भवतु सब्ब मंगल

नरेन्द्रकुमार नगरकोटी

टिङ् … टिङ्… !
बिहान ४ बजेको संकेत । घन्टीको आवाजले निद्रा खुल्यो । जुरुक्कै उठेँ । उठिहाल्न मन लाग्यो । अरू दिन भए त अलार्म बन्द गरेरै पनि एक्कैछिन सुत्छु भन्ने लाग्थ्यो । त्यो दिन त्यसो भएन । अरू साथीहरूको पनि उठ्ने क्रम सुरु भयो ।म सुतेको कोठामा सातवटा खाट थिए । प्रत्येकमा एकेक जना सुतेका थियौं । एक अर्कासँग न परिचय भएको थियो न बोलचाल नै । एक शब्द पनि कोही कसैसँग बोलेको थिएन । बोल्न पाइन्न, त्यो पनि सबैलाई प्रस्टसँग थाहा थियो ।
अघिल्लो साँझमै भनिएका थिए- केही अनिवार्य नियम । तीमध्ये एउटा थियो आर्य मौन अर्थात् कुनै पनि माध्यमले सञ्चार गर्न रोक । आवाज निकालेर बोल्न नपाइने, संकेतमा पनि कुरा गर्न नपाइने । आँखाको भाखा पनि निषेधित । म भने मानसिक रूपमा नै तयार भएर गएको थिएँ । तर, पनि कसरी सम्भव होला भन्ने अव्यक्त खुल्दुली भने यथावत् थियो ।
अघिल्लो दिन १ बजे घर छाडेर हिडेको थिएँ । घर छाड्नुअघि फेसबुकमा एउटा लिंक सेयर गरेको थिएँ- आचार्य पद्मज्योतिसँग कुराकानी गरी लेखिएको विपश्यना ध्यान बारेको आलेख । त्यस लेखले पनि थप ऊर्जा र उत्साह भरेको थियो । सन्न्यासी भावमा ध्यान गर्न भनेर हिँडेको थिएँ तर मलाई पुर्‍याउन भनेरै केही साथी गएका थिए साथमा । कीर्तिपुरस्थित धम्म कीत्तिको …………….. ? ? ? ? ? ? ? ? ? ? ? ? ? ? ? ? कार्यालयको ढोकामै उभिएर बिदाइको हात हल्लाएँ मैले, मुस्कुराउँदै । उनीहरूलाई के-कस्तो लागेको थियो छुट्ने बेलामा कुन्नि, मलाई भने उनीहरू मूल ढोका कटेर गएपछि सम्झनाले सताइहाल्यो । उनीहरूलाई सेलफोनबाट टेक्स्ट गरेँ । के टाइप गरेँ भन्नेचाहिँ मसँग रेकर्ड छैन । आफूले थ्यांकयु भन्नुपर्ने जतिलाई टेक्स्ट गरेँ । अनि अन्तिमपटक फाराम भरेँ । दस्तखत गरियो, म पूर्णत: तयार छु भनेर ।
३० भन्दा बढी मानिस भएको स्थानमा म एक्लो थिएँ । मेरो साथमा केवल म थिएँ । मसँग जिज्ञासा थियो त ध्यान कसरी सुरु हुनेछ भन्ने, जुन निश्चित नै थियो । त्यसैले मैले कुनै प्रश्न गरिनँ।
मोबाइल फोन डिपोजिट सेक्सनमा बुझाएँ । आफूसँग भएको जम्मै नगद पनि बुझाएँ । सबै बुझाइयो, फिर्ताचाहिँ आउने हो कि होइन भन्ने लाग्यो एकछिन । फिर्ता नआउने हो भने फर्कनका लागि बसभाडा नि छैन भन्ने चिन्ता लागेको थियो । आफैंले सोचेँ— आउँछ नि । मसँग थिए एकएक थान दाँत माझ्ने बुरुस, मञ्जन, नुहाउने साबुन, टर्च र केही जोर लत्ताकपडा । झोला बोकेर अर्कोपट्टिको भवनतर्फ लागेँ । मलाई मेरो शयनकक्ष देखाइदिन एकजना भाइ मसँगै गए । पछि बुझियो उनी पुरानो साधक रहेछन् । पहिले पनि त्यही ठाउँमा ध्यान गरेको । तर, हाम्रो बोलचाल भएन । बस् उनले मेरो लागि ओछ्यान देखाइदिए । म पनि ओछ्यानहरू र पल्लो ओछ्यानमा लमतन्न परेर पल्टिरहेको युवा हेर्नतर्फ लागेछु । मौन । शान्त । म पनि मौन, मौन र मौन ।
