बुद्ध, मार्क्स र अम्बेडकर

– राजेन्द्र महर्जन

दलित बौद्ध अभियन्ताको नेपाल यात्रा

बुद्ध जन्मिएको देशमा विश्वकै दुई जना महानतम दार्शनिक : बुद्ध र कार्ल माक्र्सबारे प्रवचन । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको, बुद्ध भएपछि पहिलो उपदेश दिएको र महापरिनिर्वाण (देहत्याग) गरेको भूमिमा जन्मिएका विद्वान्द्वारा बौद्ध दर्शन र माक्र्सवादी दर्शनबारे भाषण । हिन्दू धर्मलाई राज्य धर्मको रूपमा कायम राखिएको देशमा चतुर्थ विश्व बौद्ध सम्मेलन हुनु र हिन्दुस्थानका बौद्ध विद्वान् एवं राजनीतिक नेताद्वारा बुद्धवाद र साम्यवादबारे गहन सम्बोधन अनौठो घटना थियो । त्यो पनि हिन्दू अधिराज्यका हिन्दू सम्राट मानिने राजा महेन्द्रको सामु दुई गणतन्त्रवादी सिद्धान्तबारे व्याख्या गर्नु थप छक्कलाग्दो परिघटना थियो ।

यस अर्थमा धेरै अनौठा ऐतिहासिक पक्षको संयोग थियो सन् १९५६ को नोभेम्बर १५ देखि २० सम्म काठमाडौँमा भएको चतुर्थ विश्व बौद्ध सम्मेलन । तद्नुसार २०१३ कात्तिक ३० गते थालनी भएको सो सम्मेलनको उद्घाटन राजा महेन्द्रबाट भएको थियो भने त्यसमा सहभागी हुन भारतबाट डा. भीमराव अम्बेडकर र राहुल सांकृत्यायनजस्ता विद्वान् आएका थिए । एक थिए भारतीय संविधानका निर्माता, दलित नेता तथा बुद्ध धर्मावलम्बी विद्वान्, अर्का थिए आर्यसमाजी र बौद्ध भिक्षुबाट माक्र्सवादी लेखक बनेका महापण्डित । उनीहरूलाई सम्मेलनमा आमन्त्रण गरेका थिए, ‘वल्र्ड फेलोसिप अफ बुद्धिस्ट’ का संस्थापक र सभापति प्रो. (डा.) जी.पी. मलालासेकराले । बुद्ध धर्मबारे विद्वता र प्रतिबद्धता देखेर उनले सन् १९५० मा श्रीलंकामा र सन् १९५४ मा बर्मामा भएको पहिलो र तेस्रो विश्व बौद्ध सम्मेलनमा बोलाउँदै डा. अम्बेडकरलाई विश्व बौद्ध मञ्चमा प्रस्तुत गरेका थिए । दोस्रो बौद्ध सम्मेलन सन् १९५४ मा जापानमा गरिएको थियो ।

६ दशकभन्दा अघि भएको चतुर्थ विश्व बौद्ध सम्मेलन दक्षिण एसियामा बुद्ध धर्मको पुनर्जागरणका लागि महत्त्वपूर्ण सावित भएको थियो । करोडौँ श्रमिक र शिल्पीलाई ‘शूद्र’ र ‘अछूत’ बनाउने हिन्दु वर्णव्यवस्था, ब्राह्मणवादी मूल्यमान्यता तथा जातपात–छुवाछूत प्रथाविरुद्ध दलित आन्दोलनको अगुवाइ गरेका डा. अम्बेडकरले सो सम्मेलनको एक महिनाअघि मात्रै लाखौँ दलित अनुयायीका साथ बौद्ध धर्म अँगालेका थिए । त्यसले हिन्दुवादी भारतीय समाज, राज्यतन्त्र र धार्मिक व्यवस्थामा हलचल मच्चाइरहेकै बेला उनी नेपाल आएका थिए । विश्वका विभिन्न बौद्ध धर्मावलम्बी र गैरबौद्ध धर्मावलम्बी देशबाट आएका बौद्ध प्रतिनिधिहरूबीच उनले बुद्ध र माक्र्सजस्ता दार्शनिकको तुलनात्मक अध्ययन प्रस्तुत गर्दै धमाका मच्चाएका थिए ।

काठमाडौँमा ‘यमि छेँ’ मा बसाइँ

संसारमा ‘दलित’ शब्दलाई आत्मसम्मानको पहिचानका रूपमा प्रख्याति दिलाएका डा. अम्बेडकरका लागि विश्व बौद्ध सम्मेलन पनि लडाइँको मोर्चा थियो । उनका सहकर्मीहरूको आग्रहका कारण उनी काठमाडौँमा हुने सम्मेलनमा सहभागी हुन तयार भएका थिए, जबकि उनी त्यसबेला शारीरिक रूपमा अस्वस्थ थिए । यस्तो अस्वस्थताबीच पनि उनी आफ्नो स्वास्थ्य उपचारको जिम्मा लिँदै आएका डा. मालवंकरका साथ नेपालसम्मको यात्रामा निस्केका थिए । उनी र उनको समूह पटनाबाट काठमाडौँका लागि १९५६ नोभेम्बर १४ मा उडेका थिए । उनको समूहमा उनकी पत्नी डा. सविता अम्बेडकरका साथै औरंगाबादस्थित मिलिन्द महाविद्यालयका प्रिन्सिपल एम.बी. चिट्निस र बी.एच. वारेल पनि थिए । विमानस्थलमा ओर्लिंदा पनि उनलाई अरूको साथ र सहयोग जरुरी थियो । पाइलटको काँध समातेर प्लेनबाट झरेका डा. अम्बेडकरको स्वास्थ्यमा काठमाडौँ बसाइँमा पनि खासै सुधार भएन ।

डा. अम्बेडकरका लागि काठमाडौँमा बस्ने व्यवस्था कोलकाताका एम. ज्योतिले मिलाएका थिए । कोलकाताका एम. ज्योति भनिएको व्यक्ति नेपालकै महाजन मणिहर्ष ज्योति (कंसाकार) हुन सक्छन् जो त्यति बेला कोलकाताबाट व्यापार गर्थे र बौद्ध धर्मका अभियन्ता पनि थिए । उनीहरूलाई काठमाडौँमा ‘यमि छेँ’ नामक त्यस्तो घरमा बसाइएको थियो, जहाँ जातभात र छुवाछूतविरुद्ध व्यावहारिक संघर्ष छेडिएको थियो । जातभात र छुवाछूतका विरोधी धर्मरत्न यमी (तुलाधर) र हीरादेवी यमी (तुलाधर) को भुरांख्य:स्थित घरमा उनीहरूको बसाइँ आफैंमा ऐतिहासिक थियो । लोकतान्त्रिक आन्दोलनका योद्धा, पूर्वउपमन्त्री एवं लेखक धर्मरत्न यमीकै घरमा राहुल सांकृत्यायनको नेपाल बसाइ हुन्थ्यो । सम्भवत: सम्मेलनका लागि नेपाल आएका ती दुवै विद्वान्को एकसाथ बसाइँ भएको थियो । डा. अम्बेडकरले काठमाडौँ बसाइँको क्रममा सम्पादनको काम गर्नेगरी केही पाण्डुलिपि लिएर आएका थिए । ती पाण्डुलिपि उनका अपूर्ण किताब र लेखसँग सम्बन्धित थिए । ‘दि बुद्ध एन्ड हिज धम्म’ जस्ता बृहत् किताब लेखेपछि उनी ‘बुद्ध एन्ड माक्र्स’ र ‘रिभोल्युसन एन्ड काउन्टर रिभोल्युसन इन एन्सियन्ट इन्डिया’ नामक पुस्तक लेख्दै थिए । यात्रा, तनाव र अस्वस्थताबीच पनि उनको लेखाइ र सम्पादन जारी थियो । चतुर्थ बौद्ध सम्मेलनमा व्यक्त विचार त्यसकै प्रतिविम्बन र पोस्टस्क्रिप्ट थियो ।

