नेपालमा थेरवाद बुद्धधर्म

अनिता मानन्धर

पृष्ठभूमि
सिद्धार्थ बोधिसत्वको जन्म लुम्बिनी बगैचामा ई.पू. ५६३ वैशाख पूर्णिमाको दिन भएको थियो । उनमा बिरक्त भाव उत्पन्न भई राजकुमार सिद्धार्थले उनन्तिस वर्षको उमेरमा कपिलवस्तु राजदरवार, आमाबुबा, पत्नी यशोधरा र पुत्र राहुललाई समेत त्याग गरी महाभिनिष्क्रमण गर्नु भयो । ६ वर्षसम्मको दुष्कर तपस्यापछि बोधगयाको बोधिवुक्षमुनि बोधिज्ञान प्राप्त गर्नुु भयो । त्यसपछि ४५ वर्षसम्म उहॉले गाउ‘ शहर निगम चारिका गर्नु भई धर्म प्रचार गर्नु भयो । ८० वर्षको उमेरमा उहॉ कुशीनगरमा महापरिनिर्वाण हुनु भयो ।
भगवान बुद्धले व्याख्या गर्नुभएको बुद्धधर्म आज संसारभर प्रख्यात छ । उहाँको बुद्धधर्म उहाँकै जन्मभूमि नेपालमा कसरी प्रचारित र प्रसारित भएको छ भन्ने चर्चा यस लेखमा गर्न खोजिएको छ । यस लेखले स्वयम् बौद्धहरु र अन्यलाई पनि संक्षिप्तमा नेपालमा थेरवाद बुद्धधर्म कसरी प्रचार भएको छ, कुन कालखण्डमा यसले राज्यबाट संरक्षण पायो, कहिले यसको ह्रास भयो र हाल यसको अवस्था कस्तो छ भन्ने व्याख्या गरिएको छ । यसलेखले बुद्धधर्मका विद्यार्थीहरुलाई थेरवाद बुद्धधर्मको विस्तृत इतिहास अध्ययन गर्नलाई पनि मद्दत पुग्ने विश्वास गरिन्छ । यस लेखका लागि विभिन्न लेखकहरुका बुद्धधर्मका र इतिहास सम्बन्धी लेख एवं पुस्तकहरुको सन्दर्भ सहयोग लिइएको छ ।

 

नेपाल उपत्यकामा बुद्धधर्म
काठमाडौं उपत्यकालाई नेपाल भाषामा स्वनिगः नेपाः गाः नेपाल उपत्यका पनि भनिन्छ । शाक्यमुनी बुद्ध पूर्व नै नेपाल उपत्यकामा बुद्ध धर्म प्रचार भएको कुरा स्वयम्भूपुराणले उल्लेख गरेका छन् भने नेपालका अन्य वंशावलीहरूले पनि शाक्य मुनि बुद्ध स्वयं नेपाल उपत्यका आउनु भएको चर्चा गरेका छन् । नेपालका केही वंशावलीले यहाँ गोपाल, महिषपाल र किरात वंशका राजाहरूले क्रमशः राज्य गरेको वर्णन पनि गरेका छन् । डानियल राइटको वंशावली अनुसार सातौं किराँती राजा जितेदस्तीको पालामा गौतम बुद्ध नेपाल उपत्यकामा आउनु भएको थियो । तेह्र सय पचास (१३५०) शिष्यहरू सहित स्वयम्भू र मञ्जुश्री चैत्यमा गई गोपुच्छ चैत्यमा जानु भयो । त्यस पश्चात् उहाँ गुहेश्वरी र नमो बुद्धमा जानु भयो । त्यस्तै कोशल राजा विडूडभले कपिलवस्तुमा शाक्यहरूलाई आक्रमण गरे पछि थुप्रै शाक्यहरू नोपाल उपत्यकामा भागेर आएका थिए । यही क्रममा भिक्षु आनन्द पनि आफ्ना आफन्तहरूलाई भेट्न उपत्यकामा आएको र उनको खुट्टा हिउँले खाएको कुरा मूल सर्वास्तिवाद विनय उल्लेख भएको कुरा पनि भिक्षु सुदर्शनले उल्लेख गर्नु भएको छ ।
शाक्यमुनि बुद्ध नेपाल आएको कुरा पनि श्रद्धाभिव्यक्ति बाहेक ठोस प्रमाण देखिंदैन । जहॉसम्म मूलसर्वास्तिवाद विनयको कुरा छ भिक्षु आनन्द नेपाल आउनु असम्भब देखिंदैन । बुद्धकालीन कपिलवस्तु वर्तमान नेपालको भूभागमा परेकोले बुद्धकालमै नेपालको कपिलवस्तुमा बुद्धधर्म प्रचार भएको कुरा निर्विवाद छ ।
ईसापूर्व तेश्रो शताब्दीका भारतीय सम्रात अशोक नेपाल आउनु भएको कुरा विवादास्पद भए पनि उहॉले पठाउनु भएको धर्मदूत मण्डल हिमवंत प्रदेशमा आउनु भएको कुरा निर्विवाद छ । हिमवन्त प्रदेश अन्तगर्त नेपाल उपत्यका पनि परेकोले उहॉहरू नेपाल प्रवेश गर्नुभई सॉखुको जंगलमा विहार गर्नु भयो त्यहॉ गुँ विहारको निर्माण गरी थेरवाद बुद्ध धर्मको प्रचार गरेको हुन सक्ने अनुमान गरिएको छ । भिक्षु सुदर्शन महास्थविरले भन्नु भएको छ कि जुन दिनदेखि नेपाल उपत्यकामा गुँ विहारको स्थापना भयो त्यस दिनदेखि बौद्ध सभ्यताको शुभारम्भ भयो ।