पहिलो साँझको खानपिन गर्ने सूचना आयो । कोही पनि बातचित गर्ने मुडमा नभएजस्ता देखिन्थे । केही विदेशी अनुहारहरू एकआपस्तमा मस्तले गफिइरहेका थिए । पालैपालो एकजना सेतो वस्त्रधारीसँग कुरा गर्ने क्रम पनि जारी थियो । म अलमलमा थिएँ । असमञ्जसमा थिएँ । मेरो पनि पालो आउला भनेर सोच्दै थिएँ । पालो आएन । किन आएन आजसम्म पनि थाहा छैन । कति कुरा थाहै नभए पनि चल्ने रहेछ जीवनमा । साँझको ८ बजेतक कार्यालय रहेको भवनको माथिपट्टि सानो हलमा भेला हुन हामीलाई उर्दी जारी भयो ।
सबैजना उक्लियौं । महिला, पुरुष, स्वदेशी, विदेशी सबै । ३० भन्दा बढी मानिस भएको स्थानमा म एक्लो थिएँ । मेरो साथमा केवल म थिएँ । मसँग जिज्ञासा थियो त ध्यान कसरी सुरु हुनेछ भन्ने, जुन निश्चित नै थियो । त्यसैले मैले कुनै प्रश्न गरिनँ । धैर्य रहेँ । अब आर्य मौनको समय सुरु भयो भनेपछि हामी निस्कियौं र लाग्यौं जो जहाँजहाँ सम्बन्धित थियौं ।
राति ९ बजे सुत्न पाइने नियम पहिल्यै थाहा थियो । केही विपश्वी साधक र यसको प्रशंसकहरूको कुरा सुनेर म गएको थिएँ । वेब साइट भिजिट हेरेर, भिडियो डिस्कोर्स सुनेर, आफू राजी भएरै गएको थिएँ ।
हामीले पालना गर्नुपर्ने पहिलो सर्त थियो शील । यसअन्तर्गत हामीले पाँच काम गर्नु हुँदैनथ्यो । चोरी नगर्ने, झूठ नबोल्ने, हिंसा नगर्ने, नशालु पदार्थ सेवन नगर्ने र यौनजन्य क्रियाकलापमा संलग्न नरहने । शील पूर्णत: पालना गर्न तयार भएरै गएको थिएँ ।
महिला र पुरुषका लागि सबै व्यवस्था बेग्लै थियो । भान्छाकोठा, डाइनिङ सेटिङ र बाथरुम अलग, सुत्ने स्थल टाढाटाढा, हिँडडुल गर्ने बाटो बेग्लै ताकि भेट नहोस् । ध्यान गर्ने हलमा प्रवेश गर्ने बाटो अलग । ढोका अलग । हलमा बस्ने ठाउँ अलग । कहिले त देखादेख जो भई नै हाल्थ्यो । जो कोहीलाई पनि आपसमा स्पर्श गर्न, हेर्न र संकेतमा कुरा गर्न बर्जित थियो । एक मेक्सिकन जोडीले शील र अरू नियम पालना गरेको र ध्यानस्थ भएको देख्दा गरे सकिने रहेछ भन्ने लाग्थ्यो ।
मेक्सिकन जोडी घुम्दाघुम्दै अचानक आइपुगेको रहेछ । समय कटाउन भनेर । पूर्ण नियममा बसे । तर, भेट हुनेबित्तिकै टङ-किस गरेको दृश्य हामीले हेरिरह्यौं केही बेर । अन्तत: ध्यानबाट प्रभावित भएर उनीहरू निस्के साइकल यात्रामा । मसँग ध्यान अवधिको एउटा पनि फोटो छैन । फोटो छ त मनमा छ । फोटो खिचिएन । अनित्य कुरा न हो, किन मोह गर्ने भनेर । त्यस्तो विचारले भिजायो त्यस बखत । अरूले खिचे सेल्फी र वेल्फी, क्लिक्क्लिक् ।हरेक दिन बिहानको घन्टीसँगै उठ्नुपथ्र्यो । नउठे सेवकले डसना तानेर झकझकाउँथे र आँखा खोलेपछि जम्लाहात पारेर ध्यान गर्न जाने समय भयो भन्ने जानकारी दिन्थे ।
