स्वयम् बुद्ध आएर मात्र भिक्षुणी परम्परा पुनर्जीवित हुन सक्ने : भिक्षु निग्रोध

बोधी संवाददाता
काठमाडौं, अश्विन  ४ । लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भिक्षु निग्रोधले अबको समयमा स्वयम् बुद्ध आएर अथवा अर्को संगायना गरेर मात्र भिक्षुणी परम्परालाई निरन्तरता दिन सकिने बनाउनु भएको छ ।

आज आयोजित बौद्ध दर्शन प्रजापति गौतमी र नारी स्वतन्त्रता विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो भन्नुभएको हो ।


उहाँले भन्नुभयो, “भिक्षुणीको सवालमा बज्रयान महायन सहित सबै निकायको संगायन नगरिकन केही भन्ने अवस्था छैन । कि संगायन गर्नुपर्यो कि अर्को बुद्ध आउनुपर्यो । अनिमात्र बिना कन्ट्रोभर्सी यो भिक्षुणीको कुरालाई अघि बढाउन सकिन्छ ।”
साथै उहाँले नेपालमा आर्य भिक्षुणी संघ भन्ने उल्लेख भएको अभिलेख भेटिएको हो र यो संघ हराएर गएको पनि स्मरण गर्नुभयो ।
उहाँले बुद्धधर्मलाई खराब देखाउन षडयन्त्र हुँदै गरेको बताउँदै भन्नुभो, “जेण्डरको मुद्दामा किन थेरवादलाई मात्र प्रहार गरिन्छ ?”
उक्त कार्यक्रमकमा सह प्रा. उर्मिला ताम्राकारले बौद्ध दर्शन, प्रजापति गौतमी र नारी स्वतन्त्रता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
उहाँले नारी स्वतन्त्रताको लागि प्रजापति गौतमीको योगदानको चर्चा गर्दै भिक्षुणीहरुलाई जीवनभर उल्लघंन गर्न नहुने अष्टगरुधर्मको नियम बनाइदिनुभएको तथा यसरी अत्यन्त गाह्रो नियमको पालना गर्ने शर्तमा भिक्षुणी संघको स्थापना भएको बताउनुभयो । साथै भिक्षु भिक्षुणी उपासक उपासिका बुद्ध शासनलाई अगाडि बढाउने रथका चार पांग्रा हुन् भनेको कुराबाट बुद्धशासनमा कुनै प्रकारको लैंगिक भदभाव तथा पक्षपात नभएको पनि बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक महिलाहरुको बारे विश्वसामु प्रचारप्रसार गरी पहचिान गराइदिन सकेमा सारा नेपालहिरु नै गौरवान्वित हुनेछ र नारी स्वतन्त्रताको इतिहास नेपालबाट शुरु भएको प्रमाणित हुनेछ ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दक्षिण, दक्षिणपूर्व तथा पूर्वी एशियाका अधिकांश मानिसहरुको जीवनपद्धति बनिसकेको बुद्धधर्मको शुरुवात नेपालबाट भएको हो भन्न पाउँदा हामी सबै नेपाली गौरवान्वित हुने भउकोले यसलाई सबै नेपालीले अझ बढी छलफल र विश्लेषण गरेर बुझ्न आवश्यक भएको बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा नरेशमान वज्राचार्यले बुद्ध धर्ममा नारी समानताको कुरा भएर पनि आजको २१औं शताब्दीमा बौद्ध ग्रन्थहरुमा बुद्धले बनाउनुभएको भनिएको अष्टगरुधर्मलाई महिलाहरुको स्वतन्त्रता विरुद्ध लादेको हो भनेरै भन्नुपर्ने अवस्था छ भन्नुभयो ।
“यो अष्टगरुधर्म आज सान्दर्भिक छ त ? यसमा बहस चाल्नु आवश्यक छ,” उहाँले भन्नुभयो ।
यसका साथै उहाँले आजको दिनमा भिक्षुहरु र भिक्षुणीहरुको बिचामा कस्तो सम्बन्ध रहनुपर्छ भन्नेबारे बारे आज पनि एक जना प्रबुद्ध गुरुमांले नयाँ भिक्षुहरुलाई सम्मान गर्नुपर्ने कुरामा सहमत हुन नसकिने उहाँको भनाइ थियो । विनयको कुरा गर्ने हो भने सारा भिक्षुहरुले सबै विनय किन पालना नगरेको भन्ने प्रश्न उठ्नु स्वभाविक हो, उहाँले भन्नुभयो ।
उक्त कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठान तथा धर्मकीर्ति विहार संरक्षण कोषको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

4 weeks ago/Wednesday, September 20th, 2017 /