दान मध्ये सबैभन्दा ठुलो धर्मदान हो : छोकी निमा रिम्पोचे

बोधी संंवाददाता
काठमाडौं, पुस १५ । हिमालयन बुद्धधर्मका एक प्रमुख गुरु छोकी निमा रिम्पोचेले आज यहाँ एक धार्मिक कार्यक्रममा बोल्दै संसारमा दान दिनु मध्ये सबैभन्दा ठुलो दान भनेको धर्मदान हो भन्नु भएको छ ।
यहाँ बौद्ध स्थित हिमालयन बुद्धधर्म अन्तर्गतको कान्यिङ शेद्रुब लिङ महाविहार (सेतो गुम्बा) मा चलिरहेको चौथो ङोन्दो पुर्ववत धर्म अभ्यास कार्यक्रमका अभ्यासकर्ताहरुलाई विशेष धर्मउपदेश दिँदै उहाँले आज सो कुरा भन्नु भएको हो ।

“दान दिनु भनेको उत्तम हो । धनसम्पत्तिले लोकलाई रक्षा गर्छ, त्यसैले आफुसँग भएको सम्पत्ति नभएको मानिसहरुलाई दान दिनु राम्रो हो । त्यो भन्दा पनि राम्रो मर्नबाट डराइरहेकाहरुलाई डराउनु पर्दैन भनेर अभय दान दिनु हो । ती सबै दानहरु भन्दा बुद्धको शिक्षा दान दिनु सबैभन्दा राम्रो हो । किनभने यो मानिसहरुलाई जीवनभर चाहिन्छ र जन्म जन्मसम्म काम लाग्छ,” उहाँले भन्नु भयो ।

उहाँले दण्डवत गरेमा त्यसबाट हुने पुण्यसंचयले आफुमा आफुले गरेका पुराना कुकर्महरुप्रति पश्चाताप गर्ने क्षमता बढ्छ र बाँकी जीवन राम्रो काम गर्ने इच्छा जीवित भएर आउने भएकोले शरीरबाट गरेका पाप शोधन गर्न पनि यसले सहयोग गर्ने बताउनुभयो । त्यस्तै शरीर, मन र बचनबाट हुने कुकर्म र पाप सफा गर्नको लागि वज्रस्तको ध्यानभावनाले सहयोग गर्ने पनि उहाँले बताउनु भएको छ । उहाँले भन्नुभयो, “हामीलाई क्लेषले गाँजेको हुन्छ । हामीमा भएको घमण्ड र ईष्र्याले गर्दा हामी भित्र रिस र मोह बढ्दै जान्छ । मानिसको जीवनमा मार भनेकै अभिमान हो । हामीले गुम्बा मन्दिरको अगाडि दण्डवत गर्न सिक्यौं भने हामी भित्र भएको घमण्ड हराउँदै जान्छ ।”

पूण्य संचय गर्नेहरुले आफ्नो धनसम्पत्ति मात्र होइन आफ्नो शरीर समेत यदि कसैलाई आवश्यक भयो भने दान दिन तयार हुने भएकोले र यस्तो दान दिनाले जीवनमा आफ्नो केही नभएको भन्ने सुखको भावना आउने भएकोले यहाँ यस पुर्ववत धर्म अभ्यासमा रत्नमण्डल बनाएर चढाउने गरेको भन्ने उहाँको विचार थियो । उहाँले अभ्यासकर्ताहरुलाई आफुले चढाएको रत्नमण्डल सबै प्राणीहरुको सुखको लागि हो भनेर मनमा राखेर चढाउन पनि अनुरोध गर्नुभयो ।

साथै सयौं वर्षको इतिहासमा नेपालमा भारत तथा तिब्बतबाट थुपै्र सिद्ध पुरुषहरु ध्यान तपस्या गर्न आएको र यो आउनुको कारण यो पूण्य भूमि भएको बताउँदै यहाँ बसेर पुण्यकार्यमा संलग्न हुन पाउनुभनेको गौरवको कुरा भएको बताउनुभयो ।

यस प्रकारको पूर्ववत अभ्यासमा अभ्यासकर्ताहरुले अन्नको सुमेरु पर्वत बनाएर आफ्नो शरीर, खुशीहरु र संचय गरेका पूण्यहरु करुणामयलाई चढाउँछन् र उहाँलाई आफुलाई आशिर्वाद दिनका लागि अनुनय पनि गर्दछन् । एक महिना सम्म चल्ने यो पूजाको आज १५औं दिन हो र यस्तो रत्न मण्डल चढाउने अभ्यास बाँकी तीन सम्म निरन्तर चलिरहन्छ ।

यस अभ्यास कार्यमा भाग लिनका लागि ५०० भन्दा बढी अभ्यासकर्ताहरु नेपाल लगायत चीन भियतनाम, ब्रिटेन तथा अमेरिका जस्ता देशहरुबाट सहभागी भएका छन् तथा त्यसमा नेपालीहरुममा शेर्पा, ह्यल्मो, तामाङ, गुरुङ मगर लगायत बाहुन क्षेत्री समुदायका महिला तथा पुरुषहरुले पनि भाग लिने गरेका छन् ।

3 weeks ago/Saturday, December 30th, 2017 /