दोस्रो दिनको बिहान उठ्न सकिएन । बिहानी घन्टी बजेको पनि पत्तो पाइएन । सेवकले डस्ना तानेपछि पो मन र तन दुवै ब्यूँझे । नमस्कार खाइयो । शान्त र मौन रूपमै लागियो ध्यानका लागि हलतिर । पहिलो दिनको निरन्तर साधनाको जोडले थाकिएछ । अरूहरूको पनि हालत मेरोभन्दा फरक होइनजस्तो लाग्यो । नमस्कार खाँदै उठेका निद्रालु आँखाहरू सिँढी ओर्लिंदै थिए । कोही जारबाट स्टिलको गिलासमा पानी थाप्दै ठाडो घाँटी पार्दै थिए । कुनै कुनै पल त ध्यान गर्दागर्दै निद्रादेवीसँग साँठगाँठ गरेको कुरा सायदै अरूले थाहा पाए होलान् ।
सुरुका तीन दिन आनापाना ध्यानको अभ्यास गर्‍यौं । श्वास आएको, गएको र कस्तो सेन्सेसन भयो भनेर नाकको अघिल्लो खण्डको आसपास मनलाई केन्द्रित गरेर यो अभ्यास हुन्थ्यो । सुरुसुरुमा त मन कताकता, भाग्ने कताकता । फिटिक्कै पनि केही सेन्स नहुने । अभ्यासले गर्दा विस्तारैविस्तारै सुधार हुँदै गयो । मनलाई तीक्ष्ण बनाउने अभ्यास हो यो । मनलाई हामीले चाहेजसरी वशमा राख्न सकिने रहेछ । त्यसको प्रारम्भिक अभ्यास हो यो । मनको ताल र सुरमा लाग्दा जीवनमा दु:ख, पीडा, असन्तुष्टि, विवाद, झैझगडा हुने हो । मनलाई वशमा राख्न सके र दु:खबाट मुक्त हुन सके त जीवनमा बाँकी रहने त आनन्द नै हो ।
सुरुसुरुमा त यस्तो दुख्यो कि ढाड, पिँडुला र गोडाका अन्य भाग । पीडामय समय थियो सुरुमा । यो पीडा अनित्य हो भनेर मान्न अभ्यास थियो त्यो । अनित्य हो दु:ख भनेर बुझ्नै समय लाग्यो ।
अधिष्ठान अवधिमा अझ बढी मेहनत गर्नपर्छ । कम्तीमा एक घन्टा आसन परिवर्तन गर्न पनि नपाइने । पहिलोपटक एक घन्टा पूरा भयो होला भनेर विस्तारै टाउको घुमाएर पछाडिको भित्तेघडी हेरेको त जम्माजम्मी १५ मिनेट भएको रहेछ । नियम तोडेरै यसो गरिएको थियो । पछिल्ला दिनहरूमा त दुई घन्टासम्म पनि सामान्य रूपमा नै ध्यान गर्न सकिने भइयो । चौथो दिन विपश्यना प्रदान गर्ने दिन हो । यस दिनमा त दुई घन्टाको अधिष्ठान हुन्छ । सुन्दै आत्तिन सक्छ मान्छेको मन । ध्यानको अभ्यास भएकाका लागि यो सामान्य हो ।
कुनै समय नजिकै भएको साथीले बारबार आफ्नै नाडीमा प्याट्ट प्याट्ट हिर्काएको आवाजले ध्यान भंग गरिदिन्थ्यो । बोल्न पाइन्नथ्यो । संकेतमा पनि केही बताउन नपाइने । रिसाउन छाडिएको थियो । किनभने साक्षी भाव विकास गरिँदै थियो । प्रतिक्रिया नदिने स्वभाव बनाउने अभ्यासमा थियौं । त्यसो त कुनै पल नजिकै कतै पार्टी गरेको सुन्न सकिन्थ्यो । गीतसंगीतको चर्को स्वरले त्यही बताउँथ्यो । यसरी पनि ध्यान भंग हुने गथ्र्यो । तर, हामी नकारात्मक टिप्पणी नगर्ने अवस्थामा थियौं । साधु साधु साधु । भवतु सब्ब मंगलं । यो भावमा थियौं ।
