कस्तो थियो बुद्धको दरबार ?

माधव ढुङ्गेल

आजभन्दा सवा सय वर्षअघिसम्म शाक्यमुनि गौतम बुद्ध पनि ‘मिथ’ थिए- सीता, राम, कृष्ण, शिव वा विष्णुजस्तै। भारतका विद्वान पीसी मुखर्जीले सन् १९०१ मा जब नेपालको कपिलवस्तु (तिलौराकोट) नै प्राचीन कपिलवस्तुका शाक्यहरूको राजधानी हो भनेर ठोकुवा गरे, त्यसले कपिलवस्तुको इतिहासलाई पुष्टि गर्‍यो। बुद्धको इतिहास ‘मिथ’ रहेन, प्रमाणिक हुँदै गयो।

त्यसपछिको निरन्तर अध्ययन-अनुसन्धानले बुद्धको प्रामाणिक इतिहास बन्दै गयो। बुद्धको जन्मस्थल मायादेवी मन्दिर पत्ता लागेको थियो। दुई वर्षदेखिको निरन्तर उत्खननपछि अहिले पत्ता लागेको छ- बुद्धले २९ वर्ष बिताएको पिता राजा शुद्धोदनको राजदरबार। त्यही दरबार पत्ता लागेको छ, जुन दरबार छोडेर बुद्ध २९ वर्षको उमेरमा निर्वाणको खोजीमा हिँडेका थिए। यो तथ्य पत्ता लगाउने दरबार क्षेत्रको उत्खनन कार्यका टोली नेता हुन्- डा. मदनकुमार रिमाल।

राजा शुद्धोदनको मुख्य दरबार नै भेटिएकोमा निकै प्रशन्न पनि छन्- त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक रिमाल। भन्छन्, ‘राजा शुद्धोदनको दरबार भेटियो, जहाँ शाक्यमुनि बुद्धले २९ वर्ष बिताएका थिए। हामी बुद्धको जन्मभूमिलाई प्राथमिकता दिएर पढिरहेका छौं। जन्मेको ठाउँलाई जति महत्व दिन्छौं, अब २९ वर्ष बिताएको ठाउँलाई पनि त महत्व दिनुपर्छ। कपिलवस्तुको इतिहास अब नयाँ हिसाबले लेखिनुपर्छ।’

पीसी मुखर्जीले दरबारको पूर्वी गेट पत्ता लगाएका थिए। ‘बुद्धले गृहत्याग गर्दा यसै ढोकाबाट निस्केका हुन् भन्ने मुखर्जीले पत्ता लगाए’, डा. रिमाल भन्छन्, ‘बुद्धलाई छाडेर फर्केको पन्थ घोडाले ढोकाअगाडि प्राण त्याग गर्‍यो। अगाडि सानो स्तुप छ, पुरानो। त्यही घोडाको सम्झनामा बनाएको स्तुप हो भनेर प्रमाणित गरे मुखर्जीले। त्योबेलादेखि तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्नेमा सारा नेपाली पुरातत्वविद्हरू लागेका छन्।’

विराटनगरमा २०१७ कात्तिक २४ गते जन्मिएका रिमाल जनकपुरमा हुर्के। जनकपुरको जानकी माविबाट २०३४ सालमा एसएलसी गरेका उनले स्नातक पनि जनकपुरकै रामस्वरूप रामसागर कलेजबाट पूरा गरे। कल्चरका सहप्राध्यापक नमोनारायण झाले ‘नेपाली इतिहास, संस्कृति पुरातत्व पनि पढ्नुपर्छ’ भन्ने सुझाव दिएकै आधारमा आफूले ‘कल्चर’ पढेको उनी सम्झन्छन्।

एमए पढ्न कीर्तिपुर आएका रिमालले २०४३ सालमा ‘गोल्ड मेडल’सहित ब्याच टप गरे। विश्वविद्यालय टप गरेकोले महेन्द्र विद्याभूषण पदक र गोकुलचन्द्रशास्त्री पदक पाए। त्रिविमा जागिर पनि सजिलै पाए। २०४४ सालमा ‘असिस्टेन्ट लेक्चरर’ भएर त्रिवि पसेका उनी १० वर्षदेखि सहप्राध्यापक छन्। भन्छन्, ‘कांग्रेस, एमाले, माओवादीमा लागिएन। प्रोफेसरको भागबन्डामा पारिएन।’