धार्मिक क्रान्ति र बुद्ध धर्ममा रूपान्तरण 

चतुर्थ बौद्ध सम्मेलनको उद्घाटन समारोह टुँडिखेलस्थित खरीको बोटमा आयोजना गरिएको थियो । १५ नोभेम्बरको दिउँसो राजा महेन्द्रद्वारा सम्मेलनको उद्घाटन गरिएपछि अनेक कार्यक्रम गरिएका थिए । हिन्दु राज्य भएको देशमा पनि टंकप्रसाद आचार्यको सरकारले देशभरि सार्वजनिक बिदा दिएको थियो । लामो समयसम्म बुद्ध धर्ममाथि राज्य दमन भएको देशमा हिन्दु राजाको उपस्थितिमा बौद्ध सम्मेलन हुनु अनौठो परिघटना थियो । धर्मनिरपेक्षतावादी अभियन्ता धर्मरत्न यमीका अनुसार बुद्ध धर्मको प्रचार गर्दा योगवीर सिंह आदिलाई ‘हाम्रो गोरखा राज्यमा बुद्ध धर्म फैलाउने ?’ भन्दै पल्टनले कुल्चाउने यस देशमा बौद्ध सम्मेलन बोलाएर विश्वका करिब चालीस राष्ट्रका बौद्ध प्रतिनिधिहरूलाई हप्तौँ राखी पठाउने काम पनि प्रधानमन्त्री आचार्यकै पालामा भयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्न उभिँदा डा. अम्बेडकरलाई सबै प्रतिनिधिले हार्दिकतापूर्वक स्वागत गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विश्वसामु बुद्ध धर्म नै सबै धर्मभन्दा महानतम धर्मको रूपमा आफूले फेला पारेको तथ्य घोषणा गर्न सम्मेलनमा उपस्थित भएको मन्तव्य राखे । उनले बुद्ध धर्म कुनै एक धर्म मात्रै नभएर महान् सामाजिक सिद्धान्त पनि भएको निष्कर्ष पनि सुनाए ।

६ दिनसम्म चलेको सम्मेलनमा भारतका साथै लंका, श्याम, चीन, तिब्बत, जापान, कम्बोडिया, थाइल्यान्ड, इन्डोनेसिया, मलाया, फ्रान्स, ब्रिटेन, अमेरिका, पाकिस्तानलगायत भिक्षु र अतिथिलगायत १८५ प्रतिनिधिले भाग लिएका थिए । त्यहाँ उपस्थित पाहुना बौद्ध प्रतिनिधिहरूले ‘बुद्ध जन्मेको पुण्यभूमि नेपाल’ लाई प्रणाम गरे ।

सम्मेलनको क्रममा नोभेम्बर २० को दिन ३ बजे सिंहदरबार ग्यालरी बैठकमा आयोजना गरिएको समापन समारोहको विसर्जन पनि राजा महेन्द्रले नै गरेका थिए । समापन समारोहको क्रममा राजा महेन्द्र गद्दीमा बसेका थिए । उनीसँगै भिक्षु ऊ चन्द्रमणि महाथेरा, प्रो. जी.पी. मलालासेकरा, भिक्षु अमृतानन्द महाथेरा र बर्मेली प्रधान न्यायाधीश ऊ चान तुन वरपर थिए । अपराह्न ३ बजे तोकिएको समयमा डा. अम्बेडकर समारोहस्थल पुग्दा उनलाई ऊ चान तुन र उनकी पत्नीले सघाउपघाउ गरे । र, उनलाई सबै आयोजक र प्रतिनिधिहरूले उभिएर धुमधामका साथ हार्दिकतापूर्वक स्वागत गरे ।

प्रो. जी.पी. मलालासेकराले स्वागत मन्तव्य राख्ने क्रममा भने, ‘आज, यो विश्व बौद्ध सम्मेलनमा भारतका महान् व्यक्ति हामीसँगै हुनुहुन्छ । उहाँको नाम हो : डा. बीआर अम्बेडकर  ! (तालीको गडगडाहट) उहाँले भारतको नागपुर सहरमा ५ लाख पददलितलाई बौद्ध धर्मावलम्बीमा धर्मान्तरण गर्दै महान् धार्मिक क्रान्ति सम्पन्न गर्नुभएको छ । आजको दिन विश्वभरिको प्रतिनिधिको तर्फबाट म उहाँलाई यस बौद्ध सम्मेलनमा हार्दिकतापूर्वक स्वागत गर्न चाहन्छु ।’