गौतम बुद्धले ज्ञान प्राप्त गरेको कुरा मलाई पहिल्यैदेखि कुनै ठूलो या महत्र्वको लाग्दैनथ्यो । आखिर के नै जानेका हुन् र ! त्यै कुरा हो जुन हामीले धेरै पहिल्यै कुनै खासै मेहनत नगरी सिकेका हौं । जस्तो कि चोरी गर्न हुन्न । खासमा ध्यान गरेर भावनामय प्रज्ञा कसरी खुल्छ र ज्ञान प्राप्त हुन्छ भन्ने कुरा पढेर वा सुनेर होइन कि ध्यानको, साधनाको अभ्यास नै जरुरत पर्छ । यो तथ्य जान्न र स्वयं अनुभव गर्न मलाई तीन दशक लाग्यो ।
दिनहरू बित्दै जान थाले । मौन र एक्लोप्राय: जीवन पनि सामान्य लाग्न थाल्यो । एउटा निर्धारित तालिका र नियममा मन चल्न थाल्यो । ध्यानमा बस्दा पनि मनलाई सेन्सेसनमा केन्द्रित गराउन सकिने गरी तीक्ष्ण बनाएको अनुभूति लाग्न थाल्यो ।
एकजना रुममेट पाँच दिनमै अलप भए । कहाँ गए, किन गए । सोध्न मिल्ने कुरै भएन । पछि थाहा भयो कि सन्चो नभएर बीच समयमै गएका रहेछन् । त्यस्तै एकजना छोरी साधक थिइन् । करिब २०-२२ वर्षकी । एक दिन उनी क्वाँक्वाँ रोइरहेकी थिइन् । पत्तो पाउन सकेको छैन । होम सिकनेसले रोएको हो कि भन्ने लाग्यो ।
अन्तिम अर्थात् दसौं दिनमा आर्य मौन तोड्ने दिन । बिहानी ध्यान सकेर हलबाहिर निस्कँदा कोहीले बाटैमा नमस्ते भनेपछि एक्कासि नमस्ते भनिएछ । आफैंलाई आफ्नै आवाज पनि नौलो लाग्यो । कहाँबाट के ध्वनि आइरहेछ जस्तो । नौलो, नयाँ, नवीन ।
बोल्न पाएको एक रात बास बस्नुपर्ने । करिब एक दिन बिताएपछि मात्र घर फर्कन पाइने । सेलफोन चलाउँदा त्यस्तै भयो । ११औं दिनमा घर आउन पाइने । त्यसैले घर फर्कने दिनमा मात्र मोबाइल फोन हात पर्ने । फोन लिएँ । स्विच अन गरेँ । स्क्रिन नै अनौठो लाग्यो । छोइ हेरेको त स्क्रिनमा, क्या अचम्म । चल्छ पो, सर्छ पो ।
ध्यानले केके परिवर्तन ल्यायो त ? यो प्रश्न धेरैले सोधे । अद्यापि सोधिने प्रश्न हो यो । परिवर्तनको आभास दिन देखिने परिवर्तन चाहिन्छ । चर्मचक्षुले देखिनु पर्‍यो । त्यसैले अन्तरमनमा भएको परिवर्तनलाई देखाउने कसरी भनी एकछिन गम खान्छु । मौन हुन्छु । अनि विपश्यनाको प्रभावबारे एकछिन प्रवचन दिन कम्मर कस्छु । सक्दो बुझाउने कोसिस गर्छु कि यो उपयोगी छ । आफूले पनि प्रत्यक्ष नदेखेका उदाहरण पनि सुनाउछु । मलाई थाहा छ, अनुभव गर्न नपाएको सत्यलाई सहजै स्वीकार्न सकिन्न । तर, पनि बताउँछु मैले, ज्ञान प्राप्तिको मार्गमा हिँड्न सिकेँ ।
ध्यानको माध्यमबाट चञ्चल मनलाई वशमा राख्ने क्षमता बढ्ने रहेछ । प्रेम, करुणा, मैत्री भावले मनमा आसन ग्रहण गर्ने र राग, द्वेष र मोह क्रमश: टाढा हुने रहेछ । दु:खबाट मुक्त हुने कला सिकिने रहेछ । बाँच्ने कला हासिल हुने रहेछ । शुद्ध धर्मको मर्म बुझिने रहेछ । यसोयसो भन्छु । मलाई थाहा छ यसो भनेर विपश्यना बुझिन्न । बुद्धले प्रयोग गरेको विद्या हो यो भन्यो भने त फेरि हामीलाई बुद्ध बन्नु छैन पनि भन्छन् । बुद्ध बन्छु भनेर एकदुई महिना ध्यान गरेर बनिने पनि होइन र बुद्ध बन्नका खातिर ध्यानमा लाग्ने पनि होइन । सच्चा आनन्द हो मनको आनन्द । जीवनमा त्यो आनन्द प्राप्तिका लागि उत्तम मार्ग हो ध्यान र ध्यानमा पनि विपश्यना ।
