लुम्बिनीमा अध्ययनरत मुस्लिम विद्यार्थीहरु भन्छन् बुद्ध शिक्षा सबैले ग्रहण गर्नुपर्छ

बोधी संवाददाता
काठमाडौंं, कार्तिक १७ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा बौद्धहरु मात्र पढ्दैनन् । लुम्बिनी स्थित यस विश्वविद्यालयको क्याम्पसमा अध्ययनरत केही मुस्लिम विद्याथीैहरुले हालै दिएका केही सकारात्मक अभिव्यक्तिहरुले नेपालका बौद्धहरुलाई भावविभोर बनाएका छन् ।

 

 

त्यहाँ अध्यनरत अब्दुल रकीब खान, नियाज अहमद खान र रियाज अहमद खानले नेपाल आज डटकमलाई दिनुभएको अन्तर्वार्तामा भगवान बुद्ध र बौद्ध धर्मबारे ब्यक्त गरेका विचारहरु मननयोग्य छन् ।

 

 

अब्दुल रकिब बुद्धधर्ममा स्नातक गर्दैहुनुहुन्छ र भन्नुहुन्छ, “यो बुद्ध जन्मेको देश हो । बुद्धले जुन उपदेश दिनुभएको छ त्यो थाहा नपाइकन के गर्ने । त्यो कुरा पनि जान्नु अति जरुरी छ । उहाँको विचारमा बुद्धिज्म भनेको बुद्धले देखाउनु भएको सत्यको बाटो हो ।”
त्यस्तै नियाज अहमद भन्नुहुन्छ, “हामीले ज्ञान पाउने हो चाहे त्यो बुद्धिज्मको होस् वा अरु धर्मको । उहाँलाई बुद्ध धर्मको अध्ययन गर्न परिवारबाट कुनै अवरोध छैन र सहयोग पाइराख्नु भएको छ ।”
अर्का विद्यार्थी रियाज अहमद खान भन्नुहुन्छ, “हामी मुस्लिम भएर पनि सानै उमेर देखि हामीले बुद्धिज्मलाई राम्रोसँग हेरेका छौं ।” उहाँको दाइले लुम्बिनीको गौतमी भिक्षुणी विहारमा सुजाता गुरुमांसँग पढेर बुद्धिज्ममा कोविद (परियत्ति शिक्षा अन्तर्गतको दशौं वा सबैभन्दामाथिल्लो तहको शिक्षा) गरिसक्नुभएको छ । उहाँ बुद्धले भनेको कुरालाई धर्मको रुपमा भन्दा पनि दर्शनको रुपमा लिनुहुन्छ । उहाँका अनुसार दशवटा बुद्धका नियमहरु पालना गर्यो भने समाजमा सामञ्जस्यता आउँछ । उहाँका दिनुभएको शिक्षा मानव जीवनलाई उपयुक्त हुने खालका छन् ।

उहाँ बुद्धिस्ट विद्यालयलाई एउटा धेरै नै राम्रो अवसरको रुपमा आएको बताउनु हुन्छ । “बुद्धिज्म त सबैले पढ्नुपर्छ,” उहाँ भन्नुहुन्छ ।
बुद्धको जन्मस्थल लुम्बिनीको वरिपरी हाल मुस्लिमहरको बाक्लो बस्ती छ । त्यहाँ विकास गर्न जाने संस्थाहरु प्रायः स्थानीय मुस्लिमहरुले साथ नदिएको आरोप लगाउने गर्छन् तर ती मध्ये थोरैले पनि आफैले बुद्ध धर्म बुझेका हुँदैनन् भने उनीहरुले स्थानीय मुस्लिमहरुलाई बुद्धधर्मको राम्रो पक्षको बारेमा जानकारी पनि दिएका हुँदैनन् ।
स्थानीय व्यक्तिहरु, चाहे जुनसुकै धर्ममा आस्था राख्ने किन नहोस्, तिनीहरुले बुद्धधर्मलाई बुझ्ने मौका पाएमा उनीहरु बुद्धधर्मप्रति सकारात्मक हुनेछन् र सम्पूर्ण बौद्धहरु पनि उनीहरु देखेर गौरव गर्नसक्ने हुनेछन् ।

2 weeks ago/Friday, November 3rd, 2017 /