 

साँखुको गल्लीमा फेला परेको एउटा खण्डित शिलालेखमा ‘महासांघिक भिक्षु संघस्य’ भन्ने शब्द उल्लेख भएबाट त्यस भेकमा धेरै पहिलेदेखि महासांघिक भिक्षुहरू पनि रहेको देखिन्छ । साँखुको गुँ विहारको नामकरण पनि किराँतकालीन भाषा परिवारबाट भएको देखिएकोले साँखुमा बुद्ध धर्मको प्रवेश निकै पहिला भइसकेको कुरा इतिहासकार धनवज्र वज्राचार्यले पनि उल्लेख गर्नु भएको छ ।

 

 लिच्छविकालमा थेरवाद बुद्धधर्मको उत्थान
लिच्छविकालका राजा बृषदेवको समयमा बुद्ध धर्मको प्रचार प्रसार भएको कुरा अभिलेखहरूबाट देखिन्छ । जययदेवको पशुपतिस्थित अभिलेखमा “सुगतशासन पक्षपाती” भनि बृषदेवको वर्णन गरिएको छ । सुगत भन्ने नाम बुद्धको हो । सुगतशासन पक्षपाती भनेको बुद्धशासनको पक्षधर भनेको हो । यसबाट बृषदेवको बुद्ध धर्मप्रति बढी श्रद्धा भएको देखिन्छ । वंशावलीमा पनि स्वयम्भूको चैत्य आदि बौद्ध चैत्य बृषदेवको पालामा बने भन्ने उल्लेख गरेको छ ।

 

लिच्छविकालमा आर्य भिक्षु संघको साथै आर्य भिक्षुणी संघको पनि अस्तित्व देखिन्छ । जुन ललितपुर चपटोलको अभिलेख र काठमाडौंको मुसु वहालको अभिलेखबाट भिक्षु संघ जस्तै भिक्षुणी संघ रहेको कुरा उल्लेख छ । मध्यकालमा भने भिक्षुणी संघको लोप भयो । यो कुरा अनुसन्धानको विषय बनेको छ ।
राजा मानदेवले जस्तै राजा शिवदेव, राजा अंशुबर्माले पनि आफ्ना नाउँमा बिहारहरू बनाएका थिए । जस्तैः श्रीमान विहार, श्रीराज विहार, श्री शिवदेव विहार आदि ।अंशुबर्माको गोकर्ण गजाधर मन्दिर अभिलेखमा धर्मचक्र प्रवर्तनको प्रसिद्ध प्रतिक चक्र र दुई मृगको चिन्ह समेत भेटेको छ । यसरी लिच्छविकालमा राजा तथा प्रजाहरूले थुप्रै विहारहरू बनाएका थिए र बुद्ध धर्मको धेरै नै प्रचार भएको थियो । त्यसैले यस काल बुद्ध धर्मको स्वर्णयुग हुन पुग्यो ।

