“खस क्षेत्रका बौद्ध राजाहरुको इतिहास धमिल्याइयो”

बोधी संवाददाता
काठमाडौंं, म्रसिर ५ । सुदुर पश्चिम नेपालका खश साम्राज्यका राजाहरु बौद्ध भएकाले त्यहाँ कुनै बेला बुद्धधर्म प्रचुर मात्रामा फैलिएपनि नेपालका इतिहासकाहरुले त्यो तथ्य लुकाएको बौद्धविज्ञहरुले बताएका छन् ।
बौद्ध विद्वान पुण्य पराजुलीले ११औ शताब्दी देखि १५औ शताब्दीमा खसान क्षेत्रका सबै जसो राजाहरु बौद्ध थिए र उनीहरुले आफ्नो राज्यमा बुद्धधर्मको प्रचारप्रसारमा धेरै योगदान गरेका थिए तर नेपालको इतिहासले यो नदेख्नु दुखको कुरा हो भन्नु भयो ।
मार्टिच चौतारीमा आज आयोजिक कर्णालीका खस राजाहरुको बुद्ध धर्मसँग सम्बन्ध विषयक अन्तरक्रियामा बोल्दै उहाँले तिब्बतबाट नागराजा आएर त्यहाँ राज्यको स्थापना गरेको र त्यहाँ बौद्ध सभ्यताको विकास गरेको बताउनुभयाे ।
उहाँका अनुसार खश साम्राज्यका अशोक मल्ल नामक राजाले बोधीगयासम्म गएर त्यहाँ ४४वटा गाउँ मुस्लिमहरुबाट किनेर गुठी बनाएर आएको इतिहास पनि छ ।
त्यहाँ खस मल्ल बंशका १५० वटा भन्दा बढी शिलालेखहरु भएको बुझिन्छ ।

“नेपालमा सबै राजाहरु हिन्दु हुन् र बौद्ध भनेका आँखा साना र नाक थेप्चाहरु मात्र हुन् भन्ने धारणा व्यापक छ । यसले गर्दा बौद्धहरुले समेत आफुहरु बौद्ध हौं भन्न सकिरहेका छैनन् भने नेपालको धार्मिक इतिहास समेत पनि सही ढंगले लेखिन सकेको छैन,” उहाँले भन्नुभयो ।

 
अर्का बौद्ध अनुसन्धाता बसन्त महर्जनले खस साम्राज्यको सही र विस्तृत इतिहास लेखिएको नभए पनि ती राजाहरुको प्राय सबै शिलालेखमा बौद्ध मन्त्रहरु लेखिने भएकोले उनीहरु बौद्ध भएकोमा शंका नभएको उल्लेख गर्दे नेपालका इतिहासकारहरुले उनीहरु बौद्ध भएको तथ्य नियतबश नै ढाकछोप गर्ने प्रवृति रहेको बताउनुभयो । उनले त्यहाँका त्यसबेलाका कतिपय राजकुमारहरु राजा बन्न पाउने अवसर छोडेर भिक्षु बन्न गएको दृष्टान्त भएको समेत बताउनुभयो ।

 
उहाँले त्यहाँ बुद्ध मूर्तिलाई सिमेन्टको प्लास्टरबाट शीवको मूर्ति बनाएर पुजा गर्ने समेत गर्ने गरेको र राज्यका मानिसहरुको समेत बुद्धधर्म, स्मारकलाई हटाउने वा छोपेर राख्ने प्रवृति रहेको बताउनुभयो । उहाँका अनुसार खसान क्षेत्रका त्यतिबेलाका राजा मध्ये धेरै जसो राजाहरु बौद्ध थिए, उनीहरुका प्रायः शिलालेखहरुको शुरुमा ओम् माणि पद्मेहुँ जस्ता बौद्ध मन्त्रहरु कुँदिएका हुन्थे ।

 

 

त्यहाँका राजाहरु रिपु मल्ल, अशोक मल्लआदि राजाहरुको आफ्नो नाम संबोधन गर्दा समेत बज्रयानी देवता हेवज्रसँग तुलना गरेर सम्बोधन गरोस् भन्ने चाहन्थे तर आज यहाँ इतिहास लेख्नेहरु खस राजाहरु बौद्ध भएको कुरा समेत लेख्न चाहँदैनन्, उहाँले बताउनुभयो ।

 

सन् १०९३का राजा नागराज देखि चाप, चापिल्ला, क्राशिचल्ला, त्राधिचल्ल, क्राचल्ला, अशोक चल्ला, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल, पृथ्वी मल्ल, सूर्य मल्ल, अभय मल्ल, मलय मल्लले सन् १३९१को वरिपरीसम्म त्यस क्षेत्रमा शासन गरेका थिए । ती मध्ये कतिपय बुद्धकाे सेवा गरेर बसे भने कति राजाहरु काठमाडौं सम्म आएर हमला गरे भन्ने समेत ऐतिहासिक तथ्यहरुले बताउँछ । चौधौ शताब्दी पछि खसमल्ल साम्राज्यको पतन भयो । त्यस्तै पृथ्वी नारायण शाहका छोरा बाहादुर शाहले यस भेगमा हमला गरी जितेर नेपालमा गाभेको इतिहास छ ।

3 weeks ago/Tuesday, November 21st, 2017 /