बुद्धधर्मको पूर्णताको लागि भिक्षुणी परम्पराको पुनर्जीवन अत्यावश्यक : भिक्षुणी धम्मानन्द

बोधी संवाददाता

ललितपुर, भाद्र ११ । थाइलाण्डमा भिक्षुणीहरुको अधिकारको लागि समर्पित भिक्षुणी धम्मावतीले आज यहाँ बुद्धधर्मका चारपरिषद्हरु — भिक्षु, भिक्षुणी, उपासक तथा उपासिका — सबै सक्रिय नभएसम्म बुद्धधर्म चिरस्थायी र पूर्ण नहुने बताउनुभयो ।

यहाँ आज आयोजित बौद्ध मूलको सबलीकरण ः नेपालका थेरवाद भिक्षुणीहरु विषयक अन्तराष्ट्रिय गोष्ठीमा बोल्दै उहाँले यसो भन्नुभएको हो ।

उहाँले बुद्धको समयमा धेरै विदुषी महिलाहरु भिक्षुणी भएर बुद्धधर्मको प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएको भएपनि पछि गएर विभिन्न कारणले थेरवाद तर्फ भिक्षुणी परम्परा टुट्न गएकोले बुद्धधर्मको सम्पूर्णताको लागि अहिले यस परम्परालाई कुनै न कुनै रुपमा पनुर्जीवित गर्नु जरुरी भएको बताउनुभयो ।

उहाँले सन् १९८८मा नेपाल लगायतका विभिन्न थेरवाद बुद्धधर्म अवलम्बन गर्नेहरुको देशका महिलाहरुलाई भिक्षुणी प्रवज्या दिएको भएपनि कालान्तरमा हाल यो त्यति सबल हुन नसकिरहेको पनि बताउनुभयो ।


नेपालका अनागारिकाहरुका तर्फबाट अनाकारिका ञाणवतीले अहिले भिक्षुणी परम्परा पुर्नजीवित गर्नुपर्यो भन्ने अभियानलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँदै यसले हाल भएका थोरै भिक्षुहरु र अनागारिकाहरुका बिच कुनै मनमुटाव वा विभाजनको स्थिति भने ल्याउन नहुनेमा सचेत गराउनुभयो ।

भिक्षुणीहरु नाममात्रको हुनु भएन । उहाँहरु भिक्षुणी भइसकेपछि विनित, शिक्षित र बढी जिम्मेवार पनि बन्नु पर्छ, उहाँले थप्नुभयो ।

श्रीलंकाका राजदूत डब्लु एस परेइराले भारत तथा नेपाल दुबै देशमा बुद्धधर्मका अनुयायी भएकोले दुइदेशको सम्बन्धलाई बुद्धधर्मले अझ बढी मजबुत बनाएको बताउनुभयो । उहाँले श्रीलंकामा धेरै अगाडि भिक्षुणीहरुले योगदान गरेको चर्चा गर्दै अहिले भिक्षुणी परम्परालाई पुनर्जीवन दिनु खोज्नु सकारात्मक हो भन्नुभयो ।


त्रिभुवन विश्वविद्यालय इतिहा विभागका प्रमुख प्रा डा शंकर थापाले यो सेमिनारले नेपालका भिक्षुणी वा अनागारिका वा सबै प्रवजित महिलाहरु तथा उनीहरुले दैनिक जीवनमा भोग्नुपरेका समस्याहरुका बारेमा प्राज्ञिक बहस चलाउन जोड दिएको बताउनुभयो । उहाँले यसका साथै बौद्ध समाजले यहाँका प्रवजित महिलाहरुले हालसम्म बुद्ध धर्मको योगदानलाई कदर गर्दै उहाँहरुलाई यस मार्गमा अझ प्रतिवद्ध भएर अगाडि बढ्न सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

आयोजक समितिका अध्यक्ष विहार सं राजेश शाक्यले यस प्रकारको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा आयोजन ागर्न पाउनु खुशीको विषय भएको बताउनुभयो ।

कार्यक्रमको दोश्रो चरण भिक्षुणी धम्मावती, सुरेन्द्र मान वज्राचार्य , श्रद्धाचारी गुरुमां, स्मृति श्रेष्ठ शाक्य तथा भेन्तानि देवोंसाले महिला प्रवजितका विभिन्न दृष्टिकोणमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यक्रम भोलि सोमबारसम्म सञ्चालन हुने आयोजकहरुले जानकारी दिएको छ ।

4 months ago/Sunday, August 27th, 2017 /