 

चिनीयाँ यात्री फाहियान (ई. ३९९–४१३) ले आफ्नो यात्रा विवरणमा ई. ४०५ मा कपिलवस्तुको भ्रमण गर्दा केही भिक्षु र सर्वसाधारण मानिसहरू मात्र थिए । भिक्षुहरूले पथ प्रदर्शकको रूपमा काम गर्दथे भन्ने कुरा उल्लेख गरेको छ । यसकारण त्यसबेलासम्म थेरवादी सम्प्रदाय लोप भएको थिएन भन्ने देखिन्छ ।
चिनीयाँ यात्री ह्वेनसाङ्ग (ई. ६२९–६४४) को यात्रा विवरण अनुसार लिच्छविकालमा थेरवादी र महासांघिक २००० भिक्षुहरू एकै ठाउँमा अध्ययन गर्दछन् भन्ने देखिन्छ । कपिलवस्तुमा हजार भन्दा बढी भत्केका बिग्रका विहारहरू र ३० जना जति स्थविरवादि भिक्षुहरू पनि देखेको थिए । यी घटनाक्रमबाट नेपालमा थेरवाद बुद्ध धर्मको परम्परा रहेको कुरा स्पष्ट हुन्छ ।

 

आठौं र नवौं शताब्दीको पाण्डुलिपी जसलाई नेपालमा प्राप्त पाण्डुलिपी मध्ये पुरानै मानिने गुप्ताक्षरले लेखिएको ताडपत्र विनय पिटक अन्तर्गत चुल्लवग्गका केही अंश छन् । राष्ट्रिय अभिलेखालयमा सुरक्षित चारवटा सो ताडपत्रले उपत्यकामा आठौं र नवौं शताब्दीसम्म थेरवाद रहेको पुष्टि हुन्छ ।

 

मल्लकालमा थेरवाद बुद्धधर्मको ह्रास
मल्लकालीन समयलाई काल विभाजन अनुसार वि.सं. ९३७–१८३४ अर्थात् नेपाल सम्बत्को सुरुदेखि पृथ्वी नारायण शाहको एकीकरण सम्मलाई लिइएको छ । सातौं आठौं शताब्दीमा गण्डव्यूह सद्धर्म पुण्डरिक, लंकावतार, अष्टसहस्रिका, प्रज्ञापारमिता आदि नवग्रन्थका रूपमा प्रसिद्ध महायानी ग्रन्थहरू प्रचार, अध्यापन र धर्म प्रवचनको परम्परा कायम भएको थियो । यसै समयमा बज्रयान बुद्ध धर्मको पनि विकास भएको थियो । वि.सं. १२२६ (ने.सं. ३२०) मा शाक्य भिक्षु मैत्री चन्दले स्वयम्भू चैत्य जीर्णोद्वार गरेको कुरा स्वयम्भू धर्मधातु वागीश्वरको अगाडि पश्चिमतिर रहेको शीलाकुंश र पानी छान्ने कपडा अंकित बौद्ध शिलालेखबाट बौद्ध समाजमा श्रावकयानको त्यसबेलासम्म प्रभाव परेको देखिन्छ । मध्यकालीन नेपाल उपत्यकाले सामना गर्नु परेको दैवी प्रकोप तथा वैदेशिक आक्रमण आदिले गर्दा थेरवाद बुद्ध धर्मको विकासमा वाधा आउन थाल्यो ।
मध्यकालमा शंकराचार्यको अतिक्रमणले ब्रम्हचर्य भिक्षुहरूलाई जबर्जस्ती विवाह गर्न लगाए, असंख्य ग्रन्थ जलाए । त्यसपछि स्थिति मल्ल आपूm राजा भई शक्तिमा आएपछि तत्कालीन नेपाली समाजलाई वर्ण व्यवस्थामा बाँधेर जातअनुसार काम तोकेर त्यसमा परिवर्तन गर्न नपाइने बन्देज लगाए । त्यसताका भिक्षुहरूलाई चीवर छोड्न लगाई गृहस्थी बनाई भिक्षुको अस्तित्व नै नरहने गरी कदम चाल्यो । यसैताका धर्म रक्षाको अर्को माध्यमको रूपमा बज्रयान बुद्ध धर्मको विकास देखिन्छ । थेरवाद बुद्ध धर्मको अवस्था मल्ल कालदेखि राणाकालसम्म आउँदा प्राय लोप भइसकेको थियो । सन् १८४६ देखि सन् १९५० सम्मको अवधिमा बुद्ध धर्मलाई राज्यबाट वर्जित गरेता पनि बुद्ध धर्मको अस्तित्व विभिन्न माध्यमबाट संरक्षित भई नै रहे ।