आईए पढ्दा २०३७ सालमै पहिलोपल्ट लुम्बिनी पुगेका थिए रिमाल। उनले पुरानो मायादेवी मन्दिर देखेका थिए उतिबेला। एमए पढ्दा फेरि लुम्बिनी गए। सम्झन्छन्, ‘त्यसबेला बाबुकृष्ण रिजालजीले हामीलाई पुरातत्व, इतिहासबारे पढाउनुभएको थियो।’

सीताको माइती खोज्ने प्रयास
जनकपुरमा हुर्केका रिमालले सीताको माइतीलाई पनि पुरातात्विक हिसाबले प्रमाणित गर्न सक्छौं कि भनेर खोज्ने प्रयास गरे। एमएको ‘थेसिस’ जनकपुरधामको पुरातात्िवक अध्ययन भनेरै गरे। ‘ईशापूर्व पहिलो शताब्दीतिरको कुशानकालीन मुद्राहरूसम्म लग्न सकेँ, जनकपुरको इतिहासलाई’, उनले भने, ‘त्योभन्दा अगाडि रामायण महाभारतकालको चाहिँ भेटिएन।’

रामायण ‘मिथ’ हो वा भएको घटना, विवाद छ। रामायण, महाभारतलाई पुरातात्विक प्रमाणका रूपमा हामीले प्रस्तुत गर्न गाह«ो छ। मिथिला क्षेत्रभित्र चाहिँ हो यो। त्यहाँको पुरातात्िवक प्रमाण चाहिँ दुई हजार वर्षभन्दा पुरानो भेटिएन। सत्रौं शताब्दीमा शुरकिशोर दास र चतुर्भुज गिरी- दुईजना महात्माले जनकपुरधाम यही हो भनेर चिनाउने अभियान सुरु गरेका हुन्। रिमाल भन्छन्, ‘त्यसपछि मात्र जनकपुरमा विवाहपञ्चमी, रामनवमीको मेला लाग्न थालेको हो।

साधु-महात्माहरू आएर बस्न त्यसपछि कुटी बनाउने काम भए। सत्रौं शताब्दीभन्दा अघि त्यो थिएन।’विद्यावारिधि ‘मैथिल संस्कृति र पुरातत्व’ मै गरे। रिमालले भने, ‘१०९७ इस्वी संवत्मा राजा नान्यदेवले सिमौनगढ राज्य स्थापना गरेपछिको संस्कृति नै मैथिल संस्कृति। यो अहिलेसम्म छ। मैथिली संस्कृति जगेर्नामा सिम्रौनगढका राजाहरूको ठूलो योगदान छ।’

बुद्धप्रति मोह
विश्वविद्यालय पढाउन सुरु गर्दा संस्कृति विभाग प्रमुख थिए- डा. रामनिवास पाण्डे। उनले आफूपछिका मान्छेका रूपमा रिमाललाई ‘ट्रेन्ड’ गर्न थाले। निरन्तर लुम्बिनी जान थाले। भन्छन्, ‘जापनिज बुद्धिष्ट फेडरेसन, पुरातत्व विभाग, लुम्बिनी विकास कोष मिलेर उत्खनन सुरु गरेका थिए। पुरानो मायादेखि मन्दिरको एक-एक इँटलाई नम्बर लगाएर भत्काएको देखेँ। त्यसपछि ‘स्ट्रक्चरल एस्काभेसन’का रूपमा त्यसलाई हामीले हेर्‍यौं।’

पहिले बुद्ध ‘मिथ’ थिए। सन् १८९८/९९ तिर जब लुम्बिनीको स्तम्भ अभिलेख भेटिएको हो। त्यसपछि यो व्यापक प्रचारमा आउन थाल्यो। भारतमा आएका जर्मन नागरिक ए. फुररले सुरुमा लुम्बिनीको अशोक स्तम्भ पत्ता लगाएका थिए।डा. रिमालले एक सय १९ वर्षअघि कपिलवस्तु भेटिँदादेखिको इतिहास सुनाए- जशकरण सिंह भन्ने भारतीय सेनामा कार्यरत एकजना सिकार खेल्न नेपालको जंगलमा आएका थिए। उनले अशोक स्तम्भ देखेछन्। फर्केपछि लेख लेखेछन्- अशोक स्तम्भ भेटेँ भनेर। त्यसै आधारमा भारतको पुरातत्व विभागले फुररलाई पठायो।

