बुद्धधर्म विश्वब्यापी फैलिनुको कारण बारे चर्चा

Buddhism-spread_asia

बोधी संवाददाता
काठमाडौं, असोज २७ । अहिले विश्वका विभिन्न देशमा बुद्धधर्म फैलिरहेको सन्दर्भमा यसको आधारहरुको बारेमा आज बुद्ध धर्म दर्शनका अनुसन्धानकर्ता शाक्य सुरेनले विभिन्न कारण र परिस्थितिले गर्दा संसार भरी अहिले बुद्धधर्मका अवलम्बनकर्ताहरु बढिरहेको बताउनुभयो ।

 

उहाँले भगवान बुद्धको परिनिर्वाण पछाडि विशेष गरी सम्राट अशोकले बुद्धधर्मबाट प्रभावित भएर यसको संरक्षणको लागि राज्य शक्ति नै लगाइदिएपछि र एशियाका विभिन्न ठाउँमा धर्मदूतहरु पठाएपछि यसले व्यापकता पाएको चर्चा गर्नुभयो । यसका साथै चीनियाँ यात्रीहरुले लुम्बिनी लगायतका बौद्ध तीर्थस्थलहरुको भ्रमण गरी त्यसको महत्वबारे चीनियाँ जनतालाई बुझाएको र भारतका गुरु पद्म सम्भवले तिब्बतमा बुद्धधर्मको प्रचारप्रचारमा जीवन अर्पण गर्नुका साथै यसै कालखण्डमा नेपालबाट भृकुटीले चीनमा बुद्ध धर्म लिएर गएको तथा नेपाली कलाकार अरनिकोले चीनमा सुन्दर बौद्ध स्मारकहरुको निर्माण गरिदिँदा पनि त्यहाँ बुद्धधर्मले स्थान पाएको बताउनुभयो ।

 

उहाँका अनुसार विभिन्न समयमा भएका संगायनहरु तथा विश्व बौद्ध सम्मेलनहरुले तथा विश्वका विभिन्न देशमा खुल्दै गरेका विपश्यना ध्यान केन्द्र एवं विहारहरुले गर्दा पनि विश्वको ध्यान बौद्ध धर्म र दर्शनप्रति आकृष्ट भएको पाइन्छ । यसका साथै विभिन्न परिस्थितिले तिब्बतका दलाई लामा निर्वासित भएर विश्वका विभिन्न देशमा गएर धर्म प्रवचनहरु दिन थालेकोले पनि विश्वले बुद्ध धर्मलाई जान्ने मौका पाएको उहाँको धारणा छ ।

 

“नेपालको सन्दर्भमा नेपालका बुद्धधर्म विरोधी शासकहरुले नेपालका प्राचीन धर्मग्रन्थहरु मिल्काउँदा त्यसलाई त्यसबखत नेपालमा आइरहको भारतका लागि ब्रिटिश राजदूत ब्रायन हडसनले बेलायत लगेर त्यहाँको पुस्तकालयमा राखिदिनु पनि विश्वकै लागि उपहार भयो । त्यस पछि बुद्धधर्मको महत्व र गहिराई सारा युरोपले बुझ्न थाले,” उहाँले भन्नुभयो ।

 

कार्यक्रम नेपाल दर्शन अध्ययन केन्द्रको आयोजनामा मार्टिन चौतारीमा आयोजना गरिएको थियो ।

7 days ago/Friday, October 13th, 2017 /