लुम्बिनीमा निर्माणाधीन नेपाली बज्रयान महाविहार
– बज्रमुनि बज्राचार्य
लुम्बिनी अन्तर्राष्ट्रिय बौद्धहरुको केन्द्र, जहाँ आजभन्दा २६३७ वर्ष अघि महामानब सिद्धार्थ गौतम बुद्धले पाइला टेक्नु भएको थियो । कपिलवस्तुका राजा शुद्धोदन र रानी मायादेवीको कोखबाट जन्मनु भएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा गृहस्थी त्याग गरी ६ वर्षको कठिन तपस्या पछि बोधिज्ञान प्राप्त गर्नु भै संसारका मानवहरुको दुःख हटाउने आर्य अष्टाङ्गिक मार्गलाई ४५ वर्षसम्म अनवरत रुपमा प्रचारप्रसार गर्नु भयो । जसको कारणले सिद्धार्थ गौतम मानवबाट महामानव, बुद्धको नामले संसारमा चिनिए । आज वहाँ कै जन्मभूमि लुम्बिनी सम्पूर्ण बौद्धहरुको तीर्थस्थलको रुपमा रहे ।
आज लुम्बिनीमा महायान र थेरवाद देशहरुले आफ्नो देशको पहिचान स्थापित गर्न आ–आफ्नै देशको वास्तुशैली अनुसार विहारहरु निर्माण गरेका छन् । श्रीलंका, वर्मा, थाइल्याण्ड, मंगोलिया, कम्बोडिया, भियतनाम, जापान, चीन, कोरिया, जर्मन, फ्रान्स, नेपालको थेरवादी, महायान विहारहरुको निर्माण भैसकेको छ, तर नेपालको प्रतिनिधित्व गर्ने, नेपाली वास्तुशैली, नेपालको चिनारी, नेपालीहरु कै मौलिक विहार वज्रयान विहारको अभाव थियो । यो अभाव पूर्तिको लागि नेपाल परम्परागत बौद्ध धर्मसंघको पहलमा लुम्बिनी विकास कोषबाट २०६८ साल मंसीर २६ गते १३ रोपनी जग्गा उपलब्ध गरे पश्चात् निर्माण कार्य शुरु गरियो । कार्य थालनी गरेको ठीक एक वर्ष पछि दुई तले गरी छानामा गजुर हाली शिरोदार पूजा सम्मन्न गरियो । नेपाली वज्रयानी बौद्ध विहारको जीवन्त संस्कृति परम्परामा आयातित विकृति विसंगतिलाई पन्छाउँदै सुधार र निरन्तरता दिनुको साथै बौद्ध धर्म अध्ययन तथा अनुसन्धानको केन्द्रको रुपमा जीवन्त बौद्ध सम्पदा बनाउने उद्देश्य राखी निर्माण थालनी गरेको छ ।
नेपाल वज्रयान महाविहार निर्माण मूल समिति गठन गरी नेपालीहरुबाट नै दान संकलन गरी निर्माण भैराखेको उक्त विहारको लागि विभिन्न कार्यक्रमहरु गरी करीब ३ करोड दान संकलन भैसकेको छ । ललितपुर, भक्तपुर, बनेपामा करिब १ करोड दान संकलन गरिएको छ । नेपाल परम्परागत बौद्ध धर्म संघ २०५८ साल पौष महिनामा स्थापना गरी पञ्चदान जस्ता संस्कृतिमा सामुहिक भिक्षातन गरी प्राप्त २२ लाख रकमबाट डिपोजित राखी थालनी भएको विहार निर्माण कार्यमा ४८ वटा जगको पिलर ४८ जना धर्म उपासकहरुले एक÷एक लाख दान दिई ठड्याएका थिए । विहार निर्माण गर्दा गर्नु पर्ने सम्पूर्ण पूजाहरु गर्दै, दानहरु संकलन गर्दै अटुट रुपमा अघि बढेको निर्माण कार्य समापन गर्नको लागि अरु ५ करोड रकमको आवश्यकता छ । निर्माण स्थलमा विध्न बाधा नआओस् भन्ने उद्देश्य राखी गुरु अध्येषणा पूजा, पूर्व सेवा पूजा, विध्नोत्सारण पूजा र हारत साधना, भूमि याचन पूजा, मारिचि प्रतापारोहण पूजा, पादस्थापन पूजा, योनी संशोधन पूजा र शिरोदारु पूजा भैसकेको छ । निर्माण कमिटिको मूल उद्देश्य भनेको सम्पूर्ण नेपालीहरुको उक्त विहारमा एक ईट्टा भए पनि सहयोग होस् भन्ने छ । त्यसैले ठाउँ ठाउँमा बृहत दान संकलनको आयोजना गरेको छ । यही योजना अनुसार यही आउने जेष्ठ २५ गते शनिबार कीर्तिपुर नगरपालिका वडा नं. ४ स्थित जगतपाल महाविहार, चिलंच्वमा विहान तारा पूजा गरी दिउँसो १२ वजेदेखि दान संकलनको कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा कीर्तिपुरबासीहरुको पनि विहार निर्माणमा केही दान होस् भन्ने आशा राखिएको छ । त्यसैले उक्त दिन कार्यक्रममा सहभागी हुनको लागि अनुरोध गरेको छ । यस कार्यक्रममा आयोजकले सम्पूर्ण कीर्तिपुरबासीको एक ईट्टा भए पनि दान होस् भन्ने उद्देश्यले एक ईट्टा दान बरावर दुई सय किटान गरिएको छ । चन्दाको रुपमा एक ईट्टादेखि माथि जति पनि राख्न सकिन्छ । यसरी दान गर्दा दान गरेका व्यक्तिको नाम ईट्टामा लेखिने छ । यस्तो कार्यक्रम कीर्तिपुरमा मात्र नभै काठमाडौंमा, पाल्पा, पोखरा, बुटवल, भैरहवा, जहाँ जहाँ बौद्धहरु छन्, त्यहाँ त्यहाँ दान संकलन गर्ने योजना राखेका छन् ।
यो महाविहार प्राचीन शैलीको कलाकृतिले युक्त सुन्दर आकर्षक स्वरुपको हुनेछ । विहारको प्रवेशद्वार काष्ठकलाले भरिपूर्ण, प्रवेशद्वारको दायाँबायाँ सिंहका प्रस्तर मूर्तिहरु द्वारको माथि काष्ठमय तोरण, तोरणमा सम्बन्धित मूर्ति, नागकन्या, मकर, क्षेपु, आदिको बुट्टा, दोस्रो तल्लामा पंचमुखी झ्याल (पासुका झ्याल) त्यसको दायाँबायाँ स–साना आँखी झ्याल रहनेछन् । प्रवेशद्वारभित्र जाने बित्तिकै दुईजना महाँकाल, गणेशयुक्त फलैचा, विहारको मध्य भागमा ठूलो आँगन, त्यसको मध्यमा वज्रधातु चैत्य र मण्डल, विहारको देवगृह अर्थात् गन्धकूटी भित्र कोष्ठपाल देवताको रुपमा वैरोचन बुद्धको मूर्ति रहनेछ । गन्धकुटीको दोस्रो तल्लामा आगम, गन्धकुटीको अगाडिको लङ्गमा आगनमा हेर्नको लागि विमान झ्याल, दायाँबायाँ लङ्गमा पासुका झ्याल रहनेछन् । यो विहार दुई तल्ले वर्गाकार हुनेछ । हालसम्म दुई तल्ला गरी माथिको छाना समेत समाप्त भैसकेको छ । अब बाँकी भनेको ग¥हा बनाउने, तेल ईट्टा विछ्याउने, गन्धकुटी तयार गर्ने, माथिल्लो तल्लामा आगम तयार गर्ने, मूर्ति स्थापना गर्ने, काष्ठ कला, प्रस्तर कला, धातुकलाका कामहरु छन् ।
यी सम्पूर्ण कार्यको लागि सहयोग गर्ने दाताहरुलाई विशेष सम्मानको व्यवस्था गरिएको छ । पाँचसयदेखि उन्नानसय हजारसम्म नगद वा जिन्सी दान गर्ने दाताहरुको नाम निर्माण कार्य सम्पन्न भैसकेपछि प्रकाशन गर्ने स्मारिकामा प्रकाशन गरिने, एक लाख वा सो सरह नगद वा जिन्सी दान गर्ने दाताहरुको शिलापत्रमा नाम राखिनेछ । पाँच लाख वा सो सरह नगद वा जिन्सी दान गर्ने दाताहरुलाई अभिनन्दनका साथै शिलापत्रमा नाम राखिने, दशलाख वा सो सरह नगद वा जिन्सी दान गर्ने दाताहरुको विशेष अभिनन्दनका साथै शिलापत्रमा नाम उल्लेख गरिने, पच्चीस लाख वा सो सरह नगद वा जिन्सी दान गर्ने दाताहरुलाई अभिनन्दका साथै शिलापत्रमा तीन पुस्ताको नाम राख्ने व्यवस्था गरिएको छ ।
हाल निर्माणाधीन यो वज्रयान विहारको निर्माण कमिटिको मूल विशेषता भनेको नै नेपालीहरुको परिश्रमबाट कमाएको रकम दान संकलन गरी बनाउनु हो । विदेशीहरुको सहयोग विना निर्माण गर्दा आफ्नो अपनत्व महसूस हुनुको साथै विहारप्रति माया, ममता बृद्धि हुने, लुम्बिनीमा जाँदा मैले सहयोग गरेको विहार भन्ने भावना हुने, आफ्नै विहारमा सुलभ तरिकाले बसोवास गर्न पाइने हुन्छ । सबभन्दा महत्वपूर्ण कुरा त लुम्बिनीमा अब तीनै सम्प्रदायका विहार एकै स्थलमा देख्न सकिनेछ । अध्ययनको लागि आउने विदेशीहरु बुद्धधर्मको अध्ययनको लागि काठमाडौंमा आउनु पर्दथ्यो । काठमाडौंमा तीनै सम्प्रदायका थेरवादी विहार, महायानी तिब्वेतीयन गुम्बा र वज्रयानी विहार पाइन्छन् । अब यो लुम्बिनीमा पनि देख्न सकिने भएकोले लुम्बिनी बौद्ध तीर्थ स्थलको रुपमा मात्र नभै अनुसन्धाताहरुको अध्ययन गर्ने केन्द्रस्थलको रुपमा पनि रहेछ ।
भबतु सब्ब मंगलम् ।।
साभार किपुसहिद ब्लग