फुररले सुने- अशोका पिलर भेटिएको छ। त्यहाँको स्तम्भ अभिलेख ब्राह्मी लिपिमा थियो। फुरर पढ्न जान्दैनथे। त्यसबेला ब्रिटिस भारतको राजधानी कलकत्ता थियो। फुररले कपी गरी पठाए- त्यो अभिलेख। कलकत्तामा हेर्दा देखियो- ‘हिदबुद्धजाते शाक्यमुनि ती’ अर्थात्, शाक्यमुनि बुद्ध नै यहाँ जन्मिनुभएको होे। ‘लुम्बिनी गामे’ पनि भनेको छ। यो लुम्बिनी गाउँ हो, जहाँ शाक्यमुनि बुद्ध जन्मिनुभो। यो अभिलेख अशोक स्तम्भमै लेखिएको छ। अशोकले ब्राह्मी अक्षरमा शाक्यमुनि जन्मेको ठाउँ भनेर प्रष्ट लेखिदिएको छ। यसमा कतै कुनै विवादै छैन।

शुद्धोदनको दरबार बस्तीबीचमा छ। वरिपरि नहर छ। र, बस्ती पनि छन्। डेढ मिटर चौडा पर्खाल छ। चारैतिर बाटो छ, बीचमा गएर टुंगिन्छ। महाभारत, रामायणकाल, कौटिल्य अर्थशास्त्रले दरबार जस्तो हुनुपर्छ भन्ने वर्णन गरेको छ, त्यस्तै छ। कस्तो थियो बुद्धको दरबार ?

फुररपछि आएका भारतका पुरातत्वविद् पीसी मुखर्जीले भनेका छन्,

त्रिवि, सह-प्राध्‍यापक, डा.मदनकुमार रिमाल

‘अहिलेको तिलौराकोट नै प्राचीन कपिलवस्तु हो। प्राचीन कपिलवस्तुको शाक्यहरूको राजधानी नै हो।’ फुरर फर्केपछि आएका मुखर्जीले कपिलवस्तु प्रमाणित गरे। त्यसबेला पाल्पाका बडाहाकिम थिए- खड्गशमशेर। उनले मायादेवी मन्दिरछेउ खन्न लगाए- गाडधन भेटिने आसमा। त्यसअघि पनि केशरशमशेरको जमिनदारीभित्र पर्ने उक्त क्षेत्रमा पनि ‘ट्रेजर हन्टर’ले खनेका थिए। उनले सिकार खेल्न गएको बेला आफू बस्नलाई आराम-घर पनि बनाए। केशर शमशेरले खनेर हेरे, इँटामात्र पाए। उनले त्यहीँमाथि मन्दिर बनाइदिए, सुर्की चुन र इँटा लगाएर।

त्यसलाई पुरानो मायादेवी मन्दिर भनिन्छ। त्यहाँ एउटा पीपलको रूख उम्रियो। जुन पुरानो घरमा उम्रन्छ, त्यसैगरी उम्रिएको हो। त्यसैलाई बुद्धको रूख भन्थे। वास्तवमा पीपलको रूखको आयु २५ सय वर्ष त हुने कुरै भएन। त्यो त्यत्ति पुरानो रूख हुँदै हैन। मुखर्जीले प्रमाणित गर्नुअघिसम्म मायादेवीको मूर्तिलाई वनदेवीका रूपमा पुजिन्थ्यो। स्थानीयले रूपादेवी भन्थे। त्यहाँ बली दिइन्थ्यो। रूपादेवीबाट रूपन्देही भएको हो।

शाक्यका सन्तानको हत्या
बुद्धको जीवनकालमै यहाँ ठूलो घटना भयो। रिमालले अर्को ऐतिहासिक सुनाए- शाक्यहरूले आफ्नो छोरी अरू समुदायलाई विवाह गरेर दिँदैनथे। कोशल भन्ने राप्तीपारिको समृद्ध शक्तिशाली राज्य थियो। त्यहाँका शासक प्रसिंह जितले विवाहका लागि शाक्य कन्या मागे। कपिलवस्तुसँग लड्ने ताकत पनि थिएन। त्यसैले उसको चित्त बुझाउन झुक्याउने उपाय निकाले। दासीपुत्रीलाई आफ्नै छोरी भनेर कोशलको राजालाई बिहे गराइदिए। उनीबाट विरुढक भन्ने सन्तान जन्मियो। विरुढक मामाघर आउने-जाने गर्थे। ऊ पनि पिताजस्तै सुरो राजा भनेर छवि बनाएको थियो।

