लुम्बिनीलाई बौद्ध शिक्षाको केन्द्रको रुपमा विकास गरिने : उपाध्यक्ष

राजेन मानन्धर

काठमाडौं, पुस २ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले लुम्बिनीलाई अब विश्वकै एक अद्वितीय बौद्ध शिक्षाको केन्द्रको रुपमा विकास गरिने बताउनुभएको छ ।

 

बोधी टेलिभिजन परिवारसँग आज एक विशेष कुराकानी गर्दै उहाँले बुद्धधर्म भनेकै शिक्षामा आधारित भएकोले धर्मसँगसँगै शिक्षा पनि आउँछ र यसलाई हामीले जानेर नजानेर वा नसकेरै बेवास्ता गरिरेहकोमा अब लुम्बिनीलाई नै बुद्धशिक्षाको केन्द्रविन्दु बनाइनुपर्नेमा जोड दिनुभयो ।

 

“नेपाल बुद्धधर्मको श्रोत केन्द्र हो । यहाँ धेरै पहिले देखि नै तिब्बतसम्मदेखि बुद्धशिक्षा हासिल गर्न आउँथे, स्वयम्भ,ू विक्रमशीला महाविहारजस्ता यहाँ धेरैं प्रख्यात शिक्षाकेन्द्र थिए, जहाँ शिक्षा पाउनु बौद्ध साधकहरुका लागि ठुलो कुरा हुन्थ्यो । अब पनि यो सम्भव छ,” उहाँले भन्नुभयो ।

 

उहाँले संसारका विभिन्न देशमा बुद्धशिक्षा प्रदान गरिने भएपनि लुम्बिनीमा अवस्थित लुम्बिनी विश्वविद्यालय संसारमा एकमात्र बुद्धको जन्मभूमिमा बसेर बुद्धशिक्षाप्रदान गर्ने प्राज्ञिक निकाय भएकोले यहाँ सम्बन्धन पाएर बुद्धशिक्षा प्राप्त गर्नु विश्वका प्रत्येक देशका बौद्धहरुका लागि गर्वको कुरा हुने भन्दै त्यसकारण विभिन्न विहारहरुलाई विश्वविद्यालयसँग सम्बन्धित गराई ती विहारहरुलाई बुद्धशिक्षाको थलो बनाइनुपर्नेमा जोड दिनुभयो ।

 

“लुम्बिनी बौद्ध विश्वविद्यालय हामीसँग लुम्बिनीमै अवस्थित छ । यसलाई एक सुखद र प्राज्ञिक प्लेटफर्म बनाइ नेपाललाई नै विश्वका लागि बुद्ध शिक्षाको मुहानको रुपमा परिभाषित गरिनु पर्छ । यहाँ विभिन्न देशहरुले यति धेरै विहारहरु बनाएका छन्, विहार प्रशासनले आफ्नो आफ्नो विहारमा पढ्न पाउने व्यवस्था गर्नुपर्छ । ती विहारहरुलाई शिक्षा केन्द्रको रुपमा विकास गरेर त्यहीँका नागरिकहरुलाई विशेष बुद्धशिक्षा प्रदान गरिने व्यवस्था गर्नुपर्छ । यसकालागि लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहाकार्यको आवश्यकता छ,” उहाँले भन्नुभयो ।

यसकासाथै उहाँले यति लामो समयको अवधिका केन्जो तान्गेले डिजाइन गरेको गुरुयोजनामा केही परिवर्तनहरु पनि आएकोले सरकारले अब कति परिमार्जन गर्नेहो त्यसबारे पनि सकारले स्पष्ट नीति बनाएर अगाडि ल्याएको खण्डमा विकास निर्माण कार्यहरुलाई नीतिगत स्पष्टताका साथ अगाडि बढाउन सकिनेमा जोड दिनुभयो ।
उहाँ लुम्बिनीको विकास अहिले निश्चित वर्ग जाति वा धर्मको मात्र सोचले सम्पन्न गर्नुभन्दा यसमा सबैलाई सम्मिलित गराएर अघि बढ्नुपर्ने सोच राखेर यसका लागि काठमाडौंमै वृहतस्तरको कार्यशाला गरेर बहसको थालनी गर्नुपर्ने विचार राख्नुहुन्छ ।

 

साथै लुम्बिनीमा नेपाली एवं अन्तर्राष्ट्रिय तीर्थालुहरुका लागि पर्याप्त भौतिक सुविधा नभएको कारणले उनीहरु धेरैदिनसम्म लुम्बिनीमा बस्ने अवस्था नरहेको स्वीकार्दै उहाँले अब दूरदृष्टिका साथ भौतिक पूर्वाधारहरुको विकास गर्नका लागि पनि सम्बन्धित निकायहरुसँग सहकार्य गर्नुपर्ने बेला आएको बताउनुभयो । तर विकासका नाममा यो ठाउँ बुद्धको जन्मभूमि हो भन्ने कुरा बिर्साउने काम कतैबाट गरिनु नहुने कुरामा सचेत हुन पनि उहाँलो आग्रह गर्नुभयो । “लुम्बिनीको विकास यसरी होस् कि यहाँ आउने प्रत्येक तीर्थालुलाई यो बुद्ध भूमि हो र यहाँबाट तीर्थालुहरुले प्रत्येक क्षण बुद्धको शिक्षा धारणा गर्न पाउन् ।”

 

यसका साथै नेपाल भारत र चीनको बिचमा अवस्थित रहेको भौतिक यथार्थलाई अवसरका रुपमा लिएर भारत तथा चीन दुबै ठुलो बौद्ध आवादी भएका देशहरु भएकाले बुद्धधर्मलाई नेपालको एक नरम कूटनीतिका रुपमा प्रस्तुत गरेर दुबै देशबाट नेपालले सद्भाव र सहयोग पाउनसकिने अवसरलाई पनि बिर्सन सकिन्न भन्ने पनि उहाँको धारणा थियो ।

 

1 month ago/Sunday, December 17th, 2017 /