 

नेपालमा थेरवाद बुद्ध धर्मको पुनर्जागरण
बुद्ध जन्मभूमि नेपाल राष्ट्रमा स्थविरवाद बुद्ध धर्मको पुनर्जागरण जहाँनिया राणा शासनको अन्त्यसँगै जगमगाएका थियो । खामदेखि पाल्नु भएका क्यान्छा लामाको उपत्यकामा आगमन, पण्डित निष्ठानन्दको प्रभावको पृष्ठभूमिसँगै भारतस्थित महाबोधि सोसाइटीको स्थापना र प्रेरणाबाट नेपालमा थेरवाद बुद्ध धर्म पूर्ण जागृत हुने अवसर सृजना भयो ।

 
भारतमा लोप भइसकेको बुद्ध धर्मको पुनरुद्धारक अनगारिक धम्मपालको जन्म सन् १८६४ सेप्टेम्बर १७ मा श्रीलंका राज्यमा जन्म भएको थियो । कोलोम्बोका प्रधान नायक ह्विकदु्रवे सुमंगल भन्ते अध्यक्ष, कर्णेल ओल्कोटज्यू मुख्य सल्लाहकार तथा निर्देशक र धर्मपाल महासचिव भएर बुद्ध गयामा “महाबोधी सोसाइटी” स्थापना गरियो । वि.सं. १९४८ (सन् १८९२) तिर नेपालबाट जानु भएका जगतमान बैद्यको भारतमा महाबोधी सोसाइटीको संस्थापक अनगारिक धर्मपालसँग निकै प्रभावित हुनु भयो । अनगारिक धर्मपालको सल्लाहअनुसार जगतमान बैद्यले आफ्नो नाम धर्मादित्य धर्माचार्य राख्नु भयो । वहाँले स्थविरवाद बुद्ध धर्म पुनरुत्थान गर्न ने.सं. १०४४ (बु.सं. २४६८) मा ‘नेपाल बुद्धोपासक संघ’ नामक एक संस्था स्थापना गर्नु भयो । वहाँ यस संस्थाको स्थापनाको तीन हप्ता पछि पुनः पाटनको इल्हाननि बहालमा हिरामाया उपासिका र धनमाया उपासिकाको प्रमुखतामा ‘नेपाल बुद्धोपासिका संघ’ स्थापना गनु भएको थियो ।

 
धर्मादित्यले काठमाडौं शहरको पश्चिम स्वयम्भू किन्दोल स्थित कीर्तन महाविहार
(किन्द्धः बहा) हाल किण्डोल विहार जीर्ण अवस्थामा पुगेको र त्यहाँका बुद्धमूर्तिसहित अग्रश्रावक सारिपुत्र, मौदगल्यायनको मूर्तिहरू पनि यत्रतत्र छरिराखेको देख्नु भयो । यसैले वहाँले यस किन्द्धवहालाई जीर्णोद्वार गरेर स्थविरवाद बुद्ध धर्मको प्रचार प्रसारको केन्द्र बनाउनु भयो ।

 

वि.सं. १९८० (बु.सं. २४६९)मा नेपालमा वैशाख पूर्णिमा मनाउने कार्यको आरम्भ आफ्ना बुद्धोपासक र बुद्धोपासिकाहरूलाई बताएर बैशाख पूर्णिमाको दिन पहिलो ‘बुद्ध धर्म’ मासिक पत्रिका प्रकाशन भयो । यसै क्रममा वहाँले बु.सं. २४७२ (ई.सं. १९२८) को डिसेम्बर महिनामा ‘अखिल भारत बौद्ध सम्मेलन’ कलकत्ताको कलेज स्क्वायरस्थित धर्मराजिक विहारमा सम्पन्न गरेको थियो । यस सम्मेलनमा नेपाल र भारतका २४ वटा बौद्ध संघ संस्थाहरूले भाग लिएका थिए ।