विरुढक मामाघर आएको बेला भान्सामा बस्थ्यो। खान्थ्यो, जान्थ्यो। उसले खाएको ठाउँ शुद्ध बनाउन दासीहरू दूधले लिप्थे। एक दिन खाना खाएर हिँड्दा विरुढकले तरबार बिर्सेर गएछन्। तरबार लिन फर्के, दूधले लिपेको देखेछन्। उनले काम गर्नेलाई सोधेछन्, ‘किन दूधले लिपेको ? ‘ काम गर्नेले भनिछन्, ‘तिमी त दासीपुत्र हौ नि त ? दासीपुत्रले मान्सा छोएपछि दूधले लिप्नुपर्छ भनेको छ, त्यसैले हामीले लिपेका।’ विरुढक क्रोधित भएछन्, ‘मेरो बाउलाई झुक्याउने, मलाई दासीपुत्र बनाउने ? ‘ उनी उग्र भए।

मावली राज्यमाथि आक्रमण गर्न थाल्यो। पटक-पटक आक्रमण गर्ने प्रयास गर्‍यो। विरुढकलाई बुद्ध नजिक हुँदा दुई पटकसम्म त रोके। तेस्रोचोटी बुद्ध अलि टाढा वैशालीमा थिए, विरुढकले आक्रमण गरे। शाक्यहरूलाई नाश गर्‍यो। भनाइ के छ भने विरुढकको सेनाले ७७ हजार सात सय ७७ शाक्यलाई मार्‍यो। त्यसपछि कतिपय शाक्यहरू भागेर अहिलेको भारतको पिप्रहवा गनवरुवा गएर बसे। भारतले त्यो ठाउँ कपिलवस्तु भनेको छ। त्यसबेला यो ठाउँ कपिलवस्तुकै भाग थियो, जुन अहिले भारतमा पर्छ।

शाक्यहरू भागेपछि पनि लुम्बिनीमा मान्छेको बस्ती हुनैपर्छ। मुस्लिम अवधिसम्मका बस्तीका सामग्री नेपाली पुरातत्वविद्ले पाएका छन्। रिमालले भने, ‘त्यसबेलाका सुनका गहना पनि पाइएको छ।’बुद्धकालमा अहिले भन्ने गरेको भारत नै नभएको तर नेपाल चाहिँ अस्तित्वमा रहेको बताउँछन् रिमाल। भन्छन्- ‘कौटिल्यको अर्थशास्त्रमा पनि नेपालको सबैभन्दा राम्रो गलैंचा हो भनेर लेखिएको छ। भृंगिसी र अपसारक नामको कार्पेट राजाले राख्नू यो नेपालबाट आएको हो भनेर स्पष्ट लेखेको छ।’

ईशापूर्व चौथो शताब्दीमा बुद्धको ठीक दुई सय वर्षपछि मगधमा चन्द्रगुप्त मौर्यको शासन आयो। उनको शासनमा नेपाल भन्ने अस्तित्व देखिन्छ। कौटिल्य मगधका महामन्त्री हुन्। अशोकले लुम्बिनी गामे भनिरहेको छ। त्यहाँ निरन्तर मान्छे बसेका छन्। ती मान्छे कहाँ गए भन्ने थाहा छैन। पछि गएर ती मुस्लिममा पो रूपान्तरण भए कि ! या त धर्म छाडेर मुस्लिम हुनुपर्‍यो, कि लड्नु वा पलायन हुनुपर्‍यो। लड्न नसक्ने धेरैले धर्म परिवर्तन गरेका हुन सक्छन्।

अहिलेको लुम्बिनी क्षेत्रका मुस्लिम तिनै हुन् वा होइनन्, यकिनसाथ भन्न चाहिँ सकिँदैन। त्यहाँ निरन्तर मानव सभ्यता चाहिँ देखिन्छ। प्राप्त भएका सामग्रीहरूले पनि त्यहाँ ठूलो वस्तु हुनुपर्छ भन्ने देखाएको छ।

बुद्धको दरबार खोज्दै
सन् २०११ देखि बेलायतीको दुर्हाम विश्वविद्यालय, युनेस्को, पुरातत्व विभाग र लुम्बिनी विकास कोष चारवटा मिलेर उत्खनन सुरु गरे। त्यसबेलादेखि नै रिमाल पनि त्रिभुवन विश्वविद्यालयका तर्फबाट उत्खननमा जोडिए। ‘पहिला हेर्नमात्र पाउँथ्यौं, सहभागिता पाएनौं। अहिले दुई वर्षदेखि सहभागिता पनि पाएका छौं’, उनले भने।

