अनागारिका ञाणशीलाको निधन

बोधी संवाददाता
ललितपुर, भाद्र २९ । नेपालको थेरवाद बुद्धशासनको पुरानो पुस्ताकी एक प्रतिनिधि पात्र अनागारिका ञाणशीलाको यहाँ ९२ वर्षको उमेरमा आज बिहान १२.०५ बजे निधन भयो । सम्बन्धित शाक्यसिंह विहारबाट प्राप्त जानकारी अनुसार उहाँको अन्त्येष्टी शनिबार बिहान शंखमुलमा गरिने भएको छ ।

मितभाषी कुशल धर्म प्रेरिका महासद्धम्मज्योतिकधज भनेर चिनिने अनागारिका ञाणशीला गुरुमांको जन्म वि.सं. १९८३ अषाढ पुर्णिमाको दिन रुद्रवर्ण महाविहार, ओकुबहाल पाटनमा माता इन्द्रकुमारी शाक्य र पिता गणेश राज शाक्यको कुलमा भएको थियो भने उहाँको गृहस्थी नाम कुलशोभा शाक्य थियो ।

उहाँले वि.सं. १९९९मा सुमंगल विहारमा प्रथम संघमहानायक प्रज्ञानन्द महास्थविरबाट उपासिकात्व ग्रहण गर्नुभएको थियो । पछि वि.सं. २००० सालमा राणा सरकाले भन्तेहरुलाई देशनिष्काशन गर्दा सुमंगल विहारमा अनागारिका मुदिता, करुणाहरु मात्र हुँदा उहाँले सक्दो सहयोग गर्नु भएको थियो । पछि भारतको कुशिनगरमा ऊ चन्द्रमणि महास्थविरद्वारा वि.सं. २००६ कार्तिक २८ गते अष्टमीका दिनमा प्रव्रजित भई अनागारिका ञाणशीला बन्नुभयो । प्रज्ञानन्द महास्थविरको निर्देशनमा बुद्धधर्म अध्ययन र ध्यान अभ्यास गर्दै उहाँले शाक्यसिंह विहारमा हुने धार्मिक कार्यहरुमा सहयोग गर्नुभयो ।

नारी शिक्षामा जोड दिने गुरुमांको यशोधरा बौद्ध विद्यालयको संचालनमा पनि योगदान थियो । उहाँले वि.सं. २०२० सालमा नेपाल बौद्ध परियत्ति शिक्षा शाक्यसिंह परियत्ति केन्द्रमा स्थापना भएदेखि अध्यापन गर्नुभएको थियो । शाक्यसिंह विहारमा ९२ वर्षको उमेरमा पनि उहाँ घण्टौंसम्म परित्राण पाठ गर्नुहुन्थ्यो ।

नेपालमा विभिन्न समयमा विभिन्न संघसंस्थाले दिएको सम्मानका साथै उहाँलाई
बुद्ध धर्मको सेवा गरेकोमा म्यानमार सरकारले उहाँलाई वि.सं २०६०चैत्र १९ गते महासद्धम्मज्योतिकधज उपाधिबाट विभुषित गरेको थियो ।

1 week ago/Thursday, September 14th, 2017 /