पञ्चस्कन्धको आपसी तालमेलले कर्म निर्माण

भिक्षु प्राणपुत्र 

पञ्चस्कन्ध वा अनात्म अनुसार कसरी कर्म बन्छ अर्को एक उदाहरण–
कुनै एक भिक्षु ध्यानमा छन् । एक आवाज सुनियो । सुनिदैछ भनेर विञ्ञानक्खन्धले थाहा पायो । विस्तारै आवाजको कारणले एक उपासिकाको दृश्य देखिन थाल्यो । त्यस उपासिकाको सम्झना आउनासाथ सञ्ञाक्खन्धले धेरै दान दिने उपासिका भनेर चिन्यो । ‘आज पनि दान दिन आएछ’ भन्ने लोभयुक्त पहिचानले अत्यधिक सुख वेदना उत्पन्न भयो । दान लिने इच्छा उत्पन्न गऱ्यो संखारक्खन्धले । यसको कारणले रूपक्खन्धले शरीर भरी रोमाञ्चक प्रीति उत्पन्न गरेर आँखा खोलेर हेऱ्यो । र बोल्यो पनि ‘आउनु होस्, बस्नु होस् । आरामै हुनुहन्छ ? अहो, आज पनि दान दिनको लागि आउनु भएको ? तपाई त साह्रै दान दिनु पर्ने उपासिका हुनुहुन्छ । तपाई त साह्रै नै श्रद्धालु हुनुहन्छ ।’ यसाे भनिरहँदा वची विञ्ञत्ति उत्पन्न गर्छ ।

अर्को उदाहरण– अघिको उदाहरणमा त्यस उपासिकालाई ‘यो त दान नै नदिने उपासिका हो’ भनेर सञ्ञाले पहिचान गर्छ । ‘ध्यानमा बांधा दिन आयो’ भनेर नकारात्मक पहिचान गर्छ । तब वेदनाले अप्ठ्यारो मान्ने दुक्ख वेदना उत्पन्न गर्छ । फलस्वरूप ‘उठ्नु नपरे हुन्थ्यो वा उपासिका छिटो गए हुन्थ्यो ।’ भन्ने इच्छा उत्पन्न गर्छ संखारक्खन्धले । तब रूपक्खन्धले शरीर नै भारी बनाउँछ । र ध्यानी जस्तै भएर ध्यान गरिरहन्छ । केही गरी उठ्नु परेमा ‘ध्यान बसिरहेको छु । के काम परेछ अहिले ? पछि आउनु होस्’ भन्ने वची विञ्ञत्ति पनि उत्पन्न गर्छ । वा अरूलाई ‘म छैन भनी दिनु’ भनेर अह्राउँछ ।

उपरोक्त उदाहरणमा एक उपासिकाप्रति एक भिक्षुको बोली बचनमा चाप्लुसी वा विरोधको भावना आदि किन फरक परेको छ ? भन्ने जान्न खोजिएमा शब्द सुन्दा उत्पन्न गरेको दृश्य वा सम्झना कालमा सञ्ञाक्खन्धले गरेको मूल्यांकन नै प्रमुख भएको पाइन्छ ।

यसप्रकार पञ्चस्कन्धको आपसी तालमेलले कर्म गर्ने हुनाँले यहां भित्रबाट गरिदिने कुनै आत्मा हुदैन, न बाहिरबाट गरिदिने कुनै इश्वर नै हुन्छ । यसैले यिनीहरू कार्य कारणमा आधारित हुने हुनाँले प्रतीत्य समुत्पन्न हुन् । म, मेरो मेरो आत्माको विषय होइनन् ।

(अनात्म, अनात्मा क्रमश: ९)

4 years ago/Wednesday, July 19th, 2017/