसा गर्दै मासभक्षण गर्ने प्रवृद्धि त्याग्ने निर्णय गरे ।

शाक्यमुनि बुद्ध गोपुच्छ पर्वत (हालको स्वयम्भु) मा बस्दै स्वयम्भु महाचैत्य महात्म्य बिषयमा व्याख्यान गर्दै थिए । हारती महायक्षणी टुप्लुक्क अगाडी आइ पुगे र बुद्धको चरणकमलमा ढोग गर्दै आफु पनि स्वयम्भु महाचैत्यको दर्शन र सेवा गर्न आएको, यसै सुन्दर उपबनमा बसी स्वयम्भु महाचैत्य, सदगुरु मन्जुश्री एवं शान्तिकर आचार्यको सेवा गर्दै बुद्ध शासनको रक्षाको निम्ति समर्पित गर्दै आफु सधैको लागि बस्न पाउँ भनि अभिलाषा गरे ।
यिनको यस प्राथना प्रति बुद्ध अत्यन्तै प्रसन्न हुँदै यस महान एवं उत्तम क्षेत्र साह्वंगु बिहारमा बसी बुद्ध शासनको संरक्षिका भै बालबालिकाहरुको रक्षा र दयामाया गर्दै बस्न अनुमति दिए । पहिले जस्तै यताउता भौतारिन्दै बहुला झैँ बनेर मानिसहरुलाई भय त्रास नदिई आफ्नो प्राण प्यारी छोरीलाई जस्तै समस्त बालबालिकाहरुलाई उत्तिकै दयामाया गर्दै लालन पोषण गर्दै रक्षा गरि बस्न अनुमति दिए । आफ्नो बुद्ध शासनकालमा कुनै द्वेष,रिस तथा कलंक नगरी स्वयम्भुलाई चढाएको पिण्डपात्रको भोजन गर्दै पंचदशशत परिवार बीच महोत्सव तथा स्वयम्भुको भजन गर्दै बस्न लगाउंदै बुद्ध शासन अनुसार भिक्षुहरुलाई झैँ हारिति महायक्षणीलाई पनि पिण्डपात्र भोजन प्रदान गर्न विनय प्रस्तुत गरे ।

स्वयम्भु पुराणमा उल्लेख अनुसार शान्तिकर गुरुले ज्योतिर्मय स्वयम्भुलाई छोप्न विधिपुर्वक प्रतिष्ठान गर्न सबै देवीदेवताहरुलाई आह्वान गरे । स्वयम्भु महाचैत्यको निर्माण गर्न ब्रम्हा, बिष्णु, महेश्वर, इन्द्र, यम, बरुण, कुबेर, अग्नि, नैऋत्य, वायु, इशान, चन्द्र, सुर्य एवं यामा, तुषिता, निर्माणरति, परनिर्मित वशवर्ति, ब्रम्हपार्षद्य:, ब्रम्हकायिका, ब्रम्हपुरोहित, परिताभा, अप्रमाणाभा, आभाश्वारा, सुदर्शना आदि देवभुवनबाट आइ आ-आफ्नो अधिकार बिशेषले सहयोग गरे । साथै, सुखावती भुवनबाट अपरिमिता तथागत आइ चढाएर गएको उष्नीष चुडामणि सुबर्ण छत्र भने जति मिलाए पनि बाङ्गोको बांगै रहे । सबै देवदेवताहरु चुडामणि सुबर्ण छत्र बाङ्गो भएको देखेर चकित परे ।
पछि शान्तिकर आचार्यले शाक्यमुनि बुद्धलाई यसो हुनुको कारण प्रश्न गरेपछि धेरै पहिले देखि हारिति महायक्षणीले आफु यस पवित्र भूमिमा बस्न पाउँ भनि गरेको आशिकाको कारणले नै यसो भन्ने शाक्यमुनि बुद्धको दिब्यसंदेश पछि शान्तिकर आचार्यसामु हारिति महायक्षणीने निम्न उल्लेखित जिम्मेवारीहरु बाचा गरे / गराएका थिए ।

  1. जहाँ जहाँ बुद्ध भगवानहरुको मुर्ति र चित्रहरु प्रतिस्थापित हुन्छ, दैनिक ३ प्रहर रेखदेख गर्ने
  2. आफ्ना बच्चाहरुलाई जति माया गर्ने हो, १२ बर्ष मुनिका बच्चाहरुलाई सुदृष्टि पुर्वक हेरबिचार गर्ने
  3. स्वयम्भु धर्म धातु बागीश्वरको सेवा भक्ति गर्दै यस क्षेत्रको हेरविचार र संचालन गरि रहने
  4. जहाँ जहाँ बुद्ध धर्मको उत्सब हुन्छ, भक्तिभावले सेवा गर्दै गगनबिहार गर्दै हेरविचार गर्ने

स्वयम्भु महाचैत्य नजिकको हालको मुर्ति तथा मन्दिर भने १९ औं शताब्दीमा राखिएको थियो । आफ्नी रानी बिफरले मरेपछि रणबहादुर शाह बहुलाउँदै हारतीको पुरानो मूर्ति तोडिदिएका थिए । त्यसपछि यस स्थानमा अर्को हारती अजिमाको मूर्ति राखिएको थियो ।
श्रोत : स्वयम्भु महाचैत्यबाट अनुवादित

साभार ः नेपाल ग्यालरी ब्लगस्पट डटकम