शील पालना गर्न नसके ध्यान सम्भव नहुने रहेछ । समाधि नहुने रहेछ । अनि प्रज्ञा पनि नखुल्ने रहेछ । प्रज्ञा अर्थात् प्रत्यक्ष ज्ञान । शील, समाधि र प्रज्ञाको अभ्यास गरिरहँदा मनमा धेरै खाले मानिसको चित्र आए । मलाई लाग्यो कि यो साधना नियमित रूपमा गर्ने गराउने हो भने कैयन् समस्या समाजबाटै हट्छ ।
ध्यानमा लीन भएँ । आनन्द प्राप्त गरेँ । कुनैकुनै समय भने मनले अनन्य योजना बनाएर बस्यो । जस्तो कि सम्झिएरै बित्यो कत्ति घन्टा । सम्झेँ ती मानिसहरूलाई जसलाई शीलस्वभावले युक्त देख्न मन थियो । धेरै मानिसलाई साधनामा लैजान मन लाग्यो मलाई । मनमा लाग्यो, जीवनको उत्तराद्र्धमा विपश्यना ध्यान केन्द्र सञ्चालन गर्छु र मानिसहरूलाई धर्म र पुण्यको मार्गमा हिँड्न सहयोग गर्छु । कम्तीमा स्वयंका लागि भए पनि यो काम गर्छु ।
सिकाइ कसरी हुन्छ ? ज्ञानमार्ग कसरी खुल्छ ? चेतनाको जरा कसरी फैलन्छ ? सुनेर, देखेर र अनुभव गरेर सिक्छन् । सिकाइका लागि इन्द्रियको सहयोगमा अनुभव गर्नुपर्छ । ज्ञान र चेतनाका लागि अन्तरआत्मादेखि भावना उत्पन्न हुनुपर्छ । यस्तो वाक्य पढेर कसरी विश्वास गर्ने ? त्यसो भएकाले शिक्षकहरूका लागि यो अति उपयोगी छ । शिक्षकहरूले यस ध्यानमा लागेको खण्डमा ज्ञान त भावनामय प्रज्ञाको तहमा पुगेर मात्र हासिल हुन्छ भन्ने बुझ्न सक्छन् । झूठ बोल्नुहुन्न भनेर उत्तर लेखेर जाँचमा पास त भएको हुन्छ तर कैंयौं झूठ बोलेर अरूलाई दु:ख दिइरहेको हुन्छ । त्यस्तो किन हुन्छ त ? किनभने झूठ बोल्नु अश्लील हो भनेर उसले हृदयको तहमा अनुभूत नै गरेको हुँदैन । साँचो अर्थमा ज्ञान प्राप्त गरेकै हुँदैन ।
ध्यानमा जानुपूर्व एकजना छोरीसँग बोलचाल थिएन । एकाएक उनी बोल्न छाडिन् । अनि म पनि बोल्न छाडेँ । कारण थियो, उनलाई कुनै प्रतियोगिताका लागि आवश्यक जिनिस तयार नगरिदिएर तरिका मात्र बताउनु । अचम्म के भइदियो भने म ध्यानबाट फर्केर आउँदा उनी खुला हृदयले मसँग बसेर घमण्ड र रिस हटाउने विषयमा छलफल गर्न तयार रहिछन् । म त ताजाताजा विपश्वी कुनै ईख वा द्वेष राख्ने कुरै भएन । प्रेमपूर्वक कुरा भयो । उनकै घरमा म गएँ ।
उनीलगायत अरू चारपाँच जनाका अगाडि प्रवचन दिन थालिहालेछु ।
अचेल कुनै सिर्जनामा प्रयोग गरिने शब्दचयन होस् वा बोलीचालीमा, विशेष ख्याल राखिन्छ कि कतै हिंसा गर्ने वा बुझाउने शब्द त प्रयोग भइरहेको छैन भनेर । सचेत बन्न प्रत्यक्ष सघाउँछ विपश्यनाले । कतै ध्यानको कुरा चल्यो भने विपश्यनाको बारेमा प्रवचन दिइहाल्न मन लाग्छ अचेल ।
यो लेख तयार गर्दै गर्दा फेरि अर्को पटकको साधनाका लागि कन्फर्मेसन इमेल प्राप्त भएको छ ।
साभार : अन्नपूर्णा पाेस्ट,  भदौ १७, २०७४
4 years ago/Friday, September 29th, 2017/