पञ्चस्कन्धबाट कसरी कर्म बन्छ ?

पञ्चस्कन्धबाट कसरी कर्म बन्छ ? थप केही उदाहरण ।

१. खांदा– पहिले आंखाले देख्दा चक्षु विज्ञान उत्पत्ति हुन्छ । यसको आधारमा सम्झना भएर मनो विज्ञान उत्पत्ति हुन्छ । यसैको आधारमा पूर्व संखार उत्पत्ति हुंदै संज्ञाले चिन्ने, पहिचान गर्ने, यो भात, दाल, तरकारी, कोकाकोला हो, र मीठो छ, स्वास्थ्य बर्धक छ भनी चिन्नुको साथै सकारात्मक मूल्यांकन गर्दछ । यसको आधारमा सुख वा आनन्द अनुभूति गर्दै सुख वेदना उत्पन्न हुन्छ । यसकै आधारमा खाऊं भन्ने इच्छा नयां संखार उत्पत्ति हुन्छ । यसकै आधारमा महाभूत आदि रूप उत्पन्न भएर हात उठ्दछ र हातको सहयोगले उठाएर खाने पिउने कम्म गर्दछ ।

यदि संज्ञाले चिन्दा यो कोकाकोली हानी कारक छ, रामदेवले ट्वाइलेट सफा गर्न योग्य भनेको छ भनेर सम्झेर, पिउनु हुन्न भनी मूल्यांकन गरेमा दुक्ख वेदना उत्पन्न हुन्छ । नखाने इच्छा संस्कार उत्पन्न हुन्छ । त्यसपछि या पिउनको लागि हात उठदैन । या त्यो पन्छाउन हात उठ्ने रूप उत्पन्न हुन्छ ।

२. हिड्दा– ‘फलाना ठाउमा जाउं’ भन्ने सुनेर सोत विज्ञान (सुन्ने चित्त) उत्पत्ति हुन्छ, त्यसको आधारमा त्यस सम्बन्धित अशल अशल कुराको सम्झना आएर जानु पर्ने मूल्यांकन सञ्ञाले गर्छ र ‘जाउं’ भन्ने शब्द सुन्नासाथ आनन्द मान्ने सुख वेदना उत्पत्ति हुन्छ । फल स्वरूप जाने इच्छा संखार उत्पत्ति हुन्छ । त्यसले ४ महाभूत उत्पन्न गरी खुट्टाले हिड्ने कम्म गरेर जाने काम गर्छ ।

यदि जाउं भनेको सुनेर पनि त्यो ठाउंबारे नकारात्मक सम्झना भयो (जस्तै– त्यहां भूत प्रेत आउछ, मलाइ जिस्क्याउंछ, त्यहां बदमास छन आदि आदि)– भने हानि हुने, जान नुहने भनी संज्ञा सकन्धल काम गर्छ । तब त्यसको सम्झना आउनासाथ दुक्ख वेदना हुन्छ । यसैको आधारमा नजाने इच्छा संस्कार उत्पन्न हुन्छ । तब नजानको लागि शरीर भारी बनाउने पृथ्वी धातु प्रबल गराउने रूप उत्पन्न हुन्छ । जान नमान्ने साना बालकहरूलाइ घिसारेर लानु पर्ने कारण पनि यहि हो ।

यसरी नै शरीरबाट हलन चलन वा हेर्ने सुन्ने काम हुन्छ भने हलन चलन नगर्दा पनि शरीरमा भारी हल्का, तातो चिसो आदि भित्री स्वभाव उत्पन्न हुन्छन् । यी स्वभाव कहिले अशल, सुखदायी, कुसल हुन्छन् भने कहिले खराव दुक्खदायी, अकुसल हुन्छन् । जस्तै–

कसैले वासनात्मक कुराकानी गरेमा सुनेको शब्दलाई सोत विञ्ञानले ग्रहण गरेर वासनात्मक विषयको जानकारी हुनेलाई वासनात्मक संखार उत्पन्न हुन्छ । पछि त्यसको सम्झना भए पछि मनो विज्ञान उत्पन्न भई सञ्ञाले यो वासनात्मक विषय हो भनी चिन्दछ । त्यसमा वेदनाले सुख अनुभति गर्दै संखारले काम राग वा वासना बढाउंछ, त्यसको फल स्वरूप शरीर भरि काम वासना फैलिन्छ र सम्बन्धित अंगमा असर पार्दछ र गाला रातो हुने र स्वरमा परिवर्तन हुने वा लाज मान्ने, भारी हुने, कस्सिने, फैलिने, फुल्ने स्वभाव उत्पन्न हुन्छ ।

यसैले लाज मान्ने वा लाज मानेर गाला रातो हुने लक्षण यौन तृष्णा वा राग चित्तको हो ।

यसरी सम्झना उत्पत्ति हुंदा हृदय वस्तुबाट सुरु हुने हुनाले जति जति हृदय वस्तुबाट पूर्व संखारको रूपमा अरबौ अरबौ चित्त उत्पत्ति हुन्छन्् । त्यस मध्ये प्रत्येक १७ वटा चित्तले एउटा रूप कलाप उत्पन्न गर्छ । जस्तै १७ अरब चित्त उत्पन्न भए १ अरब रूप उत्पन्न हुन्छ ।र् यसरी अराबौं रूप उत्पन्न भए अनुसार शरीर भरि फिजिन्छ । हृदयमा शान्ति, शितल वा सुख भएमा त्यसको प्रभाव फैलिदै सारा शरीर हल्का सुखदायी अनुभूति हुन्छ । अकुसल विचारको कारणले हृदयदेखि भारीपन, छटपटी फैलिदै सारा शरीर भरि गह्रुंगो, तातो आदि रूप उत्पन्न भएर, दुक्खदायी अनुभूति हुन्छ । यस प्रकार प्रतिक्षण चित्तको कारणबाट शरीरमा कुनै न कुनै हलन चलन हुने वा नभएमा पनि शरीर भित्र भारी हल्का, तातो चिसो कडा नरम, चिलाउने, दुख्ने, फूरफूरिने आदि विभिन्न स्वभाव उत्पन्न हुन्छन् ।

निष्कर्षमा पञ्चक्खन्धको कारणले नै यी सबै भएर रहका छन् । कुनै आत्मा, ईश्वर वा मबाट भएको छैन । त्यसैले पञ्चक्खन्धलाई म, मेरो वा मेरो आत्मा भन्न नमिल्ने अनात्म मात्र हो ।

(अनात्म, अनात्मा क्रमश: ११)