अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा कथिन दान सम्पन्न

ibmc kathina utsava

बोधी संवाददाता
काठमाडौं, असोज २७ । तीन महिनासम्म एकै विहारमा बसेर वर्षावास सम्पन्न गर्नुभएका भिक्षुहरुको सम्मानमा आज शंखमूलस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा कथिन चीवर दान कार्यक्रम आयोजना गरियो ।

 
यसवर्ष यहाँ केन्द्रका केन्द्रका धर्मानुशासक भिक्षु ज्ञानपूर्णिक महास्थविर, कर्मस्थानाचार्य सयादो उ इन्दक र भिक्षु नायको वर्षावास बस्नुभएको थियो ।

 
यसै अवसरमा विभिन्न स्थानका १४४ जना उपासक उपासिकाहरुले संघलाई अष्टपरिकार पनि दान गर्नुभयो ।

 
सो अवसरमा बोल्दै भिक्षु ज्ञानपूर्णिकले वर्षावास तथा कथिन दानको महत्वको बारेमा प्रकाश पार्नुभयो ।
उक्त अवसरमा नेपालका लागि म्यानमारका राजदूत सपरिवार उपस्थित भएका थिए ।

 
साथै आजै उक्त केन्द्रको ३१औ वार्षिकोत्सव पनि परेको छ । केन्द्रको गतिविधिको बारेमा चर्चा गर्दै सचिव ललिता धाख्वाले यस वर्ष अर्थात् गन २०७३ श्रावणदेखि २०७४ आषाढ मसान्त सम्म विशेष ध्यान शिविर ३ वटा, बाल लघु शिविर २ वटा, बुद्धजयन्तीको उपलक्ष्यमा दुर्लभ शिविर १ वटा तथा योगीहरुको अनुकूलताअनुसा १०दिवसीय ध्यान शिविरहरु सञ्चालन हुँदैआइरहेको बताउनुभयो । साथै यस वर्षको वर्षावासमा सञ्चालित शिविरमा १३८ जना सहभागी भए ।

 
सोही अवसरमा केन्द्रका गुरुमाँहरुका तर्फबाट लुम्बिनीमा निर्माण भइरहेको थेरवाद बुद्ध विहारका लागि रु १लाख दान दिने कार्य पनि भयो ।

 
२०७४ भाद्र १७ गते केन्द्रको वार्षिक साधारण सभामा प्रत्येक रत्न ताम्रकारको अध्यक्षतामा केन्द्रकमिटीको पुनर्गठन भएको पनि उहाँले बताउनुभयो ।

 
कार्यक्रममा अध्यक्ष ताम्राकारले सबैको सहयोगबाट यस ध्यानकेन्द्र सुचारु रुपमा सञ्चालन भइरहेको भन्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो ।

 
२०४२सालमा स्थापित यस ध्यान केन्द्रका लागि चैत्यमाया शाक्यले करिब ८ रोपनी जग्गा दान दिनुभएको थियो भने २०७०सालमा धर्मनरसिंह शाक्य परिवारले पुनः १५ आना जग्गा दान दिनुभएको थियो ।

1 month ago/Saturday, October 14th, 2017 /