नासिँदै यम्पि विहारको बौद्ध निधि तीर्थ

वसन्त खड्का

काठमाडौं– ललितपुर कुम्भेश्वरबाट शंखमूल नपुग्दै एउटा महाविहार आउँछ, जसलाई दुई हजार वर्षअघि कपिलवस्तुबाट आएका सुनयश्री मिश्रले बनाएको मानिन्छ ।

तिब्बती यही विहार घुम्न नेपाल धाउँछन् तर यहाँकालाई यसको हबिगतको पत्तोसम्म छैन

वरिष्ठ संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङका अनुसार यो विहारमा बज्रगुरु पद्मसम्भव (तिब्बतमा बुद्धधर्मका प्रवद्र्धक) ले बौद्ध ग्रन्थको ठूलो संग्रह तथा बज्र घन्ट लगायत तान्त्रिक उपकरण गोप्य ढंगले राखेको विश्वास गरिन्छ ।

‘यहाँ बज्र गुरुले निकै महत्वपूर्ण सामग्री गोप्य ढंगले राखेको इतिहास भेटिएको छ । कुनै बेला बौद्धशास्त्रको अध्ययनका लागि समेत चर्चित थियो । यसको पटकपटक पुनःनिर्माण भइसकेको छ,’ गुरुङ भन्छन्, ‘अहिले मूल विहार तथा पुरानो संरचना र ऐतिहासिक संग्रह नष्ट भइसकेका छन् ।’
अहिले पनि उक्त विहार उत्खनन गरे ऐतिहासिक तथा पुराताŒिवक सामग्री भेटिन सक्ने गुरुङ बताउँछन् ।
हालसम्म पनि यसको संरक्षण तथा उत्खननका लागि कुनै किसिमको पहल नभएको विहार व्यवस्थापन समिति निवर्तमान अध्यक्ष रत्नमान शाक्यको गुनासो छ ।
‘ऐतिहासिक महत्व बोकेको यस विहारको संरक्षण तथा अध्ययन अनुसन्धानका लागि कतैबाट पनि पहल भएको छैन,’ शाक्यले भने ।
०००

यसलाई नेवारी भाषामा यम्पि महाविहार भनिन्छ । व्यवस्थापन समिति निवर्तमान अध्यक्ष शाक्यले उचित संरक्षण हुन नसक्दा विहारको मौलिकता हराउँदै गएको बताए । ‘अशोक सम्राटका पालामा निर्माण भएको सम्पदाप्रति राज्यको ध्यान पुगेको छैन । यहाँका पुराना ऐतिहासिक वस्तु नष्ट भएका छन् ।’

बौद्धधर्मअनुसार ऐतिहासिक धर्मग्रन्थ तथा तान्त्रिक उपकरण, बज्र तथा घन्ट राखिएको स्थानलाई निधि तीर्थ भनिन्छ । यस्ता निधि तीर्थ संसारमै २८ वटा मात्र छन् । त्यसमध्ये यम्पि महाबिहारसहित नेपालमा दुई बिहार छन् ।

तिब्बतका भिक्षु आउँछन्

अधिकांश निधि तीर्थ बिहार तिब्बतमै रहेको डा. गुरुङ बताउँछन् । उनका अनुसार यस्ता बिहारलाई तिब्बतमा धार्मिक आस्थाका साथ हेरिन्छ ।

व्यवस्थापन समिति निवर्तमान अध्यक्ष शाक्यले बिहार दर्शनका लागि तिब्बतबाट बौद्धभिक्षु नियमित आइरहने बताए । ‘नेपाली मात्र होइन, तिब्बतबाट समेत विहार दर्शन गर्न बौद्धभिक्षु यहाँ आउने गर्छन् । सरकारले भने यसबारे कुनै चासो दिएको छैन,’ शाक्यले भने ।

विहारमा अहिले पनि एक भिक्षु नियमित बस्ने गर्छन् । तिब्बती तथा नेपाली महायानीको विशेष आस्थाको केन्द्र यहाँ प्रत्येक साता बुद्धपूजा र प्रत्येक दिन नित्यपूजा हुने गर्छ ।

शाक्यका अनुसार वर्षा याममा वर्षा बास भन्दै यहाँ रहेका भिक्षु तीन महिनासम्म कतै जाँदैनन् । दसैंपछि एक महिना विशेष पूजा हुने शाक्यले बताए ।

संस्कृतिविद् गुरुङ विहार कैयौं आयामबाट महत्वपूर्ण भएकाले राज्यले यसको संरक्षण गर्नुपर्ने बताउँछन् । ‘पूर्वमध्यकाल आफैंमा महत्वपूर्ण समय हो । त्यतिबेला पनि तराईबाट आएका ब्राह्मणले यो विहार निर्माण गरेका हुन्,’ उनले भने, ‘यसलाई राज्यले संरक्षण गर्नुपर्छ ।’

यसको महत्वलाई थप प्रवद्र्धन गर्दै धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलका रुपमा यसलाई विकास गर्नुपर्नेमा गुरुङको जोड छ ।

विभाग अनभिज्ञ

पुरातत्व विभागले भने यम्पि विहारबारे अनभिज्ञता प्रकट ग¥यो । विभाग सूचना अधिकारी दामोदर गौतमले यसबारे आफूलाई कुनै जानकारी नभएको र विभागको सम्बन्धित शाखाबाट जानकारी लिन आग्रह गरे ।

पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले पनि यसबारे अनभिज्ञता व्यक्त गरिन् ।
‘हामीलाई अन्य विहारबारे जानकारी छ । यो विहारबारे भने कुनै जानकारी नै छैन,’ उनले भनिन् । पुरातत्वको जानकारीमै नभएकाले यसको संरक्षण तथा अध्ययन–अनुसन्धान प्रक्रिया पनि अघि नबढेको उनले बताइन् ।

यस्ता सम्पदाबारे सम्बन्धित व्यक्तिले जानकारी गराएमा मात्र विभागले संरक्षणका लागि पहल गर्ने उनको भनाइ छ । ‘हालसम्म कसैले पनि विभागलाई यसबारे जानकारी गराएको छैन,’ उनले भने, ‘त्यसैले विभागलाई यसबारे जानकारी छैन ।’

साभार नागरिक दैनिक

1 month ago/Thursday, January 25th, 2018 /