धर्मका नाममा मृत्यु वरण गरेका प्राणीको नाममा ङ्युङने पूजा

बोधी संवाददाता
काठमाडौं, आश्नि १२ । दशैंको बेलमा गरिने मारकाट मृत्यु वरण गर्न पुगेका पशुपंछीको नाममा आज अष्टमीको दिन काठमाडौं स्थित शेर्पा गुम्बामा ङ्युङने पूजाको आयोजना गरियो ।

कार्यक्रममा २५० भन्दा बढी बौद्धहरुले भेला भई विभिन्न पूजा पाठमा सहभागी भएका थिए ।
ङ्युङने भनेको चार दिनसम्म बसिने अष्टशील सरहको व्रत हो । यस अवधि भर उनीहरुले काटमार गर्दिन, चोरी गर्दिन, झुठो बोल्दिन, व्यभिचार गर्दिन, छ्याङ रक्सी त्याग्छु, एक छाक मात्र खान्छु, श्रृङार आभुषण लगाउँदिन अनि उच्च खाटमा सुत्दिन भनेर नियममा बस्छु भनेर व्रत लिन्छन् । यसले आफ्नो लगायत सबैको दुख समस्या हटाउन सहयोग गर्दछ भन्ने बौद्धहरु विश्वास गर्छन् ।
हिमाली सन्देशसँग बोल्दै खेन्पो ङवाङ लतुपसँग भन्नुभयो, “लगभग ३० वर्ष देखि दशैंलाई लक्षित गरेर न्यूनी पूजा गर्दै आइरहेको छ । यो पूजा विशेष नेपालमा दशैंको बेलामा धेरै निर्दोष प्राणीहरु मरिरहेको छ । ती प्राणीहरुको नाममा त हुँदै हो, साथमा यस्तो कार्य रोक्नुपर्छ भन्ने शान्तिपूर्ण आन्दोलन पनि हो यो । निर्दोष प्राणीको हत्या गरेर धर्म हुन्छ भनेर कतै लेखिएको छैन । धर्मको नाममा मारकाट भइरहेको छ । निर्दोष प्राणीहरुलाई दुख दिएर कुनै देवी, देउता, बुद्ध बोधीसत्व खुशी हुँदैनन् । जसरी हामी आफ्नो बुबाआमा वा आफन्त मर्दा विभिन्न पूजा गर्छौं त्यसरी नै यी पशुहरु पनि हाम्रा कुनै जन्ममा बुबाआमा वा आफन्त थिए भनेर सम्झेर हामी यहाँ यसप्रकारको पूजा गरिरहेका छौं ।”

 

उहाँले शान्तिको अुवा बुद्धको देशमा नै धर्मको नाममा यस्तो मारकाट हुनु दुखको कुरा भएको पनि बताउनुभएको छ ।

3 weeks ago/Thursday, September 28th, 2017 /