इतिहासको उपहार लुम्बिनी

हिमेश

हिंद बुधे जाते शाक्यमुनीति । अर्थात् यहाँ शाक्यमुनि बुद्ध जन्म भएको थियो । बौद्ध धर्मका प्रवर्तक शाक्यमुनि गौतम बुद्धको जन्म लुम्बिनीमा भएको हो भन्ने सबैभन्दा ठूलो अकाट्य प्रमाणका रूपमा यस्तो लेखिएको अशोक स्तम्भ छ । ईशापूर्व २४९ । भारतका महान् राजा अशोक त्यस वर्ष लुम्बिनी आएका थिए । अशोक, मगध सम्राट् अशोक बिन्दुसारका पुत्र हुन् । यस्तै मौर्य साम्राज्य स्थापना गरेका चन्द्रगुप्त मौर्यका नाति । उनी आफ्नो राज्याभिषेकको २० वर्ष पुगेको अवसरमा लुम्बिनी आएका थिए ।

 

त्यसपछि दुई चिनियाँ यात्री पनि लुम्बिनी पुगे, फाहियान र युआन च्वाङ । फाहियान सन् ४०३ तिर लुम्बिनी पुगेको मानिन्छ । युआन च्वाङले धेरैपछि लुम्बिनी भ्रमण गरे । दुवैले आफ्नो यात्रा विवरण छाडेका छन् र बुद्ध जन्मस्थलबारे त्यसमा वर्णन गरेका छन् । पछि खस राजा रिपु मल्ल पनि लुम्बिनी पुगे । बुद्ध स्वयं पनि कपिलवस्तुको भ्रमणका बेला लुम्बिनी पटक–पटक पुगेको पाइन्छ । बुद्धले महापरिनिर्वाण अगाडि बौद्ध धर्मका लागि चार महत्त्वपूर्ण स्थान रहने बताएका थिए ।
त्यसमा जन्म स्थानका रूपमा लुम्बिनीको अझ ठूलो आफ्नै महत्त्व छ । अरू तीन स्थान बुद्धगया, सारनाथ र कुशीनगर हुन् । बुद्धको महापरिनिर्वाणपछि सम्भवत: त्यति बेलाका महत्त्वपूर्ण व्यक्तिहरू लुम्बिनी पुगेको हुनुपर्छ । पाली साहित्यमा धेरै स्थानमा अशोकको लुम्बिनी भ्रमणबारे चर्चा पाइन्छ । कलिङ युद्धको विभीषिकाबाट तर्सित अशोक अन्तत: बौद्ध धर्मप्रति आकर्षित भएका थिए । राजा अशोक लुम्बिनी पुगेयता लुम्बिनीमा स्तम्भ पनि स्थापित गरे र त्यसमा लेख पनि उत्कीर्ण गरे ।
अशोक स्तम्भका रूपमा चर्चित त्यसमा लेखिएको छ, ‘देवताका प्रिय प्रियदर्शी राजा अशोक आफ्नो राज्याभिषेकको बीस वर्षपछि शाक्यमुनि शुद्ध जन्मको ठाउँमा आफैं आएर पूजा गरेरै त्यसैको उपलक्ष्यमा शिलास्तम्भ खडा गर्न लगाई लुम्बिनी गाउँलाई कर मुक्त गरिदिए ।’ कपिलवस्तु शाक्य जनपदको राजधानी थियो । गौतम बुद्धको जन्म यही कपिलवस्तुका शाक्य राजवंशमा भएको थियो । यहाँ नै उनले सुरुआती २९ वर्ष बिताएका थिए । कपिलवस्तु स्वतन्त्र राज्य थियो ।
