सद्धर्म बौद्ध सेवा समाजको बार्षिक उत्सव सम्पन्न

बोधी संवाददाता
काठमाडौं, अश्विन २ । सद्धर्म बौद्ध सेवा समाजको बार्षिक उत्सव तथा दोश्रो साधारण सभा विश्व शान्ति बिहार काठमाडौँमा भाद्र ३१ शनिबार सम्पन्न भएको छ ।
लुम्विनी अंचल, पाल्पा, बुटवल, भैरहवा तथा अन्य स्थानवाट काठमाडौँ उपत्यकामा छरिएर बिभिन्न पेशा, ब्यवसाय तथा अध्ययन, अध्यापनमा संलग्न शाक्य, बज्राचार्य, गुभाजु तथा बुद्धाचार्यहरुको बिचमा आपसी सदभाव, समन्वय, भाईचाराको विकास गर्ने, बौद्ध धर्म तथा लुम्विनी क्षेत्रको समग्र शिक्षा, स्वास्थ्य, पर्यटन, सामाजिक, आर्थिक, भाषिक तथा साँस्कृतिक लगायतका समाजका बहु आयामिक पक्षको प्रबर्धन तथा विकास सम्बन्धी कार्य गर्ने मूख्य उद्देश्यले “सद्धर्म बौद्ध सेवा समाज, पाल्पा–काठमाडौ“ नामक गैर सरकारी संस्थाको स्थापना गरिएको थियो ।
सद्धर्म बौद्ध सेवा समाजबाट प्राप्त जानकारी अनुसार बौद्ध परम्परा अनुसार पंचशील पाठ र बुद्ध धर्म संघको प्रतिक स्वरूप तीन ओटा दीप प्रज्वलन गरि बार्षिक उत्सबको सुभारम्भ गरिएको थियो ।

 

बौद्ध जगतको युग पुरुष पूज्य धम्मानुशासक, अग्ग महासद्धम्म ज्योतिकधज, अग्ग महापण्डित विशिष्ट अतिथि भिक्षु ज्ञानपूर्णिक महास्थविरलाई बुद्ध धर्मको प्रचार प्रसार तथा उत्थानमा महत्वपूर्ण योगदानको कदर गर्दै समाजको तर्फबाट प्रमुख अतिथि, विपश्यना ध्यानका आचार्य शील बहादुर बज्राचार्य र समाजका अध्यक्ष पुरन राज बज्राचार्यले अभिनन्दन गर्नु भयो । त्यसै गरी पाल्पा तानसेनका चक्रेश्वर थापा आजु श्री सन्तलाल बज्राचार्यको समाज प्रतिको योगदानको कदर स्वरूप सम्मान पत्र प्रदान गरिएको थियो । सुरेन्द्र मुनी शाक्यलाई लुम्बिनी बिकास कोषको कोषाध्यक्ष पदमा मनोनित हुनुभएकोमा सम्मान पत्र प्रदान गरिएको थियो । र समाजको दर्ता प्रक्रियामा बिशेष योगदान प्रदान गर्नु हुने संस्थापक सदस्यसुरेन्द्र बहादुर बज्राचार्य र अधिवक्ता आरती शाक्यलाई सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै समाजका अन्य व्यक्तिहरुलाई पनि सो कार्यक्रममा सम्मान गरिएको थियो ।

 

कार्यक्रमको दोश्रो चरणमा साधारण सभा सम्पन्न गरिएको थियो । आ. ब. २०७३र७४ को प्रगति बिबरण र आ.ब. २०७४र७५ को कार्यक्रम तथा योजनाहरु सचिब श्री राजकुमार शाक्यले प्रस्तुत गर्नु भएको थियो भने आ. ब. २०७३र७४ को लेखा परिक्षण प्रतिबेदन र आ.ब. २०७४र७५ को बजेट कोषाध्यक्ष श्री कविन्द्र बज्राचार्यले प्रस्तुत गर्नु भएको थियो ।

 

कार्यक्रमको अन्तमा श्रद्देय भिक्षु बोधिज्ञान महास्थाबिरले बुद्ध धर्म र परियति शिक्षाबारे प्रबचन दिनु हुदै बौद्ध परम्परा अनुसार पुण्यानुमोदन गर्नु भै सभा समापन गर्नु भएको थियो ।

1 month ago/Monday, September 18th, 2017 /