ज्ञानमाला भजन खलःको प्रस्तुति तौथली तथा दोलखामा

gyanmala bhajan tauthali

राजेन मानन्धर
काठमाडौंं, कार्तिक२७ । ज्ञानमाला भजन खलः स्वयम्भुका सदस्यहरुको टोलीले गत तीन दिन नेवारहरुको ऐतिहासिक वस्ती  सिन्धुपाल्चोकको तौथली, दोलखाको भीमेश्वर मन्दिर तथा काभ्रेको पलाञ्चोक मन्दिरमा गएर बौद्ध भजन गाई स्थानीय जनताबिच बुद्ध धर्मको बारेमा जागरण ल्याउने अभियान सम्पन्न गरे । तौथलीमा ज्ञानमाला भजन गाइएकाे याे पहिलाे पटक हाे ।
करिब १५० जनाको उक्त टोलीले शुक्रबार तौथलीमा, शनिबार भीमेश्वर मन्दिरमा तथा आइतबार पलाञ्चोक मन्दिरमा धार्मिक कार्यक्रमहरुको आयोजना गरेको थियो ।
विशेष गरी शनिबार विहान तौथली स्थित त्रिपुरा सुन्दरी मन्दिरको प्रांगणमा तथा आइतबार बिहान भीमेश्वर मन्दिरस्थित सत्तलमा बुद्ध भजनहरुको गायन प्रस्तुती ज्ञानमाला भजन खलःका सदस्यहरुबाट भएको थियो ।
कार्यक्रमका संयोजक पूर्णमान ज्यापुले ज्ञानमाला भजन खलःयो यस कार्यक्रम बौद्ध मन्दिरहरुमा गएर सँधै झैं ज्ञानमाला भजन गाएर फर्कने भन्दा पनि बुद्धधर्ममा त्यति राम्रोसँग भिजि नसकेको समुदायमा विभिन्न किसिमबाट साँस्कृतिक आदानप्रदानको कार्यक्रममार्फत त्यहाँका स्थानीय बासिन्दाहरुमा बुद्धधर्मप्रति चासो र जानकारी बढाइदिने रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “याे भनेको भजन गाउनु मात्र होइन । यो त बुद्धधर्मको प्रचारप्रसार, स्थानीय जनता तथा काठमाडौंका जनताबिच साँस्कृतिक आदान प्रदान एवं सामाजिक सेवाको समेत अवसर हो ।”
यसकासाथै सहभागीहरुले यहाँ अहिलेसम्म पनि बुद्धमन्दिर वा बुद्ध मूर्ति स्थापना भइनसकेकोले वा भएको नदेखिएकोेले भजन खलःले स्थानीय जनतासँग सहकार्य गरेर बुद्ध मूर्ति स्थापनाको लागि पहल गर्नुपर्ने पनि बताए । उनीहरुका अनुसार यहाँ बुद्धमूर्तिको स्थापना भएका स्थानीय जनताहरुमा बुद्धशिक्षा र दर्शन प्रति जनचासो बढ्ने देखिन्छ ।
कार्यक्रममा स्थानीय आयोजकलाई ज्ञानमाला भजन खलः स्वयम्भुको तर्फबाट सम्मान पनि गरिएको थियो ।
शुक्रबार बेलुका काठमाडौंको टोलीलाई स्थानीय तौथलीबासीले बाजागाजा सहित स्वागत गरेको थियो भने संयुक्त रुपमा शान्ति मैनवत्ती रयालीको आयोजना भएको थियो । त्यसपछि भुकम्पले क्षतिग्रस्थ भएको त्रिपुरासुन्दरी मन्दिरको प्रांगणमा स्थानीय नेवारहरुको परम्परागत नृत्यको प्रदर्शन र काठमाडौंबाट लगिएको कलाकारहरुको तर्फबाट नेवार नृत्य तथा गीतहरुको प्रस्तुती भएको थियो ।
स्थानीय अनिल श्रेष्ठले काठमाडौंको टोलीलाई स्वागत गर्न पाउँदा र त्यहाँको साँस्कृतिक कार्यक्रमलाई तौथलीबासीहरुका माझ प्रस्तुत गर्नपाउँदा ज्यादै हर्षित भएको तथा भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने बताउनुभयो ।
तौथली नेपालकोे सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक विकट गाउँ विकास समिति हो, जहाँ एक बाक्लो नेवार बस्ती तथा उनीहरुले बनाएका ऐतिहासिक मठमन्दिरहरु रहेका छन् । सयौं वर्ष पहिले विभिन्न राजनीतिक इत्यादि कारणले भक्तपुरबाट बसाइ सरेर गएका भनिने यहाँका नेवारहरुको आफ्नै विशिष्ट भाषिका छ भने वर्षभरी विभिन्न चाडपर्वहरु पनि मनाउँछन् । यहाँ स्थित गणेश मन्दिर, भिमसेन मन्दिर तथा त्रिपुरासुन्दरी मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व छ । तर गत महाभूकम्पमा गरेर यहाँका लगभग   नाै सयघरमध्ये अधिकांशमा क्षति पुगेको छ र स्थानीयहरु यसको पुर्ननिर्माणमा लागिपरेका छन् ।

6 days ago/Monday, November 13th, 2017 /