सन् १८९६ डिसेम्बर । आजभन्दा १ सय २० वर्षअगाडि । यही समय गौतम बुद्धको जन्म स्थान लुम्बिनी हो भनेर फेरि पत्ता लागेको हो । त्यसअगाडिको खालखण्डमा के भयो त ? यो इतिहासका विद्यार्थीका लागि निकै महत्त्वपूर्ण विषय हो । सन् अठार सयतिर युरोपतिर बौद्ध धर्म लोकप्रिय हुन थालेको थियो । केही युरोपेली भाषामा प्रमुख बौद्ध साहित्य पनि अनुवाद भए । यसले युरोपेली विद्वान् यसतर्फ आकर्षित भए । बौद्ध धर्मबारे थप खोजी हुने क्रम सुरु भयो ।
यही बेला भारतमा बेलायतको उपनिवेश चलिरहेको थियो । त्यसै क्रममा सरकारी निकायका रूपमा भारतीय पुरातात्त्विक सर्वेक्षण विभाग स्थापना भयो । रोयल एसियाटिक सोसाइटीजस्तो संस्था अस्तित्वमा आयो । ब्राम्ही लिपिबारे धेरै अनुसन्धान भएर पढ्न सकियो भयो । बौद्ध साहित्यका रूपमा पालिको अपार भण्डार थियो नै । यस्तोमा लुम्बिनीसँगै बुद्धगया, सारनाथ र कुशीनगरबारे खोजी सुरु भएको थियो । यसमध्ये लुम्बिनीबारे पछि मात्र जानकारी आएको हो ।
पाली साहित्यसँगै फाहियान र युआन च्वाङको यात्रा विवरणको आधारमा लुम्बिनीको खोजी भएको हो । सुरुमा लुम्बिनी अहिलेको भारतको उत्तर प्रदेशको बस्ती जिल्ला वरिपरि रहेको अनुमान गरिएको थियो । तर त्यसका लागि पुष्टि गर्ने आधार केही थिएन । यता नेपालमा राणा शासन चलिरहेको थियो र तराईको चारकोसे जंगल फँडानी पनि सुरु भइसकेको थियो । रूख काटेर त्यसलाई बेच्ने काममा सक्रिय थिए, पाल्पाका बडाहाकिम खड्गशमशेर ।
काठमाडौंमा वीरशमशेरको शासन चलिरहेको थियो । त्यसै बेला त हो कामदारले जंगलभित्र ढुंगाको स्तम्भ भेटाएको । पछि खड्गशमशेरले पनि यसबारे जानकारी पाए । सन् १८९६ डिसेम्बरमा जर्मन पुरातत्त्वविद् फुहरर त्यस स्थानसम्म पुगे । प्राप्त अशोकस्तम्भको शिलालेखमा लेखिएको उतारिएपछि ब्राम्ही लिपि विशेषज्ञ हुल्जले लुम्बिनी नै गौतम बुद्धको जन्मस्थल रहेको पुष्टि गरे । यस्तोमा प्रश्न उठ्न सक्छ, लुम्बिनी पत्ता लगाउने श्रेय कसलाई जान्छ त ? फुहरर अथवा खड्गशमशेर ?