 

यसैबेला तिब्बतको खाम प्रदेशबाट आउनुभयोे । यसै समयमा पं. निष्ठानन्द बज्राचार्यद्वारा ललित विस्तर बुद्ध जीवनी पुस्तक नेपाल भाषामा अनुवाद गर्नु भएको थियो । उक्त पुस्तकबाट बौद्ध भजन रचना र संगीत गर्न चिकंमुगलका दालचिनी मानन्धरले प्रेमबहादुर श्रेष्ठ (महाप्रज्ञा) लाई दिनुभयो । वहाँलाई त्यस पुस्तकबाट बुद्ध धर्म सम्बन्धी सामान्य जानकारी प्राप्त भयो । बौद्ध भजनहरू लेख्नुभयो । वहाँ विशेषत क्यान्छा लामाले धर्म देशना गर्नु भएको “चार रत्न” को व्याख्यानबाट प्रभावित भई गृह त्याग गर्नु भएको थियो । वहाँ एक अबौद्ध (हिन्दु) कुलका भएतापनि बुद्ध धर्मबाट प्रभावित हुनु भएको फलस्वरूप ‘केरुङ्ग’ सम्म पनि जानु भई घेँलु (महायानी भिक्षु) हुनु भएको थियो । वहाँ समेत पाँचजना नेवार युवकहरू घेँलु भए ।

 

नीहरू घेँलु भएको केही समयपछि नै उनीहरूलाई तत्कालीन कट्टर पुरोहितवादि ब्राह्मणहरूको चुक्लीमा राणा सरकारबाट देश निकाला गरिदिए । महाप्रज्ञा घेँलु (महायानी भिक्षु) बुद्धको परिनिर्वाण स्थल कुशीनगरमा पुग्नु भयो र त्यहाँ उ. चन्द्रमणी महास्थविरबाट पुन स्थविरवादि श्रामणेर सन् १९२८ हुनु भयो । तिब्बतमा औषधि उपचार गर्न गएका इतुं वहाःका बैद्य कुलमान सिंह वि.सं. १९८४ मा धीले छुत्यान (कर्मशील) नाउँबाट घेँलु भए । कर्मशील बौद्ध तीर्थयात्राको क्रममा कुशीनगर पुग्नु भयो र भदन्त उ. चन्द्रमणि महास्थविरको उपाध्यायत्वमा सन् १९३० मा स्थविरवादि नियम अनुसार श्रामणेर हुनु भयो । अनि महाप्रज्ञाले नै उहाँलाई नेपाल उपत्यका रक्सौलसम्म पु¥याइ पनि दिनु भयो ।

 

स्थविरवादको इतिहासमा सर्वप्रथम काठमाडौं उपत्यकामा प्रवेश गर्ने श्रामणेरको रूपमा कर्मशील (भिक्षु प्रज्ञानन्द) प्रवेश गर्नु भयो । सर्वप्रथम वहाँ छ्वदोँल (आद्येश्वर) मा बस्नु भयो । पछि वान्हा साहु (धर्मालोक महास्थविर) को निमन्त्रणा अनुसार किन्दोल विहारमा बस्नु भयो । पहिलो थेरवादी भिक्षु महाप्रज्ञा सन् १९३७ (वि.सं. १९९३) तिर धर्मप्रचारको लागि भोजपुरमा जानु भएको थियो । त्यसबेला सन् १९३६ अगष्ट २ का दिन श्रामणेर अमृतानन्द हुनु भएका श्री अमृतानन्द पनि भोजपुरमा आइरहनु भएको थियो । उहाँले यहाँ बुद्ध धर्मको प्रचार प्रसार भइरहेको कुरा सुनेर त्यहाँका बडा हाकिमले महाप्रज्ञालाई पहिले देश निकाला गरेका व्यक्ति फेरि नेपाल प्रवेश गरेको निहुँले भोजपुरको जेलमा थुनियो । श्रामणेर अमृतानन्द पनि आफ्नो गुरुसँगै जेलमा बसे । केही समयपछि महाप्रज्ञा र श्रामणेर अमृतानन्दलाई देश निकाला गरियो । त्यसबेला श्री ३ जुद्ध शमशेरको शासनकाल थियो ।

