अक्षेश्वर महाविहारमा अस्थिधातु प्रदर्शन

बोधी संवाददाता
काठमाडौं, आश्विन १९ । यहाँ स्थित अक्षेश्वर महाविहरमा आज कार्तिक पुर्णिमाका अवसरमा पवित्र अस्थिधातुको प्रदर्शन भयो ।
यस अवसरमा आयोजित कार्यक्रममा भिक्षु भद्दिय महास्थविरले चैत्य पूजा गर्नाको लाभ तथा पञ्चशील पालन गर्नाको लाभका बारेमा प्रवचन दिनुभयो ।
बौद्ध विहार संघका अध्यक्ष पुष्परत्न शाक्यले बुद्ध नेपालमा जन्मेको भएर पनि नेपालीहरु थोरैलेमात्र बुद्धधर्मलाई अवलम्बन गरिरहेको प्रसंगमा नेपालीहरुले बुद्धले दिनुभएको ज्ञानलाई आत्मसात् गरेर व्यवहारमा उतारेमा मात्र नेपाली हुनुको गौरव रहिरहने बताउनुभयो ।
साथै पवित्र अस्थिधातु श्रीलंकाका बौद्धहरुबाट नेपाल र नेपालीहरुका लागि प्राप्त अमुल्य उपहार भएकोले यसको दर्शन गरेर मनमा शान्ति ल्याउन सके यस अस्थिधातु नेपालमा रहुनको अर्थ रहने पनि उहाँले बताउनुभयो ।
अक्षेश्व महाविहार संरक्षण समितिका उपाध्यक्ष रुप कुमार शाक्यले सातौं शताब्दीमा अक्षेश्वर शाक्यले निर्माण गरेको र धेरै वर्षसम्म वेवारिसे रहेको उक्त धार्मिक र ऐतिहासिकको संरक्षणमा धेरैको परिश्रम लागेको स्मरण गराउनुभयो ।

 

उक्त अवसरमा श्रीलंकाका राजदूत, थाइलाण्डका राजदूत लगायत सबैले यहाँ प्रदर्शित अस्थि धातुको दर्शन अवलोकन गरे ।

 

भगवान बुद्धको दाहसंस्कार पछि बाँकी रहेका उहाँका अस्थिधातुलाई विभिन्न देशका राजाहरुले आपसमा बाँडेर लिएको भनिन्छ । बौद्ध इतिहास अनुसार त्यसलाई राजगृह, बैशाली, कविलवस्तु, कोलिय, अल्लकप्प, वेठदीप, पावा र कुशीनगरका राजाहरुले दाबी गरे । त्यसकारण एक द्रोण नामक व्राम्हणल धातु विभाजन गरी कलह शान्त गरेको थियो । तर उनले पनि एक टुक्रा धातु आफ्नो पगरीमा लुकाएको थियो र त्यसलाई पछि इन्द्रले लगेको भनेर बौद्धहरु विश्वास गर्दछन् ।


पछि सम्राट अशोकले विभिन्न स्थानमा रहेका धातुहरुलाई संकलन गरेर त्यसलाई राखेर भारतवर्षमा ८४ हजार चैत्य बनाए भन्ने गरिन्छ ।
यस महाविहारलाई सन् १९९६मा श्रीलंकाका भिक्षु नायक प्रीयदस्सी महाथेरुले उपहार स्वरुप प्रदान गरेको थियो ।

भिडिअाे हेर्नुस् । https://youtu.be/7cZSD48uTHY

2 months ago/Thursday, October 5th, 2017 /