इतिहासका विद्यार्थीलाई यसमा खासै रूचि नहुन सक्छ । मुख्य विषय त बुद्ध जन्मभूमि पत्ता लाग्नु थियो । फुहरर भारतीय पुरातत्त्व विभागअन्तर्गतका पुरातत्त्वविद् हुन् । पछि उनलाई फिर्ता बोलाइयो र उनको स्थानमा आए, पीसी मुखर्जी । लुम्बिनी फेरि पत्ता लाग्नुअगाडि स्थानीयले त्यस ठाउँको मूर्तिलाई रुम्मिन देहीको रूपमा पूजा गर्थे । त्यस क्रममा पशुबलि पनि दिइन्थ्यो । त्यति बेला स्थानीयले वनदेवीको रूपमा रुम्मिन देहीको अर्चना गर्थे । यो क्रम लामो समयसम्म चलेको अनुमान गरिन्छ ।
खस राजा रिपु मल्लले लुम्बिनीको भ्रमण गरेयता यो क्षेत्र ओझेलमा पर्न सुरु भयो र लगभग सातदेखि आठ सय वर्षसम्म यसको स्थिति अज्ञातजस्तै रह्यो । त्यसबीचमा के भएको हुन सक्छ भनेर इतिहासकारहरूले थरीथरीका अनुमान गरेका छन् । युआन च्वाङ लुम्बिनी पुग्दासम्म त्यस बेला त्यहाँ मानव बस्ती धेरै पातलिसकेको थियो । पछि त यो घना जंगलमा परिणत भयो । इतिहासकार भुवनलाल प्रधानले के अनुमान गरेका छन् भने लुम्बिनीको स्थिति अज्ञात हुनु पछाडि कुनै ठोस कारण भएको हुनुपर्छ ।
उनको अनुसार त्यस समयमा त्यहाँ ठूलो भोकमारी चलेको हुन सक्छ, अथवा बाढी आएको हुन सक्छ । अथवा भयानक आगो लागेको पनि हुन सक्छ । यस्तै कुनै प्राकृतिक प्रकोपका कारण लुम्बिनी त्यति लामो समय सबैको जानकारी बाहिर रहेको हुनुपर्छ । यसै समय भारतमा पनि बौद्ध धर्मको लोकप्रिता घटेको पाइन्छ । मुसलमान शासकको आक्रमणको कारण धेरै बौद्ध विद्वान् नेपाल अथवा तिब्बततिर जान बाध्य भए । भारतमा बौद्ध धर्मको स्थिति निकै नाजुक बनेको थियो ।
यता काठमाडौंमा भने बौद्ध धर्मको एउटा स्वरूप जीवन्त थियो । राणा शासकहरू यसलाई विदेशी धर्म मान्थे । त्यसैले बौद्ध धर्म मान्नेमाथि अनेक प्रकारको भेदभाव थियो । त्यति बेला भौगोलिक रूपमा लुम्बिनीको स्थिति पनि इतिहासमा उत्तिकै महत्त्वपूर्ण छ । सुरुमा यो क्षेत्र अवध राज्यको भागमा थियो । पछि सेन राजाहरूको अधीनमा आयो । पृथ्वीनारायण शाहको राज्य विस्तारपछि त्यो नेपालको अधीनमा आयो ।
सन् १८१४–१८१६ बीच नेपाल र अंग्रेजबीच चलेको युद्धको तत्कालीन कारण स्युराज र बुटवल विवाद थियो । स्युराज र बुटवल पाल्पा राज्यअन्तर्गत थियो, नेपालले पाल्पामाथि अधिकार गरेपछि ती दुवै स्थान नेपालमा आए । तर यसबारे अंग्रेजको भने फरक विचार थियो र उनीहरूले त्यसमाथि आफ्नो अधिकार दाबी गरिरहेका थिए । यस्तोमा नेपाल र अंग्रेजबीच समस्या समाधानका लागि वार्ता पनि भयो । तर निष्कर्ष निस्केन । यसै विवादबीच नेपाल र अंग्रेजबीच युद्ध चल्यो ।
युद्धमा नेपाल पराजित रह्यो र आफ्नो कुल भूभागको एकतिहाई गुमाउनुपर्‍यो । यसरी गुमाएको भूभागमा स्युराज र बुटवल दुवै थिएनन् । अंग्रेजले नेपालसँग युद्धका लागि निहुँ मात्र खोजिरहेको थियो । यसका लागि उनीहरूले स्युराज र बुटवलको प्रसङ्ग मात्र कोट्याएका थिए । खासमा यस क्षेत्रमा उनीहरूको कुनै रूचि नै थिएन । उनीहरूको खास रुचि त कुमाउँ, गढवाल, नैनीताल, दार्जिलिङजस्ता स्थान मात्र थिए । युद्धपछि अंग्रेजले ती सबै आफ्नो अधीनमा लिए ।