 

शाक्यकुलका युवकहरू पनि धमाधम प्रव्रजित भएर श्रीलंका र म्यानमारमा गई बुद्ध धर्म अध्ययन गर्दै थिए । नेपालमा थेरवादि भिक्षुहरूको साथै महिलाहरू पनि प्रव्रजित हुन थाले । सर्वप्रथम तीनजना महिलाहरू (१) पुण्यतारा उपासिका, (२) लछिमि उपासिका (चन्छिमि), (३) चन्द्रमाया उपासिका क्रमशः अनगारिका रत्नपाली, अनगारिका धर्मपाली, अनगारिका संघपाली हुनु भयो । पछि धर्मचारी गुरुमा, विरति, विमुखी गुरुमा,सुशीला गुरुमा, धम्मवति गुरुमा, धर्मशिला गुरुमा आदि धेरै संघर्ष गरी बुद्ध धर्म प्रचारमा लागे ।
देशमा निरंकुश राणा शासनले गर्दा जनतामा राजनैतिक क्रान्तिको लहर आइरहेको बेलामा किण्डोल विहारमा बुद्ध धर्मको पुनर्जागरणमा उत्साहित अनुयायीहरूको जमघट बढ्दै गयो ।
पाटनका श्री ३ जुद्ध शमशेरले भिक्षु र श्रामणेरहरूलाई वि.सं. २००१ साल श्रावण १५ गतेका दिन देश निकाला गरियो । निस्कासनमा परेका भिक्षु तथा श्रामणेरहरू हुन्– (१) भिक्षु प्रज्ञानन्द, (२) भिक्षु धर्मालोक, (३) भिक्षु सुबोधानन्द, (४) भिक्षु प्रज्ञारश्मि, (५) श्रामणेर कुमार, (६) श्रामणेर रत्नज्योती, (७) श्रामणेर प्रज्ञारश, (८) श्रामणेर अग्गधम्म ।

 

स्थविरवादी भिक्षु तथा श्रामणेरहरूको देश निकालाबाट अन्तर्राष्ट्रिय जगतमा ठूलो हलचल मच्चियो । भिक्षु अमृतानन्दले भारतमा भएका समस्त बौद्ध संघ संस्थाहरूसँग नेपाली भिक्षुहरूको देश निकालाको विरुद्ध आवाज उठाउन अपिल गरे । तर श्री ३ जुद्ध शमशरको सरकारले भिक्षुहरूलाई नेपाल फर्कन त सक्ने तर धर्म प्रचार गर्न नपाउने जवाफ दिएका थिए । भिक्षु अमृतानन्दको अथक प्रयासबाट श्रीलंकाका भिक्षु नारद महास्थविरको नेतृत्वमा ५ सदस्यीय श्रीलंकाली शिष्ट मण्डल नेपाल ल्याउन सफल भए । त्यसबेला पद्म शमशेरको राज्यकाल थियो । भिक्षु अमृतानन्दको प्रयासबाट बृद्ध भिक्षु धर्मालोक एकजनालाई नेपालमा भित्राउने अनुमति पाए । भिक्षु धर्मालोक सन् १९४६ जुनमा नेपाल फर्कनु भयो । श्रीलंकाका भिक्षु नारद नेपालमा पटक पटक आउनु भएर थेरवाद बुद्ध शासनको पुनरुत्थान गर्नमा उनले धेरै योगदान दिनु भएको थियो ।

 

