नेपालका थेरवाद भिक्षुणीहरु विषयक अन्तर्राष्ट्रिय गोष्ठी आज समापन

बोधी संवाददाता

ललितपुर, भाद्र १२ । यहाँ आयोजित बौद्ध मूलको सबलीकरण : नेपालका थेरवाद भिक्षुणीहरु विषयक अन्तर्राष्ट्रिय गोष्ठी आज समापन भएको छ ।

समापन कार्यक्रममा बोल्दै लुम्बिनी विश्व विद्यालयका पूर्व उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धरले नेपालको थेरवाद तथा भिक्षुणी परम्पराको बारेमा अझ धेरै अनुसन्धन गर्न बाँकी रहेको बताउनुभयो ।

त्यस्तै उहाँले बुद्धधर्मले बहस र छलफललाई खुला गरेकोले यस्ता प्राज्ञिक छलफलहरु भइरहनुपर्नेमा जोड दिनुभयो ।

भिक्षुणी धम्मानन्दले नेपाल बुद्धको देश भएकोले यहाँ यस्तो सेमिनार हुनुको धेरै महत्व भएको बताउनुभयो ।

अनागारिका ञानवतीले अहिले नेपालमा भिक्षुणी शासन शुरु गर्ने बेला भइसकेको र यो धम्मवती गुरुमांकै अगाडि हुनुपर्नेमा जोड दिँदै उहाँ नभइसकेपछि यहाँ यसको विषयमा भविष्यमा अवरोध खडा हुनसक्ने तर्फ पनि औंल्याउनुभयो ।

उहाँले आफुले भन्तेहरुको विभेदपूर्ण व्यवहार भोगेको, यसको विरोध गर्दा वरिष्ठ गुरुमांहरुले नै गाली गर्नुभएको तथा अहिलेका नयाँ पुस्ताका गुरुमांहरुले त्यति धेरै विभेद भोग्नु नपरेको स्मरण गराउनुभयो ।

अहिलेको समयमा अहिलेका अनागारिकाहरु अझ बढी शिक्षित हुनुपर्ने तथा ध्यान भावना अभ्यास गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

उहाँले नेपालमै बुद्ध जन्मेको कारणले बुद्धले दिनुभएको ज्ञानलाई नै सर्वोपरी मान्ने थेरवाद नेपालमा बाहिरबाट आयातित भन्नु उचीत नभएको बताउनुभयो ।

आनी लोपोङ पासाङ डोमाले नेपालमा यसरी बुद्ध धर्ममा महिलाहरुका बारेमा खुल्ला छलफल हुनथालेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले जो जुन यानमा रहेपनि सबैले बुद्धबचनहरुको सँगाले त्रिपिटकलाई नै आधार मान्ने भएकोले सबै एकै भएको विचार पनि व्यक्त गर्नुभयो ।

लोटस रिसर्च सेन्टरका महासचिव किरण नरसिंह शाक्यले बुद्ध जन्मेको देश नेपालमा भिक्षुणी नहुनु भनेको दुखद कुरा हो भन्दै कनिष्ठ भिक्षुले वरिष्ठ गुरुमांलाई वन्दना गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले नेवार बुद्धधर्ममा पनि भिक्षुणी नभएकोले यसबारे अध्ययन गर्नु जरुरी भएको बताउनुभयो ।

अक्षेश्वर महाविहारका महासचिव रोशन शाक्यले सबैको सहयोगमा अक्षेश्वर महाविहारमा यस्तो अन्तर्राष्ट्रिय सेमिनार गर्नपाएकोमा खुशी व्यक्त गर्नुभयो ।

यस अघि आज डा. धम्मपरिपुन्न, राजेन्द्र मानन्धर, डा. कुन्जना कुथिकुल, डा. रीना तुलाधरले बुद्धधर्म र महिलाका विभिन्न पक्षमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

4 weeks ago/Monday, August 28th, 2017 /