यस युद्धका बेलासम्म पनि लुम्बिनीबारे वास्तविक स्थिति थाहा थिएन । स्युराज र बुटवलबारे कसैले खासै ध्याननै दिएनन् । इतिहासकार त्रिरत्न मानन्धर के मान्छन् भने नेपाली इतिहासमा सबैभन्दा कम अध्ययन भएको विषय स्युराज र बुटवलबारे पनि हो । यसबारे अहिलेसम्म पर्याप्त जानकारी आउने गरी खोजबिन भएको छैन । स्थिति जस्तै भए पनि बुद्धको जन्मस्थल लुम्बिनीबारे जानकारी कसैलाई नभएकाले पनि यसतर्फ कसैको दृष्टि नै गएन ।
बौद्ध दर्शनमा कर्म सिद्धान्तको ठूलो र महत्त्वपूर्ण स्थानमा छ । यस सिद्धान्तअनुसार जसले जुन प्रकारको कर्म गर्छ, त्यसैअनुसारको फल पनि प्राप्त गर्छ । हाम्रा पुर्खाले सायद राम्रो कर्म गरेको हुनुपर्छ, गौतम बुद्धको जन्मस्थल नेपालमा पर्‍यो । त्यसैले त अहिले हामी गौतम बुद्धको जन्मस्थल लुम्बिनी आधुनिक नेपालको भूभागमा पर्छ भनेर सगर्व दाबी गर्न सक्छौं । यस्तोमा लुम्बिनी इतिहासले नेपाललाई दिएको सबैभन्दा सुन्दर उपहार मान्न सकिन्छ ।
ऐतिहासिक तथ्य र पुरातात्त्विक सामग्रीका कारण पनि गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै हो भनेर पुष्टि गर्ने धेरै आधार तयार भइसकेका छन् । यस तथ्यलाई अब काट्न पनि सकिन्न । बौद्ध साहित्यमा पनि लुम्बिनीबारे जति चर्चा गरिएका छन्, जसरी बुद्धले आफ्नो जीवनकालमा लुम्बिनीको भ्रमण गरेका छन्, अहिले प्राप्त तथ्यले पनि त्यसलाई पुष्टि नै गर्छ । त्यसमाथि अशोक स्तम्भ र दुई चिनियाँ यात्री फाहियान र युआन च्वाङको यात्रा वर्णनले यसलाई थप आधार दिएका छन् ।
लुम्बिनीबारे पछिल्लो सबैभन्दा ठूलो खोज ‘मार्कर स्टोन’ भेटिनु रहेको छ । पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र जापान बुद्धिस्ट फाउन्डेसनको संयुक्त उत्खनन्को क्रममा सन् १९९५ मा ‘मार्कर स्टोन’ भेटिएको हो । बुद्ध जन्मेको निश्चित स्थान यही हो भनेर संकेत गर्न राजा अशोकले आफ्नो लुम्बिनी भ्रमणका क्रममा यो ढुंगालाई राखेका थिए । यो ढुंगाको सुरक्षाका लागि त्यति बेला नै धेरै ध्यान पुर्‍याएको स्पष्ट देखिन्छ ।
राजा अशोकले यसलाई निकै सुरक्षित तुल्याउन सात तह इँटामाथि व्यवस्थित ढंगले राखेको विश्वास गरिन्छ । ‘मार्कर स्टोन’ भेटिएकोबारे तत्काल कुनै घोषणा गरिएको थिएन । पछि जापानी मिडियाले यसलाई ठूलो महत्त्व दिएर समाचार छापेको थियो । ‘मार्कर स्टोन’ बारे समाचार आएको छ महिनापछि मात्र सन् १९९६ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे औपचारिक घोषणा गरेका थिए । देउवाले त्यति बेला यसलाई ठूलो गर्वको उपलब्धि बताएका थिए । र, बुद्ध जन्मस्थल नेपालमै पर्नु गर्विलो हो नै ।

साभार : कान्तिपुर मंसिर २५, २०७३