डा. रिमाल बुद्धसँग जोडिएका चार ठाउँ बुद्धको मृत्युलगत्तै प्रसिद्ध भएको बताउँछन्- जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, धर्म प्रचार गरेको सारनाथ र प्राण त्यागेको कुशीनगर। बुद्धले नै आफ्नो जीवनको अन्तिम क्षणमा अनुयायीहरूलाई यी चार ठाउँमा आफूलाई पाउने बताएर गएका थिए। त्यसैले बुद्धको मृत्युपछि जब अनुयायीहरू जन्मस्थल लुम्बिनी आउन थाले, त्यसपछि लगत्तै यो पनि प्रसिद्ध केन्द्र भयो।

अहिले तिलौराकोटलाई महत्व दिइएको छ- राजधानीका रूपमा। त्यहाँबाट लुम्बिनी पुग्न २७-२८ किलोमिटर पर्छ। त्योबीचमा ११ वटा साइटहरू छन्, जुन तिलौराकोटजस्तै राज्यको स्वरूपका किल्ला बनाइएको रिमालको निष्कर्ष छ। त्यसमध्ये अहिले दोहनी भन्ने ठाउँमा उत्खनन सुरु भएको छ।

बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोट थियो। त्यसैले बुद्धका पिता शुद्धोदनको दरबार तिलौराकोटमै हो। प्राचीन कपिलवस्तुमा शुद्धोदनको दरबार थियो भने तिलौराकोट नै हुनुपर्छ भनेर पीसी मुखर्जीले आजभन्दा ११०-१५ वर्षअगाडिदेखि भनिरहेका छन्। त्यो हेर्दा त्यही दरबार हुनुपर्छ।

अशोकका तीनवटा पिलर पाइएको छ। तीनवटा बुद्ध नेपालमा जन्मेका छन्। शाक्यमुनिमात्र होइन, उनीभन्दा पहिला कनकमुनि बुद्ध निग्लिहवामा जन्मे। गोटीहवा जहाँ क्रकुच्छन्द बुद्ध जन्मे। त्यहाँको स्तम्भ चाहिँ भाँचिएको छ। स्तुपचाहिँ छ।

शुद्धोदनको दरबार कति तल्ले कस्तो थियो त ? रिमालले भने, ‘यो अनुमान चाहिँ आर्किटेक्टले गर्छ। पर्खाल नै डेढ मिटरको छ भने त त्यो दुई-तीन तल्ले त कम्तीमा थियो भन्ने अनुमान गर्न सकिन्छ।’

अहिले भेटिएको दरबारको अवशेष राजा शुद्धोदनकै हो भन्ने ढुक्कसँग बताउने उनले आधार बताए, ‘शुद्धोदनको दरबार बस्तीको बीचमा छ। वरिपरि नहर छ। र, बस्ती पनि छन्। डेढमिटर चौडा पर्खाल छ। यो राजदरबारबाहेक अरू कसले बनाउँछ ? चारैतिर बाटो छ, बीचमा गएर टुंगिन्छ। त्यसको विकल्पमा अरू पाइएको छैन। महाभारत, रामायणकाल, कौटिल्य अर्थशास्त्रले दरबार जस्तो हुनुपर्छ भन्ने वर्णन गरेको छ, त्यस्तै छ।’

रिमालले लुम्बिनीलाई बुद्धभूमिका रूपमा पहिलेजस्तै स्वरूपमा यो दरबार बनाउनुपर्ने पनि बताए। उनले भने, ‘जहाँ हरियाली छैन, त्यहाँ रूख रोप्नुपर्‍यो। बुद्धकालमा वरिपरि नहर जुन थियो, त्यसमा अहिले बाटो छ। त्यो नहर खोल्नुपर्‍यो।’

रिमाल भन्छन्, ‘मगधका सम्राट् चन्द्रगुप्त मौर्यको दरबार पनि काठैकाठको थियो। अशोकको पनि काठकै बनाएको हो। त्यसअघिको शुद्धोदनको पनि काठकै थियो। शुद्धोदनको दरबारमाथि नै अशोकको दरबार बनाइएको हुनाले त्यही चौडाइमा उनले राखेको हो कि हैन भनेर चाहिँ अध्ययन नै गर्नुपर्छ। पूरै क्षेत्रमा उत्खनन नगरी हामीले यसै हो भन्न त गाह्रो छ।’

4 years ago/Sunday, April 16th, 2017/