नेपाल तथा श्रीलंकाको सम्बन्धको आधार बुद्धधर्म

बोधी संवाददाता
ललितपुर, पुस ४ ।
नेपाल तथा श्रीलंका बीच कुटनीतिक सम्बन्ध स्थापनाकाे ६०औं वार्षिकोत्सवका उपलक्ष्यमा आज नेपाल श्रीलंका सम्बन्धको बारेमा एक प्रवचन कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिधि उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपालका लागि श्रीलंकाली राजदूत डब्लु एस पेरेइराले नेपाल तथा श्रीलंकाको बिच हजारौं वर्ष पुरानो सम्बन्ध रहेको र यो सम्बन्ध जनता जनता बिचको एवं धार्मिक र साँस्कृति सम्बन्ध पनि रहेकोले यो निकै मजबूत तथा सौहार्द रहको बताउनुभयो ।

उहाँले भन्नु भयो, नेपाल तथा श्रींकाको सम्बन्धको आधार भनेको बुद्धधर्म हो । श्रीलंकाका जनताहरु नेपाललाई एक विशेष देशको रुपमा लिन्छन् । उनीहरुलाई थाहा छ, भगवान बुद्धको जन्म नेपालमा भएको थियो । त्यसकारण उनीहरु जीवनमा एक पल्ट भएपनि नेपालको भूमिमा पाइला टेक्न पाउँदा गर्वित हुने गर्दछन् ।
उहाँले श्रीलंका सरकार धेरै पहिले देखि नै लुम्बिनीको विकास, संरक्षण र सम्बर्धनमा अग्रसर रहेको तथा लुम्बिनीमा श्रीलंकाली विहार तथा धर्मशाला बनाउनुपाउँदा खुशी रहेको पनि स्मरण गराउनु भयो ।

यसै अवसरमा श्रीलंकाले नेपालमा थेरवाद बुद्धधर्मको पुनर्जागरण गराउनमा भूमिका खेल्न पाएकोमा श्रीलंका जनताले खुशीको अनुभव गरेको पनि बनाउनुभयो । यसका साथै भूकम्पले क्षतिग्रस्थ बुंगमतिको लोकेश्वरको पुनःनिर्माणमा योगदान गर्न पाएकोमा उहाँले खुशी पनि व्यक्त गर्नुभयो ।

नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीले नेपाल तथा श्रीलंका को बिच हजारौं वर्ष पहिले देखिसम्बन्ध भएको बताउँदै श्रीलंकाली जनता भगवान बुद्ध आफ्नो जीवनकालमा तीनपल्ट श्रीलंकामा भ्रमण गरेको विश्वास गर्छन् तथा यस्तो भन्न पाउँदा उनीहरु सुखद अनुभू ितगर्ने गरेको बताउनुभयो ।

उहाँले सम्राट अशोकले आफ्नो छोरा महिन्द्र तथा छोरी संघमित्रालाई श्रीलंका पठाएक बुद्ध धर्मको प्रचार प्रसार गराएको प्रसंग सम्झाउदै अहिले त्यहाँ बुद्धधर्मले राम्रोसँग फस्टाउने मौका पाएको कुरा बताउनु भयो । साथै उहाँले सन् १९४०को दशकमा नेपालका बौद्ध भिक्षुहरुले यहाँ धर्म प्रचार गरेको आरोप लगाई देश निकाला गरेपछि श्रींकाकै भिक्षुहरुको नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सरकारलाई भेटेपछि यहाँ ती भिक्षुहरु आफ्नो मातृभूमिमा आउन पाएको र यहाँ बुद्धधर्मको पुनर्जीवन सफल भएको ऐतिहासिक घटना पनि सम्झनुभयो ।
नेपाललाई श्रीलंकाली जनताले आफ्नो देशको तर्फबाट उनीहरुले २५ सय वर्ष सम्म सुरक्षित राख्न सफल भएको भगवान बुद्धको अस्तिधातु नेपाललाई उपहार दिएका नेपालप्रति ठुलो गुण लगाएको छ — उहाँले भन्नुभयो ।
साथै उहाँले श्रीलंकामा बुद्ध धर्मको राम्रो अध्यापन हुनेभएकोले नेपालका सयौं श्रामणेरहरु श्रीलंकामा गएर बुद्धधर्म र दर्शनको अध्ययन गर्ने जाने गरको पनि बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा नरेशमान वज्राचार्यले श्रीलंकामा धेरै पहिले देखि नै बुद्धधर्मको प्राज्ञिक अध्ययन अध्यापन गर्ने परम्परा बसेको भएर अहिले त्यहाँ नेपाल लगायत विभिन्न देशबाट बुद्धधर्मकै अध्ययन गर्ने भनेर हरेक वर्ष हजारौं मानिसहरु जाने गरेको स्मरण गर्नुभयो ।

नेपालमा यस्तो बुद्धधर्मको प्राज्ञिक अध्यापन गर्ने प्रचलन आएको धेरै नभएतापनि अहिले नेपालमा लुम्बिनी बौद्ध विश्वविद्यालय एक्लैले पनि विभिन्न शैक्षिक कार्यक्रम चलाइरहेको बताउनुभयो । साथै उहाँले भन्नु भयो बुद्धधर्मको प्रज्ञिक अध्ययन गराउने लामो अनुभव भएको श्रीलंकाका विश्वविद्यालय हरुले उद्देश्य र विचार मिलेका नेपालको बौद्ध विश्वविद्यालयसँग विशेष किसिमको सम्बन्ध बढाएर दुबैतिरको विद्यार्थीहरुको आदान प्रदान वा त्यस्तै कुनै सहकार्य भविष्यमा गर्न सकेमा यस समग्र क्षेत्रकै विकासमा टेवा पुग्ने थियो ।
साथै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफु केही समय अगाडि श्रीलंकामा पुग्दा त्यहाँका मानिसहरु र तिनीहरुको रहनसहन देख्दा आफु आफ्नै देशमा बसेका जस्तो अनुभव गरको बताउनुभयो । साथै उहाँले श्रीलंका सरकारले यहाँको बुङ्गमतिस्थित करुणमयको मन्दिर बनाउनको लागि सहयोग गरेकोमा कृतज्ञता पनि प्रकट गर्नुभयो ।

कार्यक्रममा नेपाली तथा श्रीलंकाली कलाकारहरुद्वारा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपालस्थित श्रीलंका राजदुतावास तथा ललितपुर बौद्ध विहार संघद्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो ।

1 month ago/Tuesday, December 19th, 2017 /