अनात्म अनुसार कसरी कर्म बन्छ

भिक्षु प्राणपुत्र

पञ्चस्कन्ध वा अनात्म अनुसार कसरी कर्म बन्छ एक उदाहरण– १.अनुलोभ– घडीको सुइ घुम्ने तरिका अर्थात सुल्टा क्रमले–

यसैलाई अनुलोमले उदाहरण दिने हो भने– आँँखाले चिया कप देख्यो (चक्खु विञ्ञान) । त्यसको संखार उत्पन्न भयो (मनो विञ्ञान) । त्यसबाट सम्झना आयो । त्यसलाई चिया कप हो भनेर चिन्यो (सञ्ञाक्खन्ध) । चिया खान उचित छ भनी मूल्यांकन गरेकोले चिया कप देख्ने वितिक्कै आनन्द लाग्यो (वेदनाक्खन्ध) । त्यसको कारणले चिया पिउने इच्छा लाग्यो (संखारक्खन्ध) । हात उठाएर कप लिएर पियो (रूपक्खन्ध) ।

यसरी पञ्चक्खन्धको क्रम श्रृंखलावद्ध भएर एउटा स्कन्धले अर्को स्कन्धलाई प्रभाव पारेर मात्र एउटा कम्म उत्पत्ति हुन्छ । पञ्चक्खन्धको प्रभाव वा कारण बाहेक अन्य ईश्वर आदि कारण त्यहां देखा पर्दैन ।

१.प्रतिलोभ– घडीको सुइ घुम्ने विपरीत अर्थात उल्टा क्रमले– चिया पिउन हात उठायो । त्यसको लागि माथि कुमदेखि औंलाको टुप्पासम्म नयां ४ महाभूत उत्पन्न भएर हात कस्सिएर औंला कस्सिएर, औंला चिलाएर विस्तार हात उठ्छ, औंलाले कप समात्न पुग्छ । यो हात कसरी कस्सिदै उठ्यो ? यसको कारण चिया पिउने इच्छा उत्पत्ति भएको पाइन्छ । इच्छा कसरी उत्पत्ति भयो ? यसको कारण चियाप्रति सुखदायी आनन्द भएको सुख वेदना भएको पाइन्छ । सुख वेदना कसरी उत्पत्ति भयो ? सञ्ञाले चिया पिउन स्वस्थ्यकर छ, मीठो छ, जाडोमा न्यानो पार्छ आदि अभिव्यक्त सकारात्मक पहिचान भएको पाइन्छ । सकारात्मक सञ्ञा कसरी उत्पन्न हुन्छ ? पूर्व संखार आउंदा चिया पिएको मीठो भएको आदि आदि सम्झना आएको पाइन्छ । त्यस्तो सम्झना पनि किन प्रकट भयो ? किनकि पहिले त्यस्तै दृश्य र विचार ग्रहण गरेर संखार बसाएको थियो । यो संखार किन प्रकट भयो ? वर्तमानमा चिया कपलाई आंखाले देखेर चक्खु विञ्ञाण उत्पत्ति भएकोले ।

यसलाई छोटकरीमा भन्ने हो भने– बाह्य आलम्बनले मनमा वा संखारमा प्रभाव पाऱ्यो । संखारको प्रभाव शरीरमा पऱ्यो । जस्तै–

इष्ट आलम्बनले मनमा लोभ आसक्ति उत्पन्न गऱ्यो । त्यसले अनुहारमा प्रसन्नता, मुस्कान, हांस्ने स्वभाव उत्पन्न गऱ्यो । अनिष्ट आलम्बन ग्रहण गऱ्यो । मनमा क्रोधात्मक संखार विकास गऱ्यो । त्यसले अनुहारमा निधार खुम्चाउने, मुख बिगार्ने स्वभाव उत्पन्न भयो । इष्ट आलम्बन देख्यो, लिने इच्छा भयो, हातले लियो । अनिष्ट आलम्बन देख्यो, नलिने वा पन्छाउने इच्छा भयो, हातले पन्छायो ।
दाहिने हात उठाउने इच्छा हुंदा दाहिने हात उठ्यो, बायां हात उठाउने इच्छा हुंदा बायां हात उठ्यो । सुत्ने कोठामा जाने इच्छा हुंदा सुत्ने कोठामा शरीर पुग्यो । चर्पीमा जाने इच्छा हुंदा चर्पीमा शरीर पुग्यो । बैठकमा जाने इच्छा हुंदा बैठक कोठामा शरीर पुग्यो । खुट्टा उठाउने इच्छा हुंदा खुट्टा उठ्यो । सार्ने इच्छा हुंदा साऱ्यो, टेक्ने इच्छा हुंदा टेक्यो । उठाउने इच्छा नआएसम्म खुट्टा उठेन । सार्ने इच्छा नभएसम्म सारेन, टेक्ने इच्छा नआएसम्म टेकेन । इष्ट आलम्बन सुनियो, मनमा हेर्ने इच्छा जागयो, टाउको घुमाएर हेऱ्यो, देखियो मन पऱ्यो, राग उत्पत्ति भयो, मुस्कायो, बोलियो ।

(अनात्म, अनात्मा क्रमश: ८ )