डा. अम्बेडकरलाई रंगीचंगी माला लगाएर भव्य स्वागत गरियो र धार्मिक विषयमा प्रवचनका लागि आग्रह गरियो । सुरुमा उनलाई आयोजक प्रो. मलालासेकराले ‘बुद्ध धर्ममा अहिंसाको स्थान’ बारे बोल्न प्रस्ताव गरेका थिए । त्यस प्रस्तावलाई सहजै सकारेका डा. अम्बेडकरलाई बहुमत प्रतिनिधिले ‘बुद्ध र कार्ल माक्र्स’ बारे सम्बोधन गर्न आग्रह गरे । उनको सम्बोधनको विषयको शीर्षकबारे भने मतैक्यता छैन । कसैले ‘बुद्ध वा कार्ल माक्र्स’ भनेका छन् भने कसैले ‘बुद्ध र कार्ल माक्र्स’ । प्रवचनका लागि उनी उठ्दा उनकी पत्नी डा. सविता पनि उभिइन् । उनको उत्साह बढाउन सभास्थलमा व्यापक रूपमा ताली बज्यो । र, एक छिन चम्केका क्यामेरा पनि एकाएक मौन भए । त्यसपछि उनले ऐतिहासिक सम्बोधन गरे ।

राजा महेन्द्रसामु बुद्ध र माक्र्सबारे सम्बोधन

धम्म र सामाजिक सिद्धान्तका रूपमा बुद्ध धर्म अँगालेका डा. अम्बेडकरले बुद्ध र माक्र्सका सिद्धान्तको चिरफार गरे । उनले बुद्ध र माक्र्सका लक्ष्य एक भएको मत राखे । एकले ‘दु:ख’ र अर्काेले ‘शोषण’ को कुरा उठाएको अवस्थामा दुवैले निजी सम्पत्तिको उन्मूलनको आवश्यकता औँल्याएको जानकारी दिए । साम्यवादी समाजमा मात्रै निजी सम्पत्तिको उन्मूलन हुने विचार राख्दै उनले त्यस्तो समाजका लागि ती दुईमध्ये कसको मार्ग ठीक भन्ने विषयमा व्यापक चर्चा गरे । हिंसाले छिटो परिणाम निकाल्ने भए तापनि त्यसले मानिस र विश्वको चित्त फेर्न नसक्ने, त्यसो गर्न नसकेसम्म समस्या रहने उनको धारणा थियो । हिंसाको मार्गबाट सर्वहारा वर्गको अधिनायकत्व लागू गर्नु बेठिक रहेको मतमा दृढताका साथ उभिँदै उनले शान्तिपूर्ण मार्गबाट व्यक्ति र विश्वको मन जित्नु जरुरी रहेकोमा जोड दिए ।

काठमाडौँ प्रवचन डा. अम्बेडकरको जीवनमा विश्वस्तरका कार्यक्रममा दिइएको अन्तिम सम्बोधन सावित भयो । नोभेम्बर २१ मा बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गरेका अम्बेडकर भोलिपल्टै काठमाडौँ फर्केर पटनातिर उडे । त्यसपछि बुद्धसँग जोडिएका बोधगया, कुशीनगर र सारनाथजस्ता महत्वपूर्ण स्थानको भ्रमणसँगै नोभेम्बर ३० मा दिल्ली गएपछि अस्वस्थता बढेपछि डिसेम्बर ६ मा उनको देहान्त भयो । सन् १८९१ अप्रिल १४ मा महार (सार्की) परिवारमा जन्मिएर भारतीय संविधानको निर्माताको हदसम्म भूमिका खेलेका अम्बेडकर मूलत: प्रख्यात दलित आन्दोलनका अभियन्ताको पहिचान सहित संसारमा परिचित छन् । कोलम्बिया युनिभर्सिटी र लन्डन स्कुल अफ इकोनोमिक्स जस्ता विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका अम्बेडकरले वर्ग (क्लास) र वर्ण (कास्ट) को मुद्दालाई जनमुखी लोकतान्त्रिक रूपान्तरणको एजेन्डा बनाएका थिए ।

