बसुन्धरा देवीको ब्रत आरम्भ

बोधी संवाददाता
ललितपुर, भाद्र २५ । ललितपुर कनिबहालस्थित बुद्ध धर्म संघ समितिद्धारा आज गोदावरीको गुणागुली कुण्डमा बसुन्धरा देवीको ब्रत आरम्भ गरेको छ । भाद्र कृष्ण तृतीयाको दिन बसुन्धरा देवीको पूजाआजा गर्ने तथा ब्रत बस्ने चलन नेवार समुदायमा परापूर्वकालदेखि चलिआएको छ । विशेष गरी नेवार वज्रयानी बौद्धहरु माझ निकै श्रद्धाका साथ अवलम्बन गरिने यो व्रतकर्मलाई नेपाल भाषामा गातिला धलं दनेगु पनि भन्न्छि ।
करीब १५० जना श्रद्धालु भक्तजनहरु उपस्थित रहेको उक्त व्रत कार्यक्रम गुणागुली कुण्डबाट शुरु गरी उपत्यकाका विभिन्न १२ मुख्य मुख्य स्थानमा बसुन्धरा देवीको ब्रत बस्ने आयोजकले जनाएको छ । यस समितिका अध्यक्ष मीना शाक्यका अनुसार यो व्रत वसुन्धरा देवीको ठूलो महिमा रहेको र उपत्यका भित्र रहेका मुख्य मुख्य बसुन्धरा देवीको मूर्ति रहेको स्थानहरु थाहा पाउन आयोजना गरेको कुरा बताउनु भयो । उहाँका अनुसार समितिले पहिलो पटक यो ब्रतको आरम्भ गरेकोमा उत्साहित भएर श्रद्धालु उपासिकाहरु उपस्थित भएकोमा धन्यबाद ज्ञापन गर्नुभयो साथै गोदावरी संरक्षण समितिले ब्रतालुहरुलाई आवश्यक स्थान उपलब्ध गराई सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो ।

हरेक महिनाको तृतीयाको दिनमा बसुपुर, चारुमती चैत्य,बसुन्धरा द्व, क्वहिटी, ईदे, तिष्तुङ, तुकंबाहाः, श्रीघः, अन्नपूर्ण देवी, जलकुम्भ देवी, न्हू सडकको कलश गरी १२ वटा स्थानमा बसुन्धरा देवीको ब्रत बस्ने पनि उहाँले जानकारी दिनुभयो ।


नेवार समुदायमा बसुन्धरा देवीलाई धनधान्य पूर्ण गरिदिने देवीको रुपमा पुज्ने गर्दछ भने यस देवीको आराधना गरेमा धन लाभ हुने आफुले चिताएको कुरा पूरा हुने रोगव्याधि नलाग्ने भन्ने विश्वास अहिले सम्म छ । यस दिन ललितपुरका विभिन्न ठाउँमा बसुन्धरा देवीको मूर्ति भएको स्थानमा ब्रत बस्ने गर्दछ भने ब्रत सकेको भोलिपल्ट पनि गुरु मण्डल ब्रत बसी विभिन्न ठाउँमा रहेका बसुन्धरा देवीको पूजा गर्न नगर परिक्रमा गर्ने गरिन्छ । यस बर्ष ललितपुरको सुन्धारास्थित ईलाय्बहिबाट यो नगर परिक्रमा शुरु हुन्छ ।

2 weeks ago/Sunday, September 10th, 2017 /