विद्याधर महायोगी श्रीधर राणा रिम्पोछे

चित्र शाक्य
हिजो नागबहाल गगनवाटिकामा विद्याधर महायोगी श्रीधर राणा रिम्पोछेबाट “बज्रयानमा समठ् विपश्यना” विषयक प्रवचनको श्रवण गर्ने शुभअवसर मिल्यो। उहाँको लेखहरू पहिले आनन्दभूमि मासिक बौद्ध पत्रिकामा पढ्ने गर्थें। बिचमा लामै समय त्यस्तो अवसर मिलेन। त्यसको कारण चाहिं उहाँ गुफामा २१ वर्ष लामो समयसम्म समठ् विपश्यनामा हुनु हुँदोरहेछ। त्यसपछि लगत्तै अमेरिका, बेलायत र अन्य यूरोपियन मुलुकहरूमा समठ् विपश्यना सिकाउँदै र बुद्धशिक्षा बारे प्रवचन दिंदै व्यस्त रहनु भएको रहेछ। नेपाल हालसालै मात्र फर्कनु भएको रहेछ।

 

हिजोको प्रवचनमा सुन्ने कुराहरू थिए, जुन कुरा विरलै वक्ताहरुबाट सुन्न पाइन्छ। ती कुराहरू निम्न बुँदामा मैले संक्षिप्तमा समेटने प्रयास गरेको छु।
१) प्रमुख कुरा विपश्यना नभएको धर्म बुद्धधर्म नै होइन।

२)विपश्यना विना विकार वा क्लेश नाश हुँदैन। त्यसैले मुक्ति वा निर्वाण प्राप्त गर्न सकिंदैन।

३) समठ् सबै धर्ममा छ। हिन्दू, ईसाई, मुस्लीमको सुफीमा पनि ध्यान हुन्छ। तर तिनीहरूमा समाधिसम्म मात्र हुन्छ। प्रज्ञासम्म पुग्दैन र क्लेश नाश हुँदैन। समठ्ले केवल केहि शान्तिको अनुभव हुन्छ। प्रज्ञाले मात्र अनुशय क्लेशको समेत विनाश गर्छ। त्यसैले विपश्यनाले मात्र निर्वाण लाभी बनाउँछ।

४) बुद्धधर्मको बज्रयानमा पनि चित्तको स्वभावलाई बुझ्नु पर्ने हुन्छ र चित्तलाई हेर्नु पर्छ, विपश्यना हुन्छ।

५) थेरवाद, बज्रयान र महायानले सम्पूर्ण बुद्धधर्मको स्वरूप बन्छ। उदाहरणको लागी, थेरवाद जग हो, बज्रयान त्यो जगमाथि उठाईएका Wall हरू हुन् र महायान छानो हो। सबै मिलेर घर बन्छ। बृहत बुद्धधर्म बन्छ। एक अर्कामा भिन्न भएर वा भिन्नरुपमा बस्नु पर्दैन। सबैको आ-आफ्नो महत्व छ। थेरवादी भिक्षुहरुसंग यस्तो कुरा गर्दा सुन्दैन भन्ने गुनासो पनि गर्नु भयो।

उहाँले भन्नु भयो – “समठको अर्थ ‘सम’ अर्थात समानरूपले, ‘ठ’ अर्थात स्थीर रहेको, स्थीर र त्यही रुपमा रहेको (चञ्चल वा चलायमान नभएको) लाई समठ् भनिन्छ। विपश्यना भनेको हेर्नु, जस्लाई हेरेको हो त्यसको वास्तविक स्वभाव र प्रक्रियालाई देखेर अनुभूत हुनु हो।

प्रवचनको शिलशिलामा यो पनि भन्नु भयो कि, नेपालमा बुद्धधर्म भन्ने वित्तिकै कि त नेवारहरूको कि त भोटेहरूको (मङ्गोल कट्का सबै) भन्छन्। तर त्यहाँ ब्राम्हण पनि छन्, क्षत्री पनि छन् त्यस्तै अन्य जातका पनि छन्। ब्राम्हण जस्ता बज्राचार्य भए, क्षत्री जस्ता शाक्य भए यस्तै अरूहरू पनि। संक्षिप्तमा उहाँले बौद्ध एकतालाई लक्षित गरेर व्याख्या गर्नु भयो। भारतमा बुद्धधर्मको सफाया गरिएको ईतिहास पनि जोड्नु भयो। हिजो मैले व्यस्तता बिच समय निकालेर प्रवचन सुन्न गएको सार्थक सिद्ध भयो। महायोगी श्रीधर राणा रिम्पोछेंमा हार्दिक कृतज्ञताकासाथ साधुवाद अर्पण गर्दछु। भवतु सब्ब मंगलं।