डा. अम्बेडकरले ‘काठमाडौँ प्रवचन’ मा बुद्ध धर्म र माक्र्सवादको सन्दर्भमा अझ प्रखर रूपमा विमर्श गरिएको छ । यस अर्थमा जनमुखी लोकतान्त्रिक रूपान्तरणमा काठमाडौँ प्रवचनको महत्त्व बढी छ, यसबारे थप बहस र विमर्शको खाँचो छ । उनको नेपाल बसाइँपछि यहाँ पनि भारतमा जस्तै ‘अछूत’ र ‘शूद्र’ मानिने समुदायको संघर्षशील सामूहिक स्वपहिचानका रूपमा ‘दलित’ शब्द प्रचलित भएको अध्येता जेरार्ड तोफाँको मत छ । हिन्दु धर्मको वर्णव्यवस्था, जातभात र छुवाछूतबाट सबैभन्दा पीडित रहेका ‘अछूत’ वा ‘शूद्र’ मानिने समुदायले अनेक उपायबाट संघर्ष जारी राखेका छन् । नयाँ संविधानमा समेत धर्मनिरपेक्षताको नाममा ‘सनातन धर्म संस्कृतिको संरक्षण’ को बोलवाला कायम राखिएको अवस्थामा लौकिक लोकतान्त्रिक मार्गको माग बढ्नु अनौठो होइन । यस अर्थमा बुद्धदेखि माक्र्ससम्म लोकप्रिय रहेको देशमा ती दुवैका सिद्धान्त पर्गेल्ने र विशिष्ट सामाजिक स्थिति अनुसार बाटो पहिल्याउने अर्काे बाटो पनि छैन ।

बेवास्ता नै गर्न नसकिने विचार

डा. अम्बेडकारले थालेको दलित आन्दोलन आज दक्षिण एसियाको जनमुखी लोकतान्त्रिक रूपान्तरणको एउटा मुख्य धार भएको छ । सडकका आन्दोलनदेखि विश्वविद्यालयका कक्षासम्म, संसद् भवनदेखि अनुसन्धान संस्थाका कोठासम्म बृहत् ठाउँ लिन थालेको अम्बेडकरका विचारलाई कसैले पनि बेवास्ता गर्न सक्ने अवस्था अब छैन । उनको ‘काठमाडौँ प्रवचन’ पछि व्यापक भएको दलित शब्दको प्रयोग र स्वीकार्यताबीच बढेको नेपाली दलित आन्दोलन पनि अम्बेडकरका विचारलाई पन्छाएर आजसम्म अगाडि बढेको देखिँदैन, न त भोलि नै अगाडि बढ्ने सम्भावना देखिन्छ । दलित समुदायको आत्मसम्मानका साथै आर्थिक–सांस्कृतिक र राजनीतिक उत्पीडनबाट उन्मुक्तिका लागि अनेक खाले संघर्षको इतिहास, ज्ञानको विशाल भण्डार र अनुभवको बृहत् संसार छाडेर गएका डा. अम्बेडकर धेरै हिसाबले अध्ययन, अनुसन्धान र विमर्शका हकदार हुन् ।

त्यही कारणले जातभातले ग्रस्त भारतमा मात्रै होइन, अमेरिकादेखि भारत र नेपालसम्म अम्बेडकरको जीवन र संघर्षबारे अध्ययन, अनुसन्धान र विमर्शसँगै प्रकाशनको क्रम तीव्र भएको छ । यसै क्रममा पाँच वर्षअघि डा. अम्बेडकरका अनुभव र विचारलाई केन्द्रमा राखी ‘सत्ता–विमर्श र दलित (अम्बेडकर : दृष्टिकोण र विवेचना)’ अनूदित पुस्तक प्रकाशन गरिएको हो । डा. अम्बेडकरद्वारा लिखित ‘एन्नाइहिलेसन अफ कास्ट’ चर्चित लेखिका अरुन्धती रोयको बृहत् भूमिका सहित पुन: प्रकाशित भएपछि त्यसले बजारमा त्यत्तिकै हंगामा मच्चाएको होइन । अत: यी र यस्ता पुस्तकको लेखन, अनुवाद र प्रकाशनको लर्काे लगाउनुपर्ने आवश्यकता झन् बढी देखिएको छ । र, जरुरी भएको छ, दलित आन्दोलनलाई बृहत् सेरोफेरोमा अध्ययन, अनुसन्धान र प्रकाशनका लागि ‘अम्बेडकर स्टडी सेन्टर’ को निर्माण पनि ।

(शिवहरि ज्ञवालीको सहयोगमा)

 

साभार : कान्तिपुर, प्रकाशित: श्रावण २८, २०७४