ई.सं. १९५१ फेबु्रअरीमा श्रीलंकाका भिक्षुद्वय मद्दिहे पञ्ञासिंह र ञानरतन महास्थविरका साथमा भिक्षु अमृतानन्दले नारायणहिटी राजदरबारमा राजा त्रिभुवनसँग भेट गर्नु भएपछि वहाँहरूले मौसुफ सरकारको सु–स्वास्थ्यको कामना गरी परित्राण गर्नु भएको थियो । परित्राण पाठपछि मौसुफ सरकारको बाहुलीमा भिक्षु अमृतानन्दले परित्राण सूत्र धागो बाँधिदिएका थिए । त्यसबेलादेखि राजा त्रिभुवनसँग भिक्षु अमृतानन्दको सौहाद्रपूर्ण मैत्री सम्बन्ध थियो । बुद्धका अग्रश्रावक सारिपुत्र र महामौद्गल्यायन महास्थविरहरूको पवित्र अस्थिधातु नेपालमा भित्राएर श्रद्धाका साथ राजा त्रिभुवनले लिएका थिए । ३१ टोपको सलामी दिई राजकीय सम्मान दिएको थियो । ई.सं. १९५१ मा अखिल नेपाल भिक्षु महासंघको स्थापना पनि भएको थियो । त्यसैगरी वि.सं. २००८ साल फागुन ७ गतेका दिन राजा महेन्द्रबाट बैशाख पूर्णिमाका दिन हिंसा बन्द गर्ने घोषणा गर्नु भयो ।

 

वि.सं. २०१३ साल (सन् १९५६) नोभेम्बर महिनाको चतुर्थ विश्व बौद्ध सम्मेलन सम्पन्न भएको थियो । यस बौद्ध सम्मेलनबाट अन्तर्राष्ट्रिय जगतमा बुद्धको जन्मभूमि देश विदेशबाट भ्रमणको लागि निमन्त्रणा आउन थाल्यो । विश्व बौद्ध भातृत्व संघको १५ औं सम्मेलन सन् १९८६ नोभेम्बर २७ देखि डिसेम्बर २ तारिखसम्म सम्पन्न गराएको थियो । ४२ राष्ट्रले भाग लिएको टुँडिखेलमा सम्पन्न गरेको थियो । लुम्बिनीमा २५०० औँ बुद्ध जयन्तीको उपलक्ष्यमा श्री ५ को सरकारबाट नव निर्माणको कार्य सम्पन्न भयो । यसप्रकार विभिन्न चरणमा पार भएर अहिले थेरवाद वुद्धधर्मले नेपालीहरुकौ सामाजिक, साँस्कृतिक, धार्मिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण स्थान ओगट्न सफल भयो ।

 

उपसंहार
इतिहासमा विभिन्न आरोह अवरोह पार गर्दै आएर नेपालमा अहिले थेरवाद बुद्धधर्म राम्रोसँग स्थापित भएको देखिन्छ । वि.सं. २०३० सालको बैशाख महिनादेखि प्रकाशनमा आएको ‘आनन्दभूमि’ बौद्ध मासिक पत्रिका अहिलेसम्म पनि निरन्तर रूपमा प्रकाशित भइरहेको छ । यस्तै किसिबाट अहिले धर्मकीर्ति लगायतका बौद्ध पत्रपत्रिकाहरु प्रकाशित छन् । विभिन्न रेडियो तथा टेलिभिजनमा बुद्धधर्मको ज्ञान सम्बन्धी धर्मदेशनाका कार्यक्रमहरु नियमित प्रशारण भइरहेको छ । बोधी टेलिभिजनमा सम्पुर्ण रुपमा बुद्धधर्मका कार्यक्रमहरु प्रशारण भइरहेको छ ।

 

काठमाडौं उपत्यकाका विभिन्न विहार तथा विद्यालयहरुकमा पनि परियत्तिका कक्षाहरु नियमित रुपमा सञ्चालनमा रहेका छन् । लुम्बिनी बौद्ध विश्व विद्यालय अन्तर्गत थेरवाद बुद्धिष्ट एकेदमीमा थेरवादमा स्नातकोत्तरसम्मको पढाइ भइरहेको छ ।

 

स्थविरवाद भिक्षु तथा अनागारिकाहरू नेपालका धार्मिक, साहित्यिक, सामाजिक, सांस्कृतिक विकास कार्यमा सरिक भएर थेरवाद बुद्ध धर्मको व्यापक प्रचार प्रसारको कार्यमा लागेका छन् । उपासक उपासिकाहरुले पनि यथाशक्य नेपालको बुद्धशासनलाई चीरस्थायी बनाउन महत्वपूर्ण भूमिका निभाउँदै आइरहनुभएको देखिन्छ ।

लेखक लुम्बिनी बाैद्ध विश्वविद्यालयबाट थेरवाद बुद्धधर्ममा स्नातकाेत्तर हुनुहुन्छ ।